नेभिगेशन
धर्म/संस्कृति

ग्रहणको वैज्ञानिक पक्ष

यस वर्ष २ चन्द्रग्रहण परेका छन् । पहिलो भाद्र शुक्ल पूर्णिमा, भाद्र २२ गते आइतबार र दोस्रो छ फाल्गुण १९ गते मंगलबार अर्थात् फागु पूर्णिमाका दिन । पहिलो ग्रहण खग्रास हो पूरै ढाकिन्छ र दोस्रो हो खण्डग्रास अर्थात् आँशिक हुन्छ । 

भाद्र २३ को चन्द्रगहणको स्पर्श रात्रि १०ः३४ बजे हुन्छ भने मोक्षको समय रहेको छ मध्यरात्रि १ः४१ बजेको र पूर्ण खग्रास हुने समय रातको ११ः५६ बजे हो । यो ग्रहणको प्रभाव खासगरी शतभिषा र पूर्वभाद्रपदा नक्षत्र भनौं कुम्भ राशिका व्यक्तिका लागि बढी खराब र अरुलाई सामान्य रहेको छ ।

रोगी, आतुर, बाल, वृद्धबाहेक सामान्य व्यक्तिका लागि ग्रहण शुरु हुनु १२ घण्टा पहिलेदेखि भोजनादि कर्म निषेध छ । शुभ, अशुभ फल जे भए पनि सूृर्य र चन्द्र दुबै ग्रहणलाई खुाला आँखाले हेर्नु हुँदैन । चन्द्र ग्रहणमा बाल, वृद्ध, बिरामीबाहेक ग्रहण सुरु हुनु तीन घण्टा पूर्व भोजन निषेध छ ।

खानामा विषाक्त विकीरण हुने हुँदा यसो भनिएको हो । सूर्यग्रहणमा त त्योभन्दा बढी समय अघिदेखि नै भोजन निषेध छ । ग्रहणमा लघू शंका र दीर्घ शंका, पनि उचित हुन्न ।

पश्चिमी मुलुकको तुलनामा पूर्वी र दक्षिण एशियाली क्षेत्रसँग सम्बद्ध मुलुकहरूमा सूर्य, चन्द्रग्रहणको विशेष अध्ययन र त्यसको प्रभाव विश्लेषण गर्ने चलन बढी छ । छैठौं शताब्दीदेखि नै भारतीय उपमहाद्धिपमा यसको अध्ययन थालिएको हो । यद्यपि वैदिक ग्रन्थहरूले ग्रहणको व्याख्या सत्ययुगदेखि नै भएको उद्घोष गरेका छन् ।

द्वापरयुगमा ग्रहणका वखत गरिने शुभ कार्यबारे विभिन्न शास्त्र, पुराणहरूले चर्चा गरेका छन् । सूर्यग्रहण सूर्यसँग र चन्द्रग्रहण चन्द्रमासँग सम्बन्धित भएकाले आइतबारको सूर्यग्रहण र सोमबारको चन्द्रग्रहणलाई विशेष चुडामणियोगको ग्रहण भनिने गरिन्छ, यस्तो बेला शुभ कर्मको फल अन्य बेलाको तुलनामा अधिक रहन्छ । 

पृथ्वीबाट सूर्य करिब १५ करोड किलोमिटर टाढा छ । यसको व्यास पृथ्वीभन्दा १०९ गुणा ठूलो छ । चन्द्रमाको व्यास भने पृथ्वीको तुलनामा एक चौथाई मात्र छ । सूर्यको तौल पृथ्वीको भन्दा ३ लाख ३३ हजार गुणा बढी छ । यसको बाहिरी सतहको तापक्रम ६ हजार डिग्री सेन्टिग्रेड छ र केन्द्रको तापक्रम भने १ करोड ५० लाख डिग्री सेन्टिग्रेड छ । सूर्य पृथ्वीभन्दा नजिकको एक तारा हो ।

सौर्य मण्डलमा सम्पूर्ण ग्रहहरू आप्mनो कक्षमा परिभ्रमण गर्छन् । सूर्यको वरिपरि पनि परिभ्रमण गर्ने  गर्छन् । पृथ्वी आफ्नो कक्षमा परिभ्रमण गर्ने क्रममा पश्चिमबाट पूर्वतिर परिभ्रमण गर्छ भनौं सूर्यको वरिपरि पनि परिभ्रमण गर्छ । ग्रहण लाग्दा सूर्य पूरै नदेखिनुलाई खग्रास सूर्य ग्रहण भनिन्छ ।

पृथ्वीको कुनै एक स्थानमा खग्रास सूर्य ग्रहण लागेपछि सामान्यतया ३७५ वर्षपछि मात्र त्यस स्थानमा फेरि खग्रास सूर्य ग्रहण लाग्ने गर्छ । छैठौं शताब्दीका विद्वान् ज्योतिषाचार्य बराहमिहिरले प्रामाणिक ग्रहणको चर्चा गरेका छन् । 

सूर्य र चन्द्रमाका वीचमा पृथ्वी पर्नाले चन्द्रग्रहण हुने गर्छ । चन्द्रग्रहणमा सूर्यको किरणलाई पृथ्वीले छेक्दा चन्द्रमामा छायाँ पर्न जान्छ । पूर्णिमामा सूर्य–पृथ्वी– चन्द्रमा एकै रेखामा पर्न जाँदा चन्द्रग्रहण पूर्णिमाका दिन मात्र हुने गर्छ । ग्रहण कुनै भूभागबाट बढी देखिन्छ, कुनैबाट कम वा कुनै क्षेत्रबाट देखिँदैन ।

Achyut-Prasad-Paudel-1757129561.jpg
अच्युतप्रसाद पौडेल ‘चिन्तन’

वैदिक दर्शनले ग्रहणलाई राहुको आक्रमण भनेको छ । राहु भनेको कालो वर्ण अर्थात् अँध्यारो हो । अज्ञानताको कालो बादल नै दुःखको कारण हो । जहाँ जुन विषयमा अन्धकार छ त्यो राहु हो । 

अनिष्ट हो, ग्रहण लागेका बेला दानका कार्यवाट सन्तोष हुने दैत्यको उदय भएका बखत सृष्टिकर्ता बह्माजीले यति बेलाको दानकार्यबाट आहार ग्रहण गर्नु भन्ने वरदान अनुसार राहुले त्यसबेला आफ्नो खाना लिने कुरा शास्त्रहरूले चर्चा गरेका छन् । 

समुद्रमन्थन गर्दा प्राप्त अमृत वितरणमा राहुले पनि अमृतपान गरेकोले सूर्य र चन्द्रले त्यसको विरोध गर्दा इष्र्यालु भई राहुले सूर्य र चन्द्रमालाई मौका मिलेका बखत दुःख दिने गरेका कारणस्वरुप चन्द्र सूर्य ग्रहण लाग्ने गरेको कथानक शास्त्रहरूमा पाइन्छ ।

ग्रहणका बखत अन्य शुभकार्य निषेध भए पनि दान, पुण्य, तीर्थ, व्रत, जपका लागि यो उत्तम
समय हो । मन्त्र दीक्षा ग्रहण गर्न यतिबेला उत्तम हुन्छ । स्नान मध्ये नदी किनारा वा समुद्रछेउको स्नान बढी पुण्यदायी हुन्छ । जमेको भन्दा बगेको पानीले स्नान गर्नुपर्ने हुनाले घरबाहिर गएर स्नान गर्ने चलन बढेको हो । 

ग्रहण सुरु, मध्य र अन्त्यमा स्नान गर्नुपर्ने विधान भए पनि हिजो आज एकपटक मात्र स्नान गर्ने र नमिलेमा पानी मार्चन गर्ने चलन छ । उमालेको पानीमा बढी विषाक्त विकीरण रहने हुँनाले ग्रहण पूर्व उमालिएको पानी सेवन गुर्नु हुँदैन । 

पकाएको खाना र यस्तै अन्य खानेकुरा ग्रहण गर्नु हुँदैन । पुण्य कार्य गर्न अन्य दिनभन्दा चन्द्रग्रहणका वखत लाखौं गुणा र सूर्यग्रहणका वखत त्यसको पनि दशौं गुण बढी उत्तम हुन्छ ।

पद्यपुराण, महाभारत, ब्रह्मवैवर्तपुराण, वराहपुराण आदिमा तीर्थको महत्व बताइएको छ भने स्कन्दपुराणमा हिमालयक्षेत्रबाट बग्दै आएकी नदीका सङ्गमहरूमा तीर्थको अधिक पुण्य रहने बताइएको छ । 

गयामा भने विष्णुपद, अक्षयवट र फल्गुनदीलाई अधिक महत्वले हेरिएको छ । गयाभन्दा पनि प्राचीन स्थल हाम्रो कौशिकी क्षेत्र हो । गीताको पाठ, रामगीता, भागवतको केही श्लोकहरूको अध्ययन गर्नाले पनि ग्रहणको बढी पुण्य लिन सकिन्छ ।

जलाशय, सागर आदिमा स्नान गर्नाले जीवनमा अपार पुण्य र आनन्द मिल्छ भने टाढा जान नसक्नेहरूले घरमै स्नान गर्दा पनि तीर्थहरूको नाम, पवित्र नदीको स्मरण, गङ्गा, गायत्री, गाईको स्मरण, मन्त्रोच्चारण र अयोध्या, मथुरा, माया, काशी, काञ्ची, अवन्तिका पुरी, द्वारावती, गोदावरी आदिको स्मरण गर्दै स्नान, सन्ध्या र यथाशक्य दान, पुण्य गर्नाले आफ्नो शरीर पवित्र त हुन्छ नै, मन र धन पनि पवित्र हुने गर्छ । 

तन शुद्धि स्नानले, धनशुद्धि दानले, मन शुद्धि ध्यानले हुन्छ । ग्रहणलाई अधिक लाभ हुने अवसर दिएको मान्न सकिन्छ । मनको विकार हटाउने अवसर बनोस् ग्रहण । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्