नेभिगेशन
विश्व

एआई र डीपफेक महिलाका लागि बन्दैछ खतरा

एउटा पोडकास्ट भाइरल भएपछि भारतीय अभिनेत्री गिरिजा ओक अचानक इन्टरनेटभर चर्चित भइन् । धेरैले उनलाई ’नेशनल क्रश’ भनेर समेत सम्बोधन गर्न थाले । तर त्यसपछि उनका तस्बिरहरूको जुन स्तरमा दुरुपयोग भयो, त्यसले उनी स्वयं पनि स्तब्ध भइन् ।
मुम्बईमा दिएको एक अन्तर्वार्तामा उनले बीबीसी हिन्दीसँग कुरा गर्दै भनिन्, ’मलाई एउटा तस्बिर पठाइएको थियो, जसमा अत्यन्त कम कपडा लगाएकी महिलाको शरीरमा मेरो अनुहार जोडिएको थियो । त्यहाँ बसेको एक पुरुषको शरीरमा मेरो १२ वर्षका छोराको अनुहार राखिएको थियो । त्यो अत्यन्त खराब र घृणित थियो । मलाई निकै रिस उठ्यो ।’
यो तस्बिर देखेपछि गिरिजाले डिसेम्बर २०२५ मा ओशिवारा प्रहरी थानामा एफआईआर दर्ता गराइन् । त्यसपछि उनका धेरै तस्बिर र भिडियोहरू इन्टरनेटबाट हटाइए ।
एफआईआरमा भारतीय न्याय संहिताको धारा ७९ (महिलाको मर्यादामा आघात), धारा ३५६(२) (मानहानि) तथा आईटी ऐनका सम्बन्धित धाराहरू प्रयोग गरिएको थियो ।
गिरिजा भन्छिन्, ‘एआई नामको यो उपकरण कसैको पनि हातमा पुग्न सक्छ, र यो निकै डरलाग्दो कुरा हो ।’
गिरिजाको कथा
गिरिजा ओक मराठी सिनेमाकी चर्चित अभिनेत्री हुन् । उनले ‘तारे जमीन पर’, ‘शोर इन् द सिटी’ र ‘जवान’जस्ता हिन्दी फिल्महरूमा पनि अभिनय गरिसकेकी छन् ।
नोभेम्बर २०२५ मा पत्रकार सौरभ द्विवेदीसँगको एक पोडकास्ट श्रृंखलापछि उनी इन्टरनेटमा भाइरल भएकी थिइन् । निलो सारीमा आत्मविश्वासका साथ बोलेकी गिरिजालाई दर्शकहरूले निकै रुचाए ।
तर लोकप्रियतासँगै केही व्यक्तिले उनका तस्बिरहरूमा छेडछाड गरेर अश्लील सामग्री बनाउन थाले । गिरिजा भन्छिन्, ‘मैले सारी लगाएको तस्बिरलाई बिकिनीमा बदलिएको थियो, कतिपयमा मेरो टप नै हटाइएको थियो । केही भिडियोमा एनिमेसन थपेर मलाई जिब्रो निकालिरहेको वा कसैलाई चुम्बन गरिरहेको देखाइन्थ्यो ।’
उनले धेरै सामग्री बेवास्ता गरिन् । तर जब उनका छोरासँग जोडिएको एआई तस्बिर आयो, त्यसपछि उनले प्रहरीमा उजुरी गरिन् । त्यसपछि सामाजिक सञ्जालबाट धेरै सामग्री हटाइयो ।
एआईको दुरुपयोग
अहिले एआई हाम्रो दैनिक जीवनको महŒवपूर्ण हिस्सा बनिसकेको छ । यसले धेरै काम सजिलो बनाएको भए पनि यसको दुरुपयोग तीव्र रूपमा बढिरहेको छ ।
विशेषगरी महिलाहरू र बालबालिकालाई लक्षित गरेर अश्लील तथा आपत्तिजनक सामग्री बनाउन एआई प्रयोग भइरहेको छ । डीपफेक जस्ता प्रविधिले कसैको अनुहार अर्को शरीरमा राखेर नक्कली भिडियो वा तस्बिर बनाउन सजिलो बनाइदिएको छ ।
हालै तमिलनाडुमा एक विद्यार्थीले केही छात्राहरूको तस्बिर एआईमार्फत मोर्फ गरेर अनलाइन पोस्ट गरेको घटना सार्वजनिक भएको थियो । प्रहरीले एफआईआर दर्ता गर्दै २० वर्षीय विद्यार्थीलाई पक्राउ गरेको थियो ।
त्यस्तै असम राज्यमा एक व्यक्तिले आफ्नी पूर्व प्रेमिकाको तस्बिर एआईमार्फत अश्लील बनाएर इन्टरनेटमा पोस्ट गरेको घटना पनि सार्वजनिक भएको थियो ।
विशेषज्ञहरूका अनुसार अहिले ‘न्युडिफिकेशन एप्स’ अत्यन्त सामान्य बन्दै गएका छन् । यी एप्सले साधारण तस्बिरलाई नक्कली नग्न तस्बिरमा बदल्न सक्छन् ।
भारतको गृह मन्त्रालयका अनुसार सन् २०२५ मा राष्ट्रिय साइबर अपराध पोर्टलमा महिलाविरुद्ध साइबर अपराधका ७६ हजार ६५७ उजुरी दर्ता भएका थिए । सन् २०२४ मा यस्तो संख्या ४८ हजार ३३५ थियो ।
साना शहरसम्म फैलिएको समस्या
रति फाउन्डेशनकी सह–संस्थापक उमा सुब्रमणियनका अनुसार अहिले ठूला शहर मात्र होइन, साना शहरका युवतीहरू पनि डीपफेकको सिकार भइरहेका छन् ।
उनी भन्छिन्, ‘सन् २०२४–२५ मा हेल्पलाइनमा आएका प्रत्येक १० फोनमध्ये एउटा फोन एआईमार्फत बनाइएका सामग्रीबारेको उजुरी थियो ।’ वाराणसीमा पनि एक इन्फ्लुएन्सरका अश्लील एआई तस्बिर भाइरल बनाइएको थियो ।
यस मामिलाका वकिल राघव अवस्थी का अनुसार स्थानीय अदालतबाट राहत नपाएपछि उनीहरूले दिल्ली उच्च अदालतमा ’डाइनामिक इन्जङ्सन’ माग गरेका थिए ।
उनले भने, ‘अदालतले रिपोर्ट गरिएका लिङ्क मात्र होइन, त्यस्तै प्रकृतिका सबै सामग्री हटाउन सामाजिक सञ्जाल कम्पनीहरूलाई निर्देशन दिन सक्छ ।’
महिलाविरोधी सोचलाई बढावा
विशेषज्ञहरूका अनुसार एआईबाट बनाइने यस्ता सामग्रीले महिलाविरोधी सोचलाई थप बल पु¥याइरहेका छन् ।
सेन्टर फर सोसल रिसर्चरकी ज्योति वढेरा भन्छिन्, ‘हामीले वर्षौंदेखि लडिरहेका सामाजिक समस्याहरूलाई फेरि बढावा दिइँदैछ । गोरो छाला वा विशेष शरीर भएका महिलामात्र सफल हुन्छन् भन्ने सन्देश फैलाइँदैछ । साना बालिकाहरूको समेत अनलाइन यौन शोषण भइरहेको छ ।’
कसरी पाइन्छ सहयोग ?
गुरूग्राम प्रहरीले अनलाइन यौन उत्पीडन बढेपछि ’डिजिटल सहेली’ नामक हेल्पलाइन सुरु गरेको छ । यो २४ घण्टा सञ्चालन हुने हेल्पलाइन हो, जहाँ महिला प्रहरी कर्मचारी तैनाथ छन् । गुरुग्राम प्रहरी आयुक्त विकास अरोड़ा का अनुसार धेरैजसो उजुरी सेक्सटोर्शन र रिभेन्ज पोर्नसँग सम्बन्धित छन् ।
उनले एउटा घटना सुनाउँदै भने, ‘एउटा भिडियोमा एआई प्रयोग गरेर एक महिला र वीभीआईपी व्यक्ति चुम्बन गरिरहेको देखाइएको थियो । अनुसन्धानपछि त्यो भिडियो बिहारको गोपालगञ्जमा बस्ने १५ वर्षीय किशोरले बनाएको खुलेको थियो ।’
डीपफेक देखिए के गर्ने ?
विशेषज्ञहरूका अनुसार यस्ता सामग्री देख्दा डराउनुभन्दा कानुनी प्रक्रिया अपनाउनु महŒवपूर्ण हुन्छ । उमा सुब्रमणियन केही कामलाग्दा सुझाव दिएकी छन् । उनी भन्छिन्, ‘डीपफेक वा अश्लील सामग्री देख्नेबित्तिकै स्क्रिनसट सुरक्षित राख्ने । सम्बन्धित सबै लिंक संकलन गर्ने । इन्स्टाग्राम, फेसबुक, व्हाट्सएपजस्ता प्लेटफर्ममा तुरुन्त रिपोर्ट गर्ने । राष्ट्रिय साइबर अपराध पोर्टलमा गोप्य रूपमा उजुरी दर्ता गर्न सकिन्छ ।’ बीबीसी हिन्दी

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्