नेभिगेशन
अर्थतन्त्र

बढेन घरजग्गा कारोबार

राजस्व संकलन घट्याे

काठमाडौं । देशभर घरजग्गाको कारोबार घट्दै गएको छ । कारोबार घट्दै जाँदा मालपोत कार्यालयहरूबाट प्राप्त हुने राजस्व संकलनमा समेत ह्रास आएको छ । कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो चार महिनामा राजस्व संकलन लगातार घटेको छ ।

गत साउनमा मालपोत कार्यालयहरूबाट तीन अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ रुपैयाँ राजस्व संकलन गरिएको थियो । यस्तै, भदौमा तीन अर्ब १४ करोड सात लाख १६ हजार ३३५ रुपैयाँ र असोजमा दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार ९२७ रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ । यसैगरी, कात्तिक महिनामा देशभरका मालपोत कार्यालयले दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार एक सय ९९ रुपैयाँ राजस्व संकलन गरेको थियो ।

विभागका अनुसार गत कात्तिकमा सेवा करमार्फत २१ करोड ३४ लाख ४७ हजार ४१३ रुपैयाँ, रजिष्ट्रेसन दस्तुर एक अर्ब ५० करोड ६२ लाख ९६ हजार १४ रुपैयाँ र पुँजीगत लाभकरमार्फत ९९ करोड ७८ लाख ४४ हजार ३९२ रुपैयाँ संकलन गरेको थियो ।

सरकारले घरजग्गा कारोबारमा सहजीकरण गरेको भए पनि राजस्व संकलन अपेक्षितरूपमा बढ्न नसकेको देखिन्छ । एक महिना पहिलेमात्र घरजग्गा कारोबारलाई थप व्यवस्थित गर्न खोजेको देखिन्छ । राजपत्रमा सूचना प्रकाशन गर्दै देशभरका महनगर र उपमहानगरपालिकाभित्र कम्पनीमार्फत एकपटकमा तीन करोड रुपैयाँभन्दा माथिको घरजग्गा किनबेच गर्दा अनुमति लिनुपर्ने व्यवस्था गरेको थियो । तर गएको दुई वर्षयता घरजग्गा कारोबारमा मन्दी छ । खासगरी २०७९ जेठमा भू–उपयोग नियमावली लागू भएपछि घरजग्गा कारोबार सुस्त बन्दै गएको थियो ।

आर्थिक सूचकहरू सकारात्मक देखिए पनि समग्र अर्थतन्त्रमा आएको सुस्त गतिले मानिसहरूको आम्दानी घटेको छ । लगानीको लागि सुरक्षित मानिने घरजग्गातर्फ आकर्षण घट्दै गएको छ । यसको मुख्य कारण घरजग्गाको मूल्य अत्याधिक बढेर जानु पनि हो । जसले गर्दा सर्वसाधारणको आम्दानीले घरजग्गा खरिद गर्ने क्षमता राख्दैन । धेरै सहरमा घरजग्गाको मूल्य वृद्धि वास्तविक मागअनुसार नभई अनुमानका आधारमा (स्पेकुलेटिभ) रूपमा हुने गरेको छ ।

यस्तै विगतमा बैंक तथा वित्तीय संस्थाबाट घरजग्गा कारोबारमा दिइएको ऋणको असुली तीव्र पारिएको र त्यसबाट सर्वसाधारणमा त्रास सिर्जना भएकाले पनि कारोबार खुम्चिएको घरजग्गा कारोबारीहरूले बताउने गरेका छन् । अहिले बैंकको ब्याजदर सस्तो छ, लगानीयोग्य रकम पनि प्रशस्त छ । तर पनि घरजग्गा कारोबारमा त्यो पैसा जान सकेको छैन ।

केन्द्रीय बैंकले पनि घरजग्गामा लगानी गर्नका लागि सहज नीति लिएको छ । महँगो जग्गा ऋण लिएर खरिद गर्दा भविष्यमा जोखिम हुनसक्ने सम्भावनाले गर्दा मानिसहरूले घरजग्गा किनिरहेका छैनन् । जसको असर घरजग्गा कारोबरमा मात्रै नभई समग्र अर्थतन्त्रमा देखिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र