नेपालको हुलाक सेवा अहिले एक संक्रमणकालीन मोडमा उभिएको छ— ‘एकातिर घट्दो विश्वसनीयता, प्रविधिसँग प्रतिस्पर्धा गर्न नसकेको अवस्था र जनविश्वासको संकट; अर्कातिर घरदैलोमै राहदानी पु¥याउनेजस्ता नयाँ पहलहरूले देखाएको सम्भावना ।’ यही द्वन्द्वबीच हुलाक सेवा पुनर्जागरणको अवसर पनि बोकेर उभिएको छ ।
एक समय देशभरको सञ्चारको मेरुदण्ड मानिएको हुलाक सेवा आज अस्तित्वको संकट झेलिरहेको छ । चिठीपत्र आदानप्रदानको परिमाण निरन्तर घटिरहेको हामीसबैले देखेभोगेकै कुरा हो । डिजिटल सन्देश, इमेल र सामाजिक सञ्जालले परम्परागत पत्र लेखनलाई विस्थापित गरिसकेको छ । यसले हुलाकको मुख्य आयस्रोतमा ठूलो धक्का पु¥याएको छ । त्यसमाथि ढिलो डेलिभरी, हराउने वा बिग्रने जोखिमले जनविश्वास झन् कमजोर बनाएको छ ।
हुलाक सेवा विभागले बर्सेनि करोडौं घाटा व्यहोर्दै आएको बताइन्छ, कर्मचारीहरूमा मनोबल घट्दो छ र पर्याप्त बजेट अभावले नयाँ योजना कार्यान्वयनमा अवरोध सिर्जना गरेको छ । देशभर फैलिएको हुलाक सञ्जालमा हजारौं कर्मचारी परिचालित भए पनि उनीहरूको दक्षता र स्रोतसाधनको अभावले सेवा प्रभावकारी बन्न सकेको छैन । त्यस्तै, हुलाक टिकट बिक्रीबाट आउने राजश्व पनि पछिल्ला वर्षहरूमा घट्दो क्रममा छ, जसले संस्थाको वित्तीय अवस्था झन् कमजोर बनाएको छ ।
यिनै चुनौतीबीच सरकारले थालेको सरकारी कागजात घरमै पु¥याउने योजना हुलाक सेवाका लागि नयाँ सम्भावनाको ढोका खोल्ने संकेत हो । राहदानी घरमै डेलिभरी गर्ने सेवा सुरु हुनु केवल सुविधा विस्तार मात्र होइन, हुलाकलाई ‘सरकारी कुरियर सेवा’मा रूपान्तरण गर्ने दिशातर्फको महŒवपूर्ण कदम हो । यदि यो प्रणाली प्रभावकारी रूपमा विस्तार गर्न सकियो भने नागरिकता, लाइसेन्स, अदालतका कागजातलगायतका सेवा पनि घरदैलोमै पु¥याउन सकिन्छ, जसले हुलाकको उपयोगिता पुनः स्थापित गर्न मद्दत गर्नेछ ।
यद्यपि, यसका लागि प्राविधिक र संरचनागत सुधार अपरिहार्य छन् । अहिले देखिएका समस्या— जस्तै डिजिटल ठेगाना प्रणालीको अभाव, विभागहरूबीच प्रणाली एकीकरणको कठिनाइ, र अन्तिम डेलिभरी व्यवस्थापनमा कमजोरीलाई समाधान नगरी यो पहल दिगो हुन सक्दैन । सेवाको ट्र्याकिङ प्रणालीलाई विश्वसनीय बनाउनु, समयमै डेलिभरी सुनिश्चित गर्नु, र सेवाग्राहीसँग प्रत्यक्ष संवाद बढाउनु आवश्यक छ ।
विश्वका अन्य देशहरूले यस्तै संकटलाई अवसरमा बदलेका उदाहरणहरू प्रेरणादायी छन् । जापानको हुलाक सेवा आज बैंकिङ र बीमा सेवा प्रदान गर्दै विश्वकै ठूलो वित्तीय संस्थामध्ये एक बनेको छ । अष्ट्रेलियामा हुलाक कार्यालयहरूलाई फ्रेन्चाइज मोडेलमा सञ्चालन गर्दै स्थानीय व्यवसायसँग जोडिएको छ, जहाँ कफी, स्टेशनरीदेखि बैंकिङ सेवा समेत उपलब्ध छन् । चीनले त हुलाकलाई बैंक, बीमा र लगानी कम्पनीका रूपमा विस्तार गरेर नयाँ राजश्व स्रोत सिर्जना गरेको छ । यी उदाहरणहरूले देखाउँछन् कि हुलाक सेवा केवल चिठी बोक्ने माध्यम होइन, बहुआयामिक सेवा प्रदायकका रूपमा रूपान्तरण हुन सक्छ ।
नेपालमा पनि यस्तै सोच आवश्यक छ । ई–कमर्सको तीव्र विस्तार भइरहेको वर्तमान समयमा हुलाकले भरपर्दो डेलिभरी नेटवर्क निर्माण गर्न सके निजी क्षेत्रसँग प्रतिस्पर्धा मात्र होइन, सहकार्य पनि गर्न सक्छ । ग्रामीण तथा दुर्गम क्षेत्रमा हुलाकको पहुँच अझै पनि निजी कम्पनीभन्दा बलियो छ— यसलाई रणनीतिक रूपमा उपयोग गर्न सकिन्छ ।
अन्ततः, हुलाक सेवा बौरिने कि हराउने भन्ने कुरा अब नीतिगत निर्णय र कार्यान्वयनमा निर्भर छ । सरकारले यसलाई केवल घाटामा चलिरहेको पुरानो संरचना भनेर बेवास्ता गर्ने हो भने यो संस्था क्रमशः समाप्त हुनेछ । तर, आधुनिक प्रविधि, नयाँ सेवा र स्पष्ट व्यावसायिक रणनीतिसहित पुनर्संरचना गर्ने हो भने हुलाक सेवा फेरि एकपटक नागरिकको जीवनसँग जोडिन सक्छ । ऋबको बाटो स्पष्ट छ, विश्वास पुनःस्थापना, सेवा विस्तार र नवप्रवर्तन । यही बाटो समात्न सके नेपालको हुलाक सेवा केवल बाँच्ने होइन, बदलिँदो समयसँगै अघि बढ्ने सामथ्र्य राख्छ ।