नयाँ दिल्ली, (डिडल्ब्ल्यु) । पारिवारिक कलहका साथै वित्तीय र सामाजिक दबाबका कारण भारतमा आत्महत्या गर्ने विवाहित पुरुषहरूको संख्या तीव्र रूपमा बढिरहेको छ । नेशनल क्राइम रेकड्र्स ब्युरो (एनसीआरबी) को ताजा प्रतिवेदनबाट यो चकित पार्ने तथ्य बाहिर आएको हो ।
एनसीआरबीद्वारा जारी ’भारतमा आकस्मिक मृत्यु र आत्महत्या २०२४ (एक्सिडेन्टल डेथ्स एन्ड सुसाइड्स इन इन्डिया)’ शीर्षकको प्रतिवेदनमा सन् २०२४ को अवधिमा देशमा करिब १ लाख ७० हजार मानिसले आत्महत्या गरेको उल्लेख छ । यो संख्या सन् २०२३ को तथ्याङ्कको तुलनामा ०.४ प्रतिशतले कम हो । यद्यपि, यस अवधिमा विवाहित पुरुषहरूमा बढ्दो आत्महत्याका घटनाले चिन्ता थपिदिएको छ । यसको कारण के हो भने यस्तो एउटा आत्महत्या केवल एक व्यक्तिको अन्त्य मात्र नभएर सम्पूर्ण परिवारकै विनाश हो ।
प्रतिवेदनका अनुसार बढ्दो आत्महत्याको सबैभन्दा ठुलो कारण (३३.५ प्रतिशत) पारिवारिक कलह देखिएको छ । यसबाहेक लागुऔषध दुव्र्यसन, विवाहसँग सम्बन्धित विवाद, दाइजो, आर्थिक संकट र बेरोजगारी प्रमुख कारणका रूपमा रहेका छन् । त्यस्तै, छात्रछात्राहरूमा आत्महत्याको सबैभन्दा ठुलो कारण परीक्षामा असफल हुनु रहेको छ ।
प्रतिवेदनमा आत्महत्या गर्ने विवाहित पुरुषहरूको संख्या लगातार बढिरहेको उल्लेख छ । सन् २०२४ को अवधिमा आत्महत्या गर्नेहरूमध्ये ६७.५ प्रतिशत मानिस विवाहित थिए । पारिवारिक कारणले विवाहित पुरुषहरूले आत्महत्या गरेको कुरा बाहिर आउँदा कतिपय अवस्थामा उनीहरूका श्रीमतीतर्फ औँला उठ्ने गर्छ । विगतका वर्षहरूमा श्रीमतीहरूलाई जिम्मेवार ठह¥याइएका दुई–तीनवटा यस्ता घटनाहरू भए जसले सञ्चारमाध्यमहरूमा निकै चर्चा पाएका थिए ।
बढ्दो घटनाको कारण
तर प्रश्न के उठ्छ भने, के पारिवारिक कलहको अर्थ केवल श्रीमान्–श्रीमतीबीचको विवाद मात्रै हो ? महिला अधिकारकर्मीहरू यो व्याख्यासँग सहमत छैनन् । पश्चिम बङ्गाल राज्य महिला आयोगकी पूर्व अध्यक्ष लीना गाङ्गुली डीडब्ल्युसँग भन्छिन्, ‘पारिवारिक कलहको दायरा निकै फराकिलो छ । यो केवल श्रीमान्–श्रीमतीबीचको आपसी विवाद मात्र होइन । दाजुभाइ–दिदीबहिनी, आमाबुबा र आफन्तहरूसँगको विवाद पनि पारिवारिक कलहकै दायराभित्र पर्छ । यस्तो अवस्थामा विवाहित पुरुषको आत्महत्याका लागि केवल श्रीमती वा महिलाहरूलाई मात्र दोषी ठह¥याउनु उचित हुँदैन ।’
विवाहपछि पुरुषहरू विभिन्न कारणले मानसिक दबाबमा पर्न सक्ने उनको भनाइ छ । यसमा कार्यलयको राजनीति र जागिरका समस्याका साथै आर्थिक कठिनाइ जस्ता विषयहरू पनि सामेल हुन्छन् ।
कोलकाताकी महिला अधिकारकर्मी सुष्मिता बारुई पनि यही कुरा दोहो¥याउँछिन् । उनले डीडब्ल्युसँग भनिन्, ‘पारिवारिक कलहका कारण हुने मृत्युका लागि सोझै श्रीमतीलाई जिम्मेवार ठह¥याउनु हुँदैन । एनसीआरबीले पनि आफ्नो प्रतिवेदनमा स्पष्ट रूपमा त्यस्तो केही भनेको छैन । पारिवारिक कलह शब्दको दायरा धेरै ठुलो छ । हामीले चित्रको अर्को पाटोलाई पनि ध्यानमा राख्नुपर्छ । देशमा हरेक वर्ष ठुलो संख्यामा दाइजो उत्पीडनका कारण महिलाहरूको मृत्यु भएका समाचारहरू पनि आउने गर्छन् ।’
मानसिक स्वास्थ्य विशेषज्ञहरूका अनुसार वर्तमान सामाजिक परिस्थिति र अन्य धेरै कारणहरूले गर्दा पुरुषहरू यस्तो अवस्थामा मनमनै गुम्सिएर मानसिक डिप्रेसनको सिकार हुन पुग्छन् । महिलाहरूको विपरित, अधिकांश अवस्थामा उनीहरूले कुनै साथी वा परिवारका सदस्यसँग आफ्नो मनको पीडा समेत साट्न सक्दैनन् ।
आत्महत्यालाई कसरी रोक्ने ?
मनोचिकित्सकहरूका अनुसार विवाहित पुरुषहरूमा आत्महत्या एउटा मौन महामारीका रूपमा फैलिरहेको छ । तर यो महामारीलाई आखिर कसरी रोक्न सकिन्छ त ? मानसिक स्वास्थ्य विशेषज्ञहरू यस संकटसँग जुध्नका लागि व्यवहारमा आउने परिवर्तनका संकेतहरूलाई समयमै पहिचान गर्न र मानसिक तथा भावनात्मक परामर्श सुरु गर्न सुझाव दिन्छन् ।
उनीहरूका अनुसार विवाहित पुरुषहरू धेरै कारणले बढी संवेदनशील हुन्छन् । पुरुषहरू परम्परागत रूपमा व्यावसायिक मानसिक स्वास्थ्य सहायता वा भावनात्मक सहयोग लिन हिचकिचाउँछन् र मनमनै पीडा सहेर बस्छन् । कोलकाताका प्रख्यात मनोचिकित्सक डा. अयन मुखर्जीले डीडब्ल्युसँग भने, ‘पुरुषहरू सामान्यतया आफ्नो मानसिक पीडा अरू कसैको अगाडि व्यक्त गर्दैनन् । लामो समयसम्म यस्तो अवस्थामा रहँदा उनीहरू मानसिक डिप्रेसनको सिकार हुन्छन् र कुनै कमजोरीको क्षणमा आत्महत्याको निर्णय लिन पुग्छन् ।’
यस्तो परिस्थितिका लागि केवल दाम्पत्य जीवनको विवादलाई मात्र दोष दिन नसकिने उनको भनाइ थियो । एउटा पुरुषले जीवनमा धेरै मोर्चाहरूमा संघर्ष गर्नुपर्छ । विशेष गरी विवाहपछि उसमाथि जिम्मेवारीको बोझ निकै बढ्छ । यस्तो अवस्थामा मानसिक डिप्रेसनको कारण जुनसुकै कुरा पनि हुन सक्छ । कुनै ठोस निष्कर्षमा पुग्नका लागि विस्तृत अध्ययन आवश्यक छ ।
कोलकाताकै एउटा अस्पतालकी मनोचिकित्सक डा. मानसी घोष डीडब्ल्युसँग भन्छिन्, ‘केही घटनाहरूमा महिला सुरक्षा कानुनको दुरुपयोग हुने डरले पनि पुरुषलाई आत्महत्या जस्तो कदम चाल्न बाध्य बनाउँछ । तर आत्महत्याका बढ्दो घटनाहरूका लागि यो मात्रै एक्लो वा सबैभन्दा ठुलो कारण हुन सक्दैन ।’
मनोचिकित्सकहरूका अनुसार विवाहित पुरुषहरूमा अक्सर आत्महत्या गर्नुअघि धेरै संकेतहरू देखिन थाल्छन् । तिनलाई समयमै पहिचान गरेर डिप्रेसनको उपचार गर्नाले यो समस्यालाई धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । स्वास्थ्य विशेषज्ञहरूका अनुसार यस समस्यालाई रोक्नका लागि चेतनामूलक अभियानहरू सञ्चालन गर्नु आवश्यक छ ताकि विभिन्न समस्याका कारण मानसिक डिप्रेसनसँग जुधिरहेका पुरुषहरूले आफ्नो हिचकिचाहट छोडेर समयमै परामर्शका लागि अगाडि आउन सकून् ।
तथ्यांकमा आत्महत्या
एनसीआरबीको ताजा तथ्याङ्कले सन् २०२० मा भारतमा आत्महत्याका घटनामा १० प्रतिशतको वृद्धि भएको देखाउँछ । कहाँ र कस्तो पृष्ठभूमिका मानिसहरूमा सबैभन्दा बढी आत्महत्याका घटना पाइए भन्नेबारे धेरै चकित पार्ने तथ्यहरू बाहिर आएका छन् ।
सन् २०२० मा देशमा १ लाख ५३ हजार ५२ जनाले आत्महत्या गरे । यो संख्या सन् २०११ को तथ्याङ्कको तुलनामा १० प्रतिशत बढी हो । यसैसँगै आत्महत्याको दर अर्थात् प्रति एक लाख जनसंख्यामा आत्महत्या गर्नेहरूको संख्या ८.७ प्रतिशतले बढेको छ ।
सबैभन्दा बढी आत्महत्या महाराष्ट्रमा (१९,९०९) भयो । त्यसपछि तमिलनाडु (१६,८८३), मध्य प्रदेश (१४,५७८), पश्चिम बङ्गाल (१३,१०३) र कर्णाटक (१२,२५९) को स्थान आउँछ । देशभर हुने कुल आत्महत्यामध्ये ५० प्रतिशत आत्महत्या यी पाँच राज्यमा मात्र हुने गर्दछ ।
सबैभन्दा बढी अर्थात् ३३.६ प्रतिशत मामिलामा आत्महत्याको कारण ‘पारिवारिक समस्या’ पाइएको छ । त्यसपछि ‘बिरामी’ (१८ प्रतिशत), ‘लागुऔषधको लत’ (छ प्रतिशत), विवाहसँग सम्बन्धित समस्या (पाँच प्रतिशत), प्रेम सम्बन्ध (४.४ प्रतिशत), टाट पल्टिनु वा ऋण (३.४ प्रतिशत), बेरोजगारी (२.३ प्रतिशत), परीक्षामा असफलता (१.४ प्रतिशत), व्यावसायिक÷करियरको समस्या (१.२ प्रतिशत) र गरिबी (१.२ प्रतिशत) को स्थान छ ।
सन् २०२० मा कुल आत्महत्यामा पुरुष र महिलाको अनुपात ७०.९ः२९.१ थियो, जुन सन् २०१९ मा योभन्दा कम (७०.२ः२९.८) थियो । महिला पीडितहरूको अनुपात ’विवाहसँग सम्बन्धित समस्या’ (विशेष गरी दाइजोसँग जोडिएका समस्या) र निसन्तानपन जस्ता मामिलामा बढी थियो ।
सबैभन्दा बढी घटना १८ देखि ३० वर्ष उमेर समूह (३४.४ प्रतिशत) र ३० देखि ४५ वर्ष उमेर समूह (३१.४ प्रतिशत) का मानिसहरूमा पाइएको छ । १८ वर्षभन्दा कम उमेरका बालबालिकामा पनि आत्महत्याका घटनाहरू देखिएका छन् । तीमध्ये सबैभन्दा बढी अर्थात् ४,००६ वटा घटनाको कारण पारिवारिक समस्या, १,३३७ वटा घटनाको कारण प्रेम सम्बन्ध र १,३२७ वटा घटनाको कारण बिरामी पाइएको छ ।
कुल महिला पीडितहरू (४४,४९८) मध्ये ५०.३ प्रतिशत (२२,३७२) गृहणीहरू थिए । उनीहरूको संख्या कुल पीडितहरूमा १४.६ प्रतिशतको वरपर थियो । तीमध्ये ५,५५९ जना पीडित छात्राहरू र ४,४९३ जना दैनिक ज्यालादारी मजदुर थिए । कुल २२ जना तेस्रोलिङ्गीले आत्महत्या गरे ।
सरकारी कर्मचारीहरूमा १.३ प्रतिशत (२,०५७) घटना पाइएका छन् भने निजी क्षेत्रमा काम गर्ने मानिसहरूमा ६.६ प्रतिशत (१०,१६६) घटना पाइएका छन् । विद्यार्थीहरूमा ८.२ प्रतिशत (१२,५२६) घटना र बेरोजगार मानिसहरूमा १०.२ प्रतिशत (१५,६५२) घटना पाइएका छन् । स्वरोजगार श्रेणीमा ११.३ प्रतिशत (१७,३३२) घटना पाइएका छन् ।
कृषि क्षेत्रसँग जोडिएका मानिसहरूमा कुल १०,६७७ वटा घटना पाइएका छन् । यसमा ५,५७९ वटा घटना किसानहरूको र ५,०९८ वटा घटना कृषि मजदुरहरूको थियो । यो संख्या देशको कुल आत्महत्याको सात प्रतिशत बराबर हो । आत्महत्या गर्ने किसानहरूमध्ये ५,३३५ पुरुष र २४४ महिला थिए । कृषि मजदुरको श्रेणीमा ४,६२१ पुरुष र ४७७ महिला थिए ।
आत्महत्या गर्ने कुल १ लाख ८ हजार ५३२ पुरुषहरूमध्ये सबैभन्दा बढी घटना (३३,१६४) दैनिक ज्यालादारी मजदुरहरूको, १५,९९० घटना स्वरोजगार गर्ने मानिसहरूको र १२,८९३ घटना बेरोजगार मानिसहरूको थियो ।
आत्महत्या गर्नेहरूमध्ये ६६.१ प्रतिशत (१,०१,१८१) विवाहित थिए र २४ प्रतिशत (३६,८०३) अविवाहित थिए । एकल महिला÷पुरुष (विधवा÷विधुर) हरूमा १.६ प्रतिशत (२,४९१) घटना, सम्बन्धविच्छेद भएका मानिसहरूमा ०.५ प्रतिशत (८३१) घटना र छुट्टिएर बसेकाहरूमा ०.६ प्रतिशत (९६३) घटना पाइएका छन् ।
आत्महत्या गर्नेहरूमध्ये ६३.३ प्रतिशत (९६,८१०) मानिसहरूको वार्षिक आम्दानी एक लाख रुपैयाँभन्दा कम र ३२.२ प्रतिशत (४९,२७०) मानिसहरूको वार्षिक आम्दानी एक लाखदेखि पाँच लाख रुपैयाँको बीचमा थियो ।
आत्महत्या गर्नेहरूमध्ये अधिकांश अर्थात् ३५,७७१ (२३.४ प्रतिशत) मानिसहरूको शिक्षाको स्तर म्याट्रिक वा माध्यमिक शिक्षासम्म, २९,८५९ जनाको स्तर पूर्व–माध्यमिकसम्म, २४,२४२ जनाको प्राथमिकसम्म र २४,२७८ जनाको उच्च माध्यमिकसम्म थियो । १२.६ प्रतिशत अर्थात् १९,२७५ जना पीडित अशिक्षित थिए । केवल चार प्रतिशत (६,१९०) पीडितहरूले स्नातक वा सोभन्दा माथिको शिक्षा हासिल गरेका थिए ।