नेभिगेशन
साहित्य
छोटो कथा

पोस्टमार्टमले नदेखेको मृत्यु

सधैंझैं पोस्टमार्टम कक्ष चिसो थियो । त्योभन्दा चिसो थियो त्यहाँको औपचारिकता । स्टिलको टेबलमाथि सेतो कपडाले ढाकिएको एउटा मृत महिला शरीर थियो । दुई जना चिकित्सकहरू औजार तयार गर्दै थिए । शवको चिरफार गरियो । मस्तिष्क, फोक्सो, किड्नी, मुटु र अन्य अंगहरू खोलिए । सबै जाँच गरिए । कहीँ कतै केही असामान्य देखिने चिह्न देखिएन । न त कुनै खालको करकाप पारिएको लक्षण देखियो न कुनै गम्भीर चोट । रिपोर्टमा चिकित्सकहरूले निष्कर्ष लेखे– सडन कार्डियाक अरेस्ट इन स्लीप । अर्थात् निद्राको अवस्थामा हृदयगति बन्द ।
परिवार स्तब्ध थियो । उनीहरूका लागि रिपोर्टले दिएको कारण सायद अपर्याप्त थियो ।
ती महिला जसको पोस्टमार्टम गरिएको थियो, उनी वयस्क उमेरमा हिँडिरहेकी थिइन् र उनले जीवनभर परिवारको अपेक्षा र संस्कारसँग बाँधिएकी थिइन् । तर त्यो दिन बिहानै उनको मृत्यु भयो । निद्रामै । कसैले अपेक्षा गर्न सक्ने कुरा पनि थिएन ।
समाज हो, कुरा फैलिन हावा पनि चल्नु पर्दैन । उनको मृत्युको खबर पनि चैतको डढेलोभन्दा चर्कोगरी फैलियो । सबैलाई मृत्युको खास कारण के होला भन्ने चासो थियो । आखिर जस्तो मान्छे भए पनि अन्तिम यात्रामा हिँडेकालाई कठै भनिन्छ नै । उनका लागि पनि कसैले कठै भने, कसैले हैन भएको चाहिँ के रहेछ भनेर चासो देखाए । कसैले शंकाको औंला उठाए ।
उनको मृत्युभन्दा ठूलो उनको मनलाई नबुझिँदाको पीडा कसैले महसुस गर्न सकेका थिएनन् । चाहेका थिएनन् । आखिर उनी एक महिला न थिइन् । उनको के नै महŒव थियो र ? उनको मात्रै किन अन्य कयौं महिलाले आफ्नो इच्छा र सपनालाई परिवारको खुसीमा वा निर्देशनमा आदेशमा समाहित भएर जीवन बाँचिरहेकै छन् ।
उनको हृदय एउटा नदी जस्तो थियो । आफ्ना इच्छा र सपनाहरूलाई किनारामा राखेर अरूको खुसीको प्रवाहमा बग्ने । एउटा आम जीवन चक्रको जाँतोमा पिसिएर उनले विवाहित जीवन, जिम्मेवारी र सम्बन्धबीच सन्तुलन कायम गर्न उनले निरन्तर प्रयास गरेकी थिइन् ।  सम्बन्ध र अपेक्षाका भाषा र आवाज फरक–फरक भए तापनि उनले प्रत्येक जिम्मेवारीलाई प्राथमिकताकासाथ सम्हाल्नु आफ्नो कर्तव्य ठानेकी थिइन् । आफ्ना समय, साधन, श्रोत, श्रम, ऊर्जा र यौवनलाई माया प्रेमको रूप मानेर घर गृहस्थीमै जीवन सर्मपण गरेकी थिइन् । आत्मनिर्भर भए पनि आर्थिक रूपमा अझ सुदृढ हुन उनको भित्री चाहना स्वभाव र संवेदनशील हृदयलाई समयको झोक्काले धेरै पछाडि धकेलिदिएको थियो ।
आमा हुनु, सन्तानकोे वरपर जीवन केन्द्रित हुनु सुखद अनुभूति हो । आमा हुनु भनेको केवल सन्तानलाई जन्म दिनु मात्रै पनि होइन । मातृत्व त भावना हो । उनको व्यक्तित्वमा मातृत्वको अनुपम गुण समाहित थियो । आफ्ना सन्तान मात्र होइन आफूवरिपरिका बालबालिकामा पनि उनले स्नेह फैलाएकी थिइन् । आँगनमा फूल्ने फूलले सुगन्ध फैलाए जसरी ।
उनको जीवन ऐनाजस्तै थियो । हरेक दिन ऐनामा उनको जिम्मेवारी, कर्तव्य र घर गृहस्थी प्रतिविम्बीत हुन्थ्यो भने त्यसको पछाडि अव्यक्त मौनता थिए । उनी बाहिरबाट सामान्य र व्यवस्थित देखिए तापनि उनको मनको संसारमा एकांकीपना थियो, स्वर्ण पिंजडामा कैद चरा जस्तै । उड्न मन लागेर पखेटा फट्फटाए पनि पिंजडाको घेरो तोड्न मुस्किल थियो ।
सम्बन्धमा उच्च अपेक्षा र सधैं राम्रो हुनुपर्छ भन्ने मनोवृत्तिले उनको मनमा निरन्तर भार थपिरहन्थ्यो । अपूर्ण रहेका भावनात्मक आवश्यकता, नबुझिएका संवेदना र बेमेल विचारहरूले उनको मौन मनलाई रिक्त बनाइरहेका थिए । कैयौं रात अनिदो बित्दथे । छिटो छिटो चालमा ढुकढुकिने मुटुलाई कसैले चाल पाउला कि भनेर दबाएर बित्दथ्यो । एउटा बिरुवा पानी नपाएर सुक्दै जाँदा पनि केही समय हरियो नै देखिन्छ । त्यसरी नै उनको अनुहार पनि हरियो भैरहने गरि उज्यालो हुन्थ्यो । उनको हृदयमा प्रेम, धैर्यता र निस्वार्थता थियो तर मनभित्र उदासीपनाकोे धमिराले बिस्तारै प्रभावित गरिरहेको थियो ।
यही क्रमको प्रवाह एक दिन एकाएक रोकिन पुग्यो । बिहानी घाम उदायो तर उनको परेला उघ्रिएनन् । निद्रामै चुपचाप गइन् । मृत्यु अचानक आएको थियो । देखिएको कुरा यही थियो । तर नदेखिएका कुराहरूको आँधिहुरी थियो । अचल तलाउको पानीमुनि थिग्रिएका हिलोमैलोजस्तै उनीभित्रको मन हुँडलिएको थियो । तलाउको सतहमा तर परेका लेउझैं उनका कञ्चन र प्राकृत भावना सामाजिक संस्कारको पत्रले छोपिँदै गएका थिए । मनको घाउले तनलाई पनि छोप्दै लगेको हुनुपर्छ र त्यसैले उनको मुटुको भार सहन सकेन ।
सबैले देखेको कुरा यही थियो कि अघिल्लो दिन सारसाउँदो सुतेकी उनी भोलिपल्ट सुतेको सुत्यै गइन् । कानुनी औपचारिकताका लागि पोस्टमार्टम गरियो । प्रतिवेदनमा लेखिएको ‘सडन कार्डियाक अरेस्ट’ ले उनको अदृश्य घाउ देख्न सकेन । उनले भोगेका भावनात्मक बोझ, अभाव दबाव र प्रभावले थकित बनाएको मनलाई यसले समेट्न सकेन । उनको अवसाद, आत्मसन्देह र आत्मीयताबीचको द्वन्दलाई बयान गर्न सकेन । उनको अन्तिम श्वासको ताप शून्यमा त्यसैगरी बिलायो होला जसरी आकाशबाट झरेका तारा धर्तीमा कुनै छाप नछोडी बिलाउँछन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्