काठमाडौं । सरकारले काठमाडौं उपत्यकाको चक्रपथसहित मुख्य–मुख्य राजमार्गहरूमा विद्युतीय ट्रली बस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि सरकारले एसियाली विकास बैंक (एडीबी)सँग सहयोग मागेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले एडीबीका नेपाल आवासीय नियोग प्रमुख आर्नोड कुश्वालगायतको टोलीलाई भेटेर सो सहयोग मागेका हुन् । उनले शहरी विद्युतीय यातायात प्रणालीका लागि एडीबीको प्राविधिक तथा वित्तीय सहयोग गर्न पनि आग्रह गरे ।
‘काठमाडौंको चक्रपथ, काठमाडौं–धुलिखेल, पोखरा–मुग्लिङ, बुटवल–नारायणघाट, बुटवल–भैरहवा, विराटनगर–धरानलगायतका सडक विस्तार भइरहेको र ति सडकमा विद्युतीय ट्रलीबसका लागि एक लेन छुट्टै प्रयोग गर्न सकिने भन्दै सहयोगको अपेक्षा गरिएको बताी । उत्पादित विद्युत्को आन्तरिक खपत बढाउन पनि ट्रलीबस जस्ता विद्युतीय सवारी साधनलाई प्रयोगमा ल्याउनुपर्नेमा जोड दिँदै घिसिङले ट्रली सञ्चालनको सम्भाव्यता अध्ययनका लागि आवश्यक सहयोग गर्न आग्रह गरेका हुन् ।
चीन सरकारको सहयोगमा २०३३ सालमा काठमाडौंको त्रिपुरेश्वरबाट भक्तपुरको सूर्यविनायकसम्म सञ्चालनमा आएको ट्रली बस २०६६ सालदेखि पूर्णरूपमा बन्द छ । एडिबीको सहयोगमा काठमाडौं उपत्यका, पोखरा महानगरपालिका र लुम्बिनी–बुटवल–सिद्धार्थनगर करिडोरमा सार्वजनिक यातायात सुधारका लागि विद्युतीय सवारीसाधनको प्रयोगलाई जोड दिंदै दिगो शहरी विद्युतीय परियोजना सञ्चालन गर्न लागिएको छ ।
परियोजनामार्फत सार्वजनिक यातायातका लागि २५० वटा विद्युतीय सवारीसाधनलाई प्रयोगमा ल्याइने छ । विद्युतीय सवारीसाधनका लागि चार्जिङ स्टेसन, मर्मत सम्भार तथा सञ्चालन पूर्वाधार, बसस्टपसम्म पुग्न साइकल जग्गा गैरमोटर सुविधालगायत निर्माण गरिने छ । परियोजनाका अवधारणपत्र स्वीकृत भइसकेको छ । हाल परियोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ । नगर विकास कोष र पूर्वाधार विकास बैंकमार्फत परिचालन गरी सम्बन्धित स्थानीय तहमार्फत परियोजना कार्यान्वयन गरिनेछ । पोखरा महानगरपालिकामा परियोजना कार्यान्यनका लागि गण्डकी प्रदेशमा सार्वजनिक यातायात प्राधिकरण स्थापनाको प्रस्ताव गरिएको छ ।
परियोजनाको अनुमानित लागत १६ करोड अमेरिकी डलर (करिब २२ अर्ब ५६ करोड रुपैयाँ) रहेको छ । यसमध्ये १० करोड रुपैयाँ एडिबीले सहुलितपूर्ण र ४ करोड रुपैयाँ शून्य ब्याजदरको कर्जा रहेको छ । बाँकी रकम सरकारले बेहोर्नुपर्नेछ ।