नेभिगेशन
अर्थतन्त्र

मुग्लिन–पोखरा पश्चिम खण्डमा काम धमाधम

दमौली । मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड) मा सडक स्तरोन्नति धमाधम छ । यहाँ दैनिक ६ सय जनाले रोजगारी पाएका छन् । तनहुँको जामुनेबाट पोखराको सेती पुलसम्मको पश्चिम खण्डमा सडक तथा पुल निर्माण, कलोपत्रलगायत कामका लागि मजदुर खटिएका छन् । आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार उक्त खण्डमा दैनिक ६ सयका दरले मासिक १८ हजार मजदुरले रोजगारी पाएका छन् । यस खण्डमा २० जनाले परामर्शदाताका रूपमा काम गरिरहेको उनले बताए ।

पश्चिम खण्डमा हालसम्म ५९.७६ प्रतिशत भौतिक र ४७.८० प्रतिशत वित्तीय प्रगति भएको उनले जानकारी दिए । उनका अनुसार ३८.८८ किलोमिटर दूरीको उक्त खण्डमा हालसम्म ३७.४ किमिमा एकतर्फी रूपमा पहिलो तहको कालोपत्र सकिएको छ । त्यसमध्ये २९.६१ किमि खण्डमा चार लेन र ७.७९ किमिमा दुई लेन कालोपत्र भएको छ ।

उक्त खण्डमा १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेका जनाउँदै आयोजना प्रमुख कुँवरले सेती नदीमा पुल निर्माणाधीन अवस्थामा रहेको बताए । उक्त पुलमा ४७.५२ प्रतिशत भौतिक र ४७.९ प्रतिशत वित्तीय प्रगति भएको जानकारी दिए ।

पश्चिम खण्डमा गत आर्थिक वर्षमा २५ किलोमिटर चार लेन सडक स्तरोन्नति गर्ने लक्ष्य राखिएकामा २३.०६ किमि कालोपत्र सम्पन्न भएको छ । यहाँ ११ पुल निर्माण गर्ने लक्ष्य राखिएकामा सम्पन्न भइसकेका छन् । ६६ कल्भर्ट निर्माण गर्ने लक्ष्यमा एउटा बाँकी छ । ५१.५ किमि नालामा ४५.२ किमि तयार भएको छ । २०७८ जेठ ३ मा सम्झौता भएको यो खण्डको काम गर्ने म्याद आगामी पुस १६ सम्म छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र