नेभिगेशन
मनोरञ्जन

रूपान्तरणको संघारमा हलिउड

गत मार्च १५ मा सम्पन्न एकेडेमी अवाड्र्स (ओस्कर) मा उत्कृष्ट चलचित्र विधाका १० मनोनीत फिल्महरूको सूची हेर्दा हलिउडको साम्राज्य कसरी छरपस्ट भइरहेको छ भन्ने प्रस्ट हुन्थ्यो । ‘मार्टी सुप्रिम’ को छायांकन न्यूयोर्कका सडकहरूमा गरिएको थियो, ’सिनर्स’ लुजियानामा खिचिएको थियो भने ‘ह्यामनेट’ को सुटिङ बेलायतमा भएको थियो । ओस्कर विजेता ‘वान ब्याटल आफ्टर एदर’ को छायांकन सेक्रामेन्टो र क्यालिफोर्नियाका अन्य सहरहरूका साथै एल पासोमा गरिएको थियो— जुन हलिउडका परम्परागत साउन्डस्टेज वा स्टुडियोहरूभन्दा धेरै टाढा पर्छन् । वास्तवमै, उत्कृष्ट चलचित्रका दाबेदारमध्ये एउटै पनि मुख्यरूपमा लस एन्जलसमा खिचिएका थिएनन् । यो उद्योगको आकर्षण र शक्ति आफ्नो ऐतिहासिक थलोबाट कति टाढा सिसिकेको छ भन्ने एउटा सशक्त तस्बिर हो ।

हलिउडको डल्बी थिएटरमा रेड कार्पेटमा महँगा पहिरन र सजावटमा सजिएका सेलिब्रेटीहरू त देखिए, तर ती फिल्मसँग जोडिएको खर्च, स्थानीय कामदारको पारिश्रमिक र करबाट प्राप्त हुने राजस्व भने धेरै हदसम्म एटलान्टा, लण्डन र बुडापेस्ट जस्ता ठाउँमा सरिसकेको छ । अहिले हलिउडले उत्सव मनाउने कामहरू अन्य सहरहरूले गुपचुप रूपमा गरिरहेका छन् ।

लस एन्जलस काउन्टीमा मुख्यालय रहेको र त्यहीँबाट सञ्चालित मनोरञ्जन उद्योग अर्थात् ’हलिउड’ अहिले छिन्नभिन्न हुँदैछ । ‘फिल्म–एलए’ को अनुसन्धान अनुसार, लस एन्जलसमा छायांकन हुने दिनहरूको संख्या सन् २०२२ मा ३६,७९२ रहेकोमा सन् २०२५ मा घटेर १९,६९४ मा खुम्चिएको छ । सन् २०२२ देखि २०२४ को बीचमा मात्रै यस उद्योगलाई चलायमान बनाउने करिब ४१,००० कामदारले यो क्षेत्र छोडिसकेका छन् । अहिले यस उद्योगको सबैभन्दा शक्तिशाली व्यक्ति कुनै परम्परागत स्टुडियो मालिक नभएर नेटफ्लिक्सका सह–सीईओ टेड सारान्डोस हुन् । प्यारामाउन्ट स्काईडान्सका डेभिड एलिसनले स्ट्रिमिङ जायन्ट नेटफ्लिक्सलाई उछिनेर वार्नर ब्रदर्स डिस्कभरी खरिद गरे पनि सारान्डोसकै शक्ति कायम छ ।

निकै चासोका साथ हेरिएको यो सम्झौताले लस एन्जलसको आर्थिक मेरुदण्डका रूपमा रहेको फिल्म उद्योगको लागि अन्तिम कफिनको किला जस्तै काम गर्ने देखिएको छ । हलिउडका नयाँ शक्तिशाली व्यक्ति एलिसनले अधिग्रहणपछि ६ अर्ब डलरभन्दा बढीको खर्च कटौती गर्ने वाचा गरेका छन् । उनले कटौतीको मुख्य हिस्सा ’गैर–श्रम स्रोत’ बाट हुने बताए पनि हलिउड (जसलाई कहिलेकाहीँ ‘द टाउन’ पनि भनिन्छ) भने ठुलो स्तरको कर्मचारी कटौतीको डरले त्रसित छ ।

यसैबीच, आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को खतरा मडारिएको छ र उद्योग नै कोल्याप्स हुने डर पैदा भएको छ । जसरी अमेरिकी सहरहरूमा उत्पादनमूलक कामहरू विदेशिने र नयाँ प्रविधिले कामदारहरू विस्थापित भएर सहरहरू रित्तिएका थिए, त्यस्तै छाया लस एन्जलसका सडक र खजुरका रुखहरूमा परेको छ । सोनी पिक्चर्स इन्टरटेनमेन्टका पूर्व सीईओ माइकल लिन्टनले हालै आफ्नो पुरानो थलो भ्रमण गरेपछि यसलाई ‘डेट्रोइटको घमाइलो संस्करण’को संज्ञा दिए । उनले ’द हलिउड रिपोर्टर’ सँग भने, ‘त्यहाँ सन्नाटा थियो, केही पनि भइरहेको थिएन ।’

कुनै पनि उद्योग धराशयी हुनु आफैंमा दुःखद कथा हो । तर हलिउडको पतन त्योभन्दा पनि केही बढी हो । वर्षौंदेखि फिल्महरू अमेरिकाको मुख्य निर्यातका रूपमा रहेका थिए, जसले केवल रिल मात्र होइन, बरु विश्वभर अमेरिकी विश्वदृष्टिकोण पनि फैलाउँथे । अहिले डलरको हिसाबले हेर्दा फिल्म र टेलिभिजन निर्यातबाट हुने वार्षिक २० अर्ब डलरभन्दा बढीको कमाइ तेल, गाडी वा औद्योगिक मेसिनरी जस्ता निर्यातको तुलनामा निकै कम छ । तर पनि, यी विशुद्ध अमेरिकी एक्सन फिल्म, स्ट्रिमिङ शो, र आकर्षक सुपरहिरोहरूले अन्तर्राष्ट्रिय स्तरमा राष्ट्रको ‘सफ्ट पावर’ स्थापित गर्न आफ्नो तौलभन्दा धेरै बढी प्रभाव पार्छन् । ग्यासको कन्टेनरले भर्न नसक्ने गरी यिनले सियोलदेखि साओ पाउलोसम्मका बैठक कोठाहरूमा अमेरिकी भाषा, संस्कृति, फेसन र सामाजिक मूल्यहरू पु¥याएका छन् । जब कसैले ‘यस्तो अफर जसलाई उसले नकार्न सक्दैन’ भन्छ, तब विश्वको जुनसुकै कुनामा भए पनि मानिसले यसको अर्थ र स्रोत बुझ्छन् ।

उद्योगको केन्द्र कसरी बन्यो र कसरी भत्कियो ?
करिब १०० वर्षसम्म हलिउड विश्वकै सफल र प्रसिद्ध एउटै थलोमा केन्द्रित उद्योग ‘इन्डस्ट्री क्लस्टर’को उदाहरण थियो । हार्बर्ड बिजनेस स्कूलका माइकल पोर्टरले सन् १९९८ मा यस्ता क्लस्टरहरूलाई एउटै ठाउँमा विशेष क्षेत्रमा असाधारण सफलता प्राप्त गर्ने समूहका रूपमा वर्णन गरेका थिए । जर्मनीको कार उद्योग वा इटालीको फेसन जुत्ता उद्योग जस्तै पोर्टरले हलिउड र सिलिकन भ्यालीलाई विश्वकै उत्कृष्ट क्लस्टर मानेका थिए ।

यस्ता क्लस्टरहरूले एउटा सकारात्मक चक्र सिर्जना गर्छन्ः जब कुनै उद्योगका उत्कृष्ट मानिस र कम्पनीहरू एउटै क्षेत्रमा केन्द्रित हुन्छन्, अरू पनि त्यहीँ आउन चाहन्छन् । त्यहाँ जोडिनेहरूले ज्ञान, सम्बन्ध र प्रेरणा प्राप्त गर्छन् जुन टाढा रहेका प्रतिस्पर्धीले पाउन सक्दैनन् ।

२०औं शताब्दीको सुरुतिर फिल्मकर्मीहरू थोमस एडिसनको कडा प्याटेन्ट नियमबाट बच्न र दक्षिणी क्यालिफोर्नियाको सस्तो जमिन र वर्षभरि लाग्ने घामको फाइदा उठाउन न्यूयोर्क र न्यूजर्सी छोडेर भागेपछि हलिउडको उदय भएको थियो । सन् १९१० देखि १९२० को दशकको बीचमा दर्जनौं स्वतन्त्र निर्माताहरू मिलेर प्यारामाउन्ट, एमजीएम, वार्नर ब्रदर्स, फक्स र यूनिभर्सलजस्ता स्टुडियोहरू बने । यसले लस एन्जलसमा छायांकनका सेट, ल्याब र दक्ष कामदारहरूको एउटा मजबुत संजाल खडा गर्यो । सन् १९३० सम्म आइपुग्दा यो एउटा ‘ड्रिम फ्याक्ट्री’ बनिसकेको थियो ।

तर आज हलिउडको यो चक्र उल्टो घुमिरहेको छ । यो अचानक वा एउटै कारणले भएको होइन । प्रविधिको विकासले दर्शकलाई हलिउड बाहिरका धेरै स्रोतबाट मनोरञ्जन लिने विकल्प दिएको छ । अर्थशास्त्रीको नजरमा प्रतिस्पर्धा र विकल्प बढ्नु राम्रो देखिए पनि, वास्तविक संसारमा यो संक्रमण हजारौं मध्यमवर्गीय कामदारका लागि कष्टकर छ । दक्ष जनशक्तिको अभावले उत्पादनको गुणस्तर घट्ने र बजारमा ’एआई’ बाट बनेका कमसल सामग्रीको बाढी आउने खतरा छ । अमेरिकामा राजनीतिज्ञहरूले ‘मेक इन अमेरिका’ (सामानहरू अमेरिकामै बनाउने) कुरा गरे पनि देशको सबैभन्दा ठुलो सांस्कृतिक निर्यात उद्योग भने संकटमा छ ।

लेखक जेसन लाजारचेक यसका उदाहरण हुन् । उनी सन् २००८ मा हलिउड छिर्दा टेलिभिजनमा २२–२३ एपिसोडका शृंखलाहरू हुन्थे, जसले लेखकहरूलाई वर्षभरि काम र सिक्ने अवसर दिन्थ्यो । तर अहिले स्ट्रिमिङको जमानामा ८–१० वा कहिलेकाहीँ ४–५ एपिसोड मात्र बन्छन् । कामको सुनिश्चितता छैन । जेसनले अहिले आफ्नो गुजाराका लागि एआई कम्पनीमा ‘राइटिङ कन्सल्टेन्ट’ का रूपमा काम गर्न थालेका छन् । यो प्रविधिले उनको पुरानो पेसालाई नै संकटमा पारेको छ । उनले भने, ‘केही वर्षअघि कसैले मलाई एआई कम्पनीमा काम गर्छौ भनेर सोधेको भए म कदापि गर्दिनँ भन्थेँ होला, तर अहिले पैसाका लागि गर्नैपर्ने भयो ।’ धेरैले अहिले हलिउड छोडिरहेका छन् भने कतिपय सस्तो ठाउँमा बसेर टाढैबाट काम गरिरहेका छन् ।

नेटफ्लिक्स र प्रविधिको प्रभाव
हलिउडका पुराना हस्तीहरू एउटै कुरा भन्छन्– ‘नेटफ्लिक्सले सबै कुरा बदल्यो ।’ सन् १९९७ मा हुलाकबाट डीभीडी भाडामा दिने कम्पनीका रूपमा सुरु भएको नेटफ्लिक्सले सन् २०१० मा इन्टरनेटबाट स्ट्रिमिङ सुरु गरेपछि क्रान्ति नै ल्याइदियो । स्ट्रिमिङ प्लेटफर्मका रूपमा नेटफ्लिक्सले आफ्ना ग्राहकका हरेक रुचिको डाटा संकलन गर्छ र त्यहीअनुसार अल्गोरिदम बनाएर फिल्म र सिरिजहरू सिफारिस गर्छ । यसले गर्दा पुरानो स्टुडियो प्रणाली कमजोर भयो ।

अहिले नेटफ्लिक्स ३२५ मिलियन ग्राहकका साथ विश्वकै ठुलो स्ट्रिमिङ कम्पनी बनेको छ । यसको बजार मूल्य ३५८ अर्ब डलर छ, जुन डिज्नी र सोनीको संयूक्त मूल्यभन्दा पनि बढी हो । सन् २०२५ को अन्त्यतिर ‘भेराइटी’ ले निकालेको शक्तिशाली व्यक्तिहरूको सूचीमा नेटफ्लिक्सका टेड सारान्डोस नम्बर एकमा छन् ।

लस एन्जलस बस्न र काम गर्न निकै महँगो ठाउँ भएकाले फिल्म उत्पादनहरू एटलान्टा, भ्यानकुभर वा अन्य देशहरूमा सरिरहेका छन् । डिज्नीले आफ्ना धेरै मार्भल फिल्महरू एटलान्टामा खिचेको छ । ताइवान, एसिया र पूर्वी यूरोपका देशहरूले सस्तो मूल्य र सुविधा दिएर फिल्म छायांकनलाई आकर्षित गरिरहेका छन् । यो विश्वव्यापीकरण उद्योगका लागि राम्रो देखिए पनि लस एन्जलसका कामदारका लागि भने परिवार छोडेर महिनौं टाढा बस्नुपर्ने बाध्यता बनेको छ ।

हलिउडको विखण्डनले केवल रोजगारी मात्र होइन, एउटा जीवन्त सांस्कृतिक संजाल पनि गुमाउँदैछ । एउटै ठाउँमा काम गर्दा हुने आपसी भेटघाट, छलफल र सहकार्यले जुन नयाँ सिर्जना हुन्थ्यो, त्यो अब छरपस्ट भएको छ । दशकौंदेखि सँगालिएको ज्ञान अब नयाँ पुस्तामा त्यसरी हस्तान्तरण हुनेछैन ।

सबैभन्दा चुनौतीपूर्ण कुरा त, अहिलेका किशोरकिशोरीहरू फिल्मभन्दा बढी समय टिकटक र यूट्यूबमा बिताउँछन् । यूट्यूबमा हरेक मिनेट ५०० घण्टाको भिडियो अपलोड हुन्छ, जुन हलिउडले वर्षभरि बनाउने फिल्मभन्दा बढी हो । एआईको विकाससँगै अब मानिसहरू आफैँले उच्च गुणस्तरका भिडियो बनाउन सक्नेछन् ।

माइकल पोर्टरले भने झैं, हलिउड र सिलिकन भ्याली विश्वकै प्रसिद्ध क्लस्टर थिए । अहिले एउटा क्लस्टर मधुरो हुँदै जाँदा अर्कोले यसलाई निलिरहेको छ । टाइम वार्नरका पूर्व सीईओ जेफ बेक्स भन्छन्, ‘अहिले मिडियालाई नियन्त्रण गर्ने र यसको भविष्य निर्धारण गर्ने शक्ति प्रविधि क्षेत्रका शक्तिशाली व्यक्ति ‘टेक ओलिगार्क’को हातमा छ । यो केही समयपछिको कुरा होइन, अहिले भइरहेको यथार्थ हो ।
 (फच्र्युन म्यागेजिनबाट साभार)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन