काठमाडौं । शेयरबजार बुधबार समान्य रहे पनि आठ कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार मापक नेप्से परिसूचक ४.९८ अंकले घटेर २,५६१.०८ विन्दुमा कायम भएको छ । कुल तीन अर्ब ७७ करोड ८६ लाख रुपैयाँ बराबरको ८३ लाख ८८ हजार ३७३ कित्ता शेयर किनबेच भएको छ ।
माबिलुङ इनर्जी, दरमखोला हाइड्रोइनर्जी, सागर डिस्टिलरी, हिमस्टार उर्जा कम्पनी, बुँगल हाइड्रो, सान्भी इनर्जी, झापा इनर्जी र बन्दीपुर केबलकार एण्ड टुरिजमको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबार भएका २५६ कम्पनीमध्ये १७० वटाको शेयरमूल्य घटेकाले बजार रातो बनेर बन्द भएको हो । यद्यपी ७७ कम्पनीका शेयरधनीले कमाएका छन भने नौ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
सूचीकृत १३ समूहमध्ये होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, व्यापार र म्युचुअल फण्ड समूह बढेका छन् । बाँकी सबै घटेका छन् । सबैभन्दा धेरै होटल तथा पर्यटन समूह १.१६ प्रतिशत बढेको छ । यो समूहमा सात वटा कम्पनीको शेयर कारोबार भएकामा चार वटाको मूल्य बढेको छ भने तीन वटाको घटेको छ । यसपछि उत्पादन तथा प्रशोधन समूह ०.४२ प्रतिशत, म्युचुअल फण्ड ०.३५ प्रतिशत र व्यापार ०.३२ प्रतिशत घटेको छ ।
विकास बैंक समूहमा सबैभन्दा धेरै गिरावट आएको छ । यो समूह १.०९ प्रतिशत घटेको छ । १५ वटा विकास बैंकको शेयर कारोबार भएकामा १४ वटाको शेयरमूल्य घटेको छ भने संग्रिला डेभलपमेन्ट बैंकको बढेको छ । यसपछि फाइनान्स समूह ०.६८ प्रतिशत, निर्जीवन बीमा ०.५७, जीवन बीमा ०.५३, लगानी ०.४४, अन्य ०.३२, बैंकिङ र जलविद्युत् ०.१४ र लघुवित्त ०.०६ प्रतिशत घटेको छ ।
कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै ६.०३ प्रतिशत घटेको छ । बरुण हाइड्रोपावरको शेयरकारोबार सर्वाधिक २७ करोड ४० लाख रुपैयाँको भएको छ ।
लगानीकर्ताको सम्पत्ति एक दिनमा आठ अर्ब रुपैयाँले घटेको छ । बजार पुँजीकरण ४३ खर्ब रुपैयाँ कायम भएको छ । साधारण शेयरतर्फको बजार पुँजीकरण पनि चार अर्ब रुपैयाँ घटेर १४ खर्ब ५३ अर्ब रुपैयाँ कायम भएको छ ।
शेयरबजार १० दिन यता साइडवेज प्रवृतिमा छ । अर्थतन्त्रका सूचकहरू सकारात्मक रहे पनि बैंकिङ प्रणालीमा रहेको पैसा लगानीको रुपमा जान नसक्दा शेयरबजार प्रभावित भएको छ । विकसित राजनीतिक घट्ना र लगानीको वातावरण बन्न नसक्दा अर्थतन्त्र सुस्त छ । लगानीकर्ताले बैंकबाट ऋण लिएर काम गर्न नसक्दा आर्थिक गतिविधि न्यून छ । अर्कोतर्फ, मानिसहरूले खर्च कम गर्दा बैंकमा निक्षेप थुप्रिदै गएको छ । जसको असर बैंकहरूको वासलातमा परेको छ । यहीकारण लगानीकर्ता अहिले पर्ख र हेरको अवस्थामा देखिन्छन् ।