नेभिगेशन
प्रदेश

समयसँग नफेरिएको लुवार–कार्मीको जीवन

मुगु । देश आधुनिकतातर्फ अगाडि बढिरहेको छ । राजनीतिक परिवर्तनका प्रत्येक कालखण्डसँगै सत्तामा पुगेका नेताहरूका घर–परिवार, आफन्त र जीवनशैली फेरिँदै गएका छन् । तर यही परिवर्तनको भाषण सुन्दै आएका मुगुका लुवार र कार्मी समुदायको जीवन भने दशकौँदेखि उस्तै छ । परम्परागत आरन पेसामा आश्रित उनीहरूको अनुहारमा समयको चमक होइन, जीवन संघर्षका गहिरा रेखाहरू अझ प्रष्ट देखिन्छन् ।

मुगुको सोरु गाउँपालिका–७ सिप गाउँका ६८ वर्षीय लालसिंह कार्मी उमेरले अब विश्राम गर्ने बेला भइसकेको छ । तर बिहान सबेरै उठेर उनी घरभन्दा केही तल सडक छेउमा रहेको टिनको छाप्रोमा पुग्छन् । आगो बाल्छन्, फलाम तताउँछन् र ठकठक–टकटक आवाजसँगै दिनभर औजार बनाउने र मर्मत गर्ने काममा लागिरहन्छन् ।

एउटा छोरय छ तर उ छुट्टै बस्छ । श्रीमतीसँगै लालसिंहले यही आरन पेसाबाट जीवन चलाउँदै आएका छन् । कसैको कुटो, कसैको कोदालो, हँसिया, बन्चरो लगायत गाउँलेका खेतबारी चलाउने सबै औजार उनका हातबाट बनेका हुन् । ‘४० वर्षभन्दा बढी भयो यही आरनमा काम गरेको,’ उनी भन्छन्, ‘आफ्नै सीप्ले पेटपालो गरेका छौं । अहिलेसम्म कुनै सरकारको सहयोग पाएको छैन ।’

यस्तै अवस्थामा छन् मुगमकार्मारोङ–९ पापु गाउँका प्रेमसिंह विक पनि । ४० भन्दा बढी क्षेत्री परिवार बसोबास गर्ने गाउँमा उनी एकमात्र दलित घरका सदस्य हुन् । बाजे र बुबाले सम्हालेको आरन पेसालाई उनले निरन्तरता दिँदै आएका छन् ।

कुटो, कोदालो, हँसिया, हतौडा, बन्चरो लगायत गाउँलेलाई चाहिने फलामका औजार उनी नै बनाउँछन् । तर मेहनतको मूल्य पैसामा होइन, अन्नमा तौल हुन्छ । ‘नयाँ औजार बनाए एक सुपो अन्न, मर्मत गरे आधा सुपो,’ उनी भन्छन्, ‘नगद कसैले दिँदैन ।’ यही आरन पेसाबाट १० जनाको परिवार पाल्नुपर्ने बाध्यता छ । अन्य कुनै वैकल्पिक रोजगारी वा सहयोग उनले पाएका छैनन् । जिल्लामा सीपमूलक तालिम र उद्योग प्रवर्द्धनको जिम्मेवारी लिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुका अनुसार कार्यालयले विभिन्न तालिम सञ्चालन गर्दै आएको छ । कार्यालय प्रमुख कमल भट्टका अनुसार वार्षिक स्वीकृत कार्यक्रम र स्थानीय सरकारबाट आएको मागका आधारमा तालिम दिइने गरिएको छ । ‘विगतमा आरनसम्बन्धी तालिम पनि सञ्चालन गरेका थियौँ,’ उनी भन्छन्, ‘तर पछिल्ला वर्षहरूमा माग नआएकाले तालिम हुन सकेन ।’

उनका अनुसार बजेट अभावका कारण ठूला उद्योग, लगानी र आधुनिकरणसम्बन्धी तालिम दिन कठिन भएको छ । माग भएका तालिमहरू पनि प्रायः परम्परागत सीपमै सीमित छन् ।

परम्परागत आरन पेसामा आश्रित लुवार, कार्मी लगायतका समुदाय केवल फलाम पिटेर औजार बनाइरहेका छैनन्, उनीहरू जीवन टिकाइरहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्