काठमाडौं — काठमाडौं महानगर क्षेत्रभित्र यस्ता कुनै पनि चोक र गल्ली छैनन् जहाँ छाडा छाडिएका कुकुर नभेटिऊन् । चोक–चोकमा ६/७ वटाभन्दा कम कुकुर छैनन् । संख्या बढ्यो भन्दैमा परापूर्वकाल जसरी कुकुर मार्न पाइँदैन । कुकुर व्यवस्थापनमा टाउको दुखाइ भएपछि काठमाडौं महानगरपालिकाले धमाधम बन्ध्याकरण गराइरहेको छ ।
यो अभियानमा अढाइ महिनामा ५ हजार ४४ वटा कुकुरको बन्ध्याकरण गरिएको छ । सडक र चोकमा बस्ने कुकुर व्यवस्थापनका लागि गत कात्तिक १४ देखि सुरु गरेको बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप कार्यक्रमअन्तर्गत हालसम्म उक्त संख्यामा बन्ध्याकरण गरिएको महानगरपालिकाको कृषि तथा पशुपन्छी विभागले सोमबार जनाएको हो ।
कार्यक्रम महानगरका २८ वटा वडामा चरणबद्ध रूपमा सञ्चालनमा छ ।
विभागका अनुसार ६ नम्बर वडामा सबैभन्दा धेरै ६२१ र २१ नम्बरमा सबैभन्दा कम ८ वटाको बन्ध्याकरण भएको छ । हाल वडा नम्बर १८, २२, २५ र २७ मा कार्यक्रम सञ्चालन प्रक्रियामा रहेको विभागले जनाएको छ ।
संख्याका आधारमा धेरै बन्ध्याकरण भएका वडामध्ये वडा १६ मा ५६४, वडा १५ मा ४५६, ३१ मा ४१९, ७ मा ४०७, ३२ मा ३८५ र वडा १४ मा २५८ वटा कुकुरको बन्ध्याकरण गरिएको छ ।
यस्तै वडा १० मा २३६, ३ मा २१५, २६ मा १८७, ४ मा १६०, ५ मा १३८ र वडा नम्बर ८ मा ११४ वटा कुकुरको बन्ध्याकरण भएको विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए ।
त्यसैगरी वडा नम्बर १ र १२ मा समान ११३–११३ वटा, वडा १३ मा १०१, ९ मा ९८, ११ मा ७४, २० मा ६१, २८ मा ५७, २९ मा ५६, १७ मा ५५, १९ मा ४१, २ र २३ मा ३२–३२, २४ मा ३१ र वडा ३० मा १२ वटा कुकुरको बन्ध्याकरण भएको छ ।
महानगरपालिकाले काठमाडौं पशु उपचार केन्द्र (क्याट सेन्टर), क्याट क्लिनिक, मण्डला भेटेरिनरी अस्पताल, स्नेहाज केयर तथा पशुपन्छीप्रति निर्दयता रोकावट समाज (एसपीसीए) नेपाल गरी पाँच वटा संस्थासँगको सहकार्यमा कार्यक्रम सञ्चालन गरिरहेको छ ।
बन्ध्याकरण तथा खोप दिने सम्पूर्ण प्रक्रियामा पशु कल्याणका मापदण्डको पूर्ण पालना गरिएको विभागका प्रमुख न्यौपानेले बताए । कुकुरलाई सुरक्षितरूपमा नियन्त्रणमा लिने, बन्ध्याकरण गर्ने , कम्तीमा २४ घण्टा निगरानीमा राख्ने र पूर्णरूपमा स्वस्थ भएपछि पुनः पुरानै स्थानमा छाड्ने व्यवस्था गरिएको उनको भनाइ छ । यस क्रममा कुकुरलाई कुनै पनि प्रकारको पीडा नहोस् भन्ने कुरामा विशेष ध्यान दिइएको छ ।
कार्यक्रमबाट महानगर क्षेत्रभित्र सामुदायिक कुकुरको संख्या नियन्त्रणमा ल्याउन, रेबिज जस्ता प्राणघातक रोगको जोखिम घटाउन तथा मानव– पशु सहअस्तित्वलाई सुरक्षित र व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा महानगरपालिकाले गरेको छ ।