नेभिगेशन
प्रदेश

मधेशमा खानेपानी संकट गहिरिँदै

महोत्तरी । चैत नलाग्दै पानीका मुहान सुक्न थालेपछि मधेश प्रदेशका बस्तीहरूमा पानी संकट गहिरिँदै जाने संकेत देखिएको छ । एक दशकअघिसम्म स्वच्छ पानी बग्ने नदी, भरिला इनार र सिँचाइ धान्ने जरुवा मुहानहरू आज सम्झनामा सीमित हुँदै गएका छन् ।
हिउँदे वर्षाको अभाव, बढ्दो तापक्रम, चुरे क्षेत्रको विनाश र अनियन्त्रित उत्खननको दोहोरो मारले भूमिगत पानीको सतह खस्कँदै जाँदा महोत्तरीसहितका उत्तरी भेगका बस्तीहरू समयअगावै खानेपानी संकटको चपेटामा परेका छन् । महोत्तरीको उत्तरी क्षेत्रमा पर्ने गौशाला, बर्दीबास र भंगाहा नगरपालिकाका बस्तीमा चैतदेखि नै खानेपानीको अभाव हुन थालेको हो । हिउँदे वर्षा घट्नु, अत्यधिक गर्मी बढ्नु तथा प्राकृतिक स्रोतको दोहनका कारण यहाँका नदी, खोल्साखोल्सी र भूमिगत पानीका स्रोत सुक्दै जाँदा खानेपानीको संकट भएको हो । अहिले नदीमा जथाभावी उत्खननका कारण पानीको संकट गहिरिँदै गएको छ भने पानीको सतह घट्दै गएको छ ।
जिल्ला समन्वय समिति महोत्तरीका संयोजक सुमनलाल कर्णका अनुसार वातावरणीय प्रभाव मूल्यांकनविपरीत नदीजन्य पदार्थको उत्खनन भइरहेको छ । उनले भने, ‘स्थानीय अनुगमन संयन्त्र भए पनि प्रभावकारीरूपमा सक्रिय देखिँदैनन् ।’
चुरेविज्ञ नागदेव यादवका अनुसार चुरेक्षेत्रको वनविनाश, अतिव्रmमण र अनियन्त्रित दोहनले पानी पुनर्भरण प्रणाली नै बिग्रिएको छ । चुरेलाई प्राकृतिक जलभण्डार मानिन्छ तर यसको क्षयले मधेशका नदी खोला सुक्दै गएका छन् । क्रसर उद्योग र ठेकेदारको मिलेमतोमा भइरहेको अवैध उत्खननले भूमिगत पानीको सतह झनै तल धकेलिएको छ । बर्दीबास–गौशाला क्षेत्रका स्थानीयवासीका अनुसार यस वर्ष हिउँदे वर्षा नभएकाले इनार र चापाकलमा पानीको सतह गहिरिएको छ ।
गर्मी बढेसँगै खानेपानी व्यवस्थापनमा चुनौती थपिएको बर्दीबास साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष भुलनसेन ठकुरी बताउँछन् । ‘मुहानमा पानी घटेपछि ट््यांकी भरिन समय लाग्छ, जसले वितरणमा समस्या देखिन्छ,’ उनले भने ।
पछिल्लो डेढ दशकमा मधेशका धेरै बस्तीमा पानीको परम्परागत स्रोत इनार, जरुवा, पोखरी सुक्दै गएका छन् । नदी तथा खोल्साखोल्सीको पानी संकलन गरेर वितरण गर्ने प्रणालीमा निर्भर बस्ती गर्मीयाममा झनै प्रभावित हुने गरेका छन् ।
स्थानीय तहले स्पष्ट नीति र प्रभावकारी कार्यान्वयन नगरेसम्म समस्या झनै जटिल बन्दै जाने आशंका विज्ञहरूको छ । मधेश प्रदेशमा वनक्षेत्र सीमित हुँदै गएको र व्यापक अतिव्रmमण भइरहेकाले पनि पानीको अभाव भएको छ । वन तथा वातावरण मन्त्रालयको तथ्यांकअनुसार हजारौं हेक्टर वनक्षेत्र अतिव्रmमणमा परेको छ जसले जल चव्रmमा प्रत्यक्ष असर पारिरहेको छ ।
मधेशको कुल क्षेत्रफलमध्ये २४.७८ प्रतिशत मात्र वनक्षेत्रले ओगटेको छ भने अधिकांश वन चुरेक्षेत्रमै छ । प्रदेशका १३६ पालिकामध्ये ८४ वटा स्थानीय तहमा वनक्षेत्र नै छैन । मधेश सरकारको वन तथा वातावरण मन्त्रालयले उपलब्ध गराएको तथ्यांकले वन अतिव्रmमणको भयावह चित्र देखाउँछ । आर्थिक वर्ष २०८०÷८१ को तथ्यांकअनुसार मधेशको पाँच हजार ६९२.१५ हेक्टर वनक्षेत्र अतिव्रmमणमा परेको छ । 
यसमध्ये सबैभन्दा बढी रौतहटमा तीन हजार १९०.५२ हेक्टर अतिव्रmमणमा परेको मन्त्रालयले जनाएको छ । मधेशका १३६ वटै पालिका वनमा आश्रित भए पनि सबै पालिकामा वन छैन । सप्तरीका १८ मध्ये आठ पालिकामा वनक्षेत्र छ भने सिराहाका १७ मध्ये ११, धनुषाका १८ मध्ये चार, महोत्तरीका १५ मध्ये दुई, सर्लाहीका २० मध्ये सात, रौतहटका १८ मध्ये पाँच, बाराका १६ मध्ये तीन र पर्साका १४ मध्ये सात पालिकामा मात्र वन छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्