काठमाडौं । मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा पुगेको भन्दै नेपाल उद्योग परिसंघले कर प्रणालीमा सुधार गर्न माग गरेको छ । बुधबार काठमाडौंमा अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा कार्यक्रम आयोजना गरी उच्चस्तरिय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गरी कर प्रणालीमा सुधार गर्न आग्रह गरेको हो ।
परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले कर प्रणालीमा सुधार नगरिकन लगानीको वातावरण बनाउन नसकिने बताएका हुन् । उनले बैंकमा लगानीयोग्य पैसा भएको तर बजार माग बढ्न नसक्नुमा सरकारले लगानीको वातावरण निर्माण गर्न नसक्नु रहेको बताए । उनले ब्याजदर सस्तो भएपनि उद्योगीहरूले थप लगानी बढाउन सक्ने अवस्था नरहेकाले उद्योगहरू न्यून क्षमतामा सञ्चालन भइरहेको जानकारी दिए ।
उनले बैंकमा पैसा थुप्रिएर बस्नु अर्थतन्त्रका लागि राम्रो संकेत नभएको बताउँदै त्यो पैसा लगानी गर्ने वातावरण निर्माण गर्नका लागि सबैभन्दा पहिला कर प्रणालीमा सुधार आवश्यक रहेको बताएका हुन् ।
उनले नीतिगत स्थायित्व भए आफूहरू लगानी बढाउन तयार रहेको पनि बताए । विदेशी लगानीकर्ताले पनि कर सम्बन्धी नीतिको स्थायित्व हेरेर मात्रै नेपालमा लगानी गर्ने भएकाले गहनरूपमा लिन अर्थमन्त्री खनालसँग आग्रह गरे ।
परिसंघले आयकर, भन्सार महसुल, अन्तशुल्क र मूल्य अघिवृद्धि करबाहेक पनि अन्य थुप्रै करहरू लगाइएको, तीन तहले कर लगाउँदा व्यवसायलाई मर्का परेको, कर निर्धारण ढिला हुने तर ब्याज शुरुबाट लगाउने प्रचलन, अर्थतन्त्र अझैपनि ४० प्रतिशत अनौपचारिक रहेको, बढी करको भारले आर्थिक गतिविधिहरूलाई निरुत्साहित गर्ने र राजस्व परिचालन कम हुने, विषयगत कानूनले दिएका छुट सुविधामा आर्थिक ऐनले सम्बोधन नगर्ने समस्याहरू रहेको बताएको छ ।