विश्व राजनीति नै व्यक्ति, परिवार, गुट, दल र भूगोलको घेरामा केन्द्रित भइरहेका बेला महाभारत युद्धपूर्व हस्तिनापुरका सम्राट भरतको विवेकपूर्ण नीति आज पनि अनुकरणीय छ । उनको राजनीतिक लगाव र स्वभाव पूर्णतः लोकतान्त्रिक रहेको दृष्टान्त पौराणिक इतिहासमा भेटिन्छ । राजा भरतको त्यो एउटा निर्णय, जसले केवल इतिहास मात्र लेखेन, बरु आधुनिक लोकतन्त्र र सुशासनको लागि एउटा यस्तो बलियो आधारशिला खडा गरिदियो, जसको सान्दर्भिकता आजको विश्व राजनीतिमा अझ बढी प्रभावकारी देखिन्छ ।
नेपालको राजनीतिमा ‘जुन जोगी आए पनि कानै चिरेका’ भन्ने निराशाजनक भाष्य निर्माण भएको छ । नेपालमा ठूला–ठूला राजनीतिक क्रान्ति र आन्दोलनहरू भए, कति हिंसात्मक त कति अहिंसात्मक रहे । तर सडकमा सधैं एउटै प्रकारका नारा गुञ्जिरहे— निरंकुशतन्त्र मुर्दावाद, परिवारवाद मुर्दावाद र भ्रष्टाचार मुर्दावाद । सत्तामा पुग्नुअघि जनतासँग गरिने वाचा र सत्तामा पुगेपछि देखाइने छेपारे प्रवृत्तिमा सबै दल र नेताहरू प्रायः उस्तै देखिएका छन् । नेपालको राजनीतिले के स्पष्ट पारेको छ भने, यहाँ ‘वाद’ वा व्यवस्था आफैंमा समस्या होइन; जबसम्म व्यक्तिको आचरण र प्रवृत्तिमा परिवर्तन आउँदैन, तबसम्म कुनै पनि राजनीतिक परिवर्तन सार्थक हुन सक्दैन । सरकार बनेको महिना दिन बित्न नपाउँदै सडकमा देशको कार्यकारी प्रमुखविरुद्ध नाराबाजी र पुत्लादहन हुने परिस्थिति राजनीतिक अस्थिरताकै दुःखद परिणाम हो ।
यस्तो अवस्थामा नेपाली राजनीतिले राजा भरतको नीति अनुशरण गर्नु सबैभन्दा उपयुक्त हुने देखिन्छ । हस्तिनापुरका चक्रवर्ती राजा भरतका नौ जना छोराहरू थिए । राजतन्त्रात्मक परम्पराअनुसार जेठो छोरा स्वतः उत्तराधिकारी हुनुपर्ने नियम थियो । तर, भरतले आफ्ना नौवटै छोराहरूको क्षमता र व्यवहारलाई नजिकबाट नियाले र निष्कर्ष निकाले— तीमध्ये कोही पनि राज्य सञ्चालनका लागि योग्य छैनन् । त्यसपछि उनले ऋषि भारद्वाजका पुत्र भूमन्युलाई धर्मपुत्र बनाएर युवराज घोषित गरे । जब रानीले आफ्ना नौ–नौ जना छोराहरू हुँदाहुँदै किन अरूको छोरालाई युवराज बनाएको भनी प्रश्न गरिन्, तब राजा भरतले जवाफ दिएका थिए, ‘राजाका लागि राष्ट्रमा रहेका सम्पूर्ण नागरिक आफ्नै सन्तान बराबर हुन् । मेरो आफ्नै छोराहरूमा राज्य सञ्चालन गर्ने योग्यता छैन, त्यसैले राष्ट्र र जनताको समृद्धिका लागि मैले यो निर्णय लिएको हुँ ।’ यो कुनै आवेगको निर्णय थिएन, बरु योग्यता अर्थात् मेरिटोक्रेसीलाई वंशवाद वा नातावादभन्दा माथि राख्ने एउटा साहसी राजनीतिक प्रयोग थियो ।
राजा भरतको यो दर्शनले दक्षिण एसियाको मात्र होइन, समग्र विश्व राजनीतिलाई नै झकझकाउने कार्य गरेको छ । आजको विश्व राजनीतिमा ‘परिवारवाद’ एउटा क्यान्सरजस्तै फैलिएको छ । चाहे दक्षिण एसियाका राजनीतिक दलहरू हुन् वा पश्चिमा जगत्का शक्तिशाली राजनीतिक घरानाहरू, सत्ताको साँचो आफ्नै रगतको घेराभित्र सीमित राख्ने प्रयास भइरहेको छ । राजा भरतको यो कदमले आजका शासकहरूलाई मुख्य रूपमा तीनवटा महŒवपूर्ण पाठ सिकाउँछः
पहिलो पाठ हो— राष्ट्र प्रथम, परिवार दोस्रो । राजा भरतले बुझेका थिए कि राजा भनेको आफ्ना छोराहरूको पिता मात्र होइन, बरु सम्पूर्ण प्रजाको अभिभावक हो । यदि उनले अयोग्य छोरालाई सत्ता सुम्पिएका भए हस्तिनापुरको पतन निश्चित थियो । लोकतन्त्रको प्राण पनि यही हो कि सत्ता त्यहाँ हुनुपर्छ जहाँ क्षमता छ, न कि जहाँ नाता छ । वर्तमान नेपाल सरकारले गरेका कतिपय कार्यहरू सकारात्मक रूपमा देखिँदै गर्दा पनि राज्यका महŒवपूर्ण निकायहरूमा हुने नियुक्ति र चयन प्रक्रियामा बेलाबेला उठ्ने विवादले नातावादकै झल्को दिने गरेको छ । जुनसुकै निर्णय गर्दा पनि पक्ष र विपक्षमा मत विभाजित हुनु स्वाभाविक भए तापनि अन्तिम निर्णयमा न्याय मर्नुहुँदैन ।
दोस्रो पाठ हो— लोकतान्त्रिक मूल्यको जग । राजा भएर पनि भरतले ‘जनताको हित’लाई सधैं केन्द्रमा राखे । पौराणिक प्रसंगअनुसार, एक अपहरणमा परेकी नारीको उद्धारका लागि उनले अपराधीहरूलाई दरबारमा बोलाएर कबुल गरिएको सुन दिएर पठाए र पछि ती अपराधीहरूसँग युद्ध गरेर उनीहरूलाई पराजित गरे । दरबारको सुन फिर्ता ल्याएर ती पीडित नारीलाई नै बुझाए । यति मात्र होइन, समाज र परिवारले ती नारीको पवित्रतामाथि प्रश्न उठाएर विवाह गर्न अस्वीकार गर्दा राजा आफैं उपस्थित भई समाजलाई विश्वास दिलाए र अभिभावकीय भूमिका निर्वाह गरे । उनले देखाए कि नेतृत्व प्राप्त गर्नु जन्मसिद्ध अधिकार होइन, बरु यो एउटा आर्जन गर्नुपर्ने योग्यता हो । यही विचार नै आधुनिक लोकतन्त्रको मुटु हो ।
तेस्रो पाठ हो— न्याय र पारदर्शिता । आफ्ना सन्तानलाई अयोग्य घोषित गर्दै अरूको सन्तानलाई युवराज घोषणा गर्नु एक पिताका लागि पक्कै पनि सहज र पीडामुक्त थिएन । तर उनले न्यायको पालना गरेर राजनीतिमा एउटा आदर्श शैली स्थापना गरे । आजको राजनीतिमा नेताहरू आफ्ना सन्तान र नातागोताको कमजोरी लुकाउन राज्यका अंगहरू नै ध्वस्त पार्दै शक्तिको दुरुपयोग गर्छन् । भ्रष्टाचार र कुशासनमा संलग्न भएका अनगिन्ती दृष्टान्तहरू हाम्रैसामु छन् । कतिपय गम्भीर अपराधका घटनामा वर्षौंसम्म पनि दोषी पत्ता लाग्न नसक्नु वा दोषीलाई संरक्षण गरिनुले हाम्रो न्याय प्रणालीको कमजोरी उजागर गर्छ । यस्तो अवस्थामा राजा भरतको निष्पक्षता आजका नेताहरूका लागि एउटा बलियो ऐना बन्न सक्छ । शासकहरूले दोषीलाई कारबाही गर्ने सामथ्र्य देखाउन सके मात्र लोकतन्त्र बलियो हुन्छ ।
शासकले के बुझ्नुपर्छ भने लोकतन्त्र तब मात्र बलियो हुन्छ जब संस्था र प्रणाली, व्यक्ति वा परिवारभन्दा माथि हुन्छन् । राजा भरतले हजारौं वर्ष पहिले जुन त्याग गरे, त्यसले सत्ता उपहार नभएर एउटा ठूलो उत्तरदायित्व हो भन्ने सन्देश दिन्छ । उत्तरदायित्व वहन गर्न नसक्नु र जवाफदेहिता नहुनुले नै नेपालको राजनीतिमा अस्थिरता मौलाएको छ र राजनीति पैसा एवं शक्तिको वरिपरि केन्द्रित हुन पुगेको छ । यो गलत परिपाटीलाई तोड्नु नै आजको मुख्य आवश्यकता हो ।
सिंहासनको उत्तराधिकारी वीर्यले होइन, विवेकले तय गर्नुपर्छ भन्ने सन्देश भरतले दिएका थिए । यदि राजा भरतले आफ्ना अयोग्य छोराहरूलाई नै सत्ता सुम्पिएका भए, सायद आज हामी ‘भारतवर्ष’ को यो गौरवशाली इतिहास पढिरहेका हुने थिएनौं । उनले रगतको साइनोभन्दा कर्तव्यको साइनोलाई ठूलो मानेर लोकतन्त्रको आदिम बीउ रोपेका थिए, जुन वर्तमान राजनीतिका लागि उत्तम मार्गनिर्देशन बन्न सक्छ ।
वर्तमान विश्वमा जहाँ सत्ताका लागि लोकतान्त्रिक मूल्यहरूको हुर्मत लिने काम भइरहेको छ, त्यहाँ राजा भरतको यो ऐतिहासिक त्याग एउटा उज्यालो मशाल बन्न सक्छ । लोकतन्त्रलाई बलियो बनाउन ‘म र मेरो’ भन्ने संकुचित घेराबाट बाहिर निस्केर ‘योग्य र सक्षम’लाई नेतृत्व सुम्पिने हिम्मत आजका शासकहरूमा हुन जरुरी छ । भरतको निर्णयले स्पष्ट पार्छ— महान् शासक त्यो होइन जसले आफ्नो वंश जोगाउँछ, महान् शासक त त्यो हो जसले आफ्नो राष्ट्र जोगाउँछ र इतिहासमा न्यायको दीप प्रज्वलित गरिरहन्छ ।
(लेखक शिक्षासेवी हुन् ।)