नेभिगेशन
प्रदेश

हिउँद बढेपछि सोइको खोजी

मनाङ । हिउँदयामको मध्य समयमा देशभर चिसो बढेको छ । पहाड र तराईमा चिसो बढेसँगै हिमाली क्षेत्रमा पानी जमेका छन् भने चिसो अत्यधिक बढेको छ । मनाङमा चिसो बढ्दै जाँदा यहाँ पशुपालनको रुपमा याकचौँरी र भेडापालन हो । चिसो बढेसँगै लेकको खर्कमा पुर्‍याइएका याकचौँरी बेसी झारिन्छ । तीन हजारदेखि पाँच हजार मिटर उचाइबाट झारिएका याकचौँरीलाई बेसीअर्थात् एक हजार ७०० मिटर उचाइमा राखिन्छ ।

चिसोमा याकचौँरी तथा अन्य पशुलाई घाँस पूर्ण रुपमा सुकेर आहारको कमी हुने गर्दछ । त्यसको अभाव पूर्ति गर्न पशुपालक किसानले घरेलु खाद्यवस्तुको प्रयोग गरी जैविक आहार खुवाउने गर्दछन् । जैविक आहारले याकचौँरीलगायतका पशुचौपायलाई पौष्टिक आहारसमेत पूरा गर्दछ ।

मनाङ ङिस्याङ गाउँपालिका–५ भ्राकाका याकचौँरीपालक किसान याञ्छु खाण्टा लामा भन्छन्, ‘पहिलापहिला बेसीमा पशुचौपाया झारे पनि घाँसपात पाइन्थ्यो, अहिले मुस्किल छ, हिउँ कम परेपछि पानी पाउँदैन र घाँस उम्रिनै छोड्यो, आहार खुवाउनै मुस्किल छ, आफैँले बनाउन सकिएन भने याकचौँरी पाल्न समस्या छ, किसानलाई त समस्या नै समस्याले घेरिएको छ ।’

अहिले आहार खुवाउन र जोहो गर्नै  समस्या भएको उनी बताउँछन् । ‘खेती तथा पशुपालक किसानलाई त मौसमले पनि ठगेको छ,’ उनी भन्छन्, ‘धेरै पशुचौपायलाई आहार पुर्‍याउनै समस्या छ ।’ यहाँका पशुपालकले घाँसको अभाव पूरा गर्न जौ, करु, उवा, गहुँ, फापरको डाँठको मिश्रणबाट आहार बनाएर खुवाउने गरिन्छ ।

नासोँ गाउँपालिका–८ ताचैका पशुपालक किसान याद घले घाँसको अभावमा याकचौँरी, भेडाच्याङ्ग्राले माटो चाटेर बाँच्ने गरेको बताउँछन् । ‘हिउँ परे पो यहाँको पालुवा पलाउँछ र पशुचौपायलाई घाँस हुन्छ,’ उनी भन्छन्, ‘एउटै गोठमा २०० भन्दामाथि याकचौँरी र भेडाच्याङ्ग्रा पालिन्छन्, आफैँले घाँस, दाना खरिद गरेर पाल्न सक्ने अवस्था छैन ।’ प्राकृतिक हिसाबले समयमा हिउँ पर्ने  पानी पर्ने  भएमा घाँस सहज रुपमा उपलब्ध हुने उनको भनाइ छ ।

‘अरु घाँस पाइँदैन यतिबेला सुकेका पातपतिङ्गर खुवाउने गरिएको छ,’ घले भन्छन्, ‘पुस १५ पछि सोइ (दाना) खुवाउने गरिन्छ, करिब पुसदेखि फागुन, चैतसम्म याकचौँरी र भेडाच्याङ्ग्रालाई घाँसको समस्या हुन्छ ।’ जौ, करु, उवा, गहुँ, फापरको डाँठ गाईगोरु, याकचौँरीलाई भए पनि भेडाच्याङ्ग्रालाई घाँस पुर्‍याउन नसकिने उनको भनाइ छ । घाँस नपाइने मौसममा हिउँ परे अझ घाँस खान नपाएर पशुचौपाय मर्ने  गरेका उनी बताउँछन् ।

सरकारको पक्षबाट शतप्रतिशत अनुदानमा सोइ (दाना) को अभाव पूरा गर्न सहयोग पाएमा मनाङका युवालाई पशुपालनमा प्रेरित गर्न सकिने घले बताउँछन् । यहाँको मुख्य आय पर्यटन व्यवसाय, खेतीपाती र कृषि हो, यसैमा निरन्तरता दिन सरकारले प्राथमिकताका साथ अनुदान उपलब्ध गराउनतर्फ ध्यान दिनुपर्ने मा उनको जोड छ ।

सुकेका डाँठलाई पशुचौपायले खाए पनि मल हुन्छन् भने नखाएका डाँठ प्राङ्गारिक मल (सोइ) बनाउन प्रयोग गरिन्छ । यसले पशुचौपायलाई न्यानो बनाउने कार्यसमेत गर्ने  गरेको किसान बताउँछन् ।

हिउँ पर्ने  वा चिसो बढ्दै जाँदा यहाँका याकचौँरीलाई आहार पुर्‍याउन सकस हुने गरेको नेपाल याकचौँरीपालक किसान महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष सुरेश थकालीले बताए । समयमा हिउँ नपर्दा पालुवा नपलाउने र सुक्खापन बढ्ने क्रममा रहेको उनले बताए ।

‘मनाङको तल्लो क्षेत्रमा डाले घाँस लगाएर हरियो घाँस नै खुवाउन सकिने देखिएको छ । तर, माथिल्लो क्षेत्रमा बढी सुक्खापनले घाँस पूर्ण रुपमा अभाव नै हुन्छ,’ उनले भने, ‘बाहिरबाट दाना किनेर ल्याउनुपर्ने  बाध्यता बनेको छ, दाना किन्न भने सहज छैन ।’ बजारसँग सहज पहुँच नहुँदा ढुवानी र दाना खरिद गर्न किसानले सक्ने अवस्था नरहेको उनको भनाइ छ ।

यहाँका पशुपालक किसानले पौष्टिक आहार तथा पशुचौपायलाई बचाउन यहाँ उत्पादित खाद्यवस्तुका साथै सुकेका डाँठको उपयोग गर्न बाध्य भएका थकालीले बताए । यहाँको मौसम तथा माटो सुहाउँदो घाँस लगाउन तथा उत्पादन गर्न प्रोत्साहन गर्नुपर्ने  देखिएको उनले बताए ।

‘खेती पनि वर्षमा एक सिजन मात्रै हुने हुँदा सुकेका डाँठ पनि पुर्‍याउन मुस्किल हुने गर्दछ, यसले पौष्टिक आहारको अभावले पशुचौपायामा दुब्लोपना देखिन्छन्,’ उनले भने, ‘यसकै कारण पशुपालनबाट युवाको आकर्षण हुनुपर्ने मा विकर्षण हुने गरेको पाइएको छ ।’

यहाँका पशुपालक किसानले घाँसको अभाव पूरा गर्न जैविक रुपमा दाना (सोइ) बनाएर खुवाउने गरेका छन् । यहाँ गरिने खेतीपाती (गहुँ, करु, कोलो बोडी, फापर, जौ) लगायत रैथाने बालीका सुकेका डाँठलाई खुवाएर बचाउने गरिन्छ । घाँस नपुगेर हुनसक्ने याकचौँरीको दुर्बलतालाई सोइले पौष्टिक तथा भिटामिनसमेत पूरा हुने गरेको किसान बताउँछन् । रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्