नेभिगेशन
साहित्य

साहित्यप्रेमी अमिर थापाको सम्झना

शिक्षा, साहित्य र संस्कृतिको उन्नयन तथा समाजसेवाका क्षेत्रमा आजीवन क्रियाशील व्यक्तित्व अमिर थापा (बुद्धिबहादुर) २०८२ को चैत १ गते बिहानै भौतिक शरीरलाई छोडेर कीर्तिशेष हुनुभयो । 
काठमाडौंको पूर्वोत्तर क्षेत्र बौद्ध, रामहिटीमा ९० वर्षअगाडि (१९९३ जेठ) पिता मेघबहादुर र माता ललितकुमारीका सुपुत्रका रूपमा जन्मिएका अमिर थापामा अन्यायको विरोध गरेर सत्यको वकालत गर्दा १९९७ फागुन ७ गते तत्कालीन राणा सरकारद्वारा फाँसीमा चढइएका आफ्ना पिता सुबेदार मेघबहादुर थापाको क्रान्तिकारी चेतना सानैदेखि थियो भन्ने कुरा समग्र जीवनभर उहाँले अनुशरण गरेको व्यवहारले प्रमाणित गरेको छ ।  सधैंभरि अन्यायको विरोध र सत्यका पक्षमा अविचलित आस्था प्रकट गरी अदम्य साहस र निर्भीकतासाथ उहाँको जीवन उदाहरणीयरूपमा व्यतीत भयो ।
अरुणिमा शैक्षिक प्रतिष्ठानको स्थापना र सञ्चालनमा उहाँको नेतृत्वदायी भूमिका सदैव सराहनीय छ भने साहित्य सदनको स्थापना, भौतिक निर्माण र उन्नयनमा उहाँले गर्नुभएको संघर्ष स्वर्णिम अक्षरले लेखिन लायक उदाहरणीय कार्य हो । यस्तै यस क्षेत्रको सामाजिक विकासमा अमिर थापाको नाम अग्रगण्य रहेको छ । 
अमिर थापा साहित्य सदन नेपालका संस्थापक सचिव, पूर्वअध्यक्ष तथा प्रमुख संरक्षक एवं अरुणिमा शैक्षिक प्रतिष्ठानका संरक्षक रहेर शिक्षा–संस्कृति र समाजसेवाका क्षेत्रमा आजीवन समर्पित चेतनामार्गका अथक योद्धा हुनुहुन्थ्यो ।
यस्ता उदाहरणीय पुरुषको निधनले देशले एक होनहार सपूत गुमाएको छ भने हाम्रो समाजलाई अपूरणीय क्षति पुगेको छ । यस दुःखद क्षणमा उहाँका समग्र परिवारलगायत शोकसन्तप्त सबैमा गहिरो समवेदना प्रकट गर्दै निम्नलिखित कवितात्मक हरफबाट उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । 

हामी सदा छौं न त 

प्रथित अमिर थापा ! ‘बुद्धि’को तीक्ष्णतामा
हरसमय सुशिक्षा–संस्कृति प्रेरणामा
हृदयबिच सजाई स्वच्छ साहित्यलाई 
अनवरत कमायौ जिन्दगीको उचाइ ।
    
कठिन कहर भोग्यौ सत्यको साथ लाग्दा
समयसित जुधेथ्यौ उच्च विश्वास जाग्दा
तिमिर पर हटाई ज्योतिको साधनाले
नव–सदन सजायौ साहसी भावनाले ।
    
सत्साहित्य–सुधा भरी सदनमा स्थापत्य अग्लो गरी
झुल्काए जसले नयाँ अरुणिमा आदर्श आभा छरी
जल्ले जीवनमा रचे धरहरा संघर्षले उन्नत
त्यस्ता सिर्जनशील ती ‘अमिर’मा हामी सदा छौं न त ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
सत्तामा लेखक

सत्तामा लेखक

डेढ सय वर्षपछि लेखकीय श्रेय

डेढ सय वर्षपछि लेखकीय श्रेय

पाठक बन्दैछन् श्रोता

पाठक बन्दैछन् श्रोता