बेलायत । ‘शरीरको कुनै अंगमा खोट हुँदैमा जीवन निरर्थक हुँदैन,’ कृत्रिम खुट्टाको सहायतामा यही पुस २२ गते करिब माइनस २५ डिग्री सेल्सियसको कठ्यांग्रिदो चिसोबीच अन्टार्टिकाको माउन्ट भिन्सन आरोहण गरेर फर्किएका हरि बुढामगर भन्छन्, ‘म फरक क्षमता भएका मानिसलाई आफ्नै क्षमता चिनेर हरेक दिन सपनाको सगरमाथा चढ्न प्रेरित गर्न चाहन्छु । मेहनत गरे सफलता सम्भव हुन्छ भन्ने उदाहरण म आफैं हुँ ।’
४ हजार ८ सय ९२ मिटर उचाइको माउन्ट भिन्सनको सफल आरोहणसँगै पूर्व गोर्खा सैनिकसमेत रहेका ४६ वर्षीय हरिले विश्वका सातै महादेशका अग्ला शिखरहरूको आरोहण पूरा गरेका छन् । रोल्पाको दुर्गम गाउँ मिरुलमा जन्मिएका उनी आज विश्व समुदायकै लागि साहस, आत्मविश्वास र दृढ इच्छाशक्तिको प्रतीक बनेका छन् ।
संवाददातासँग आफ्नो आरोहण अनुभव बाँड्दै उनले भने, ‘यो उपलब्धि प्राप्त गर्नु अत्यन्तै कठिन थियो । तीव्र हावा र कठ्यांग्रिदो चिसोले औंलाहरू जमिरहेका थिए, अनुहारमा चिसोले डामेजस्तो जलन भइरहेको थियो । धेरैपटक आफैंमाथि शंका लाग्थ्यो । भगवानमा विश्वास नगर्ने म पनि मनमनै ‘हामी सफल होऔं’ भनेर प्रार्थना गरिरहेको हुन्थें ।’
उनका अनुसार तीव्र हावा र असह्य चिसोले आफूलाई रोक्न सक्दैन भन्ने आत्मविश्वास नै सफलताको मुख्य आधार बन्यो । युद्धमै मृत्यु जितेर पुनर्जीवन पाएको अनुभूति स्मरण गर्दै उनले हरेक काममा चुनौती रहने तर त्यसलाई पार गर्न आत्मविश्वास अपरिहार्य हुने बताए । निरन्तर र अथक प्रयासले मात्र असम्भव देखिने लक्ष्य सम्भव हुने उनको ठम्याइ छ ।
‘यो अनुभूति अद्भुत छ । शब्दमा बयान गर्नै सक्दिनँ,’ उनले भावुक हुँदै भने, ‘तर हामीले सातै महादेशका उच्च सात शिखर सफलतापूर्वक आरोहण गरेका छौं । अपांगता भएको व्यक्तिका रूपमा मैले यो असम्भवजस्तै देखिने काम सम्पन्न गरेको छु । हिमालको पानी पिएको नेपालीले गरेको यो यात्राले नेपालको शिर उँचो बनाउने काममा केही योगदान अवश्य गर्छ भन्ने लागेको छ ।’
बुढामगरले यसअघि १९ मे २०२३ मा विश्वको सर्वोच्च शिखर सगरमाथा (८,८४८.८६ मिटर), ८ जनवरी २०२० मा अफ्रिकाको तान्जानियास्थित माउन्ट किलिमन्जारो (५,८९५ मिटर), २८ जुन २०२४ मा उत्तर अमेरिकाको अलास्कास्थित डेनाली (६,१९० मिटर) र २२ फेब्रुअरी २०२५ मा दक्षिण अमेरिकाको अर्जेन्टिनास्थित एकोनकागुआ (६,९६१ मिटर) को सफल आरोहण गरेका थिए । त्यसैगरी उनले न्यु गिनीको पुन्चाकजयु (४,८८४ मिटर) र १३ अगस्ट २०१९ मा फ्रान्सको मोन्ट ब्ल्यांक (४,८०९ मिटर) पनि चढिसकेका छन् । पछिल्लो पटक अन्टार्टिकाको माउन्ट भिन्सन आरोहणसँगै उनले दुवै खुट्टाको घुँडामुनिको भाग गुमाएर पनि सातै महादेशका अग्ला शिखर चढ्ने नयाँ कीर्तिमान कायम गरेका हुन् ।
सेभेन समिटअन्तर्गत रूसको माउन्ट एल्ब्रस समावेश भए पनि हाल त्यो क्षेत्र पहुँचयोग्य नभएकाले फ्रान्सको मोन्ट ब्ल्यांकलाई विकल्पका रूपमा लिइएको थियो, जसलाई गिनिज वल्र्ड रेकड्र्सले समेत मान्यता दिएको छ ।
माउन्ट भिन्सनमा पाइला टेक्दाको अनुभूति सम्झिँदै उनले भने, ‘आँखाले देखेसम्म सबैतिर हिउँ नै हिउँ थियो । क्षितिजसम्म फैलिएको त्यो दृश्य स्वर्गजस्तै लाग्थ्यो ।’ उनका अनुसार धेरैले ‘तिमी जस्तो अवस्थामा यस्तो चुनौती सम्भव छैन’ भनेर हतोत्साहित गरे पनि आजको सफलता तिनै शंकाहरूको जवाफ बनेको छ ।
सबै नेपाली आरोहण दलका सदस्य अविरल राई, मिङ्मा शेर्पा र जाङ्बु शेर्पासहित उनी २४ घण्टा उज्यालो रहने अन्टार्टिकाको युनियन ग्लेशियरबाट आधारशिविर हुँदै शिखरतर्फ लागेका थिए । आरोहण दलले ६ जनवरी २०२६ राति १० बजे माउन्ट भिन्सनको शिखरमा पाइला टेकेको थियो ।
पूर्व गोर्खा सैनिक हरि बुढामगरले सन् २०१० मा अफगानिस्तानमा तालिवानसँगको युद्धका क्रममा भूमिगत बम विस्फोटमा दुबै खुट्टा गुमाएका थिए । निराशा, पीडा र आत्महत्याको प्रयाससम्म पुगेका उनका जीवनमा स्काइ ड्राइभिङले नयाँ मोड ल्यायो । तीन सन्तानका पिता हरि सपरिवार बेलायतको क्यान्टबरी, केन्टमा बस्दै आएका छन् ।
गत वर्ष बेलायतको प्रतिष्ठित ‘एमबीई’ अवार्ड तथा ‘प्राइड अफ ब्रिटेन’ सम्मान प्राप्त गरेका उनले आफ्नो सफलता विश्वभरका अपांगता भएका समुदायलाई समर्पित गरेका छन् । सफलताको खुसी बाँड्न उनी माघ १ गते काठमाडौं आइपुग्ने र त्यसपछि बेलायत फर्केर बेलायती प्रधानमन्त्रीसँग भेट्ने योजना रहेको बताएका छन् । रासस