नेभिगेशन
दृष्टिकोण

कुन जागिर धरापमा ?

एआईका कारण कुन–कुन जागिर गुम्न सक्छन् भनेर अनुसन्धानकर्ताहरूले प्रयोग गर्दै आएका तथ्याङ्कहरू अविश्वसनीय हुन सक्ने देखिएको छ । यसको एउटा मुख्य कारण एआई आफैँ पनि हुन सक्छ । एआईले श्रम बजारलाई कसरी असर गर्छ भन्ने चिन्ता हाम्रो समयको सबैभन्दा गम्भीर आर्थिक प्रश्न बनेको छ । त्यसैले यस्ता भविष्यवाणीहरूका सीमा बुझ्नु निकै महŒवपूर्ण छ । नीति निर्माताहरू कुन कामदार विस्थापित हुन सक्छन् र उनीहरूलाई कस्तो सहयोग चाहिन्छ भन्ने जान्न चाहन्छन् । विद्यालय, विद्यार्थी र अभिभावकहरू पनि भविष्यमा कुन करियर ‘एआई–सुरक्षित’ हुन सक्छ भनेर बुझ्न खोजिरहेका छन् ।
कुन जागिर जोखिममा छन् भनेर नाप्न अर्थशास्त्रीहरूले कार्यमा आधारित ढाँचा प्रयोग गरी ‘एक्स्पोजर स्कोर’ (जोखिम मापन अङ्क) तयार गरेका छन् । श्रम विभागले विभिन्न पेशामा कामदारहरूले वास्तवमै के गर्छन् भन्ने विवरण राख्ने गर्छ । उदाहरणका लागि, बेकरले पीठो मुछ्ने र ओभनमा हाल्ने काम गर्नुपर्छ भने वित्तीय विश्लेषकले कम्पनीहरूको मूल्याङ्कन गर्नुपर्छ । अनुसन्धानकर्ताहरू तीमध्ये कुन कामलाई एआईले उल्लेखनीय रूपमा छिटो बनाउन सक्छ भन्ने कुरा पत्ता लगाउने प्रयास गर्छन् । एआईले गर्न सक्ने कामको हिस्सा जति धेरै हुन्छ, त्यो जागिर त्यति नै बढी जोखिममा रहेको मानिन्छ । यस्ता अङ्कहरू अहिले अनुसन्धान रिपोर्ट, परामर्शदाताका स्वेतपत्र र नीतिगत वकालतका प्रतिवेदनहरूमा व्यापक रूपमा प्रयोग हुन थालेका छन् ।
जोखिम मापन गर्ने मुख्य तीन तरिकाहरू छन्ः एआईले विभिन्न कार्यहरू कति राम्रोसँग गर्छ भनेर मानिसद्वारा गरिने मूल्याङ्कन, एआई प्रयोग गर्ने कामदारहरूको सर्वेक्षण, वा एआई मोडेलहरू आफैँले गर्ने मूल्याङ्कन । यी सबैका आफ्नै कमजोरी छन् । मानिसले गर्ने मूल्याङ्कनमा व्यक्तिगत धारणा हाबी हुन सक्छ । कामदारहरूको सर्वेक्षणले एउटा प्लेटफर्म प्रयोग गर्नेहरूको मात्र प्रतिनिधित्व गर्छ, जसले सम्पूर्ण जनशक्तिको वास्तविक चित्र देखाउँदैन ।
एआईलाई नै कुन काम बढी जोखिममा छ भनेर सोध्नुका पनि आफ्नै समस्याहरू छन् । ’नेशनल ब्यूरो अफ इकोनोमिक रिसर्च’ को वेबसाइटमा गत महिना प्रकाशित एउटा अध्ययनले यही कुरा देखाएको छ । नर्थवेस्टर्न युनिभर्सिटीका अर्थशास्त्री मिसेल यिन र होआ भु तथा अमेरिकन युनिभर्सिटीकी क्लाउडिया पर्सिकोले तीनवटा एआई मोडेलहरू—ओपन एआईको च्याटजीपीटी–५, गुगल डीपमाइन्डको जेमिनाई २.५ र एन्थ्रोपिकको क्लाउड ४.५ लाई कुन जागिरहरू एआईको जोखिममा छन् भनेर सोधेका थिए । ती सबैबाट फरक–फरक उत्तरहरू प्राप्त भए ।
अनुसन्धानकर्ताहरूले के भेट्टाए भने, क्लाउडले लेखापाल (एकाउन्टेन्ट) हरूलाई एआईबाट उच्च जोखिममा रहेको देखायो भने जेमिनाईले उनीहरूलाई न्यून जोखिमको सूचीमा राख्यो । विज्ञापन प्रबन्धक र प्रमुख कार्यकारी अधिकृत (सीईओ) का सन्दर्भमा पनि मोडेलहरूबीच मतभेद देखियो । च्याटजीपीटी र जेमिनाईका उत्तरहरू धेरै हदसम्म मिले पनि करिब २५ प्रतिशत समय उनीहरूबीच असहमति देखियो ।
यी भिन्नताहरू केही हदसम्म मोडेलहरूको बनावटका कारण देखिएका हुन् । तर अर्थशास्त्रीहरूले अर्को एउटा तथ्य पनि फेला पारेका छन्  । कुन क्षेत्रका कामदारले पहिलेदेखि नै एआई प्रयोग गरिरहेका छन् भन्ने कुराले पनि नतिजालाई प्रभाव पारेको छ । वित्तीय विश्लेषकजस्ता एआई छिटो अपनाउनेहरूले यसको प्रयोग धेरै गर्छन्, जसले गर्दा भविष्यका एआई मोडेलहरूका लागि थप तालिम डेटा सिर्जना हुन्छ । अन्ततः यसैले ती पेशाहरूलाई मोडेलले कसरी मूल्याङ्कन गर्छ भन्ने कुरा निर्धारण गर्छ ।
समस्या के हो भने, केही नीति निर्माता र रोजगारदाताहरूले यी अङ्कहरूलाई पूर्ण सत्य मानिरहेका छन्, जबकी यसलाई शङ्काको घेरामा राखेर हेर्नुपर्ने हुन्छ । यो अध्ययन अझै पनि ’वर्किङ पेपर’ को रूपमा रहेकाले यसको विज्ञहरूबाट समीक्षा (पियर–रिभ्यु) हुन बाँकी छ । तीव्र रूपमा विकास भइरहेको प्रविधिका विभिन्न संस्करणहरूबीच मतभेद हुनु अनौठो भने होइन । साथै, जोखिम मापन गर्न एआई अन्य प्रचलित विधिहरूभन्दा राम्रो वा नराम्रो छ भन्ने कुरा पनि अझै स्पष्ट भइसकेको छैन ।
अनुसन्धानकर्ताहरूले एउटा मात्र मोडेलमा भर पर्नुको साटो विभिन्न मोडेलहरू हेर्नुपर्ने र एआईले दिने जोखिमका तथ्याङ्कहरू कति अनिश्चित हुन सक्छन् भन्ने कुरामा स्पष्ट हुनुपर्ने सुझाव दिएका छन् । अर्थतन्त्रमा एआई वास्तवमा कसरी लागू भइरहेको छ र कुन काममा यसको प्रयोग भइरहेको छ भन्ने कुराको स्थलगत सर्वेक्षणले मात्र कुन जागिर कति जोखिममा छ भन्ने सही जवाफ दिन सक्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण