मानिसहरू प्रायः आफ्ना वरपरका मानिसहरूको व्यवहारबाट प्रभावित हुन्छन् । बालबालिकाले साथीहरूले खेलेको खेलौना रोज्छन्, युवाहरूले सामाजिक सञ्जालमा चलेका ट्रेन्ड पछ्याउँछन् र वयस्कहरूले लोकप्रिय खानपान वा जीवनशैली अपनाउन खोज्छन् । तर यस्तो ‘सामाजिक सिकाइ’ मानिसमा मात्र सीमित छैन भन्ने कुरा हालैको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । अध्ययनअनुसार जङ्गली सुगाहरूले पनि आफ्ना साथीहरूको सिको गरेर नयाँ खानेकुरा खान सिक्छन् ।
‘पिएलओएस बायोलोजी’ जर्नलमा प्रकाशित यो अध्ययन अस्ट्रेलिया, जर्मनी, अमेरिका र स्विट्जरल्याण्डका अनुसन्धानकर्ताहरूले संयुक्त रूपमा गरेका हुन् । अनुसन्धानले विशेषगरी अस्ट्रेलियाको सिड्नी क्षेत्रमा पाइने सेतो सुगा अर्थात् सल्फर–क्रेस्टेड ककाटुहरूमा सामाजिक सिकाइको प्रभाव कति बलियो हुन्छ भन्ने कुरा उजागर गरेको छ ।
सहरी वातावरणमा बस्ने जनावरहरूले निरन्तर नयाँ चुनौती र अवसरको सामना गर्नुपर्छ । फोहोरमैला, विदेशी वनस्पति, सडकछेउका रुख वा मानिसहरूले फ्याँकेका खानेकुरा जस्ता नयाँ स्रोतहरू उनीहरूको पहुँचमा आइरहेका हुन्छन् । तर अपरिचित खानेकुरा जोखिमपूर्ण पनि हुन सक्छन् । ती विषालु हुन सक्छन्, परजीवी हुन सक्छन् वा स्वास्थ्यका लागि हानिकारक हुन सक्छन् । त्यसैले धेरै जनावरहरू नयाँ खानेकुरा चाख्न डराउँछन् ।
यही जोखिम कम गर्न केही जनावरहरूले ‘सामाजिक सिकाइ’ को रणनीति अपनाउँछन् । अर्थात् अरूले सुरक्षित रूपमा खाएको वा प्रयोग गरेको वस्तु आफूले पनि अपनाउने । यसअघि काग प्रजातिका चराहरू र मुसाहरूमा यस्ता व्यवहार देखिएका थिए । तर जङ्गली वातावरणमा यस्तो सिकाइ कसरी काम गर्छ भन्ने विषयमा अध्ययन भने निकै कम भएको अनुसन्धानकर्ताहरू बताउँछन् ।
यसैलाई बुझ्न अनुसन्धान टोलीले सिड्नीका पाँच वटा बासस्थानमा रहेका ७०० भन्दा बढी जङ्गली सुगाहरूको अध्ययन ग¥यो । सुरुमा केही सुगाहरूलाई कृत्रिम रूपमा रङ लगाइएका बदाम खान तालिम दिइयो । एउटा समूहलाई निलो र अर्को समूहलाई रातो बदाम खाने बानी बसालियो । त्यसपछि दुवै रङका बदाम राखिएको भाँडो ती क्षेत्रमा दैनिक रूपमा राखियो ।
अध्ययनले रोचक परिणाम देखायो । तालिमप्राप्त सुगाहरूले बदाम खाइरहेको देखेपछि अन्य सुगाहरूले पनि धेरै छिट्टै ती खानेकुरा खान थाले । एउटा समूहमा त जिज्ञासु सुगाहरू सात मिनेटभित्रै नयाँ बदाम चाख्न तयार भए भने अर्को समूहमा एक मिनेटभन्दा कम समयमै सुगाहरूले रङ्गीन बदाम खान सुरु गरे ।
तर जहाँ तालिमप्राप्त सुगा थिएनन्, त्यहाँको अवस्था फरक देखियो । तेस्रो समूहका सुगाहरूलाई नयाँ खानेकुरा खान चार दिन लाग्यो । अन्ततः एउटा साहसी सुगाले बदाम खाएपछि भने अन्य सुगाहरू पनि हौसिए । केवल १० मिनेटभित्रै थप १५ वटा सुगाले पनि बदाम खान थाले । यसले देखायो कि समूहभित्र कसैले जोखिम उठाएपछि अरूले पनि सजिलै त्यसको अनुकरण गर्छन् ।
२० दिनसम्म चलेको प्रयोग सकिँदा पाँचवटै समूहका ३४९ वटा सुगाहरूले ती रङ्गीन बदाम नियमित रूपमा खान थालेका थिए । अनुसन्धानकर्ताहरूका अनुसार यो केवल नयाँ खानेकुरा खान सिकेको घटना मात्र होइन, सामाजिक सम्बन्ध र समूहगत व्यवहारको पनि संकेत हो ।
अनुसन्धानको अर्को रोचक पक्ष उमेर र लिङ्गअनुसारको व्यवहार थियो । अध्ययनले भाले सुगाहरूले अन्य भाले सुगाहरूको व्यवहारबाट बढी प्रभावित हुने देखायो । पोथी सुगाहरू भने उमेर वा लिङ्गभन्दा पनि सामाजिक संकेतलाई समग्र रूपमा ग्रहण गर्ने प्रवृत्तिका थिए ।
झन् चाखलाग्दो कुरा त कम उमेरका सुगाहरूको व्यवहार थियो । उनीहरू बहुमतको निर्णय पछ्याउने स्वभावका देखिए । धेरै सुगाहरूले जे रोजे, उनीहरूले पनि त्यही रोजे । अनुसन्धानकर्ता जुलिया पेन्डोर्फका अनुसार यो व्यवहार मानिसका बालबालिकामा देखिने समूह–अनुकरणको बानीसँग मिल्दोजुल्दो छ ।
वयस्क सुगाहरू भने बहुमतभन्दा आफ्ना नजिकका साथीहरूको व्यवहारबाट बढी प्रभावित हुन्थे । यसको अर्थ उनीहरूको सामाजिक सम्बन्ध अझ विशेष र सीमित घेरामा आधारित हुन्छ । अनुसन्धानकर्ताहरूका अनुसार कम उमेरका सुगाहरू बढी घुमफिर गर्ने भएकाले उनीहरूले नयाँ ठाउँमा सुरक्षित खानेकुरा पहिचान गर्न स्थानीय सुगाहरूको व्यवहार हेर्नु आवश्यक हुन्छ । यो मानिसहरूले भीड लागेको रेस्टुरेन्टलाई राम्रो ठानेर त्यहीँ खाना खान जाने व्यवहारसँग मिल्दोजुल्दो भएको उनीहरूको भनाइ छ ।
अनुसन्धानकर्ताहरूले सुगाहरूले बदाम फुटाउने शैली पनि आफ्ना साथीहरूसँग मिल्दोजुल्दो बनाएको देखेका थिए । यद्यपि यसको प्रत्यक्ष परीक्षण भने गरिएको थिएन । यसले सामाजिक सिकाइ केवल खानेकुरा छनोटसम्म सीमित नभई व्यवहारिक सीपमा समेत फैलिएको हुन सक्ने सङ्केत गर्छ ।
विशेषज्ञहरूका अनुसार अस्ट्रेलियाका सहरी क्षेत्रमा सेतो सुगाहरूको सफलताको एउटा मुख्य कारण उनीहरूको यही अनुकूलन क्षमता हो । उनीहरूले वरपरका सुगाहरूलाई ध्यानपूर्वक हेर्छन्, उपयोगी जानकारी सिक्छन् र आफ्नो व्यवहार परिवर्तन गर्न हिच्किचाउँदैनन् । यही कारण उनीहरू बदलिँदो सहरी वातावरणमा पनि सजिलै टिकिरहेका छन् ।
यो अध्ययनले मानिस र जनावरबीचको व्यवहारिक समानताबारे पनि नयाँ दृष्टिकोण दिएको छ । समूहको प्रभाव, बहुमतको सिको, सामाजिक सम्बन्धबाट सिक्ने प्रवृत्ति र जोखिम मूल्याङ्कन जस्ता पक्ष केवल मानव समाजका विशेषता होइनन् भन्ने तथ्य यसले देखाएको छ । सानो देखिने सुगाको व्यवहारले पनि सामाजिक बुद्धिमत्ता र सामूहिक सिकाइको जटिल संसार उजागर गरिदिएको छ । सीएनएन