नेभिगेशन
साहित्य

दक्षिण कोरियाली लेखिकाहरूको ‘मौन क्रान्ति’

सन् २०२४ को सुरुमा जसै सिन अरोमीको ‘एकल जीवनको आनन्द’ समेटिएको संस्मरण बजारमा आयो, यो बबाल हिट हुन पुग्यो । युवादेखि वृद्धसम्म, अविवाहितदेखि विवाहितसम्म र सन्तान भएका वा नभएका सबै प्रकारका महिलाहरूले अरोमीको पुस्तक ‘सो ह्वाट इफ आई लभ माई सिंगल लाइफ !’ लाई निकै मन पराए । नचाहिँदो सल्लाह दिनेहरूलाई सिनले दिएको आत्मविश्वासपूर्ण जवाफ र ‘बिना कुनै संकोच एक्लो बाँच्ने’ उनको स्वतन्त्रताबाट पाठकहरूले एक किसिमको परोक्ष सन्तुष्टि प्राप्त गरे ।
तर, उनको यो सफलतासँगै अनलाइनमा गालीगलौज र घृणाको बाढी पनि आयो । यस्तो घृणा गर्नेमा धेरैजसो पुरुषहरू थिए । उनीहरूले सिनलाई ‘तँ एक्लै मर्छेस्’ भने, उनलाई स्वार्थी भने र ‘देशलाई धोका दिएको’ आरोप समेत लगाए ।
दक्षिण कोरियामा महिला स्वतन्त्रताको पक्षमा उभिनु र पितृसत्तालाई चुनौती दिनु दिनानुदिन जोखिमपूर्ण बन्दै गएको छ । एकल जीवन बिताउँछु भनेर कुनै स्त्रीले भन्दा पुरुषहरूले नारीवाद (फेमिनिज्म) विरुद्ध ठूलै अभियान चलाए । महिलामाथि हुने भेदभाव, दुव्र्यवहार र यौन हिंसा अझै पनि त्यहाँ ठूलो चुनौती छ । तर यहाँ ‘नारीवाद’ शब्द यति ध्रुवीकृत भएको छ कि यसलाई अक्सर एउटा गम्भीर आरोपको रूपमा प्रयोग गरिन्छ, जसले अनलाइनमा खेदो खन्ने र अफलाइनमा निन्दा गर्ने काम गर्छ ।
यस्तो अवस्थामा अहिले महिलाहरू कोरियाली साहित्यिक क्षेत्रमा आफ्नो कथा व्यक्त गर्न एउटा छुट्टै ठाउँ बनाउँदै छन् । यसलाई केहीले ‘मौन क्रान्ति’का रूपमा व्याख्या गर्ने गरेका छन् । 
यसै वर्ष महिलाहरूले देशको सबैभन्दा प्रतिष्ठित साहित्यिक पुरस्कार ‘यी साङ अवाड्र्स’का सबै ६ वटा विधामा पहिलो पटक ऐतिहासिक जित हासिल गरे । ‘गेलब्याङ’ भनिने पुस्तक संवाद र लेखन कक्षहरू जताततै खुल्न थालेका छन् । त्यहाँ महिलाहरू एक ठाउँमा भेला हुने र समुदायको रूपमा अघि बढ्न समय र थलो उपलब्ध गराइरहेका छन् ।
सन् २०२४ मा हान काङले ऐतिहासिक नोबेल पुरस्कार जिते पनि कोरियाली लेखनमा महिलाहरूको आवाज सधैँ यति प्रखर भने थिएन । सन् २०१६ को यौन हिंसाविरुद्धको ‘मी टू’ आन्दोलनले ‘साधारण महिलाहरूलाई पनि बोल्न प्रोत्साहित ग¥यो,’ सन् २०११ देखि लेखन कक्ष चलाउँदै आएकी लेखिका उन्यु भन्छिन् ।
नारीवाद विरोधी भावना बढ्दै गए पनि धेरै महिलाहरूले लेखन कक्षा र पठन सत्रहरू सञ्चालन गर्न थाले । यसले गर्दा अन्य महिलाहरूका लागि यी थलो अझ सुलभ बने । उन्यु थप्छिन्, ‘सहभागीका रूपमा जोडिएका धेरै महिलाहरू पछि आफैँमा स्थापित लेखक बनेका छन् । मैले धेरै महिलाहरूलाई लेख्ने कार्यमार्फत आफ्नो पीडा भुल्दै आत्मविश्वास पुनर्जीवित गरेको देखेकी छु । यो व्यक्तिगत परिवर्तन भए पनि समुदायमा यसले शृंखलाबद्ध प्रेरणा दिन्छ । त्यस अर्थमा, यो एउटा सुस्त तर निश्चित क्रान्ति हो ।’
दक्षिण कोरियामा सिनले सुनाइरहेको कथा निकै क्रान्तिकारी छ । जहाँ आधाभन्दा बढी जनसंख्या सियोल क्षेत्रमा बस्छन्, उनले गाउँमा घर किनिन् । अहिले कोरिया जन्मदर बढाउन सङ्घर्ष गरिरहेको छ तर उनले विवाह नगर्ने र बच्चा नजन्माउने निर्णय गरिन् । उनी आफ्नो रोजाइको जिन्दगी रमाइलोसँग बिताइरहेकी छिन् ।
सिन भन्छिन्, ‘म सबैले विवाह छोड्नुपर्छ वा विवाहित मानिसलाई हेप्नुपर्छ भनिरहेकी छैन । मैले त आफ्नो रोजाइ र इच्छालाई प्राथमिकता दिँदा जीवन कसरी आनन्दमय हुन्छ भन्ने लेखेकी हुँ । मानिसहरू यस्तै कथा सुन्न पर्खिरहेका रहेछन् भन्ने मैले महसुस गरेँ ।’
नभन्दै, एक पाठकले अनलाइनमा लेखे, ‘मैले विवाह मेरालागि सही छ कि छैन भनेर सोचिरहेको बेला यो पुस्तकले मेरो अन्तरात्माको आवाज सुन्न मद्दत ग¥यो ।’ अर्का पाठकले भने, ‘यदि मैले विवाह गर्नुअघि यो पुस्तक पढेको भए मेरो जीवन फरक हुन्थ्यो होला । त्यतिबेला मैले विवाहको पनि विकल्प हुनसक्छ भन्ने कहिल्यै सोच्नै सकिनँ ।’
कोरियामा यस पुस्तकको सफलताले ३९ वर्षीया सिनलाई ‘पेन्गुइन’ प्रकाशनले लाखौं डलरको अन्तर्राष्ट्रिय अनुवाद सम्झौता दिलाएको छ । उनी एक्ली होइनन् । सन् २०२४ मा अनुवादित कोरियाली पुस्तकहरूको बिक्री अघिल्लो वर्षको तुलनामा दोब्बरले बढेको छ । कोरियाली लेखकहरू अहिले अन्तर्राष्ट्रिय बजारमा दह्रोसँग स्थापित हुँदैछन् ।
बजारमा अहिले विविध विधाका पुस्तकहरू उपलब्ध छन् । गु ब्योङ–मोको ‘द ओल्ड वुमन विथ द नाइफ’ एउटी ६० वर्षीया भाडाका हत्याराको कथा हो । किम चो–यपको विज्ञान कथामा एउटा अलपत्र वैज्ञानिकको सङ्घर्ष छ । लेखिका र गायिका लाङ लीले आफ्नो संस्मरणमा कोरियाली युद्धदेखि घरेलु हिंसासम्मका पीडाहरू उल्लेख गरेकी छिन् । त्यस्तै एस्थर पार्कको ‘द लिजेन्ड अफ लेडी ब्योक्सा’ मा जोसेअन कालको एक महिला योद्धाको कथा छ ।
प्रकाशन क्षेत्र फस्टाउँदै जाँदा र खासगरी महिलाहरूले ठाउँ पाउँदै जाँदा सार्वजनिक थलोमा कुरा गर्न सम्भव नभएका कुराहरू उपन्यासमार्फत अभिव्यक्ति गर्ने बाटा खुल्न थालेका छन् ।
नारीवाद विरोधी अभियानले चर्चित कलाकार र ‘के–पप’का स्टारहरूलाई समेत निशाना बनाएको थियो । नारीवादी उपन्यास पढेको वा ‘केटीहरूले जे पनि गर्न सक्छन्’ लेखिएको फोन कभर बोकेको देखेका भरमा पुरुष प्रशंसकहरूले महिला कलाकारका सामानहरू जलाएका थिए । त्यसैले धेरै महिला र पुरुषहरू अहिले ‘लुकिछिपी नारीवाद’ (स्टेल्थ फेमिनिज्म) को विकल्प रोजिरहेका छन् ।
धेरैका लागि ‘गेलब्याङ’ जस्ता लेखन कक्षहरू निसास्सिएको वातावरणबाट मुक्त हुने ठाउँ बनेका छन् । गत शनिबार डेजोन सहरमा नारीवादी लेखिका हा मिनाको कुरा सुन्न ५० भन्दा बढी महिलाहरू भेला भएका थिए ।
‘हामी यहाँ एकअर्काका कथा सुन्छौँ र त्यो अनुभव परिवर्तनकारी हुन सक्छ,’ हा भन्छिन् । विशेष गरी कोरियाको तीव्र प्रतिस्पर्धा र सफल हुने दबाबका बीच यस्ता कार्यशालाहरू महिलालाई गल्ती गर्न र सिक्नका लागि ‘सुरक्षित स्थान’ बन्न पुगेका छन् ।
हा मिनाले सुरुमा पुरुष लेखकहरूबाट लेखन सिकेकी थिइन् । ती लेखकबाट उनी चाँडै अघाइन् किनभने त्यहाँ उनले ‘विषाक्त र शोषणकारी व्यवहार’ सामान्य रहेको पाइन् । पछि एक महिला गुरुको कक्षामा जोडिएपछि उनको जीवन बदलियो । उनले आफ्नो पुस्तकमा ३० जना युवतीहरूको अन्तर्वार्ता लिँदै महिलामा हुने डिप्रेसनको खोजी गरिन् र के पाइन् भने यो सामाजिक अपेक्षा र लैङ्गिक हिंसा सँगसँगै जोडिएको छ ।
धेरै महिलाहरू त्यस्तो ‘आफ्नै कोठा’ खोजिरहेका छन् जहाँ उनीहरू स्वतन्त्र हुन सकून् र बिना कुनै डर आफ्ना कुरा राख्न सकून् । २८ वर्षीया किम गाह्युन भन्छिन्, ‘मैले यहाँ यौन हिंसा, भेदभाव वा आफ्ना चाहनाका बारेमा बोल्दा आफैँलाई सेन्सर गरिरहनु पर्दैन ।’
लेखिका ली सुल्ला सन् २०२३ को ‘सबैभन्दा प्रभावशाली समकालीन कोरियाली लेखक’का रूपमा चुनिएकी थिइन् । उनको उपन्यास ‘इन द एज अफ फिलियार्की’ ले परिवारको परम्परागत संरचनालाई नै उल्ट्याइदिएको छ । उपन्यासमा छोरी घरको मूली छिन् । उनले आफ्नी आमालाई भान्से र सहायकको रूपमा जागिर दिएकी छिन् भने बुबालाई घरको कामदार र चालकका रूपमा । पहिलो पटक आमाले आफ्नो श्रमको पारिश्रमिक पाउँछिन् भने बुबा घर सफा गर्ने र बिरालालाई खुवाउने काममा सन्तुष्ट छन् ।
लीको यो शैली र हास्यलाई धेरै महिलाहरूले रुचाएका छन् । ली भन्छिन्, ‘मैले कुनै ठुलो वा संसार हल्लाउने घटना लेखेकी छैन, केवल परिवारभित्रको सानो शक्ति सन्तुलन परिवर्तन गरेकी हुँ । तर यो एउटा नयाँ व्यवस्था निर्माण गर्न पर्याप्त छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्