डाभोसमा जे हुन्छ, त्यो डाभोसमा मात्र सीमित रहँदैन भन्ने कुरा पुष्टि भएको छ । धनाढ्य र शक्तिशाली अधिकारीहरूको यो अखडामा विश्व राजनीतिलाई केही घण्टाभित्रै नयाँ रूप दिन सकिन्छ भन्ने कुरा पनि यस पटक प्रस्टिएको छ ।
आधा शताब्दीभन्दा बढी समयदेखि, स्विस आल्प्सको यो रिसोर्ट गाउँमा विश्व आर्थिक मञ्च (वल्र्ड इकोनोमिक फोरम) मा भाग लिन, विश्वव्यापी व्यापारलाई निर्देशित गर्ने सम्बन्धहरूलाई सुदृढ गर्न र एक अभेद्य सम्भ्रान्त वर्गको रूपमा आफ्नो पहिचान बनाउन राजनीतिक, सांस्कृतिक र आर्थिक क्षेत्रका दिग्गजहरू भेला हुँदै आएका छन् ।
रिचर्ड निक्सन, लियोनिद ब्रेज्नेभ र माओ जे दुङको प्रभुत्व रहेको कालखण्डदेखि हाम्रो आफ्नै युगसम्म डाभोस बाहिरका विरलै मानिसहरू त्यहाँको भेलामा दिइएका भाषणहरूबाट प्रभावित हुन्थे वा भोलिपल्ट त्यसलाई सम्झन्थे ।
तर चार महिना अघि, क्यानडेली प्रधानमन्त्री मार्क कार्नीले मञ्चमा उभिएर विश्वभर तरङ्ग पैदा गर्ने एउटा कडा भाषण दिए ।
उनले ‘विश्व व्यवस्थामा आएको दरार’को बारेमा कुरा गरे । उनले २१ औं शताब्दीको तेस्रो दशकको मध्यभागले ‘एउटा सुखद् कल्पनाको अन्त्य र कठोर यथार्थको सुरुवात’लाई प्रतिनिधित्व गरेको तर्क गरे । यो यस्तो यथार्थ हो जहाँ भू–राजनीति, ठूला शक्तिहरू र प्रतिबन्धहरूको कुनै सीमा छैन । उनले विश्वले यस्तो कालखण्ड देखिरहेको बताए जहाँ ‘बलियाहरूले जे सक्छन् त्यो गर्छन् र कमजोरहरूले जे भोग्नुपर्छ त्यो भोग्छन् ।’
क्यानडेली प्रधानमन्त्रीले विश्वका ‘मध्यम शक्तिहरू’ (मिडल पावर्स) लाई जुन नयाँ बाटो देखाउन खोजिरहेका थिए, त्यसको सन्दर्भ, लक्ष्य वा उद्देश्यलाई कसैले पनि नजरअन्दाज गर्न सकेन । कार्नीको भाषणप्रति एक जना व्यक्ति विशेष रूपमा आक्रोशित थिए र उनले सम्मेलनलाई नै हल्लाउने गरी कडा जवाफ फर्काए ।
त्यसको भोलिपल्ट आयोजित एक भेलामा राष्ट्रपति डोनाल्ड ट्रम्पले भने, ‘उनीहरू (क्यानडा) हामीप्रति कृतज्ञ हुनुपर्छ । क्यानडा अमेरिकाकै कारण टिकेको छ ।’ त्यसपछि उनले थपे, ‘मार्क, अर्को पटक आफ्नो वक्तव्य दिँदा यो कुरा याद राख्नुहोला ।’
चार महिना बितिसक्दा पनि विश्वले मार्क कार्नीले दिएका ती अभिव्यक्तिहरूलाई अझै सम्झिरहेको छ । त्यसबेलादेखि, कार्नीले विश्वका राजधानीहरूको भ्रमण गर्दै एकप्रकारको परिवर्तनको अभियान नै सुरु गरेका छन् । उनी आर्थिक, सांस्कृतिक र कूटनीतिक रूपमा ठूलो परिवर्तनको आन्दोलनको बीचमा मध्यम शक्तिहरूको दूतका रूपमा उभिएका छन् । उनले रियल इस्टेटका टाइकुन (ट्रम्प) लाई क्यानडा बिक्रीमा नरहेको र यसलाई शत्रुतापूर्ण तरिकाले कब्जा गर्न नसकिने स्पष्ट सन्देश दिएका छन् । उनले क्यानडाको व्यापारिक ढाँचालाई अमेरिकासँगको सय वर्षभन्दा पुरानो स्थापित व्यावसायिक सम्बन्धबाट टाढा लैजाने कदम चालेका छन् ।
कार्नीले एशियाका उदीयमान अर्थतन्त्रहरूसँग नयाँ व्यापारिक सम्बन्ध स्थापित गर्न चीन र भारतको भ्रमण गरेका छन् । संयुक्त अरब इमिरेट्स, साउदी अरब र कतारसँग लगानी सम्झौताहरू अघि बढाएका छन् र युरोपेली सरकारी तथा व्यावसायिक नेताहरूसँग बारम्बार संवाद गरिरहेका छन् ।
विश्व मञ्चमा ट्रम्प नयाँ शक्तिशाली पात्रका रूपमा देखा परेका हुन सक्छन्, तर कार्नी एक चुपचाप प्रभाव जमाउने नेताका रूपमा उदीयमान भइरहेका छन् ।
विगत एक शताब्दीदेखि, पश्चिमको नैतिक नेतृत्वको भूमिकामा प्रायः अमेरिकी राष्ट्रपतिहरूको वर्चस्व रहँदै आएको छः नयाँ विश्व व्यवस्थाको १४–बुँदे अवधारणाका लागि वुड्रो विल्सन; दोस्रो विश्वयुद्धमा लोकतन्त्रको रक्षाका लागि फ्र्याङ्कलिन रुजवेल्ट र विन्स्टन चर्चिल; आफ्नो आदर्शवाद र वाकपटुताका लागि जोन एफ केनेडी र बाराक ओबामा, विशेष गरी बर्लिनमा उनीहरूले दिएका भाषणहरू र शीतयुद्धको अन्त्य तथा कम्युनिज्मको पतनलाई व्यवस्थापन गर्नका लागि क्रमशः रोनाल्ड रेगन र जर्ज एचडब्ल्यू बुश ।
अहिले, केनेडीले भनेझैं, नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण भएको छ । (केनेडीको यो प्रख्यात वाक्यांश एक क्यानडेली कवि जोन म्याकक्रेको कविताबाट साभार गरिएको थियो भन्ने कुरा यहाँ उल्लेखनीय छ ।) र, यो जिम्मेवारी केन्द्रीय बैंकका पूर्व गभर्नर कार्नीको हातमा आएको छ, जो तापक्रम माइनस ६ डिग्री भएको दिन क्यानडाको उत्तरपश्चिमी क्षेत्रको एक विकट इलाकामा जन्मिएका थिए र जसमा एक प्रकारको शान्त आत्मविश्वास छ ।
यस्तो समयमा जब ट्रम्पले सन् १९४५ देखि बनेको नियममा आधारित अन्तर्राष्ट्रिय व्यवस्थालाई भत्काइदिएका छन्, अनि फ्रान्स, ग्रेट ब्रिटेन र जर्मनीका नेताहरू कुनै न कुनै प्रकारको आन्तरिक राजनीतिक उथलपुथलको सामना गरिरहेका छन्, यस्तो बेला कार्नी एउटा नयाँ प्रकारको अन्तर्राष्ट्रिय व्यक्तित्वका रूपमा उदाएका छन् । ट्रम्पका करसम्बन्धी धम्कीहरू विरुद्ध प्रतिरोधको प्रतीक, एक नयाँ राजनीतिक संरचनाका वास्तुकार र नयाँ व्यापारिक सम्बन्धका निर्माताका रुपमा उनी उदाएका छन् ।
यसको अर्थ कार्नीले तुरुन्तै सफलता पाइहालेका छन् भन्ने होइन । क्यानडा युरोपेली राष्ट्र होइन । उसलाई युरोपेली संघमा सामेल हुन आमन्त्रित गरिने छैन । युरोपभरिका नेताहरूका आफ्नै घरेलु समस्याहरू छन् । यसले गर्दा कोही बाहिरी व्यक्ति नयाँ योजनाका साथ मञ्चमा आउँदा उनीहरू सोच्न बाध्य हुन्छन् ।
तर आन्तरिक रूपमा, उनले राजनीतिक शक्ति सुदृढ गर्ने दिशामा ठूलो फड्को मारेका छन् । मुख्य रूपमा क्यानडालाई ५१ औं अमेरिकी राज्य बनाउने ट्रम्पको धम्कीको प्रतिरोध गरेका कारण उनले हालैका हप्ताहरूमा विपक्षी दलका तीन जना सांसदहरूलाई आफ्नो पक्षमा ल्याउन सफल भएका छन् । फलस्वरूप, उनले ओटावामा रहेको आफ्नो अल्पमतको सरकारलाई बहुमतको सरकारमा परिणत गरेका छन् ।
यसले उनको शक्तिमा ठूलो वृद्धि भएको देखाउँछ । सन् १८१२ को युद्धपछिकै क्यानडाले आफ्नो सार्वभौमिकता र पहिचानमाथि सबैभन्दा ठूलो खतरा सामना गरिरहेको र देशको इतिहासमै सबैभन्दा बलियो राष्ट्रवादी भावना जागृत भएको अवस्थामा पुगेको छ ।
क्यानडाको लेजर पब्लिक–ओपिनियन सर्वेका एन्ड्र्यू एन्जले भनेझैं ‘आफ्नो एजेन्डा कार्यान्वयन गर्नका लागि उनीसँग अहिले ठूलो अवसर छ । क्यानेडियनहरू अमेरिकासँगको सम्बन्ध परिवर्तन गर्ने विषयमा चिन्तित रहेका बेला उनी एक भरपर्दो ढाल र ट्रम्पको अगाडि उभिन सक्ने नेताको रूपमा देखिएका छन् ।’
सर्वेक्षकहरूका अनुसार क्यानडेली प्रधानमन्त्रीहरूको लोकप्रियता सामान्यतया पद सम्हालेको १५ औं महिनासम्म उच्च रहने गर्छ । कार्नीले जुन १४ मा त्यो अवधि पार गर्दैछन् तर उनको लोकप्रियताको दर स्थिर छ । लेजर सर्वेक्षणले ५८ प्रतिशत क्यानडेली प्रधानमन्त्रीको कार्यसम्पादनप्रति सन्तुष्ट छन् भने ३३ प्रतिशत असन्तुष्ट भएको देखाएको छ । उनको लोकप्रियता विशेष गरी क्युबेक (६२ प्रतिशत) मा उच्च छ, जुन प्रान्त सामान्यतया संघीय राष्ट्रवाद भन्दा प्रान्तीय राष्ट्रवाद व्यक्त गर्न बढी परिचित छ ।
त्यसो त कार्नीका आलोचकहरू पनि छन् । कतिपयको तर्क छ, उनी ट्रम्पसँग सम्बन्ध सुधार गर्न धेरै हिचकिचाइरहेका छन् । कतिपयले उनी अमेरिकी राष्ट्रपतिलाई रिझाउन बढी नै उत्सुक रहेको पनि बताइरहेका छन् । वासिङ्टनबाट सहुलियतहरू प्राप्त गर्ने प्रयासको रूपमा प्रतिशोधात्मक करहरू (ट्यारिफ) लगाइएको छैन । कार्नीले ट्यारिफ लगाउनु पथ्र्यो भन्ने सोच राख्नेहरुबाट उनकै पार्टीभित्र पनि आलोचना नभइरहेको भने होइन ।
तर आर्थिक सम्बन्धमा क्यानडाको शक्तिको सीमा उनलाई राम्रोसँग थाहा छ । क्यानडाको सबैभन्दा ठूलो व्यापारिक साझेदार अमेरिकै हो । विरोधाभासपूर्ण रूपमा तर अपरिहार्य रूपमा क्यानडाले अमेरिकासँग सधैँ शत्रुता साँधिरहन सक्तैन । अर्कोतर्फ, उनले आफ्नो यो राजनीतिक उचाइ ट्रम्पकै कारणले पाएका हुन् ।
लिबरल प्रधानमन्त्री जस्टिन ट्रुडो पहिले जनताको नजरबाट खस्किए र पछि सत्ताबाट पनि बाहिरिए किनभने उनी अविश्वसनीय, दिशाहीन र ट्रम्पले खडा गरेको चुनौतीको सामना गर्न अयोग्य मानिए । कन्जरभेटिभ नेता पियरे पोइलिएभ्रे पूर्ण बहुमतका साथ सत्तामा आउने तयारीमा थिए । तर पोइलिएभ्रेको ट्रम्पसँगको वैचारिक सामीप्यका कारण, लगभग सबै क्यानेडियनहरूका साझा शत्रु बनेका ट्रम्पले प्रधानमन्त्रीको कुर्सी कार्नीको पोल्टामा पारिदिए ।
कार्नीको शक्ति र उनको जिम्मेवारीको केन्द्रमा क्यानडामाथि ट्रम्पको धम्की र पुस्तौंदेखि क्यानडेली पहिचानको स्थायी हिस्सा मानिएका सम्बन्धहरू—व्यापारिक, पारिवारिक, सांस्कृतिक—भत्किएकोमा क्यानडेलीको आक्रोश र पीडा लुकेको छ । कतिपय प्राज्ञिक र राजनीतिक विश्लेषकहरूले दक्षिणको यो विशाल छिमेकी देशमाथिको क्यानडाको व्यापारिक, सैन्य र कला सम्बन्धी निर्भरता अनुचित र अपमानजनक भएको तर्क समेत गर्न थालेका छन् ।
निश्चय नै, संयुक्त राज्य अमेरिकाद्वारा उत्तरी अमेरिकामा जमाइएको प्रभुत्वप्रति आक्रोशको भावना नयाँ होइन । यो भावना दशकौंदेखि विभिन्न प्रधानमन्त्रीहरूले व्यक्त गर्दै आएका छन् । विशेष गरी कन्जरभेटिभ जोन डिफेनबेकर र लिबरल जोन टर्नरले त यस्तो भावनालाई उचाइमै पु¥याए । तर यो क्यानडेली राजनीतिको एउटा स्थायी तŒव हो । केनेडी र डिफेनबेकरले खुला रूपमा एकअर्कालाई मन पराउँदैनथे; लिन्डन जोनसनले लेस्टर पियर्सनलाई रिसको झोंकमा शारीरिक रूपमै समातेका थिए र निक्सन तथा पियरे ट्रुडोबीच पनि बारम्बार टकराव हुने गथ्र्यो । यी अस्थायी उतारचढावहरू थिए, जसको बीचमा एक प्रकारको भ्रातृत्व र सौहार्दता पनि देखिने गथ्र्यो, विशेष गरी ब्रायन मुलरोनीको समयमा ।
‘अमेरिकी राष्ट्रपति र क्यानेडियन प्रधानमन्त्रीबीच वास्तवमै खराब सम्बन्ध भएका उदाहरणहरू निकै कम छन्, तर ट्रम्पका वर्षहरूले एउटा नयाँ र अपरिचित मार्ग खडा गरिदिएको छ,’ कन्जरभेटिभ प्रधानमन्त्री स्टीफन हार्परका पूर्व भाषण लेखक र पूर्व प्रधानमन्त्री मुलरोनीको संस्मरणका अनुसन्धान सहायक आर्थर मिल्नेस भन्छन्, ‘प्रधानमन्त्री मार्क कार्नीले यस युगमा क्यानडाका लागि नयाँ सम्बन्धहरू परिभाषित गर्न आफ्नो सीप र प्रभावकारिता प्रदर्शन गरिरहेका छन् ।’
कहिलेकाहीँ, यसको अर्थ ट्रम्पसँग स्पष्ट रूपमा विमति राख्नु पनि हो । कार्नी युक्रेनको मामिलामा हिचकिचाएका छैनन्, उनी तानाशाही नेताहरूका प्रशंसक होइनन्, उनी संरक्षणवादी वा एकपक्षीयतावादी पनि होइनन् र उनी इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका समर्थक पनि होइनन् ।
‘उनले यस देशमा अहिलेसम्मकै सबैभन्दा महŒवपूर्ण परराष्ट्र–नीतिको वैचारिक खाका प्रस्तुत गरेका छन्,’ मस्को, रोम र युरोपेली संघका लागि क्यानडाका पूर्व राजदूत जेरेमी किन्सम्यान भन्छन्, ‘यो वास्तविक सम्बन्धहरूलाई विविधीकरण गर्ने उनको क्षमताको परीक्षा हो । व्यापार यसको सूचक हुन सक्छ, तर मुख्य रूपमा उनले क्यानडाको अमेरिकामार्फत हुने अत्यधिक निर्भरतालाई कम गर्न खोजिरहेका छन् ।’
प्रधानमन्त्रीले रुस र चीनबाट आउने खतराहरूलाई सन्तुलनमा राख्नका लागि रक्षा क्षेत्रमा खर्च बढाउँदै, हतियार र सेना थप्दै र आर्कटिक क्षेत्रमा कडा निगरानी राख्दै क्यानडाको सैन्य–औद्योगिक क्षेत्रलाई बलियो बनाउने कदम चालेका छन् । साथै उत्तरी अमेरिकाको सुरक्षा सुनिश्चित गर्न अमेरिकासँगको सैन्य सम्झौताहरूलाई शान्तपूर्वक निरन्तरता दिने कार्य पनि जारी राखेका छन् ।
टोरन्टो मेट्रोपोलिटन युनिभर्सिटीका राजनीतिक वैज्ञानिक पेट्रिस डुटिल भन्छन्, ‘हाम्रा प्रधानमन्त्रीहरूमध्ये कार्नी एक व्यापक प्रवृत्तिको प्रतिनिधित्व गर्छन्, जसको अर्थ उनी मध्यममार्गी हुन् । उनी आर्थिक रूपमा कन्जरभेटिभ लक्ष्यहरू पछ्याउँछन् भने सामाजिक र सांस्कृतिक रूपमा उदारवादी विचारहरू व्यक्त गर्छन् । उनी एक परम्परागत क्यानडेली हुन् । उनले आफूसँग उपलब्ध स्रोतसाधनको प्रयोग गरेर अघि बढ्ने प्रयास गरिरहेका छन् । यद्यपि उनले सजिलै समाधान नहुने ठूला चुनौतीहरूको सामना गरिरहनु परेको छ ।’
(डेभिड सिबरम्यान बोस्टन ग्लोबका पूर्व वासिङ्टन ब्युरो प्रमुख हुन् । अमेरिका र क्यानडा दुवैको नागरिकता भएका उनी मोन्ट्रियलस्थित म्याकगिल युनिभर्सिटीमा पढाउँछन् र पिट्सबर्गको कार्नेगी मेलन युनिभर्सिटीमास्कलर–इन–रेसिडेन्सका रूपमा आबद्ध छन् ।)