काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८२/८३ को मंसिर मसान्तसम्मको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले देशको अर्थतन्त्र दुई फरक धारमा अघि बढिरहेको देखिन्छ । बाह्य क्षेत्रका अधिकांश सूचक सन्तोषजनक देखिए पनि आन्तरिक आर्थिक गतिविधि सुस्त रहेको छ ।
चालू खाता र शोधनान्तर दुवै बचतमा छन् । मंसिर ससान्तसम्म चालू खाता ३ खर्ब ५८ अर्ब ८३ करोड रुपैयाँ र शोधनान्तर स्थिति ४ खर्ब २१ अर्ब ८९ करोडले बचतमा पुगेको छ । यसको मुख्य आधार रेमिट्यान्स आप्रवाह र विदेशी मुद्रा सञ्चितिमा देखिएको वृद्धि हो ।
पछिल्लो पाँच महिनामा रेमिट्यान्स आप्रवाह ३५.६ प्रतिशत बढेर ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ बराबर भित्रिएको छ । मंसिर महिनामा मात्रै १ खर्ब ८३ अर्ब १८ करोड रुपैयाँ भित्रिएको छ । अमेरिकी डलरमा ६ अर्ब १६ करोड रेमिट्यान्स भित्रिएको छ । त्यस्तै यो अवधिसम्ममा कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब एक अर्ब ४७ करोड रुपैयाँ पुगेको छ । अमेरिकी डलरमा २२ अर्ब १३ करोड सञ्चिति पुगेको छ । यस्तो सञ्चितिले १८ महिना ६ दिनको वस्तु तथा सेवा आयात धान्ने छ ।
अर्थतन्त्रका बाह्य सूचक सुविधाजनक अवस्थामा रहँदा राजस्व संकलन, बजेट खर्च तथा कर्जा विस्तार भने कमजोर देखिएको छ । सरकारको खर्च ५ खर्ब ६४ अर्ब ४६ करोड रुपैयाँ र राजस्व परिचालन ४ खर्ब ६ अर्ब ३० करोड रुपैयाँ छ । निजी क्षेत्रतर्फ प्रभावित कर्जा पाँच महिनामा १.९ प्रतिशत मात्रै बढेको छ, जसले लगानी र उत्पादन गतिविधि अपेक्षित रुपमा चलायमान नभएको संकेत गर्छ ।
आर्थिक गतिविधि सुस्त देखिए पनि मुद्रास्फीति ऐतिहासिक रुपमा न्यून तहमा झरेको छ । मंसिरमा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.६३ प्रतिशत कायम छ, जुन अघिल्लो वर्षको सोही अवधिमा ६.०५ प्रतिशत थियो । समिक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.०५ प्रतिशतले ऋणात्मक छभने गैरखाद्य तथा सेवा समूहको ३.७५ प्रतिशत छ । खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ऋणात्मक हुँदा समग्र मुद्रास्फीति नियन्त्रणमा आएको देखिन्छ । तरकारी, दाल तथा गेडागुडी, मरमसलालगायतका वस्तुको मूल्य घट्दा उपभोक्तालाई राहत पुगेको छ ।
मंसिरमा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.५२, गैरमदिराजन्य पेय पदार्थको ३.५६ र दुग्ध पदार्थ तथा अण्डाको २.४४ प्रतिशतले बढेको छ । तरकारी समूहको उपभोक्ता मूल्य सूचकांक ८.५४, मरमसलाको ८.४३ र दाल तथा गेडागुडीको ५.७९ प्रतिशतले घटेको छ ।
अर्थशास्त्रीहरूका अनुसार बाह्य आम्दानी र विदेशी मुद्रा सञ्चितिले अर्थतन्त्रलाई तत्कालका लागि स्थिरता दिएको भए पनि दीर्घकालीन सुधारका लागि उत्पादन, लगानी र रोजगारी सिर्जनामा भने चुनौती नै छ । राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदनले बाह्य सबलतामाथि निर्भर अर्थतन्त्रलाई आन्तरिक पुनरुत्थानतर्फ लैजाना नीतिगत पहल आवश्यक रहेको सन्देश दिएको छ । तर त्यसका लागि राजनीतिक स्थिरता, विकास निर्माणका लागि लगानीको स्रोत सुनिश्चितता, निजी क्षेत्रमाथि विश्वास बढाउने काम गर्नु आवश्यक छ ।