काठमाडौं । कर्णाली प्रदेशमा बैंक तथा वित्तीय संस्थाको ऋण लगानी निकै कम देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार २०८२ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले प्रदेशभर कुल ६० अर्ब ८९ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । जुन २०८१ असार मसान्तको तुलनामा एक अर्ब ६६ करोड रुपैयाँ धेरै हो ।
बैंकहरूले कर्णाली प्रदेशबाट संकलन गरेको निक्षेपको आकार पनि सानो छ । तथ्यांकअनुसार गत असार मसान्तसम्म कुल ९१ अर्ब नौ करोड रुपैयाा निक्षेप संकलन भएको देखिन्छ । जुन एक वर्ष अघिको तुलनामा २०.७१ प्रतिशत (१५ अर्ब ६४ करोड रुपैयाँ)ले धेरै हो । २०८१ असार मसान्तमा कुल ७५ अर्ब ४५ करोड निक्षेप संकलन गरेका थिए ।
कुल कर्जा प्रवाहमध्ये औद्योगिक क्षेत्रमा गएको कर्जाको आकार निकै कम छ । राष्ट्र बैंकका अनुसार कर्णाली प्रदेशमा रहेका उद्योगहरूमा बैंक तथा वित्तीय संस्थाले कुल चार अर्ब ११ करोड रुपैयाँ मात्रै ऋण प्रवाह गरेका छन् । जुन एक वर्ष अघिको तुलनामा १.९४ प्रतिशत कम हो । गतवर्ष असारसम्म बैंक तथा वित्तीय संस्थाले कर्णालीका उद्योगहरूमा चार अर्ब तीन करोड रुपैयाँ लगानी गरेका थिए ।
यस्तै कृषि क्षेत्रमा कुल चार अर्ब ९८ करोड कर्जा लगानी भएको देखिन्छ । जुन एक वर्ष अघिको तुलनामा भने ७.७० प्रतिशत कम हो । २०८१ असार मसान्तमा कर्णाली प्रदेशको कृषिमा पाँच अर्ब ४० करोड रुपैयाँ लगानी भएको थियो ।
उद्योगमा गएको कर्जामध्ये सबैभन्दा धेरै हिस्सा सुर्खेतमा छ । सुर्खेतका उद्योगहरूमा कुल दुई अर्ब ४८ करोड रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ ।
कर्णाली प्रदेशमा सबै बैंक तथा वित्तीय संस्थाले कुल ४७५ शाखामार्फत वित्तीय सेवा प्रवाह गर्दै आएका छन् । जसमध्ये वाणिज्य बैंकका २१३ वटा, विकास बैंकका २१ वटा, फाइनान्स कम्पनीका तीन र लघुवित्त वित्तीय संस्थामा २३८ वटा छन् ।
कर्णाली प्रदेशमा मोबाइल बैंकिङ सेवा प्रयोग गर्ने ग्राहकको संख्या नौ लाख चार हजार ४३१ पुगेको छ ।
कर्णाली प्रदेशमा ठूला उद्योग र व्यावसायिक गतिविधि कम भएका कारण बैंकहरूको कर्जा लगानी पनि न्यून देखिएको हो । कर्णाली विकास निर्माण र उद्योग विस्तारको हिसाबले पछाडि छ । ठूला उद्योग, उत्पादनमुखी परियोजना र लगानीको माग धेरै न्यून भएकाले बैंकहरू पनि कर्जा विस्तारमा उत्साहित देखिएका छैनन् ।
बैंकहरूले पनि भौगोलिक कठिनाइ, कमजोर पूर्वाधार, सीमित बजार र परियोजनाको अनिश्चित सम्भाव्यताका कारण सो प्रदेशमा लगानी गर्न जोखिम मान्दै आएको देखिन्छ । यस्तै अधिकांश जिल्ला दुर्गम, यातायात महँगो र बजार सीमित भएकाले उत्पादन लागत उच्च हुन्छ । त्यसैले त्यहाँ बैंकहरूले आफ्नो लगानीलाई उपयुक्त मान्दैनन् ।
कर्णालीमा वित्तीय पहुँच विस्तार भए पनि उद्योग र कृिष क्षेत्रमा लगानी विस्तार न्यून छ । बैंकहरू जोखिम, बजार अभाव र परियोजना व्यवस्थापन क्षमताका कारण कर्जा प्रवाह विस्तारमा सावधान देखिएका हुन् ।