नेभिगेशन
प्रदेश

तुइनको डरबाट पुलको भरोसासम्म

कर्णालीको भेलसँग जुधेर जीवन बिताएका ९८ वर्षीय नन्दबहादुरले पुलमा उभिएर आफ्नो टोपी झिके र ढोग गरे, सपना जस्तो लाग्ने पुललाई आँखा रसिला पारेर हेरिरहे

मुगु । आउँदाआउँदै उनले देखे–पुलमाथि गाडी वारपार गर्दै थिए । पहिल्यैदेखि खुट्टाले नापेको बाटो आज फलाम र फलामको जोडमा सानो देखिन्थ्यो । यात्रुहरू सजिलै पैदल हिँडिरहेका थिए । कर्णाली करिडोर अन्तर्गत हुम्ला–मुगु जोड्ने पीपलमोडको बेलीब्रिजमा पुगेका ९८ वर्षीय नन्दबहादुर शाही केही क्षण रोकिए । पुलको बीच भागमा उभिए, बिस्तारै टोपी झिके र श्रद्धाले ढोग गरे । त्यो ढोग पुललाई मात्र थिएन, त्यो उनका बितेका दिन, हराएका साथी र सहनु परेको पीडालाई समर्पित थियो ।

पुल नहुँदाका दुःख सम्झँदा उनका आँखा रसाए । तुइनबाट नदी वारपार गर्दा हल्लिएको ज्यान, भेल उर्लँदा मन थामेर पर्खिएका पल, घुमाउरो बाटो हिँड्दा थाकेका खुट्टा, सबै स्मृतिमा एकाएक जीवित भए । ‘पुल बनोस्, त्यसमा गाडी गुडेको देख्ने इच्छा धेरै थियो,’ उनले हर्षमिश्रित स्वरमा भने, ‘बल्ल पूरा भयो ।’ उनका शब्दमा खुसीभन्दा बढी राहत थियो । किनकि उनको पुस्ताका कति साथी तुइनबाट वारपार गर्दागर्दै कर्णालीमै बिलाएका थिए ।

नन्दबहादुरका लागि यो पुल एउटा भौतिक संरचना मात्र होइन । यो उनका घाउमा मल्हम हो । सोरु गाउँपालिका–२ जवलधारा, नाथर्पु, भुईमेला, धताडी, धुपी, सोरुकोटजस्ता बस्तीका बासिन्दाका लागि पनि यही पुलले जिन्दगीको बाटो छोट् याइदिएको छ । हुम्ला कर्णालीमाथि बनेको यो बेलीब्रिजले हुम्ला र मुगुलाई मात्र होइन, पुस्तौंदेखि छुट्टिएको पीडा र सम्भावनालाई जोडेको छ ।

२०३३ साल अघिसम्म मानिसहरू बाबियोको लठ्ठाको सहाराले नदी तर्थे । पछि झोलुंगे पुल बन्यो, तर त्यो पनि जीर्ण भयो । केही ठाउँमा नदी वारिपारिका लागि तुइनको विकल्प थिएन । नन्दबहादुर सम्झन्छन्, ‘हाम्रो जग्गा हुम्लाको तुम्चमा थियो । पेट पाल्न त्यहाँ पुग्नै पथ्र्यो । 

बाँ वर्षायाममा नदी तर्नु ज्यान बाजी राख्नु थियो ।’ आज त्यही नदीमाथिको पुल भएर गाडी आफ्नै घरआँगनसम्म आइपुग्दा उनी ढुक्क भएका छन् । ‘म बाँचुञ्जेल यस्तो दृश्य देख्न पाइँदैन कि भन्ने डर थियो,’ उनले भने, ‘आज आफ्नै आँखाले देखेँ ।’

पुल बनेपछि केवल दूरी घटेको छैन, स्थानीयको आयु बढेको छ । पहिले बिरामी परे गमगढी, जहाज कुर्दाकुर्दै नेपालगञ्ज वा काठमाडौं पुग्न नसक्दा ज्यान गुमाएका कथा धेरै छन् । आज एम्बुलेन्स र जिपले एक दिनमै सुर्खेत र नेपालगञ्ज पुर्‍याउन सक्छ । एक वर्षमै स्थानीय व्यापारीले कृषकका घरमै पुगेर ६५ मेट्रिक टन रैथाने अन्न किनेर लगेका छन् । खेत र श्रमले मूल्य पाउन थालेको छ ।

‘यो बेलिब्रिजले सोरु गाउँपालिकालाई कर्णाली करिडोरसँग जोडेको छ,’ सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही भन्छन्, ‘यससँगै यातायात, स्वास्थ्य, व्यापार कृषिमात्र नभइ हाम्रो गाँउपालिकाको जीवनस्तर सुधार र सहजताका लागि ठूलो उपलब्धी हो ।’ विकट भेगहरूका सडक र पुलजस्ता पूर्वाधार बेलैमा पुर्‍याउन सके बसाइसराइ रोकिने, स्थानीय कृषि उपजले भाउ पाउने, बजार बढ्ने, शिक्षा, स्वास्थ्य सहज हुने उनले बताए ।

३ करोड ३७ लाख ९४ हजार ४३७ रुपैयाँ लागतमा बनेको ४८ मिटर लम्बाइको पुलले सोरु गाउँपालिकाको जीवनस्तर बदल्दैछ । तर नन्दबहादुरका लागि यसको अर्थ अझ गहिरो छ । पुललाई ढोग्दा उनले विकासप्रति सम्मान मात्र होइन, आफ्नो पुस्ताले भोगेको पीडालाई बिर्साउने भविष्यप्रतिको आस्था प्रकट गरेका थिए । पुलमाथि गाडी गुडिरहँदा उनका आँखा फेरि रसाए, यसपटक दुःखले होइन, पूरा भएको सपनाले ।

तराईदेखि हिमालसम्म

कर्णाली करिडोर मुलुकको महत्त्वाकांक्षी र रणनीतिक सडक आयोजनामध्ये एक हो । यसले देशको उत्तर–दक्षिण यातायात सञ्जाललाई मजबुत बनाउँदै कर्णाली प्रदेशका दुर्गम जिल्लालाई राष्ट्रिय मूलधारसँग जोड्ने काम गरेको छ ।

यो करिडोर बाँकेको जमुनाहाबाट सुरु भएर दैलेख, कालिकोट, मुगु हुँदै हुम्लाको चिनियाँ सिमानाको हिल्सासम्म पुग्छ । यो दुरी ६८२ मिलोमिटर छ । यसले तराई– पहाड–हिमाललाई एकै जोड्ने यो करिडोर ट्रयाक खोल्न सुरु गरिएको दुई दशक नाघेको छ । पछिल्लोपटक ट्रयाक खुलेर हुम्लालाई यसले राष्ट्रिय सडक सञ्जालमा जोडेको छ । ट्रयाक खुलेर यातायात चल्न थाले पनि अझै धेरै ठाउँ आवागमनका लागि सडक सहज भइसकेको छैन ।

पहिले कर्णालीका मुगु र हुम्लाजस्ता जिल्लामा पुग्न हप्तौं पैदल हिँड्नुपथ्र्यो वा जहाज कुर्नुपथ्र्यो । कर्णाली करिडोर विस्तारसँगै अहिले सडकमार्गबाट खाद्यान्न, औषधि, निर्माण सामग्री, इन्धन लगायतका वस्तु ढुवानी सम्भव भएको छ । यसले दैनिक जीवनलाई सहज बनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्