भगवान् श्रीकृष्ण शासन सञ्चालन शास्त्र (नीति), धर्म (आचरण) र कर्म (कार्य) का आधारमा हुने आशय व्यक्त गरेका थिए । शासनको प्रशासन, नीतिको नियमन र व्यवस्थाको व्यवस्थापन कर्मचारीको कर्म हो । राज गर्ने राजनेताहरू कर्म गर्ने कर्मचारीको सक्रियताबिना गतिहीन हुन्छन्, संविधानका अक्षरहरूमा प्राण पस्दैन । त्यसैले भनिएको होला, कुनै पनि सरकारत्यहाँको प्रशासनले अनुमति दिएभन्दा राम्रो बन्न सक्तैन ।
सार्वजनिक प्रशासनका पिता कहलिने विड्रो विल्सनले एक प्रसंगमा यसलाई राज्यको चौथो अंग भनेका थिए; तीन अंग पृथक–पृथक हुन्छन्, तीनै अंगभित्र कर्मचारी समानरूपमा जीवन्त रहन्छन् । ब्राजिलका आन्तरिक मामिला मन्त्री लुइस कार्लोस पेरेइराले त कर्मचारीलाई अनिर्वाचित जनप्रतिनिधिका रूपमा लिएका थिए ।
निर्वाचित प्रतिनिधिहरू ‘पार्ट’ बाट आएका हुन्छन्, विचार, दर्शन र कार्यक्रमको ‘पार्ट’मा रहन्छन् तर सार्वजनिक प्रशासन ‘होल’ मा रहन्छ । राष्ट्रको हित उनीहरूको स्थायी कार्यभूमिका हो । आधुनिक राज्य व्यवस्थाको केन्द्रस्थमा बिना विकल्प कर्म, समर्पण र क्रियाशीलतामा निजामती सेवा नै रहन्छ । निजामती सेवाको आविष्कार नै राज्यसञ्चालनमा प्राण भर्नका लागि भएको थियो ।
त्यसैले यो निरन्तर रहिरहने मानव संस्था राज्य रहेसम्म राज्य प्रणालीलाई स्वचालित क्रियाशीलतामा परिमार्जन र परिष्कार गर्दै, आफैं पनि परिष्कार हुँदै जान्छ । यस अर्थमा निजामती सेवा र राज्यप्रणाली अभेद्य पारस्पारिकतामा रहन्छन् । एकबिना अर्कोको कल्पना गर्न सकिँदैन ।
अपेक्षा त्यससँग गरिन्छ जसले त्यसलाई पूरा गर्न सक्छ । निजामती सेवासँग पनि थुप्रै अपेक्षा छन् । अपेक्षा भएकाले आलोचना पनि छ । आलोचना यदाकदा आक्रमणमा समेत पोखिने गरेको छ । सर्वसाधारणहरू सेवाग्राहीका हैसियतमा छिटो, छरितो, मितव्ययी, बिनाझञ्झट, विनम्रतासाथ सेवाव्यवहारको अपेक्षामा छन् ।
सेवाग्राहीकै लागि कर्मचारी उपस्थित छ, सेवाग्राहीकै पसिना तलब सुविधा उपयोग गर्छ; यस अर्थमा सेवाग्राहीका अपेक्षा स्वाभाविक हुन् । तर उसबाट पोखिने मुस्कान, उसको मधुर बोली मनकै पोखाइ हो । उसको सक्रियता, सामथ्र्य र शक्तिको जोड हो, जुन स्वप्रेरित भएमा, प्रोत्साहित भएमा, स्वस्थ भएमा र उसमाथि निष्पक्ष व्यवहार भएमा मात्र देखिने हुन् ।
बुझ्नुपर्ने कुरा के हो भने सेवाग्राहीका अपेक्षा पूरा गर्न कर्मचारीलाई पदसोपान, संगठनसीमा र उभयपक्षबाट हुने दवाव–प्रभावले ङ्याक्न सक्छ । आफ्नै स्वभाव, व्यावसायिकता र इमानदारीको स्तरले प्रभाव पार्न सक्छ । अहिले नेपालको निजामती सेवामा गम्भीर सवाल उठिरहेका छन् ।
उसले दिने सेवामा नागरिकको मन जितिएन, आचरणका प्रश्न उठिरहेका छन् । राजनीतिलाई व्यावसायिक सहयोग र आवश्यक पर्दा सचेत गर्नुपर्नेमा स्वार्थको सौदामा लाग्यो । प्रत्युत्पन्नता र अग्रसरता देखाएन । सकारात्मक सोच देखाएन । आस्थामा विभाजित भयो, निष्पक्ष देखिएन । सार्वजनिक सेवाका मूल्यहरू जेगाइराख्न सकेन ।
तर निजामती सेवा आफैंमा कार्यस्वायत्त छैन । आन्तरिक ‘इकोसिस्टम’ र बाह्य परिवेशबाट उसको कामलाई प्रभाव पारिहरको छ । कार्यवातावरण, हौसला र शक्ति स्रोतले सेवाग्राहीको मन जित्ने सामथ्र्य बटुल्ने हो, सहयोग र स्यावासीले हौसिने हो ।
सर्वसाधारणलाई थाहा छ सेवा वितरणका काउन्टरहरूमा अहोरात्र उपस्थित कर्मचारी वास्तवमा नेपथ्यको पात्र हो, नामरहित पात्र हो । जनताका लागि गरिने सबै काममा निर्देशक मगजको भूमिका राजनीतिको हो, राजनीतिक कार्यकारीको हो । सम्पादित काम निर्देशक मगजका नामबाट नै गरिने हुन् ।
निर्देशकको आदेशवेगर प्रणालीलाई क्रियाशील पार्ने लामाहातहरू क्रियाशील हुनै सक्तैनन् । हौसला नपाई समर्पित अग्रसरतामा पुग्नै सक्तैनन् । पात्र लगातार काम गर्छ तर निर्देशकबाट हुने अस्वस्थ्य आदेश र फितलो दिशाबोधको प्रतिरोध गर्न सक्तैन । कतिपय अवस्थामा निर्देशक मगज नै लामा हात तेस्र्याउन पछि पर्दैन, अनि निजामती सेवा आफू निर्देशक मगज पनि बन्ने कि परिभाषित भूमिकामा रहने भन्ने अन्यमनस्कमा पर्छ ।
राजनीति र प्रशासनको सम्बन्ध र सीमाको लक्ष्मणरेखाले कार्य, भूमिका, वृत्ति र मूल्यको सीमांकन गरेको छ । त्यसैले कर्मचारीको मन ठूलो हुन्छ, तर मुखचाहि सानो । साना मुख मधुर बोलीका लागि हो र ठूलो मन विश्वास जितेर मायालु बन्नका लागि । आफ्नै पीडा र वृत्ति छटपटीमा धेरैजसो कर्मचारी चाहेर पनि बोल्न सक्तैनन्, बोल्न चाहदैनन् । फगत कर्म, समर्पण र सरलता निजामती कर्मचारीको वृत्ति हो ।
त्यसैले निजामती सेवालाई आदर्श भनिएको हो, सद्गुणहरूको संगम मानिएको हो । यसो भन्दैमा निजामती कर्मचारी निर्जीव संयन्त्र कदापि होइन । ऊ जीवन्त संगठनको विवेकशील पात्र हो । उसका पनि आभ्यान्तरिक इच्छा, आकांक्षा र उम्मेद हुन्छन् । व्यक्त होस् वा अव्यक्त ऊ अपेक्षा र आकांक्षाहीन यन्त्र बन्न सक्दैन ।
गोपी मैनाली
वृत्तिसेवक भएकाले प्रणालीभित्र निष्पक्ष र वस्तुगत वृत्तिव्यवहार उसको पहिलो अपेक्षा हो । त्यसो भएमा मात्र समर्पित क्रियाशीलतामा स्वचालित अग्रसरता देखाउँदै जान्छ । आफू र आफ्ना सन्तानका लागि पेटभरि खान लाउन, सान्तानका लागि शिक्षा स्वास्थ्य दिनसक्ने पारिश्रमिकको उपलब्धता उसको दोस्रो अपेक्षा हो ।
प्रणालीभित्र निष्पक्ष प्रोत्साहन उसको तेस्रो अपेक्षा हो, जसको विपरीत व्यवहार हदा पटक–पटक ऊ अपमानित भएको पनि छ । निजामती सेवालाई गरिमामय बनाउने नीति नेतृत्व र दिशाबोध उसको चौथो अपेक्षा हो । आफू संलग्न सेवा संगठनको इज्जत बढ्दा समाजमा उसकै नाक अग्लिने हो ।
पाँचौ तर सबैभन्दा महत्त्वपूर्ण अपेक्षा निर्देशक मगजका तर्फबाट सम्पादित काममा जसअपजसको संरक्षण निर्देशक मगजले नै लिनुपर्छ, जुन प्रशासन र राजनीतिको सीमा–सम्बन्ध निर्धारण सिद्धान्त (डिकोटोमी प्रिन्सिपल) को मान्यता र राज्य सञ्चालनको सिद्धान्त हो । अभिभावकबाट अभिभावकत्वको अपेक्षा गर्नु स्वाभाविक हो ।
यसर्थ निजामती कर्मचारीले उसको राजनीतिक कार्यकारीबाट प्रणालीको संरक्षण, वृत्ति सुरक्षा, समान व्यवहार, पर्याप्त सेवा–सुविधा, अभिभावकत्व, कार्यप्रोत्साहन, कार्यस्वायत्तता, दिशाबोध र नेतृत्व निर्वाह अनि अन्तिम जवाफदेहिता मनदेखि माग गरिरहेको हुन्छ ।
सफल राजनेताहरू यसो गर्न कदापि पछि पर्दैनन् । जहाँ जहिलो यस प्रकारको व्यवहार देखिन्छ, समग्र प्रणालीको स्वचालित गतिशीलता देखिन गई राष्ट्रनिर्माण नै सहज हुन्छ । निजामती सेवालाई वृत्ति चयन गर्दा कर्मचारीले आफूभित्र थुप्रै सोच र उम्मेदहरू संगालेको हुन्छ । एउटा सफल वृत्तिसेवक हुनु भनेको राष्ट्रसेवा र वृत्तिसेवा साथसाथै वरण गर्नु पनि हो ।
निर्दिष्ट जिम्मेवारी पूरा गर्दै जाँदा कर्मचारीभित्र विज्ञता बढ्दै जान्छ, विज्ञताले सामर्थ्य र स्वायत्तताको आर्जन गर्छ । विवेक र विज्ञताको उपयोगबाट राष्ट्रसेवामा योगदान पुर्याउँछ । वृत्तिको सुरक्षा र राष्ट्रनिर्माणको आभ्यान्तरिक स्वप्रेरणाले नै कर्मचारी आदर्श बन्ने हो, संगठन सजीव बनाउने हो, जनता र नेताको मन जित्ने हो, र सरकार अनि सर्वसाधारणबीच सम्बन्ध सेतु बन्ने हो ।
यसैमा निरन्तर रहँदा भर्खर जुँगारेखा बस्दै गरेको होनहार प्रतिभा मुलुकका भाषिक, भौगोलिक, सांस्कृतिक परिवेशसँग परिचित हुदै जीवन र जवानी नै राष्ट्रसेवामा समर्पण गर्न पुग्छ । यसबीच उससँग बाल्यकालमा खेल्ने साथीसंगी, माया दिने इष्टमित्र, आफैं जन्मे हुर्केको पाखा पखेरासँग पत्तै नपाई अलग्गिएका हुन्छन् ।
जब सेवाबाट निवृत्त हुन्छ, झल्यास्स आँखा खुल्छ खोइ साथी–संगाति, खोइ पाखा– पखेरा, खोइ–नातासम्बन्धी ? बिरानो भैसकेको यी यावत् परिवेशसँग सम्बन्धको नवीकरण चाहेर पनि सम्भव छ र ? जीवन र जवानी रित्याएर पुनर्जीवन ! प्रतिभा र विज्ञता रित्याएर पुनर्वृत्ति !
संस्मरणको फ्ल्यासब्याकमा एउटा समर्पित कथाको पात्रझैं वृत्तिसेवाको बखान र राष्ट्रसेवा गरेकोमा गर्व गर्छ र बाँकी जीवन बिताउँछ । आफ्नै स्मृतिको घटना स्मरण गर्दै जीवन काट्छ । यो निजामती सेवाको आविष्कार नभएको भए....? विज्ञहरूलाई अध्ययनको विषय बनोस् ।
यति गरिमा बोक्ने, अहम् भूमिका र महत्त्व भएको सजीव प्रणालीभित्र अचेल केही असजिला पक्षले प्रवेश पाएको छ । समूह भावनामा समर्पित हुने कर्मचारी आस्थामा विभाजित हुँदैछ । सेवाको कुनै सदस्यलाई चोट लाग्दा अरुले खुच्चिङ्ग भन्ने प्रवृत्ति विकास भएको छ ।
समूहभित्र ईर्ष्या र द्वेष हुर्किन लागेकोले माया र आपसीपना पातलियो । प्रणालीको संरक्षण र अभिभावकत्व हुनुपर्ने जस्तो भएन । आफ्नै नेतृत्वले अभिभावकत्व दिन सकेन । प्रमोसन, अवसर र कार्य अदलाबदली पनि अस्वस्थ आस्थामा प्रतिस्पर्धी भयो । विचार र आस्थाको छहारी खोज्ने प्रयास भयो । प्रशासनिक सौदावाजी पनि बढ्दै गयो । आचरण र अनुशासनमा गम्भीर प्रश्नहरू देखिन थाले ।
कर्म र समपर्णलाई वृत्तिस्वार्थले विस्थापन गर्दैछ । बहुसीपयुक्त कर्मचारी चाहिएको समयमा स्वयम् प्रेरणा बिउझिन सकेन । इमानदारहरूले इमानदार बन्दा पटक–पटक चोट पाए, तर प्रणाली मौन देखियो । प्रणाली मिच्ने र निजामती मूल्य अवलम्बन नगर्नेहरू प्रोत्साहित हुँदा इमानदारहरू अपमानित हुने स्थिति देखियो ।
‘इमानदार बन्न नपाइने हो कि’ भन्ने स्थिति पनि छ । निजामती प्रशासनले नीति नेतृत्व गरेका बैंक, संस्थानहरूमा कार्यशीघ्रता आइसक्दा आफूभित्र भने समय र सदाचारलाई ध्यान दिइएन । सतहका यी विकृतिलाई पन्छ्याएर आगामी दिनका लागि असल निजामती प्रणाली कसरी निर्माण गर्ने ?
निजामती सेवालाई सद्गुणहरूको वास्तविक संगम कसरी बनाउने ? निजामती सेवा दिवसका उपलक्ष्यमा यही प्रश्नको सरल उत्तर खोज्नुको विकल्प छैन ।