नेभिगेशन
अचम्मको संसार
अनुसन्धान

जंगली चिम्पान्जीहरूबीचको गृहयुद्ध

 

समूहहरू त्यसका सदस्यहरूको मनमा हुन्छन् र तिनीहरूको व्यवहारमा झल्किन्छन् । यी समूहहरू सधैं स्थायी हुँदैनन् र बदलिँदो सामाजिक सम्बन्ध, सांस्कृतिक गतिशीलता र मानिसको हकमा भूराजनीतिक प्रवृत्तिका कारण विभाजित हुन सक्छन् । समूह र तिनलाई व्यक्तिहरूले कसरी बुझ्छन् भन्ने कुरा विकासक्रमले निर्धारण गरेको एउटा गतिशील प्रणाली हो । त्यसैले, विभिन्न प्रजातिहरूमा यस्ता प्रणालीहरूको अध्ययन गर्दा सदस्यहरू बीचको विभाजनलाई बढावा दिने वा रोक्ने शक्ति र व्यवहारहरू पत्ता लगाउन मद्दत पुग्छ । 
मानवका सबैभन्दा नजिकका नातेदार मानिने जंगली चिम्पान्जीहरूको एउटा समूहमा स्थायी विभाजन हुनुअघि, हुँदा र भएपछिको अवस्था के कस्तो हुन्छ र यसले हामी मानिसको जीवनका बारेमा के बताउँछ भन्नेबारे बुझ्न सघाउँछ ।
करिब ५० वर्षअघि बाँदर विशेषज्ञ जेन गुडालले तान्जानियाको गोम्बेमा रहेको ‘कासेकेला’ चिम्पान्जी समुदायमा नराम्रो झगडा परेकाबारे बताएकी थिइन् । यो झगडापछि केही वयस्क भाले, पोथी र बच्चा चिम्पान्जीहरू फुटेर नयाँ समूह बनेको थियो । पछि तीमध्ये धेरैलाई उनीहरूकै पुराना साथीहरूले छानीछानी मारेका थिए । पछि अर्को टोलीले युगान्डाको ‘न्गोगो’ समुदायमा देखिएको जंगली चिम्पान्जीहरूको दोस्रो विभाजन र त्यसको सामाजिक गतिशीलताको अध्ययन गरे । यो समूहलाई झन्डै ३० वर्षदेखि पछ्याइएको थियो र यो २०० भन्दा बढी सदस्य भएका चिम्पान्जीहरूको सबैभन्दा ठूलो समुदाय बनेको थियो । त्यसपछि यो समूह भौगोलिक र सामाजिकरूपमा दुई भागमा बाँडिन थाल्यो ।
स्यान्डेल र उनको टोलीले यो विभाजन कसरी भयो भन्ने कुराको व्याख्या र मापन गर्न पुराना अवलोकन विधि र आधुनिक विश्लेषणात्मक प्रविधि दुवैको प्रयोग गरे । उनीहरूले के पाए भने यो परिवर्तन अचानक भएको थिएन । दुवै पक्षबीचको सम्बन्ध पूर्णरूपमा टुट्नुअघि एउटा लामो संक्रमणकाल थियो । सुरुमा ती सबै एउटै समूहका जस्ता देखिए पनि भित्रभित्रै उपसमूहहरू बन्न थालेका थिए । जब समूहलाई जोड्ने माध्यम बनेका केही चिम्पान्जीहरूको रोगका कारण मृत्यु भयो, तब विभाजन पूर्ण र अपरिवर्तनीय बन्यो । व्यक्तिहरूबीचको सम्बन्ध बिनाकारण टुटेको थिएन, बरु समूहको नयाँ विभाजन रेखासँगै सम्बन्धहरू पनि उध्रिएका थिए । फुटेको केही वर्षमै पुराना साथीहरू बीचको सम्बन्ध शत्रुतापूर्ण बन्यो । दुवै समूहका सदस्यहरूले आफ्नो नयाँ सिमानामा गस्ती गर्न थाले र यो क्रम वयस्क भाले र अन्ततः बच्चाहरूलाई मार्ने तहसम्म पुग्यो ।
धेरैजसो प्राइमेटहरू (स्तनधारी प्राणीका एक प्रजाति) समूहमा बस्छन् र केही प्रजातिहरूमा धेरै पटक विभाजन भएको देखिएको छ । तर दशकौं लामो अध्ययनका क्रममा जंगली चिम्पान्जीहरूमा भने अहिलेसम्म दुईवटा मात्र विभाजन देखिएका छन् । न्गोगो समुदायको यो विभाजन गोम्बेपछि मानिसले देखेको पहिलो घटना हो र यो यस्तो अवस्थामा भयो जहाँ उनीहरूलाई मानिसले खानेकुरा खुवाउने कुनै इतिहास थिएन । स्यान्डेलको यो खोजले चिम्पान्जीका अन्य समूहहरू किन विरलै फुट्छन् र समूहको एकता कायम राख्न कुन रणनीति अपनाइन्छ भन्ने प्रश्न उठाएको छ ।
चिम्पान्जी जस्तै मानिसका नजिकका नातेदार मानिने ‘बोनोबो’हरूले पनि स्थिर र छुट्टै समूह बनाउँछन् । तर चिम्पान्जीका विपरीत उनीहरू हिंसात्मक द्वन्द्वमा फस्दैनन्, बरु विभिन्न समूहबीच सहकार्य गर्छन् । करिब ५० वर्षअघि कंगोमा बोनोबोहरूको पहिलो समुदाय पनि स्थायीरूपमा विभाजित भएको थियो । तर चिम्पान्जीमा जस्तो हिंसा हुनुको साटो बोनोबोका ती दुई समूह आजसम्म पनि शान्तिपूर्वक सँगै बसिरहेका छन् । यी दुई प्रजातिबीच किन यस्तो भिन्नता छ भन्नेबारे धेरै धारणाहरू छन् । केही मानिसहरू बोनोबो बस्ने ठाउँमा प्रशस्त खानेकुरा हुनुलाई यसको कारण मान्छन् । तर स्यान्डेलको अध्ययनले के देखायो भने न्गोगोका चिम्पान्जीहरूका लागि स्रोत–साधन प्रशस्त भए पनि त्यसले उनीहरूमा सहनशीलता होइन, बरु गृहयुद्ध निम्त्यायो ।
चिम्पान्जी समूहभित्रको सहकार्य र प्रतिस्पर्धामा पोथीहरूको पनि ठूलो भूमिका हुन्छ । तर न्गोगोको अध्ययन धेरैजसो वयस्क भालेहरूमा केन्द्रित थियो । ठाउँको प्रयोग, खानाको छनोट र सन्तान उत्पादनका रणनीतिजस्ता निर्णयहरूमार्फत पोथी चिम्पान्जीहरूले समूहको संरचना बनाउन महŒवपूर्ण भूमिका खेल्छन् । यद्यपि सिमानाको गस्ती र हिंसाको नेतृत्व भालेहरूले गर्छन्, तर यो समग्र समूहको प्रक्रिया हो जसलाई दुवै लिंगको अध्ययन नगरी पूर्णरूपमा बुझ्न सकिँदैन ।
जंगली चिम्पान्जीहरूबीचको यो शत्रुतापूर्ण विभाजनले मानव समाजमा ल्याउन सक्ने खतराको सम्झना गराउँछ । तर मानिसहरू विभिन्न समूहहरूमा जोडिने, बाँधिने र सहकार्य गर्ने क्षमता राख्छन् । मानिसको समूहगत सम्बन्ध जटिल र लचिलो हुन्छ । यही लचकताले गहिरो सहकार्य सम्भव बनाउँछ भने हिंसाको आधार पनि तयार गर्छ । हामीले अन्य प्रजातिहरूको युद्ध र शान्तिको व्यवहारबाट सिक्नुपर्छ तर यो पनि याद राख्नुपर्छ कि हाम्रो विगतले नै हाम्रो भविष्य निर्धारण गर्दैन ।
स्यान्डेल र उनको टोलीको यो अध्ययनले लामो समयसम्म गरिने स्थलगत अनुसन्धान र लोपोन्मुख प्रजातिहरूको संरक्षणको महŒवलाई पनि पुनः पुष्टि गरेको छ । यस्ता वैज्ञानिक उपलब्धिहरू ती प्रजातिहरूको संरक्षण र अध्ययनमा समर्पित व्यक्तिहरूको निरन्तर सहयोगका कारण सम्भव भएका हुन् । यी प्रयासहरू लोपोन्मुख प्राणीको सुरक्षा, पृथ्वीको संरक्षण र प्राकृतिक वातावरणमा गरिने वैज्ञानिक प्रगतिका लागि अत्यावश्यक छन् ।
(साइन्स म्यागेजिनको रिपोर्ट ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अचम्मको संसार