साहित्यकर्मी लेखनाथ पोखरेलको नयाँ कृति ‘एक रातको बास’ पाठकमाझ आएको छ । यसअघि नियात्रा संग्रह ‘फकलीको गाउ’, कथासंग्रह ‘मार्बल हाउसकी शालिनी,’ हास्य निबन्धसंग्रह ‘चिबे–नकटो’ र उपन्यास ‘वनिता’ ल्याएका पोखरेल दोस्रो कथासंग्रह लिएर आएका हुन् । उनका कृतिमध्ये ‘फकलीको गाउ' अंग्रेजी संस्करणमा समेत प्रकाशित भइसकेको छ ।
२०८ पृष्ठको ‘एक रातको बास’मा १५ कथा समावेश छन् । कोरली, नियतिको खेल, पोल्टाको सिन्दूर, पहाडे मनई आइटा, सुनयना, लच्छुकी घरवाली, एक रातको बास, पराई सुख, सन्त्रास, माखे साङ्लो, तिमीबाहेक, म को हुँ ?, आश्रम, आफलेको ठाँडो र यो पनि झुट हो ? शीर्षकमा रहेका कथामध्ये ‘एक रातको बास’ शीर्षक कथा नै संग्रहको नामकरणको आधार बनेको हो ।
पत्रकार कृष्ण भुसालद्वारा सम्पादित यस पुस्तकमा ‘वृद्धको डायरी’लाई कथाक्रमभन्दा अलग्गै राखेर प्रस्तुत गरिएको छ । काव्यकार खेमनाथ दाहालका अनुसार ‘यस संग्रहका कथा गहन, जीवन्त र मार्मिक छन् । हास्यव्यंग्य, स्मृति, जीवनशैली र प्रकृतिप्रतिको प्रेमलाई लेखकले कथा निर्माणका औजार बनाएका छन् । विशेषगरी ग्रामीण सामाजिक संरचना, मानवीय सम्बन्ध र संवेदनालाई सूक्ष्म तरिकाले प्रस्तुत गरिएको छ ।’
कथामा पात्रहरूको संघर्ष, जीवनशैली र मनोविज्ञानलाई सजीव ढंगले चित्रण गरिएको छ । बदलिदो समाजका विविध रूपलाई चित्रण गर्ने यी कथामा सरल तर प्रभावकारी भाषा, शिल्पगत परिपक्वता र भावनात्मक गहिराइ रहेको दाहालको भनाइ छ ।
लेखक पोखरेल भन्छन्, ‘मैले हाम्रै परिवेशका कालखण्ड, पदचाप, घटनाक्रम र अनुभूतिलाई कथामार्फत प्रस्तुत गरेको छु । मूल्यांकन भने पाठककै जिम्मेवारी हो ।’ शहरी परिवेशमा केन्द्रित कृतिहरू बढी देखिएको पछिल्लो समय एक रातको बास ग्रामीण पृष्ठभूमि, सामाजिक सम्बन्ध र सामूहिक जीवनका कथासँग आएको छ ।
यसले नेपाली जीवन–यथार्थलाई प्रष्ट देखाउन मात्र नभई साहित्यिक स्वाद र भावनात्मक गहिराइ प्रदान गर्ने सम्पादक भुसालको भनाइ छ ।