काठमाडौं । साताको अन्तिम कारोबार दिन शेयर बजार सूचक सामान्य अंकले घटेको छ । नेप्से ०.७९ अंकले घट्दै २५६०.२९ को विन्दुमा रहँदा बजार कारोबार ४ अर्ब ६८ करोड ८८ लाख रुपैयाँको भएको छ ।
लगानीकर्ताको आकर्षण साह ऊर्जामा परेको देखिएको छ । सूचक घटेको बजारमा ५ कम्पनीको शेयरमूल्यमा भने लोभलाग्दो बढोत्तरी रह्यो । धौलागिरी लघुवित्त, बन्दीपुर केबलकार र झापा इनर्जीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सागर डिष्टिलरी ९.९९ र सिन्धु विकास बैंकको शेयरमूल्यमा ९.६० प्रतिशतले बढेको छ ।
बिहीबार २५५९.८९ मा खुलेको बजार बीचमा घटेर २५५१.४३ विन्दुमा झरेको थियो । पुनः सुधार आउँदै २५६३.८७ सम्म पुगे पनि अन्तिममा घटेर बन्द भएको हो ।
होटल तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन, लघुवित्त, व्यापार र अन्यबाहेक सबै उपसमूह घटेका छन् । बढेकामध्ये होटल तथा पर्यटन १.०८ प्रतिशत रह्यो । १२२ कम्पनीको शेयरमूल्य बढेको छ भने १३८ कम्पनीको घटेको छ । ६ कम्पनीको शेयरमूल्य स्थिर रह्यो ।
हालै आईपीओ ल्याएर दोस्रो बजार कारोबारमा आएयता लगातार शेयर मूल्य उच्च हुने कम्पनीमा परेको बुंगल हाइड्रो बिहीबार भने घटेको छ । उक्त कम्पनीको शेयरमूल्य ९.०५ प्रतिशतले घटेको हो ।
बजारमा उच्च कारोबार भएका शीर्ष ५ कम्पनीको सूचीमा साहस ऊर्जा कारोबार रकममा फराकिलो अन्तरसहित पहिलो नम्बरमा रह् यो । उक्त कम्पनीको शेयर ४१ करोड ८० लाख रुपैयाँको किनबेच भएको छ । २२.१० प्रतिशत लाभांश घोषणा गरेको उक्त कम्पनीले शनिबार बुक क्लोज राखेको छ भने मंसिर २४ मा साधारण सभा गर्दैछ । शतप्रतिशत हकप्रद जारी गर्ने तयारी गरेको कम्पनीको बोनस वितरणपछि कायम चुक्ता पुँजी ४ अर्ब ५७ करोड ३८ लाख हुनेछ । कम्पनीले शेयरधनीलाई २१ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनका लागि १.१०५३ प्रतिशत नगद लाभांश दिने निर्णय साञ्चालक समिति बैठकले गत कात्तिक २५ मा गरेको थियो । मंसिर ४ सम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले लाभांश पाउने भएकाले लगानीकर्ता बिहीबार साहसको शेयरमा आकर्षित भएका हुन् ।
यस्तै सप्तकोशी डेभलपमेन्ट बैंक १६ करोड ९३ लाख, नेपाल रिइन्स्योरेन्स १२ करोड ६९ लाख, युनियन हाइड्रोपावर १२ करोड १५ लाख र वरुण हाइड्रोपावरको शेयर १२ करोड रुपैयाँको किनबेच भएको छ ।