नेपालमा ‘युवा नेतृत्व’ अहिले आशा, अपेक्षा र निराशाको मिश्रित प्रतीक बनेको छ । वर्षौंको राजनीतिक अस्थिरता, उही अनुहारबीच दोहोरिने सत्ता साझेदारी र पुरानो नेतृत्वप्रतिको असन्तुष्टिपछि जनताले विकल्प खोज्न थाले । त्यो विकल्प केवल उमेरले युवा नेता होइन, ऊर्जा, जवाफदेहिता, नवीन सोच र पुरानो राजनीतिक संस्कृतिबाट बाहिर निस्कने साहस भएको नेतृत्व थियो । यही अपेक्षाले परिवर्तनको प्रतिनिधित्व गर्ने नयाँ अनुहारहरूलाई असाधारण जनसमर्थन दिलायो ।
जनता पुरानो नेतृत्वबाट अत्यधिक निराश हुँदा कहिलेकाहीँ कुनै पनि नयाँ युवा अनुहारलाई स्वतः परिवर्तनको प्रतीक मान्न थाल्छन् । जबकि नेतृत्व केवल युवा देखिनु वा पुरानो व्यवस्थाको आलोचना गर्नु मात्र होइन । यो धेरै गहिरो र जिम्मेवार विषय हो ।
अहिले छोटो समयमै युवा नेतृत्वप्रतिको उत्साह निराशामा बदलिने त होइन भन्ने चिन्ता पनि देखिन थालेको छ । सरकारका केही निर्णय विवाद र अन्योलका विषय बनेका छन् । यी प्रश्न परिवर्तनविरोधी मानसिकताबाट उठेका होइनन्, बरु पर्याप्त तयारी, परिपक्वता र दीर्घदृष्टिबिनाको परिवर्तन फेरि पुरानै राजनीतिक संस्कृतिको अर्को रूप बन्ने त होइन भन्ने आशंकाबाट उठेका हुन् ।
यही सन्दर्भमा एउटा भनाइ सान्दर्भिक देखिन्छ, ‘गन्तव्यमा सुरक्षित पुग्न चालकसँग केवल गति होइन, धैर्यता र विवेक पनि चाहिन्छ ।’ लापरवाहीपूर्वक चलाइएको गाडी केही समय तीव्र गतिमा अघि बढ्न सक्छ, तर नियन्त्रणबिना यात्रा अनिश्चित हुन्छ । राष्ट्र पनि केवल नारा र आवेगबाट अघि बढ्न सक्दैन ।
युवा नेतृत्वको चर्चा प्रायः उमेरमा सीमित हुन्छ । तर वास्तविक नेतृत्वमा युवापनको सम्बन्ध जन्ममितिसँग मात्र हुँदैन । उमेरले युवा भएर पनि कोही पुरानो सोच, अहंकार र निर्णयहीनतामा अल्झिएको हुन सक्छ । अर्कोतर्फ, उमेरले वृद्ध भए पनि कुनै व्यक्ति जिज्ञासा, अनुशासन, दूरदृष्टि र परिवर्तन स्वीकार गर्ने साहसले भरिएको हुन सक्छ । इतिहासले नेतृत्वको वास्तविक मापन उमेर होइन, सोच र चरित्र भएको प्रमाणित गरेको छ ।
साँचो युवा नेता त्यो हो जसले राम्रो भविष्यको कल्पना गर्छ र त्यसका लागि निरन्तर मेहनत गर्छ । त्यस्ता नेताहरू लोकप्रियता होइन, विचार र जिम्मेवारीबाट निर्देशित हुन्छन् । उनीहरू सिक्न तयार हुन्छन्, आलोचना सुन्न सक्छन् र बदलिँदो परिस्थितिअनुसार आफूलाई अनुकूल बनाउन सक्छन् । सबैभन्दा महŒवपूर्ण कुरा, उनीहरू नेतृत्व भनेको परिणामप्रति जवाफदेही हुनु हो भन्ने बुझ्छन् ।
विश्व इतिहासमा यसको धेरै उदाहरण छन् । नेलशन मण्डेला ७५ वर्षको उमेरमा दक्षिण अफ्रिकाका राष्ट्रपति बने, तर उनको नेतृत्वमा असाधारण ऊर्जा, धैर्य र दूरदृष्टि थियो । २७ वर्ष जेल बसेपछि पनि उनले प्रतिशोध होइन, मेलमिलापको बाटो रोजे । धेरै हिसाबले हेर्दा, उनको सोच घृणा र असहिष्णुतामा अल्झिएका कतिपय युवा राजनीतिज्ञभन्दा धेरै युवा थियो ।
महाथिर मोहम्मद ९० वर्ष कटेपछि पनि मलेसियाको नेतृत्वमा फर्किए । वृद्ध उमेरमा पनि उनी बौद्धिक रूपमा सक्रिय र सुधारप्रति प्रतिबद्ध थिए । उनले नेतृत्व शारीरिक युवापनले होइन, मानसिक चपलता र जिम्मेवारीबोधले टिकिरहन्छ भन्ने देखाए ।
अर्कोतर्फ, मलाला युसुफजाईले कम उमेरमै शिक्षा र मानवअधिकारको विश्वव्यापी आवाज बनेर साहस र नैतिक स्पष्टताको उदाहरण प्रस्तुत गरिन् । स्टिभ जब्सले पनि सिर्जनशीलता र परम्परागत सोचलाई चुनौती दिने साहसका कारण संसार बदल्ने नेतृत्व देखाए । यी उदाहरणहरूले युवापन मूलतः सोच र दृष्टिकोणमा आधारित हुन्छ भन्ने देखाउँछन् ।
ऊर्जाबिनाको नेतृत्व निष्क्रिय हुन सक्छ, तर विवेकबिनाको ऊर्जा खतरनाक पनि बन्न सक्छ । तयारीबिनाको उत्साहले प्रगतिभन्दा अस्थिरता निम्त्याउन सक्छ । त्यसैले समाजले वास्तविक युवा नेतृत्व र केवल उमेरको राजनीतिक ब्रान्डिङबीचको फरक छुट्याउन सिक्नुपर्छ ।
यो प्रश्न आजको नेपालका लागि विशेष रूपमा महत्वपूर्ण छ । बेरोजगारी, भ्रष्टाचार, कमजोर सुशासन र अवसरको अभावले धेरै युवा निराश छन् । हजारौं युवा अझै राम्रो भविष्यको खोजीमा विदेशिन बाध्य छन् । यस्तो अवस्थामा नयाँ सोच र आधुनिक चुनौती बुझ्ने नेतृत्वको माग स्वाभाविक हो ।
तर परिवर्तनको चाहनाले हरेक युवा नेताले स्वतः परिवर्तन ल्याउँछ भन्ने भ्रम सिर्जना गर्नु हुँदैन । कतिपयले युवापन, सामाजिक सञ्जालको लोकप्रियता वा पुरानो व्यवस्थाविरोधी भाषणलाई समर्थन जुटाउने माध्यम बनाउन सक्छन्, तर अन्ततः उनीहरू पनि पुरानै प्रवृत्तिमा फस्न सक्छन् । जब नेतृत्व नीति भन्दा प्रचारमा, दीर्घकालीन योजनाभन्दा भावनात्मक प्रतिक्रियामा, र संस्थागत निर्माणभन्दा टकरावमा केन्द्रित हुन्छ, तब निराशा जन्मिन थाल्छ ।
नेपालको इतिहासमा पनि जनताको ठूलो आशा अन्ततः निराशामा बदलिएका धेरै उदाहरण छन् । हरेक पुस्ताले पारदर्शिता, सुधार र विकासका वाचा सुनेको छ, तर धेरै नेता अन्ततः शक्ति संघर्ष र छोटो अवधिको राजनीतिमै अल्झिए । त्यसैले आजका नागरिकलाई केवल भाषण होइन, परिणाम चाहिएको छ ।
वास्तविक युवा नेतृत्वमा ऊर्जा र परिपक्वताको सन्तुलन आवश्यक हुन्छ । नेताले साहसी निर्णय गर्न सक्नुपर्छ, तर त्यसका परिणाम बुझ्ने धैर्यता पनि हुनुपर्छ । आलोचना स्वीकार गर्ने क्षमता हुनुपर्छ । व्यक्तिगत छविभन्दा राष्ट्रिय हितलाई प्राथमिकता दिन सक्नुपर्छ । नेतृत्व प्रदर्शन होइन, लाखौं नागरिकप्रतिको जिम्मेवारी हो भन्ने बुझाइ आवश्यक हुन्छ ।
युवा सोच राजनीति बाहिर पनि देखिन्छ । नयाँ शिक्षण पद्धति अपनाउने शिक्षक, रोजगारी सिर्जना गर्ने उद्यमी, सामाजिक अभियन्ता र इमानदारीपूर्वक काम गर्ने कर्मचारीहरू पनि वास्तविक युवा सोचका उदाहरण हुन् । यसले फेरि प्रमाणित गर्छ कि युवापन अन्ततः सोच र चरित्रको विषय हो ।
त्यसैले नेपालको भविष्य केवल पुराना अनुहारलाई नयाँ अनुहारले प्रतिस्थापन गर्ने विषयमा सीमित हुनु हुँदैन । मुख्य प्रश्न नेतृत्वसँग दूरदृष्टि, इमानदारी, क्षमता, भावनात्मक बुद्धिमत्ता र राष्ट्रिय प्रतिबद्धता छ कि छैन भन्ने हो । राष्ट्र तब अघि बढ्छ जब अनुभवको बुद्धिमत्ता र युवाको साहसबीच सन्तुलन हुन्छ ।
अन्ततः उमेरले मानिस कति वर्ष बाँचेको छ भन्ने देखाउँछ, तर नेतृत्वको गुणस्तर निर्धारण गर्दैन । वास्तविक युवा नेतृत्व त्यस्ता व्यक्तिहरूमा देखिन्छ जससँग दृष्टिकोण, अनुशासन, जिज्ञासा, आत्मविश्वास र जिम्मेवारीबोध हुन्छ । उनीहरू नाराले होइन, काम र निरन्तरताले विश्वास जित्छन् ।
आज नेपाललाई केवल उमेरले युवा नेताहरू होइन, परिपक्व युवा सोच भएका नेतृत्व चाहिएको छ । यस्तै नेतृत्वले मात्रै देशलाई दिशा, स्थिरता र आशा दिन सक्छ । समयसँगै एउटा सत्य अझ स्पष्ट हुँदै गएको छ— नेतृत्वमा युवापन वर्षले होइन, सोच, चरित्र र समाजलाई अघि बढाउने अठोटले निर्धारण हुन्छ ।
(पेशाले इन्जिनियर पराजुली समसामयिक विषयमा लेख्छन् ।)