ह्युस्टन । आर्टेमिस २ का अन्तरिक्ष यात्रीहरूले आधा शताब्दीभन्दा बढी समयपछिको मानवजातिको पहिलो चन्द्र यात्रालाई शुक्रबार प्रशान्त महासागरमा अवतरण (स्पल्याशडाउन) गरेर टुंग्याएका छन् । उनीहरूले चन्द्रमा नजिक पुगेर निकै उत्साहका साथ नयाँ कीर्तिमानहरू कायम गरे ।
मिसनको यो एउटा नाटकीय र भव्य अन्त्य थियो । यस यात्राका क्रममा मानव आँखाले यसअघि कहिल्यै नदेखेको चन्द्रमाको पछिल्लो भाग (फार साइड) मात्र नभई, खग्रास सूर्यग्रहण, ग्रहहरूको लस्कर र विशेषगरी अनन्त अन्तरिक्षको कालो शून्यतामा चमकधमकपूर्ण हाम्रो आफ्नै पृथ्वीको दृश्य देखिएको थियो ।
यो उडान पूरा भएसँगै यी चार अन्तरिक्ष यात्रीहरूले नासालाई अबको दुई वर्षभित्रै अर्को टोलीमार्फत चन्द्रमामा अवतरण गराउन र यसै दशकभित्र चन्द्रमामा पूर्ण रूपमा एउटा आधार शिविर (बेस) बनाउन अब सम्भव हुने अपेक्षा गरिएको छ ।
चन्द्रमाको सफल यात्रा गरेर फर्केका कमाण्डर रिड वाइजम्यान, पाइलट भिक्टर ग्लोभर, क्रिस्टिना कोच र क्यानडाका जेरेमी ह्यान्सेन सान डिएगोको तटमा आफ्नो क्याप्सुलबाट घाममा बाहिर निस्किए ।
नासाको पुराना अपोलो मिसनहरूको सम्झना दिलाउने दृश्यमा, सैन्य हेलिकप्टरहरूले अन्तरिक्ष यात्रीहरूलाई क्याप्सुलसँग जोडिएको एउटा रबरको डुङ्गाबाट एक–एक गर्दै उठाएर नजिकै कुरिरहेको नौसेनाको जहाज ‘यूएसएस जन पी. मुर्था’ सम्म पु¥याएका थिए ।
‘अहिले हामीले अन्तरिक्षमा पठाएका यी व्यक्तिहरू ताराहरूसम्म पुग्ने मानवताका राजदूतहरू थिए । मैले योभन्दा राम्रो टोलीको कल्पना नै गर्न सक्दिनँ,’ नासाका प्रशासक जारेड आइस्याकम्यानले उद्धार जहाजबाट भने ।
नासाको मिसन कन्ट्रोलमा उत्सव छायो, जहाँ सयौँ मानिसहरू खुसी मनाउन जम्मा भएका थिए । नासाकी लोरी ग्लेजले पत्रकार सम्मेलनमा खुसी हुँदै भनिन्, ‘हामीले गरेर देखायौँ । हाम्रो चन्द्र–मिसनमा स्वागत छ ।’
‘इन्टिग्रिटी’ नाम दिइएको उनीहरूको ओरियन क्याप्सुल स्वचालित पाइलटको भरमा पृथ्वीमा फर्किएको थियो । यो चन्द्र–यान ३३ म्याकको गतिमा (ध्वनिको गतिभन्दा ३३ गुणा छिटो) वायुमण्डलमा प्रवेश गरेको थियो । सन् १९६० र ७० को दशकको अपोलो मिसनपछि यस्तो तीव्र गति देखिएको थिएन ।
जब क्याप्सुल अत्यधिक तातो भएर रातो प्लाज्माले घेरियो र सञ्चार सम्पर्क विच्छेद भयो, मिसन कन्ट्रोलमा तनाव बढ्यो । सबैको नजर क्याप्सुलको ‘हिट शिल्ड’ (ताप सुरक्षा कवच) मा थियो, जसले पुनः प्रवेशका क्रममा हजारौँ डिग्रीको तापक्रम खप्नुपर्ने थियो ।
करिब ३२ सय किलोमिटर टाढाबाट यो दृश्य हेरिरहेका अन्तरिक्ष यात्रीका परिवारहरू छ मिनेटको सञ्चार विच्छेदपछि क्याप्सुल पुनः सम्पर्कमा आउँदा र पानीमा अवतरण गर्दा खुसीले चिच्याएका थिए ।
यसअघि सन् १९७२ को अपोलो १७ का बेला नासा र रक्षा मन्त्रालयले चन्द्र–यात्रीहरूलाई यसरी नै स्वागत गरेका थिए । आर्टेमिस २ प्रति सेकेन्ड ३६,१७४ फिट (प्रति घण्टा ३९,६९३ किलोमिटर) को गतिमा फर्किएको थियो, जुन लगभग एउटा कीर्तिमान नै हो । अन्त्यमा ३० किलोमिटर प्रति घण्टाको गतिमा यो पानीमा खस्यो ।
आर्टेमिस २ भन्दा अघि चन्द्रमाबाट फर्किने नासाका टोलीहरूमा गोरा जातिका पुरुष पाइलटहरू मात्र हुन्थे । समाजमा आएको परिवर्तनलाई झल्काउन नासाले यस पटक विविधतापूर्ण र बहुराष्ट्रिय टोली रोजेको थियो ।
यससँगै कोच चन्द्रमासम्म पुग्ने पहिलो महिला, ग्लोभर पहिलो अश्वेत अन्तरिक्ष यात्री र ह्यान्सेन पहिलो गैर–अमेरिकी नागरिक बनेका छन्, जसले क्यानडालाई गौरवान्वित बनाएको छ । उनीहरू पूरै विश्वलाई साथमा लिएर हिँड्ने लक्ष्यका साथ यात्राभर हाँस्दै, रुँदै र अँगालो हाल्दै अघि बढेका थिए ।
चैत १९ गते (अप्रिल १) फ्लोरिडाबाट प्रक्षेपण गरिएको यस मिसनमा अन्तरिक्ष यात्रीहरूले एकपछि अर्को सफलता हासिल गरे । चन्द्रमामा दिगो आधार शिविर स्थापना गर्ने दिशामा यो नासाको पहिलो ठूलो कदम थियो ।
आर्टेमिस २ चन्द्रमामा उत्रिएको वा यसको परिक्रमा गरेको भने थिएन । तर यसले अपोलो १३ को दुरीको कीर्तिमान तोड्यो र पृथ्वीबाट ४,०६,७७१ किलोमिटर टाढा पुगेर मानिसले अहिलेसम्म यात्रा गरेको सबैभन्दा टाढाको दुरी तय ग¥यो । मिसनको सबैभन्दा भावुक क्षणमा, आँखाभरि आँसु पार्दै अन्तरिक्ष यात्रीहरूले दुईवटा खाडल (क्रेटर) हरूको नाम आफ्नो यान र वाइजम्यानकी दिवङ्गत पत्नी क्यारोलको नाममा राख्न अनुमति मागेका थिए ।
सोमबारको कीर्तिमानी उडानका क्रममा उनीहरूले मानव आँखाले कहिल्यै नदेखेको चन्द्रमाको पछिल्लो भाग र खग्रास सूर्यग्रहणको तस्विर खिचे । विशेषगरी सूर्यग्रहणले ‘हामी सबैलाई अचम्मित बनायो,’ ग्लोभरले भने ।
चन्द्रमा र पृथ्वीका लुकामारी चल्ने तस्विरहरूले सबैलाई मोहित बनायो । आर्टेमिस २ को टोलीले सन् १९६८ को अपोलो ८ को प्रख्यात ‘अर्थराइज’ (पृथ्वी उदय) को सम्झना दिलाउँदै ‘अर्थसेट’ (पृथ्वी अस्त) को दृश्य कैद ग¥यो, जहाँ खैरो चन्द्रमाको पछाडि हाम्रो नीलो पृथ्वी अस्ताउँदै गरेको देखिन्थ्यो ।
अपोलो युगको एक दशकपछि जन्मिएका आइस्याकम्यानले हेलिकप्टरबाट झरेका अन्तरिक्ष यात्रीहरूलाई अँगालो हालेर स्वागत गरे । उनीहरूले ह्वीलचियर अस्वीकार गर्दै आफैँ हिँडेर स्वास्थ्य परीक्षणका लागि गएका थिए ।
‘हामी फेरि अन्तरिक्ष यात्रीहरूलाई चन्द्रमामा पठाउने, उनीहरूलाई सुरक्षित रूपमा फिर्ता ल्याउने र थप शृंखलाहरू सुरु गर्ने काममा फर्किएका छौँ,’ आइस्याकम्यानले भने, ‘यो त सुरुवात मात्र हो ।’
यो चन्द्र–मिसनले विश्वभरको ध्यान तान्यो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, बेलायतका राजा चाल्र्स तृतीय लगायत धेरै चर्चित कलाकारहरूले पनि यसको प्रशंसा गरेका छन् ।
धेरै वैज्ञानिक उपलब्धिहरू हासिल गरे पनि १० दिनको यस उडानमा केही प्राविधिक समस्याहरू पनि देखिए । क्याप्सुलको खानेपानी र इन्धन प्रणालीका भल्भहरूमा समस्या आयो भने शौचालयमा पनि बारम्बार खराबी आइरह्यो । तर अन्तरिक्ष यात्रीहरूले यी कुरालाई सामान्य रूपमा लिए ।
हिट शिल्डका बारेमा सैन्य विमानहरूले टाढैबाट फोटो खिचेका थिए र गोताखोरहरूले पानीमुनिबाट यसको जाँच गरे । यसबारे थप विस्तृत अध्ययन गरिनेछ ।
कोचले भनिन्, ‘केही असुविधाहरू नभएसम्म, केही त्याग नगरेसम्म र केही जोखिम नमोलेसम्म हामी अझ गहिराइमा पुग्न सक्दैनौँ । र, यी सबै जोखिमहरू उठाउनु उचित छ ।’
आर्टेमिस कार्यक्रम अन्तर्गत अर्को वर्ष आर्टेमिस ३ ले अन्तरिक्ष यात्रीहरूलाई पृथ्वीको कक्षमा चन्द्र–यानसँग जोड्ने अभ्यास गराउनेछ । सन् २०२८ मा आर्टेमिस ४ मार्फत दुई जनाको टोलीलाई चन्द्रमाको दक्षिणी ध्रुवमा ओराल्ने लक्ष्य राखिएको छ ।
वाइजम्यानले आर्टेमिस २ का अन्तरिक्ष यात्रीहरूको निष्ठा ती भविष्यका टोलीहरूप्रति रहेको बताए । उनले भने, ‘हामीले मनैदेखि चाहेको कुरा के हो भने, संसारले एक क्षणका लागि थुक्किएर यो एउटा सुन्दर ग्रह हो र ब्रह्माण्डमा एउटा विशेष ठाउँ हो भन्ने सम्झियोस् र हामीले पाएको यो वरदानलाई सबैले जोगाएर राखौँ ।’ एपी