नेपालको अर्थव्यवस्थार अर्थतन्त्रमा रुचि हुने जो काेहीलाई यादवप्रसाद पन्तको नाम नौलो लाग्दैन । युवावस्थामै अर्थसचिव, राष्ट्र बैंकका गभर्नर हुँदै अर्थमन्त्री बनेका डा. यादवप्रसाद पन्तको जीवनी केलाउँदा उनका कृत्यहरूले जो कोहीलाई ईर्ष्यालु बनाउँछ । सो कुराको दसीका रूपमा ‘सम्झनामा डा. यादवप्रसाद पन्त’ पुस्तकलाई लिन सकिन्छ । पुस्तकमा अर्थशास्त्री पन्तका जीवनका विविध आयाम समेटिएका छन् ।
अर्थशास्त्रमा स्नातकोत्तर सेकको चार वर्षपछि बनारस हिन्दू विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि पूरा गरी नेपाल फर्कंदा पन्त मात्र २४ वर्षका थिए । त्यतिबेला कम उमेरमै स्नातकोत्तर र विद्यावारिधि हासिल गर्ने उनी पहिलो नेपाली थिए । राणाशासन ढले र नेपाल संक्रमणकालमा रहेको बेला दक्ष जनशक्तिको चरम अभाव भएका बेला पन्तले पाएका अवसर हरूलाई इमानदारी र उत्साहका साथ सदुपयोग गर्दै गए ।
विद्यावारिधि सकेर स्वदेश फर्किएलगत्तै उनले त्रिचन्द्र कलेजमा अध्यापन सुरु गरे । त्रिचन्द्रमा उनले धेरै वर्ष पढाउनु परेन किनभने त्यो भन्दा ठूलो जिम्मेवारी र अवसरहरू उनले पाउनेवाला थिए । अध्यापन गरेको छ वर्षपछि उनी अर्थसचिव नियुक्त भए । त्यो बेला उनको उमेर जम्मा ३० वर्ष थियो । ने पालको पहिलो पुस्ताका पेशाकर्मीहरू आफ्नो ३० वर्षे उमेर हाराहारीमै आफ्नो क्षेत्रको उपल्ला तहमा पुगेका थिए । चाहे त्यो शिक्षा, स्वास्थ्य, पूर्वाधार , प्रशासन जुनसुकै विधामा होस् । त्यो उमेरमा केही गरेर देखाउने उत्साह र परेको बेहोराैंला भन्ने आँट पनि हुन्छ । पन्तमा पनि त्यही उत्साह र काम प्रतिको लगन थियो । अर्थसचिव बनेको दश वर्षपछि उनी मुलकको केन्द्रिय बैंक नेपाल राष्ट्र बैंकको गभर्नर बने । उनको आराेह त्यतिमै मात्र सीमित भएन पछि त उनी अर्थमन्त्री पनि भए । राजदूत पनि भए ।
जमीनदार परिवारका उनका बुबा छोराले जागिर नखाओस् भन्ने चाहन्थे । उनका बुवा त उनलाई विदेश पढ्न पनि नपठाउने सोचमा थिए । तर पन्तले बुवाको सोच विपरीत विदेशमा पढ्न गए । फर्कंदा एउटा राम्रो प्राज्ञिक परिचय बोकेर आए । त्यसपछि सरकारी सेवामा आफूलाई समर्पित गरे । उनले विदेशमा देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाए र कूटनीति, विकास तथा अर्थनीतिमा उल्लेखनीय योगदान दिँदै आफूलाई एउटा इमानदार पेशाकर्मी र राष्ट्रसेवक रहे को प्रमाणित गरे ।
उनको त्यो बहुआयामिक व्यक्तित्वलाई ‘सम्झनामा डा. यादवप्रसाद पन्त’ पुस्तकले उजिल्याउने काम गरेको छ । पुस्तकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्का ४० जना विशिष्ट व्यक्तित्वका संस्मरण, विचार र विश्लेषण समावेश छन् । ती सामग्रीले पन्त एक कुशल प्रशासक, अर्थशास्त्रीर कूटनीतिज्ञ भएको प्रसङ्गहरूलाई प्रस्तुत गरेका छन् । अहिले पुँजीवादी प्रणालीको दबदबा रहेको अवस्थामा मान्छेले आर्थिक सफलतालाई मात्र प्रश्रय दिन्छ । व्यक्तिको करुणा र विनम्रतालाई उती वास्ता गर्दै न तर पन्त एक सफल व्यक्ति हुनुका साथै करुणाले भरिएका मानव पनि थिए भन्ने प्रमाण पुस्तकमा आएको छ, जुन उनको व्यक्तित्वको छुट्न नहुने पाटो हो ।
उच्च ओहदामा रहेर काम गर्दा पन्तको मुख्य ध्येय देशको आर्थिक अवस्था सुधार गर्नुमा केन्द्रित रहेको पाउन सकिन्छ । प्राज्ञिक लेखकका रूपमा उनका लेखनले नेपालका जटिल आर्थिक समस्याकाे विश्लेषण गर्न सघाएको थियो , जसको प्रभाव स्वदेश मात्र होइन विदेशका विज्ञहरूलाई पनि उपयोगी भएको थियो ।
दिल्ली विश्वविद्यालयका प्राध्यापक आशिष बोसले पन्तसँगको पहिलो भेटको संस्मरणमा उनको हस्तरेखा नियालेर ‘तपाईं धेरै माथि पुग्नुहुनेछ, सायद प्रधानमन्त्री नै बन्नुहोला’ भनेको उल्लेख गरेका छन्। विनयी स्वभावका पन्तले हाँस्दै सो कुरा टारे पनि उनी प्रधानमन्त्री नै नभए पनि बारम्बार मन्त्री भने बने। विश्व बैंकका प्रशान्त क्षेत्रीय निर्देशक निगेल रोबर्ट्सले पन्तसँगको पहिलो भेटको रोचक प्रसंग उल्लेख गरेका छन् । एक कार्यक्रममा कुनामा बसेका रोबर्ट्ससँग आधा घण्टा गहिरो चासोका साथ कुरा गर्ने व्यक्ति जापानका लागि नेपाली राजदूत तथा राष्ट्र बैंकका पूर्व गभर्नर हुन् भन्ने कुरा उनले पछि मात्र थाहा पाए । मन्त्री हुँदा पनि पन्तको इमानदारी, नम्रता र विश्लेषणात्मक क्षमता प्रशंसनीय रहेको रोबर्ट्सले स्मरण गरेका छन् ।
भारतीय पूर्व विदेशसचिव एरिक गोन्साल्भेजले पन्तलाई दक्षिण एसिया मात्र होइन, विश्वकै अग्रणी विकास अर्थशास्त्रीमध्ये एक मानेका छन्। सीमापार सहकार्य र यथार्थपरक कूटनीतिमा पन्तको दृष्टिकोणले नेपाल–भारत सम्बन्ध सुधारमा महत्वपूर्ण योगदान दिएको उनी बताउँछन्।
फिलिपिन्सका प्राध्यापक तथा पूर्व मन्त्री गेरार्डाे पी. सिक्याट, जापानका मानवशास्त्री जिरो कावाकिटा, न्युजविकका पत्रकार बर्नार्ड क्रिसर लगायतका अन्तर्राष्ट्रिय व्यक्तित्वहरूले पन्तको प्राज्ञिक गहिराइ, कूटनीतिक सक्रियता र नैतिक अडानको खुलेर प्रशंसा गरेका छन्।
नेपाली पत्रकार एन.पी. उपाध्याय र पी. खरेलले पन्तलाई भ्रष्टाचारको आरोपबाट पूर्णतः मुक्त, समाजमा बिरलै पाइने सार्वजनिक व्यक्तित्वका रूपमा चित्रित गरेका छन् ।
श्रीलंकाका अर्थशास्त्री डा. पोन्ना विग्नराजाका अनुसार पन्तले रोपेका विकासका नवीन विचारले गाउँ फर्क राष्ट्रिय अभियान, राष्ट्रिय विकास सेवा, साना किसान कार्यक्रमजस्ता जनताकेन्द्रित अभियान सञ्चालन गरे।
स्वास्थ्य क्षेत्रका पुस्तकसमेत गहिरो रुचिका साथ पढ्ने अध्ययनशील व्यक्तित्व भएको बद्रीराज पाण्डे स्मरण गर्छन्।
पन्तको प्रश्नले आफूलाई समेत थप अध्ययन गर्न प्रेरित गरेको उनको अनुभव छ।
पन्त सन् १९५६–५९ सम्म संयुक्त राष्ट्रसंघीय आर्थिक आयोग (इस्क्याप)मा आबद्ध भई पहिलो अन्तर्राष्ट्रिय जिम्मेवारी सम्हाल्ने नेपाली अर्थशास्त्री बने । पछि आईबीआरडी र आईएमएफमा गभर्नर तथा वैकल्पिक गभर्नरको भूमिकामा रहेर उनले नेपालको अन्तर्राष्ट्रिय छवि निर्माणमा योगदान दिए । गरिबी उन्मूलन, रोजगारी सिर्जना, मूल्य स्थिरता र सन्तुलित विकास पन्तका मुख्य चासोका विषय थिए । उनी निजी क्षेत्रको सक्रिय सहभागिता र सरकारको सबल नियमनकारी भूमिकाको पक्षपाती थिए । पहिलो पञ्चवर्षीय योजना निर्माणदेखि बैंकिङ प्रणाली सुधारसम्म उनको योगदान स्मरणीय छ ।
वरिष्ठ चिकित्सक डा. प्रदीप भण्डारीका शब्दमा पन्तले जीवनभर कमाएको सबैभन्दा ठूलो सम्पत्ति सम्मान थियो । पद र शक्तिबाट होइन, आचरण र योगदानबाट कमाइएको त्यो सम्मान आज पनि दुर्लभ उदाहरणका रूपमा स्मरण गरिन्छ । डा. यादवप्रसाद पन्तको २०६४ सालमा ८२ वर्षको उमेरमा निधन भयो । तर उनको विचार, योगदान र जीवनदर्शन नेपाली आर्थिक इतिहासमा सधैँ जीवित रहनेछन् ।