नेभिगेशन
साहित्य

हलिउडमा पुस्तकको दबदबाः लेखकका लागि अवसरै अवसर

लेखन क्षेत्रमा करिब दुई दशक बिताउने क्रममा रुफी थोर्पले तीनवटा पुस्तक लेखिन् । उनको तेस्रो र सबैभन्दा प्रशंसित पुस्तक ‘द नकआउट क्वीन’लाई एउटा कम्पनीले फिल्म बनाउनका लागि सामान्य प्रक्रियामार्फत छनोट गरेको थियो ।
त्यसपछि उनले आफ्नो चौथो उपन्यास ‘मार्गोस गट मनी ट्रबल्स’ लेखिन् । यस पटक भने उनी अभ्यस्त भएको पुरानो शैली नै बदलियो । पुस्तक पसलमा पुग्नुअघि नै यो उपन्यास चर्चित बन्न पुग्यो । फिल्म निर्माण कम्पनी ए२४ र एली फ्यानिङबीच यसलाई लिएर लुछाचुँडी नै चल्यो । पुस्तक प्रकाशन भएको दुई वर्ष पनि नपुग्दै यसको टेलिभिजन रूपान्तरण यही अप्रिलमा एप्पल टिभीमा आउँदैछ ।
अझै पनि अधिकांश लेखकहरूले हलिउडसम्म पुग्ने अवसर पाउँदैनन् तर कुनै समय टाढाको सपना जस्तो लाग्ने उपन्यासलाई टीभी शृंखला र फिल्म बनाउने  कुरा अहिले चर्चा र प्रतिष्ठाको शिखरमा रहेका धेरै लेखकहरूका लागि सामान्य विषय बन्न पुगेको छ ।
प्रसारण (स्ट्रिमिङ) उद्योगमा नयाँ कथाको भोक यति धेरै छ कि, आफ्नो कृतिलाई पर्दामा उतार्न लेखकले ‘द भ्याम्पायर क्रोनिकल्स’, ‘ह्यारी पोटर’ वा ‘ट्वाइलाइट’जस्ता पहिले नै हिट भइसकेका शृंखला लेखिरहनु पर्दैन ।
सानो समूहमा मात्र रुचाइएको कथा हुनु पनि अहिले पर्याप्त छ । रेचेल रिडको ‘हिटेड राइभलरी’ उपन्यासलाई अर्का एक लेखकले सिफारिस नगरेसम्म खासै चलेको थिएन । जुलिया क्विनको ‘ब्रिजरटन’ शृंखला प्रेमिल कथाका पाठकमाझ लोकप्रिय भए पनि अन्यत्र चिनिएको थिएन । मिक हेरनको ‘स्लो हर्स’ सुरुमा यति कम बिक्री भयो कि प्रकाशकले उनको अर्को पुस्तक छाप्नै मानेनन् । तर अहिले यी सबै कथाहरू विभिन्न स्ट्रिमिङ सेवाका लागि अत्यधिक सफल साबित भएका छन् ।
हलिउडमा पुस्तकमा आधारित कथाहरू यति महŒवपूर्ण भएका छन् कि नेटफ्लिक्सका अनुसार सन् २०२५ मा हरेक हप्ता यसको विश्वव्यापी उत्कृष्ट १० सूचीमा कुनै न कुनै पुस्तकमा आधारित सामग्री परेकै थियो । धेरै स्ट्रिमिङ प्लेटफर्महरूका लागि त यस्ता रूपान्तरणहरू मुख्य आधार नै बनेका छन्, जसले गर्दा उनीहरूले ‘बुक एडाप्टेसन’ (पुस्तक रूपान्तरण) लाई नै एउटा छुट्टै विधाका रूपमा राखेका छन् ।
गौथम ग्रुपका रिच ग्रिनका अनुसार हलिउडमा पुस्तकहरू सधैँ मूल्यवान् सम्पत्ति रहँदै आएका छन् । दशकौँअघि पनि पुस्तक लेखकहरूको सूचीले नै आफ्नो काम चलिरहने उनी बताउँछन् ।
त्यस समयमा ठूला र साना फिल्म स्टुडियोहरू नै मुख्य खरिदकर्ता थिए तर स्ट्रिमिङ सेवाले यो परिदृश्यलाई पूर्ण रूपमा बदलिदिएको ग्रिन बताउँछन् । स्टुडियोहरूले वर्षमा थोरै मात्र फिल्म बनाउँछन् तर स्ट्रिमिङ प्लेटफर्महरूसँग दर्शकका लागि सामग्री पस्किने असीमित ठाउँ छ । कथाको माग बढेसँगै प्रकाशित भइसकेका र आउन लागेका पुस्तकहरू कथाका अन्तहीन स्रोत बनेका छन् ।
ग्रिन भन्छन्, ‘अचानक स्ट्रिमिङ कम्पनीहरू हामीकहाँ आउन थाले र निकै आक्रामक रूपमा कथाहरू छान्न थाले ।’ यसले गर्दा उनको व्यवसाय चार गुणाले बढेको छ ।
यसको अर्थ फिल्म निर्माण प्रक्रियामा लेखकहरु पनि बढी संलग्न हुनु हो । थोर्प आफैँ ‘मार्गो’ मा कार्यकारी निर्माताका रूपमा छिन्, जुन अचेल सामान्य बन्दै गएको छ । ‘ह्यामनेट’ उपन्यासकी लेखिका म्यागी ओफारेलले ओस्कार विजेता निर्देशक क्लो झाओलाई आफ्नो उपन्यासमा आधारित फिल्म बनाउन सहयोग गरिन् । यो प्रक्रियामा लामो समय जुम कल र भ्वाइस नोटहरू आदानप्रदान भएको उनले बताएकी छन् ।
धेरै लेखकहरू अझै पनि सम्झौता गरेर बाँकी काम अरूलाई नै सुम्पिन पाउँदा खुसी हुन्छन् तर कोही भने पुरानो परम्परा तोडेर आफ्नो कथामा रचनात्मक नियन्त्रण राख्न चाहन्छन् । ग्रिनका अनुसार हलिउड अहिले यस्तो अवस्थामा छ जहाँ लेखकहरूको यस्तो मागलाई झन्झटिलो मानिँदैन ।
जेनी हानले आफ्नो उपन्यास ‘टु अल द ब्वाइज आई ह्याभ लभ्ड बिफोर’को फिल्म रूपान्तरणमा कार्यकारी निर्माताको भूमिका निभाएपछि एमेजनको चर्चित शृंखला ‘द समर आई टन्र्ड प्रिटी’ मा शो–रनर (मुख्य सञ्चालक) नै बनिन् । त्यो काम उनलाई यति मन प¥यो कि पछि उनले आफ्नै प्रोडक्सन कम्पनी खोलिन् ।
चर्चित युवा उपन्यासकार सारा डेसेनले यो उद्योगको परिवर्तनलाई नजिकबाट नियालेकी छन् । सन् २००३ मा उनका पहिलो दुई उपन्यासलाई मिसाएर ‘हाउ टु डिल’ फिल्म बनाइएको थियो । त्यसबेला उनले पटकथा लेखकसँग कुरा गर्ने मौकासम्म पाइनन् । हलिउडका ठूला कम्पनीहरूसँग काम गर्दा लेखकको सुझावलाई खासै महŒव दिइँदैनथ्यो । फिल्म बनाउँदा जहिले पनि ‘सिनेम्याटिक लिबर्टी’को कुरा उठाएर लेखकलाई चिस्याइन्थ्यो ।
तर सन् २०१९ मा जब नेटफ्लिक्सले उनका तीन उपन्यासको अधिकार लियो, अनुभव फरक रह्यो । सन् २०२२ मा बनेको ‘अलङ फर द राइड’ फिल्मको समयमा उनले कार्यकारी निर्माता र निर्देशकसँग व्यक्तिगत रूपमा कुरा गर्ने र आफ्ना विचार राख्ने अवसर पाइन् । उनले भनिन्, ‘मलाई के लाग्यो भने उनीहरू मेरो विचार र भावना बुझ्न अलि बढी इच्छुक थिए ।’
यद्यपि, अझै पनि धेरै पुस्तकहरू फिल्मका लागि छानिए पनि वास्तवमा निर्माण हुँदैनन् । डेसेन यसलाई अझै पनि एउटा कठिन र दुर्लभ प्रक्रिया मान्छिन् तर माग बढेका कारण हलिउडको हरेक पाटो प्रभावित भएको छ ।
पहिले ठूला स्टुडियोले मात्र राख्ने ‘लिटरेरी स्काउट’ (राम्रा कथा खोज्ने मान्छे) हरू अहिले धेरैले राख्न थालेका छन् । उनीहरू इन्टरनेट र साना प्रकाशन गृहहरूमा लुकेका राम्रा कथाहरू खोज्छन् । एक स्काउटका अनुसार अहिले सबैतिरबाट धेरै पुस्तकहरू आइरहेका छन् ।
सेलिब्रेटी बुक क्लबहरूले पनि आफूले रोजेका पुस्तकहरूलाई फिल्म वा शृंखलामा बदल्न खोज्छन् । रिस विदरस्पुन यसमा सबैभन्दा अगाडि छिन् । उनको बुक क्लबले रोजेका ‘बिग लिटिल लाइज’ जस्ता पुस्तकहरू पछि निकै सफल स्ट्रिमिङ हिट बने ।
ग्रिनका अनुसार पहिले स्टुडियोहरू छापिएका पुस्तक मात्र हेर्थे, तर अहिले उनीहरू लेखकले पाण्डुलिपि तयार गर्नेबित्तिकै हेर्न चाहन्छन् । कहिलेकाहीँ त प्रकाशककहाँ पुग्नुअघि नै हलिउडमा त्यसको चर्चा सुरु भइसकेको हुन्छ ।
दश वर्षअघि स्टुडियोहरूले अरूले थाहा पाउनुअघि नै कथा किन्न धेरै पैसा खर्च गर्थे । अहिले लेखकहरूसँग धेरै विकल्प छन् । उनीहरूले पैसा मात्र नहेरी कुन कलाकार संलग्न छन् वा कस्तो टिम छ भन्ने कुरा हेरेर सम्झौता गर्छन् ।
लेखक र निर्माताबीचको आपसी विश्वास र सम्बन्ध पनि यसमा महŒवपूर्ण हुन्छ । तर कहिलेकाहीँ यी सम्बन्धहरू जटिल पनि बन्छन् । सारा जे मास जस्ता लेखकहरू अहिले आफ्नो कथामा आफ्नै नियन्त्रण होस् भन्ने चाहन्छन् ।
स्वामित्व र नियन्त्रणको यो मुद्दाले कहिलेकाहीँ विवाद पनि निम्त्याउँछ। ‘पचिन्को’ की लेखिका मिन जिन ली निर्माण प्रक्रियाबाट बाहिरिइन् भने टर्कीका लेखक ओरहान पामुकले आफ्नो कृतिमा धेरै परिवर्तन गरिएको भन्दै एक कम्पनीविरुद्ध मुद्दा नै लडे । पछि उनले अर्को कम्पनीसँग मिलेर पटकथाको हरेक पानामा आफ्नो स्वीकृति चाहिने सर्तमा काम गरे ।
सबै लेखकहरू भने आफ्नो कृति बदलिँदा चिन्तित हुँदैनन् । ‘ब्रिजरटन’की लेखिका जुलिया क्विनले सुरुमै सबै रचनात्मक अधिकार निर्माण पक्षलाई सुम्पिएकी थिइन् । त्यो समयमा उनको विधाका पुस्तकहरू पर्दामा आउनु नै ठूलो कुरा थियो । अहिले फर्केर हेर्दा उनी आफ्नो निर्णय सही भएको मान्छिन् ।
नेटफ्लिक्समा सफल भएपछि उनको पुस्तकको बिक्री ह्वात्तै बढ्यो । उनी अहिले नयाँ देशहरूको भ्रमण गर्छिन् र उनलाई लेखनको दबाबबाट अलि फुर्सद मिलेको छ । अहिले उनी पुस्तक प्रतिबन्धविरुद्ध लड्ने र महिला अधिकारका क्षेत्रमा काम गर्ने जस्ता आफ्ना अन्य रुचिहरू पूरा गरिरहेकी छन् ।
डेसेनका अनुसार अहिले कथा भन्नका लागि धेरै बाटाहरू खुलेका छन् । उनी भन्छिन्, ‘अहिले लेखकहरूका यतिबेला जति अवसर छन्, यसअघि कहिल्यै थिएन ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्