किराबाट प्रेरणा लिएको एउटा व्यंग्यात्मक समूहले एक हप्ताभन्दा कम समयमै भारतमा लाखौं अनलाइन समर्थक र मूलधारका सञ्चारमाध्यमको ध्यान खिचेको छ । जिद्दी, घृणा गरिने र अविनाशी मानिने साङ्लोबाट प्रभावित प्रतिकात्मक अभियानले अनुभवी राजनीतिज्ञहरूलाई समेत सोच्न बाध्य बनाएको छ ।
भारतका प्रधानन्यायाधीश सूर्यकान्तको विवादास्पद टिप्पणीपछि गत हप्ता साङ्लो चर्चाको केन्द्रमा आएको थियो । एक सुनुवाइका क्रममा उनले पत्रकारिता र आन्दोलनतर्फ भौँतारिइरहेका बेरोजगार युवाहरूलाई साङ्लो र परजीवीका रूपमा तुलना गरेको आरोप लागेको थियो ।
पछि उनले आफूले भारतका आम युवालाई नभई विशेष गरी ‘नक्कली र फर्जी डिग्री’ भएका मानिसहरूलाई संकेत गरेको स्पष्टीकरण दिएका थिए ।
तर, त्यतिबेलासम्म उनको टिप्पणी अनलाइनमा व्यापक रूपमा फैलिसकेको थियो । यसले आक्रोस, ठट्टा र एउटा रमाइलो राजनीतिक अवधारणालाई जन्म दियो, जसको नाम ‘ककरोच जनता पार्टी’ अर्थात् सीजेपी राखियो । यो नाम प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) लाई गिल्ला गरेर बनाइएको हो । भाजपा सन् २०१४ देखि सत्तामा छ । आलोचक र मानवअधिकारवादी समूहहरूले त्यसयता प्रेस स्वतन्त्रता र नागरिक स्वतन्त्रता खस्किएको आरोप लगाउँदै आएका छन् । भाजपाले भने यस्ता आरोपलाई अस्वीकार गर्ने गरेको छ ।
सीजेपी कुनै औपचारिक राजनीतिक दल होइन, बल्कि यो राजनीतिक व्यंग्यमा आधारित एक अनलाइन अभियान हो । यसको ठट्टापूर्ण सदस्यता मापदण्डमा बेरोजगार हुनु, अल्छी हुनु, सधैं अनलाइनमा झुण्डिनु र व्यावसायिक रूपमा गाली गर्ने क्षमता हुनु समावेश छ ।
यो अभियान बोस्टन विश्वविद्यालयका विद्यार्थी तथा राजनीतिक सञ्चार रणनीतिकार अभिजीत दिपकेले सुरु गरेका हुन् । उनका अनुसार यो अवधारणा एउटा ठट्टाको रूपमा फुरेको थियो ।
अमेरिका जानुअघि उनले आम आदमी पार्टी (आप) सँग काम गरेका थिए । आप भारतमा एक दशकभन्दा अघि भ्रष्टाचार विरोधी आन्दोलनबाट जन्मिएको राजनीतिक संगठन हो र यो आफ्नो बलियो सामाजिक सञ्जाल उपस्थितिका लागि चिनिन्छ ।
उनले बीबीसी मराठीसँग कुरा गर्दै भनेका छन्, ‘हामी सबै सँगै आउनुपर्छ र एउटा साझा मञ्च सुरु गर्नुपर्छ भन्ने मलाई लाग्यो ।’ त्यसपछि जे भयो, त्यो उनको अनुमानभन्दा धेरै ठूलो थियो ।
केही दिनभित्रै सीजेपीले गुगल फर्ममार्फत हजारौंको संख्यामा आवेदन पायो । यसले ‘मै भी ककरोच’ (म पनि साङ्लो हुँ) भन्ने ह्यासट्याग र विपक्षी नेताहरूको समर्थन समेत प्राप्त ग¥यो । बुधबार मात्रै प्रमुख विपक्षी नेता अखिलेश यादवले एक्स (ट्विटर) मा ‘भाजपाविरुद्ध सीजेपी’ भनी पोस्ट गरे ।
यो बहस अनलाइनमा मात्र सीमित रहेन । युवा स्वयंसेवकहरू साङ्लोको पहिरन लगाएर सरसफाइ अभियान र विरोध प्रदर्शनहरूमा उत्रिए, जसले गर्दा यो नामलाई उनीहरूले नाटकीय रूपमा आत्मसात् गरेको देखिन्थ्यो ।
बिहीबार सीजेपीको इन्स्टाग्राम अकाउन्टले एक करोड फलोअर्स पार ग¥यो । यसले सदस्यताका आधारमा विश्वकै सबैभन्दा ठूलो राजनीतिक दल मानिने भाजपाको आधिकारिक अकाउन्टलाई समेत पछाडि पारिदियो, जसको इन्स्टाग्राममा करिब ८७ लाख फलोअर्स छन् ।
तर, २ लाखभन्दा बढी फलोअर्स भएको सीजेपीको एक्स अकाउन्ट भने हाल भारतमा देखिँदैन । सीजेपीको यो तीव्र र विशाल उदयले धेरैलाई चकित पारेको छ । यद्यपि, भारतको स्थलगत राजनीतिमा यसले कुनै परिवर्तन ल्याउने बलियो प्रमाण अहिलेसम्म देखिएको छैन । सीजेपीले सामाजिक सञ्जालमा राजनीतिक दलहरूलाई उछिनेको भए पनि देशव्यापी रूपमा लाखौं सक्रिय सदस्यहरू भएका भाजपा र विपक्षी कांग्रेस नै देशका प्रमुख राजनीतिक शक्ति हुन् ।
तैपनि सीजेपीको गति लगातार बढिरहेको छ । यसका समर्थकहरूका लागि सीजेपी एक ‘ताजा हावाको झोक्का’ जस्तै हो, किनकि धेरैले वर्तमान राजनीतिक संस्कृतिलाई अत्यधिक नियन्त्रित र असहमतिप्रति अनुदार मान्छन् । यसलाई समर्थन गर्नेहरूमा महुआ मोइत्रा र कीर्ति आजाद जस्ता विपक्षी राजनीतिज्ञहरूका साथै वरिष्ठ अधिवक्ता प्रशान्त भूषण पनि छन् ।
अर्कोतर्फ, आलोचकहरूले दिपकेको ‘आप’ सँगको पुरानो आबद्धतालाई औँल्याउँदै यसलाई विपक्षसँग जोडिएको अनलाइन राजनीतिक नाटक मात्र भनी खारेज गरेका छन् । यो कुनै स्वतःस्फूर्त विद्रोह नभई सावधानीपूर्वक तयार पारिएको डिजिटल राजनीति भएको उनीहरूको तर्क छ ।
तात्कालिक प्रतिक्रियाभन्दा बाहिर हेर्दा सीजेपी धेरै युवा भारतीयहरूमाझ देखिएको पुस्तैनी थकाइको सूचक बनेको छ । उनीहरू भन्छन् कि उनीहरू अनलाइनमा सधैं राजनीतिको सामाना गर्छन्, तर त्यसमा विरलै आफ्नो प्रतिनिधित्व महसुस गर्छन् ।
भारत विश्वमै सबैभन्दा बढी युवा जनसंख्या भएको देशमध्ये एक हो, जहाँ १ अर्ब ४० करोड जनसंख्याको झन्डै आधा हिस्सा ३० वर्षभन्दा कम उमेरका छन् । तैपनि, औपचारिक राजनीतिमा उनीहरूको सहभागिता सीमित छ ।
हालैको एउटा सर्वेक्षणले २९ प्रतिशत युवा भारतीयहरू राजनीतिबाट पूर्ण रूपमा टाढै रहने र केवल ११ प्रतिशत मात्र कुनै राजनीतिक दलका सदस्य रहेको देखाएको छ । दिपके भन्छन्, ‘मानिसहरू निराश छन् किनभने उनीहरूले आफ्नो कुरा सुनिएको वा प्रतिनिधित्व भएको महसुस गर्दैनन् ।’
दक्षिण एसियाभरि हालैका वर्षहरूमा युवाहरूको नेतृत्वमा भएका आन्दोलनहरूले श्रीलंका, नेपाल र बंगलादेशमा सरकारहरू ढालेका छन् । ती आन्दोलनहरू प्रायः रोजगारी, महँगी र अनिश्चित भविष्यप्रतिको आक्रोशले प्रेरित थिए ।
भारतले अहिलेसम्म त्यस्तो कुनै ठूलो उथलपुथल बेहोर्नुपरेको छैन, तर भित्री दबाब भने उस्तै छ ।
तीव्र गतिमा बढिरहेको अर्थतन्त्रले पनि रोजगारी, असमानता वा सामान्य जीवनयापनको बढ्दो खर्चप्रतिको चिन्तालाई कम गर्न सकेको छैन ।
वयस्क जीवनमा प्रवेश गर्दै गरेका धेरैका लागि शिक्षाले अब स्थायित्वको ग्यारेन्टी दिँदैन, र आर्थिक तथा सामाजिक प्रगतिको आश्वासन झनझन् कमजोर बन्दै गएको महसुस हुन्छ ।
दिपकेले नेपाल वा श्रीलंकाको उथलपुथलीसँगको तुलनालाई अस्वीकार गर्दै भारतको परिस्थिति फरक रहेको बताए पनि युवाहरूमाझको निराशा वास्तविक भएको तर्क गर्छन् । उनका अनुसार यो निराशा फरक र अनलाइन माध्यमबाट व्यक्त भइरहेको छ । उनी भन्छन्, ‘जेनजी (नयाँ पुस्ता)ले परम्परागत राजनीतिक दलहरूबाट आशा मारिसकेका छन् र उनीहरू आफ्नै भाषामा आफ्नै राजनीतिक मोर्चा बनाउन चाहन्छन् ।’
सीजेपीको वेबसाइटले पनि यही भावना झल्काउँछ, जुन कुनै घोषणापत्र जस्तो नभएर इन्टरनेट संस्कृतिको उपज जस्तो देखिन्छ । यसले आफूलाई ‘अल्छी र बेरोजगारहरूको आवाज’ का रूपमा वर्णन गरेको छ । साथै शून्य प्रायोजक र एक जिद्दी झुण्ड भएको दाबी गर्दै ‘सबै कुरा ठिक छ भनी बहाना गर्न थाकेका’ मानिसहरूलाई यस अभियानमा जोडिन आह्वान गरेको छ ।
त्यहाँ नक्कली फारमहरू, जानीजानी बनाइएका खस्रा डिजाइनहरू र दृश्य भाषा छन्, जुन कुनै संस्थाको भन्दा पनि भित्री ठट्टाको बढी नजिक लाग्छ ।
यति हुँदाहुँदै पनि, यस ठट्टाभित्र जवाफदेहिता, सञ्चारमाध्यममा सुधार, चुनावी पारदर्शिता र महिला प्रतिनिधित्वको विस्तार जस्ता पहिचानयोग्य राजनीतिक मागहरू लुकेका छन् । यी मागहरू इन्टरनेटमा घण्टौं बिताउने बानी (डूमस्क्रोलिङ), बेरोजगारी र सामान्य राजनीतिक थकानमाथिका आत्म–व्यंग्यहरूसँगै जोडिएर आएका छन् ।
व्यंग्य र गम्भीरताको बीचमा रहेको यो शैली नै यसको आकर्षणको कारण हो । यी ठट्टाहरूले मानिसको मन छुन्छन् किनभने यसको पछाडि लुकेका रोजगारी, असमानता, भ्रष्टाचार र राजनीतिक अलगाव जस्ता समस्याहरू सबैका लागि परिचित छन् ।
धेरैले मस्कटका रूपमा साङ्लोको छनोट हुनु पनि अर्थपूर्ण रहेको औंल्याएका छन् । साङ्लो कुनै नायक वा प्रेरणादायी जीव होइन, तर यो आधारभूत रूपमा लचिलो, अनुकूलनशील र निकै कम अपेक्षाका साथ कठिन परिस्थितिमा पनि बाँच्न सक्ने जीव हो ।
अवश्य पनि, ठट्टा र राजनीतिको यो मिश्रण नौलो भने होइन । इटालीमा कमेडियन बेप्पे ग्रिलोले आफ्नो संस्थापन विरोधी व्यंग्यलाई ‘फाइभ स्टार मुभमेन्ट’ नामक राजनीतिक दलमा बदलेका थिए । त्यस्तै, युक्रेनमा भोलोडिमिर जेलेन्स्की टेलिभिजनमा काल्पनिक राष्ट्रपतिको भूमिका निभाउँदा–निभाउँदै वास्तविक राष्ट्रपति बने । अमेरिकामा डोनाल्ड ट्रम्पको युगले व्यंग्य आफैंमा हराउन थालेको हो कि भन्ने बहस जन्माएको छ, जहाँ राजनीतिक यथार्थ नै प्रायः व्यंग्य जस्तो लाग्छ ।
भारतको सन्दर्भमा यसले अनलाइन रूप लिएको छ – ह्यासट्याग, मानसिक थकान र व्यङ्ग्यात्मक निराशाले आकार दिएको एउटा मिम र कीरामा आधारित आन्दोलन ।
पहिलो हेराइमा यो अनौठो लाग्न सक्छ । तर, भारतीय राजनीतिमा यो पूर्ण रूपमा नमिल्दो पनि होइन । यहाँका राजनीतिज्ञहरूले लामो समयदेखि नाटक र चटकको शक्तिलाई अँगाल्दै आएका छन्, चाहे त्यो हिमालयका गुफामा ध्यान गर्ने कुरा होस् वा सांसदहरूलाई बसमा हालेर होटलमा थुन्दै पार्टी परिवर्तन गर्ने खेल होस् ।
अनलाइन अभियानहरू बढीभन्दा बढी मानिससम्म पुग्नका लागि सावधानीपूर्वक बनाइएका भाइरल भिडियो र आकर्षक नाराहरूमा भर पर्छन् ।
त्यस पृष्ठभूमिमा, किराको थिममा आधारित राजनीतिक समूह अनौठो रूपमा स्वाभाविक लाग्छ । यसले यो अभियान किन यति चाँडो फैलियो भन्ने कुरालाई पनि प्रष्ट पार्छ । युवा भारतीयहरू अर्को नयाँ राजनीतिक दल चाहन्छन् भन्ने यसको अर्थ होइन, बरु उनीहरू आफ्नो निराशा व्यक्त गर्ने एउटा माध्यमको खोजीमा छन् ।
दिपके भन्छन्, ‘मलाई लाग्छ सीजेपी त सुरुवात मात्र हो । युवाहरू वर्तमान राजनीतिक व्यवस्थाबाट दिक्क भइसकेका छन् र आगामी दिनमा थप युवा संगठनहरू अगाडि आउनेछन् ।’
तथापि, अन्य विश्लेषकहरू भने यसप्रति शंकास्पद छन् । उनीहरूका अनुसार यो पार्टी जति चाँडो उदायो, त्यति नै चाँडो बिलाएर जाने सम्भावना छ ।
जे भए पनि, सीजेपीले भारतीय राजनीतिमा एउटा फरक काम गरिसकेको छ – यसले केही समयका लागि भए पनि युवाहरूलाई आफ्नो पहिचान महसुस गराएको छ ।
विगतका युगहरूमा युवाहरूको राजनीतिक आक्रोसले घोषणापत्रहरू जन्माउँथ्यो । सन् २०२६ मा भने यसले कहिलेकाहीँ किरा मस्कट भएका मिम पार्टीहरू जन्माउने गर्छ ।