नेभिगेशन
खेलकुद

राष्ट्रिय भलिबलमा आर्मी क्वाटरफाइनलमा प्रवेश

काठमाडौंमा जारी नवौं एनभिए राष्ट्रिय पुरुष तथा महिला भलिबल च्याम्पियनशिपअन्तर्गत सोमबार भएको पुरुषतर्फको खेलमा त्रिभुवन आर्मी क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको समूह ‘डी’ को खेलमा आर्मीले कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टरलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगिताको क्वाटर फाइनलमा प्रवेश गरेको हो ।

आर्मीले कीर्तिपुरमाथि पहिलो सेट २५–१९, दोस्रो सेट २५–२१ तथा तेस्रो तथा अन्तिम सेट २५–२१ ले जित निकाल्यो । आर्मीले पहिलो खेलमा कोशी प्रदेश भलिबल संघलाई पराजित गरेको थियो ।

त्यसैगरी सोही स्थानमा आजै भएको अर्को खेलमा रुकुम पश्चिम भलिबल क्लब पनि प्रतियोगिताको क्वाटर फाइनलमा पुगेको छ । रुकुम पश्चिमले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई ३–१ को सेटमा पराजित गर्दै प्रतियोगिताको क्वाटर फाइनलमा पुगेको हो ।

पाकिस्तानी खेलाडी सम्मिलित रुकुम पश्चिमले २५–२०, २५–१८, २३–२५, २५–१८ ले जित निकाल्यो । समूह ‘सी’ मा रहेको रुकुम पश्चिमले पहिलो खेलमा बुढानीलकण्ठ भलिबल क्लबलाई ३–० सेटले हराएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद