नेभिगेशन
नेपाल

दुर्गा प्रसाईंले अब छिट्टै पार्टी खोल्ने

काठमाडौं, २ भदौ - विवादास्पद मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नयाँ राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । दुई साताअघि मात्रै डिल्लीबजार कारागारबाट छुटेका उनले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अब अभियानमात्र नभई औपचारिक राजनीतिक संगठनमार्फत सक्रिय हुने बताएका हुन् ।

उनले विगतमा आफ्नो अभियानलाई रोक्ने प्रयास, कोठामा ताला लगाउने जस्ता अवरोधहरूले आफूलाई राजनीतिक विकल्प रोज्न बाध्य बनाएको दाबी गर्दै नेपाल र नेपालीलाई पहिलो प्राथमिकतामा राख्ने दाबी गरेका छन् । प्रसाईंले आफूलाई राजनीतिक चेत बोकेको सफल व्यवसायीका रूपमा प्रस्तुत गर्दै अबको जीवन परिवारभन्दा पनि मुलुकलाई समर्पित हुने बताए ।

उनका अनुसार विगतमा ‘अभियान’ भन्ने नाममा आफू र आफ्ना साथीहरूलाई दबाब, धम्की र कानूनी प्रक्रियामार्फत रोक्ने गरिएको थियो । उनले भने, ‘अब अभियानलाई मात्र सीमित राखेर सम्भव छैन । त्यसैले, हामीले राजनीतिक शक्ति निर्माण गर्ने निष्कर्षमा पुगेका छौं ।’ केही समयभित्र दलको नाम सार्वजनिक गर्ने उनले बताए ।

चैत १५ को राजावादी प्रदर्शनको विषयमा उनले पत्रकार सम्मेलनमा आफूमाथि राप्रपाले घात गरेको आरोप लगाए । उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको आलोचना गरे । प्रसाईं केही वर्षयता निरन्तर विवाद र चर्चामा रहने व्यवसायी हुन् ।

विशेषगरी बैंक तथा वित्तीय संस्थाविरुद्ध उनले चलाएको ऋण नतिर्ने अभियानले उनलाई राष्ट्रियस्तरमा चर्चित बनाएको हो । एकपटक उनले काठमाडौंमा 'मेगा अभियान’ भन्दै बैंक तथा वित्तीय संस्थाको कर्जा असुली प्रक्रियाविरुद्ध विरोध प्रदर्शनको कार्यक्रम राखेका थिए । त्यसले बैंकिङ क्षेत्रमात्र नभई सरकारले समेत चासो दिनुपर्ने परिस्थिति सिर्जना गरेको थियो । 

त्यसबेला गृह मन्त्रालयले यस्तो अभियान आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव पार्ने भन्दै रोक्न निर्देशन दिएको थियो । त्यसयता प्रसाईं कहिले व्यापारी, कहिले समाजसेवी, कहिले राष्ट्रवादी अभियानकर्मी त कहिले प्रमुख राजनीतिक दलको कट्टर आलोचकका रूपमा देखापर्दै आएका छन् । तर, यी सबै गतिविधिहरूले उनलाई कानूनी धरापमा पारेको छ ।

ऋण नतिर्ने अभियानपछि प्रसाईंले राष्ट्रवाद र हिन्दुवादी विचारमा आधारित कार्यक्रमहरू सञ्चालन गर्न थालेका थिए । जनकपुरमा उनले आयोजना गरेको एक कार्यक्रममा शिव सेना, हिन्दु सम्राट सेना नेपालदेखि ‘नेपालका लागि नेपाली’ नामक समूहसम्म सहभागी भएका थिए । त्यही कार्यक्रममार्फत उनले आफूलाई केवल व्यवसायी वा सामाजिक अभियन्ता नभई राजनीतिक विकल्पका रूपमा प्रस्तुत गर्न थालेका थिए ।

उनका गतिविधिहरू लगातार विवादित रह्यो । सम्पत्ति शुद्धीकरण विभागले उनको व्यवसायिक क्रियाकलापबारे अनुसन्धान सुरु गर्‍यो । दुबईमा कम्पनी खोलेर अवैध रूपमा रकम सारिएको आशंकामा पनि उनीमाथि छानबिन भएको थियो ।

गत चैतमा काठमाडौंको तीनकुनेमा भएको राजसंस्था समर्थित प्रदर्शन हिंसात्मक भएपछि भने उनलाई प्रहरीले पक्राउ गरेको थियो । राजावादी समूहको अभियानका कमान्डर भन्दै झापाबाट पक्राउ गरेर काठमाडौं ल्याइएका उनी १४ दिनपछि उनी अदालती आदेशमा धरौटीमा थुनामुक्त भएका हुन् ।

एकताका उनी एमालेसँग निकट थिए । उक्त पार्टीको केन्द्रीय सदस्य बनाए पनि एमालेले उनलाई चुनावको टिकट भने दिएन । पार्टी राजनीतिमा प्रत्यक्ष अभ्यास गरे पनि पछि अलग्गिएका हुन् । एमाले भित्रको भूमिका भन्दा बाहिरको अभियानमै बढी सक्रिय रहँदा उनले आफूलाई स्वतन्त्र प्रभावशाली पात्रका रूपमा स्थापित गर्न खोज्दै आएका छन् ।

उनी गत साउन १९ मा उच्च अदालत पाटनको आदेशमा डिल्लीबजार कारागारबाट २८ लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् । थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेश उल्ट्याउँदै न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र डिल्लीरत्न श्रेष्ठको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

चैत १५ मा काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनका क्रममा भएका तोडफोड र आगजनीमा पत्रकार सुरेश रजक र यातायात मजदुर सविन महर्जनको ज्यान गएको थियो । उक्त घटनाका मुख्य नाइके भएको आरोपमा प्रसाईंमाथि मुद्दा दायर भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले उनीमाथि राज्यविरुद्धको कसुरसहित विभिन्न पाँच मुद्दा दायर गरेको थियो ।

गत चैत अन्तिम साता झापाबाट पक्राउ गरेर ल्याइएका उनलाई गत जेठ ३० मा जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । तीनकुने घटनामा उनीसँगै ५० जनाविरुद्ध राज्यविरुद्धसमेतको कसुरमा जिल्ला अदालतमा अभियोजन थियो । प्रसाईंसहित ३९ जना हिरासतमा थिए । धरौटीमा छुटेलगत्तै उनले पुनः सक्रिय हुने संकेत गरेका थिए । 

सोमबारको पत्रकार सम्मेलनमार्फत उनले औपचारिक रूपमा राजनीतिक दल बनाउने घोषणा गरेपछि अब व्यक्तिगत अभियानभन्दा संस्थागत राजनीतिकतर्फ चासो बढेको प्रष्ट भएको छ । प्रसाईंले यसअघि अभियानमार्फत ठूलो संख्यामा समर्थक बटुले पनि संगठनात्मक संरचनाको अभावमा ती गतिविधिहरू अस्थायीरूपमा सीमित थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्