नेभिगेशन
विश्व

चन्द्रमामा जान किन मरिहत्ते गरिरहेका छन् मान्छे ?

जब पहिलो पटक मानिसले चन्द्रमामा पाइला राख्यो, त्यसको करिब साठी वर्षपछि अहिले अन्तरिक्ष एजेन्सीहरू र निजी कम्पनीहरू चन्द्रमाबाट हुँदै मंगल ग्रहसम्म पुग्ने प्रयास गरिरहेका छन् । खास कुरा त यत्तिमा मात्र सीमित छैन ।
सबैभन्दा पहिले के बुझ्न आवश्यक छ भने अब मानिसका लागि चन्द्रमामा जानु पहिलेभन्दा धेरै सजिलो भएको छ । अमेरिकी अन्तरिक्ष एजेन्सी नासा र युरोपेली अन्तरिक्ष एजेन्सी ईएसए मिलेर आर्टेमिस कार्यक्रम सञ्चालन गरिरहेका छन् ।
हालै चीन र भारतले पनि धेरै सफल चन्द्र अभियान सम्पन्न गरेका छन् । अन्तरिक्ष एजेन्सीहरू र निजी कम्पनीहरू अब चन्द्रमालाई वैज्ञानिक अनुसन्धान र मंगल ग्रहसम्म पुग्ने माध्यमका रूपमा प्रयोग गर्न चाहन्छन् ।
चन्द्रमाप्रति बढ्दो चासो
आर्टेमिस कार्यक्रम उत्तर अमेरिका र नासाद्वारा सञ्चालित मानव अन्तरिक्ष उडान कार्यक्रम हो, जसमा युरोपेली अन्तरिक्ष एजेन्सीसहित पचपन्न अन्तर्राष्ट्रिय साझेदार सहभागी छन् ।
चन्द्रमाको दक्षिणी ध्रुवमा स्थायी आधार निर्माण गर्नु नासाको लक्ष्य हो, जसलाई ‘आर्टेमिस बेस क्याम्प’ भनिनेछ । साथै, चन्द्रमाको कक्षामा ‘गेटवे’ नामको नयाँ अन्तरिक्ष केन्द्र स्थापना गर्ने योजना पनि छ ।
अर्कोतर्फ, चीन र रुसको साझेदारीमा तेह्र अन्तर्राष्ट्रिय साझेदारहरूले मिलेर ‘इन्टरनेशनल लुनर रिसर्च स्टेशन’ नामक चन्द्र आधार बनाउने योजना बनाएका छन्, जसलाई सन् २०३५ सम्म पूरा गर्ने अपेक्षा गरिएको छ ।
आर्टेमिस बेस क्याम्प र इन्टरनेशनल लुनर रिसर्च स्टेशन दुवै वैज्ञानिक उद्देश्यका लागि बनाइँदै छन् । यदि यी योजना सफल भए, अन्तरिक्ष यात्रीहरूले केही समय त्यहाँ बस्न सक्नेछन् र रोबोटिक उपकरणहरू स्थायीरूपमा स्थापना गर्न सकिनेछ ।
तर चन्द्रमा रणनीतिक रूपमा पनि महŒवपूर्ण छ । शीतयुद्धका बेला अमेरिका र सोभियत संघले जमिनमा मात्र होइन, अन्तरिक्षमा पनि आफ्नो वैचारिक प्रतिस्पर्धा देखाएका थिए । आजको समयमा पनि यस्तै अवस्था देखिन्छ, फरक यति मात्र हो कि अब यसमा धेरै देशहरू सहभागी भएका छन् । अमेरिकाले त खुलारूपमा आफूलाई ‘अन्तरिक्ष दौड’मा रहेको बताएको छ र ऊ यसलाई जित्न चाहन्छ ।
यो दौड जित्नु किन महŒवपूर्ण छ भनेः चन्द्रमा खनिज स्रोतले भरिएको छ । खासगरी यहाँ फलाम, सिलिकन, हाइड्रोजन, टाइटेनियम, दुर्लभ खनिज तŒवहरू पाइन्छन् । हुन त, यी स्रोत निकाल्नु र पृथ्वीमा ल्याउनु अत्यन्त महँगो हुन्छ । तर पृथ्वीमा खनिजको अभाव बढ्दै जाँदा भविष्यमा तिनलाई ल्याउन सकिन्छ । अन्तरिक्षमा रहेका छुद्रग्रहमा रहेका विशाल खनिज भण्डारलाई चन्द्रमामा खनन सुरु गर्नु पहिलो कदम हुन सक्छ ।
चन्द्रमाबाट निकालिएका धेरै स्रोत त्यहीँ प्रयोग गरिनेछ, जसले गर्दा पृथ्वीबाट सामग्री लैजानुपर्ने आवश्यकता कम हुनेछ । यसले चन्द्र आधारलाई पृथ्वीमा निर्भर हुनुपर्ने अवस्था नरहन सक्छ ।
उदाहरणका लागि, चन्द्रमाको माटो (रेगोलिथ) विकिरणबाट सुरक्षा र निर्माण कार्यमा प्रयोग गर्न सकिन्छ । चन्द्रमामा पानीको खोज सन् २००८ मा भारतको चन्द्रयान–१ अभियानले गरेको थियो । त्यो पानी पिउन, खाना उत्पादन गर्न र उपकरण चिस्याउन प्रयोग गर्न सकिन्छ ।
त्यसपछिका अभियानहरूले पनि चन्द्रमाका ध्रुवीय क्षेत्रमा बरफको मात्रा निकै बढी रहेको देखाएका छन् । त्यसैले पहिलो चन्द्र आधार सम्भवतः दक्षिणी ध्रुवमा निर्माण गरिनेछ, यद्यपि त्यहाँ अवतरण गर्नु चुनौतीपूर्ण छ ।
यो आधार मंगल ग्रहतर्फ जाने अन्तरिक्ष यात्रुहरूका लागि ‘बीचको विश्राम स्थल’का रूपमा पनि प्रयोग गर्न सकिन्छ । ऊर्जाका लागि अहिले केही अन्तरिक्षयान र उपग्रहहरूले सौर्य ऊर्जा प्रयोग गरिरहेका छन् । तर रेगोलिथ र बरफको प्रयोग गरेर रकेटका लागि इन्धन पनि बनाउन सकिन्छ । चन्द्रमामा हीलियम–३ पनि ठूलो मात्रामा पाइन्छ । यो जुन भविष्यमा आणविक फ्युजनबाट ऊर्जा उत्पादन गर्न प्रयोग हुन सक्छ । यस कारण मंगल अभियानका लागि चन्द्रमामा पुग्नु र त्यहाँबाट इन्धन भर्नु अझ आवश्यक छ । त्यसैले चन्द्रमामा पुग्न विकसित मुलुकहरू हत्ते गरिरहेका छन् ।

चन्द्रमामा वैज्ञानिक अनुसन्धान
युरोपेली अन्तरिक्ष एजेन्सीको चन्द्र अन्वेषण कार्यक्रमकी प्रबन्धक सारा पास्टरका अनुसार, चन्द्रसँग सम्बन्धित वैज्ञानिक अनुसन्धान उनीहरूको अभियानको मुख्य हिस्सा हो र यो कुरा अन्य अन्तरिक्ष एजेन्सीहरूमा पनि लागू हुन्छ ।
पछिल्ला बीस वर्षदेखि मानिस अन्तरिक्षमा निरन्तर उपस्थित छ । तर यो पृथ्वीबाट चार सय किलोमिटर मात्र टाढा छ । पृथ्वीबाट त्यहाँ पुग्न जम्मा चार घण्टा मात्र लाग्छ । यसको तुलना गर्दा चन्द्रमा करिब चार लाख किलोमिटर टाढा छ, जहाँ पुग्न करिब तीन दिन लाग्छ र यो यात्रा धेरै जोखिमपूर्ण हुन्छ । त्यसैले प्रारम्भिक अनुसन्धानको उद्देश्य यस यात्रालाई सुरक्षित र सहज बनाउनुहुनेछ ।
त्यसपछि वातावरणीय विज्ञानको कुरा आउँछ । सारा पास्टरका अनुसार वैज्ञानिकहरूले चन्द्रमाको वातावरण कस्तो छ, त्यहाँको अवस्थाले मानव स्वास्थ्य र रोबोटिक अभियानहरूमा कस्तो असर पार्छ र मानव गतिविधिले चन्द्र वातावरणलाई कसरी प्रभाव पार्छ भन्ने अध्ययन गर्नेछन् ।
वैज्ञानिकहरू चन्द्रमामा पाइने पानी, धातु र अन्य स्रोतहरूलाई दीर्घकालीन बसोबासका लागि कसरी उपयोग गर्न सकिन्छ र तिनलाई प्रभावकारी रूपमा कसरी निकाल्न सकिन्छ भनी बुझ्न चाहन्छन् ।

चन्द्र प्रविधिको पृथ्वीमा प्रभाव
प्रायः भनिन्छ कि मोबाइल फोनको विकासमा अपोलो अभियानहरूको योगदान छ । यद्यपि मोबाइल फोन प्रत्यक्षरूपमा अन्तरिक्ष प्रविधिबाट आएका होइनन्, तर ती अभियानहरूले इलेक्ट्रोनिक र सञ्चार उपकरणहरू साना र हल्का बनाउन ठूलो भूमिका खेले ।
अन्तरिक्ष अनुसन्धानबाट विकसित धेरै प्रविधिहरू आज पृथ्वीमा मानिसको जीवन सुधार्न प्रयोग भइरहेका छन्, जस्तै घरको ताप नियन्त्रण सामग्री, गद्दामा प्रयोग हुने नरम फोम, खाना सुकाउने र सुरक्षित राख्ने प्रविधि, रोबोटिक संवेदक र टेलिमेडिसिन ।
वैज्ञानिकहरूले यस्ता स्वास्थ्य उपकरण र निगरानी प्रणाली पनि विकास गरिरहेका छन्, जसले कठिन अन्तरिक्ष अवस्थाहरूमा अन्तरिक्ष यात्रीहरूको स्वास्थ्य जोगाउन मद्दत गर्छ । विशेष गरी रोग प्रतिरोधक क्षमतालाई ध्यानमा राख्दै हल्का र बोक्न मिल्ने उपकरणहरू बनाइँदै छन्, जसले सामान्य व्यक्तिलाई पनि आफ्नो स्वास्थ्य निगरानी गर्न सहयोग पु¥याउँछ । यी प्रविधिहरू भविष्यमा पृथ्वीमा पनि उपयोगी हुनेछन् ।

उसो भए के मंगल ग्रह मानवको अर्को घर बन्न सक्छ ? चन्द्रमाको सतह र कक्षामा स्थायी आधार बनाउने लक्ष्य नै यसलाई अन्तरिक्ष यात्राका लागि बीचको विश्राम स्थलका रूपमा प्रयोग गर्नु हो ।
सारा पास्टरका अनुसार, ‘चन्द्रमामा उपनिवेश स्थापना गर्नु अत्यन्त उपयोगी हुनेछ र यसले मंगल ग्रहमा मानव पठाउनका लागि महŒवपूर्ण प्रशिक्षण स्थलको काम गर्नेछ ।’
अमेरिकी अन्तरिक्ष अनुसन्धान एजेन्सी नासाले सन् २०३० को दशकभित्रै अन्तरिक्ष यात्रीहरूलाई मंगल ग्रहमा पठाउने योजना बनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्