नेभिगेशन
साहित्य

पाठक बन्दैछन् श्रोता

बजारमा नयाँ पुस्तक आएको थाहा पाउनुभयो ? खबर पढ्नु की सुन्न भयो ? अब पुस्तकहरु पनि पढ्न होइन सुन्न पाइन्छ । संसारभर यो चलनले तीव्रता पाएको छ । डिजिटल प्रविधिको तीव्र विस्तारसँगै पुस्तक पढ्ने परम्परागत शैलीमा उल्लेख्य परिवर्तन आएको छ । पछिल्ला वर्षहरूमा अडियोबुक अर्थात् सुन्न मिल्ने पुस्तकको प्रयोग विश्वभर तीव्र रूपमा बढ्दै गएको तथ्यांकहरूले देखाएका छन् । 
अडियो पब्लिसर्स एसोसिएसन (एपीए)को पछिल्लो प्रतिवेदनअनुसार विश्वव्यापी अडियोबुक बजार वार्षिक करिब २५ देखि ३० प्रतिशतको दरले विस्तार भइरहेको छ र स्रोताको संख्या हरेक वर्ष बढ्दो क्रममा छ । विशेषगरी युवा पुस्ताले यसलाई दैनिक जीवनको हिस्सा बनाउँदै लगेका छन् । सन् २०२५ सम्ममा विश्वव्यापी अडियोबुक बजारको आकार १५ अर्ब डलरभन्दा माथि पुग्ने प्रक्षेपण गरिएको छ ।
अडियोबुक भन्नाले पुस्तक, लेख वा कुनै लिखित सामग्रीलाई मानवीय वा एआइको आवाजमार्फत रेकर्ड गरी प्रस्तुत गरिएको स्वरूप हो । यसलाई मोबाइल, ट्याबलेट वा अन्य डिजिटल उपकरणमार्फत सजिलै सुन्न सकिन्छ । अहिले ‘अडिबल,’ ‘स्टोरीटेल,’  ‘गुगल प्ले बुक्स’ जस्ता अन्तर्राष्ट्रिय प्लेटफर्महरूमा लाखौं शीर्षकका सामग्री उपलब्ध छन् । कथा, उपन्यास, आत्मकथा, इतिहास, व्यवसाय, मनोविज्ञान, बालसाहित्यदेखि जटिल शैक्षिक सामग्रीसम्म अहिले डिजिटल ध्वनिको रूपमा उपलब्ध छन् ।
प्रविधिको विकाससँगै अब लेखककै आवाजमा वा चर्चित कलाकारहरूको जीवन्त वाचनमा पुस्तक सुन्न पाउनु यसको अर्को सबल पक्ष बनेको छ ।
अडियोबुक लोकप्रिय हुनुको प्रमुख कारण बदलिँदो जीवनशैली र समयको चाप हो । व्यस्त दिनचर्याबीच फुर्सद निकालेर पुस्तकका पाना पल्टाउन नसक्नेहरूका लागि सुन्ने माध्यम एउटा सशक्त विकल्प बनेको छ । स्पोटिफाईले सार्वजनिक गरेको एक अध्ययनअनुसार प्रयोगकर्ताहरूले यात्रा, व्यायाम गर्दा वा घरायसी काम गरिरहँदा अडियो सामग्री बढी सुन्ने गरेका छन् । यसले मल्टिटास्किङ अर्थात् एउटै समयमा धेरै काम गर्न सम्भव तुल्याएकाले अडियोबुकको आकर्षण बढेको देखिन्छ । विशेषगरी आँखाको समस्या भएका वा ‘डिस्लेक्सिया’ जस्ता सिकाइ कठिनाइ भएका व्यक्तिहरूका लागि त यो प्रविधि बरदान नै साबित भएको छ ।
कुन सामग्री सुन्ने भन्ने कुरा स्रोताको रुचि र समयमा निर्भर हुन्छ । नयाँ प्रयोगकर्ताहरूले छोटा कथा, लेख वा प्रेरणादायी सामग्रीबाट सुन्न सुरु गर्ने र पछि विस्तारै लामा उपन्यास वा गहन प्राज्ञिक विषयवस्तुतर्फ जान सक्ने विज्ञहरू सुझाउँछन् । दैनिक कम्तीमा २० देखि ३० मिनेट अडियोबुक सुन्ने बानीले ज्ञान वृद्धि मात्र होइन, शब्दोच्चारणमा शुद्धता र ध्यान केन्द्रित गर्ने क्षमतामा समेत व्यापक सुधार ल्याउने हावर्ड बिजनेस रिभ्युको एक लेखमा उल्लेख छ । यसले पाठकलाई मानसिक रूपमा शान्त राख्न र ‘स्क्रिन टाइम’ घटाउन समेत मद्दत पु¥याउँछ ।
अडियो सामग्री उत्पादन गर्ने संस्थाहरू पनि यसको माग बढ्दै गएको स्वीकार गर्छन् । ‘स्टोरीटेल’सँग आबद्ध एक क्षेत्रीय प्रतिनिधिले भनेका छन्, ‘दक्षिण एसियामा इन्टरनेटको पहुँच र सस्तो डेटाका कारण अडियो सामग्रीप्रतिको आकर्षण तीव्र रूपमा बढिरहेको छ, विशेषगरी युवा पुस्तामा यसको प्रयोग उल्लेख्य छ ।’ यस्तै अडिबलका एक सामग्री निर्माताका अनुसार मानिसहरूको पढ्ने तरिका मात्र होइन, सूचना ग्रहण गर्ने तरिका नै बदलिएको छ । उनीहरू अब सुन्दै र महसुस गर्दै ज्ञान हासिल गर्न रुचाउँछन् ।
नेपालमा भने अडियोबुकको औपचारिक बजार अझै प्रारम्भिक अवस्थामा छ । समाचारका वेबसाइटहरुले खबर बजाएर सुन्न मिल्ने बनाउन सुरु गर्दा पुस्तकहरु पढेर युट्युबमा अपलोड हुन थालेका छन् । युट्युब जस्ता माध्यममा नेपाली कथा वाचन गर्ने च्यानलहरू र ‘हाम्रो पात्रो’ जस्ता एपहरूमा अडियो सामग्री सुन्ने स्रोताको संख्या लाखौं पुग्नु यसको प्रमाण हो । केही नेपाली सामग्री सर्जकहरूका अनुसार एउटै अडियो कथामा समेत सयौं सकारात्मक प्रतिक्रिया आउने गरेको छ, जसले नेपाली भाषामा गुणस्तरीय अडियो सामग्रीको व्यावसायिक सम्भावना उच्च रहेको देखाएको छ । नेपालमा विभिन्न पोडकास्टरहरूले यो क्षेत्रमा इँटा थप्ने काम गरिरहेका छन् । स्वस्थानी व्रतकथा, एकादसी महात्मय जस्ता धार्मिक पौराणिक कथा जोडिएका संस्कार सामग्रीहरु अब युट्युबबाट सुन्ने नेपालीको संख्या बसेृनि बढेको छ ।  
अडियोबुकले ज्ञान प्राप्त गर्ने परम्परागत तरिकालाई नयाँ आयाम र गति दिएको छ । पढ्ने समयको अभाव र डिजिटल पहुँचको व्यापक विस्तारबीच सुन्ने माध्यम एक प्रभावकारी र अपरिहार्य विकल्पका रूपमा स्थापित हुँदै गएको छ । बढ्दो स्रोता संख्या, विश्वव्यापी रूपमा विस्तारिँदो प्लेटफर्म र प्राप्त सकारात्मक प्रतिक्रियाले के पुष्टि गर्छ भने अडियोबुक अब केवल एउटा विकल्प मात्र होइन, यो त सूचना र शिक्षाको भविष्यको प्रमुख अध्ययन माध्यम बन्दै गएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
सत्तामा लेखक

सत्तामा लेखक

डेढ सय वर्षपछि लेखकीय श्रेय

डेढ सय वर्षपछि लेखकीय श्रेय