नेभिगेशन
प्रदेश

‘खान सक्ने मात्र लिनुस्,’ तर सुनिँदैन आग्रह

चितवन ।  भोजमा थुप्रै परिकार हुन्छन् । यस्ता पाहुना धेरै हुन्छन्, जो सबै थरीका परिकार आफ्नो प्लेटमा राख्छन् र अन्तिममा खान नसकेर आधाभन्दा बढी खाना फाल्छन् । भोजभतेरको यो दृश्य सामान्यजस्तै छ तर समान्य भने होइन । 
एकातिर देशले अर्बौं रुपैयाँको खाद्यान्न आयात गरिरहेको छ, अर्कोतिर हामीले आफैंले उत्पादन गरेको वा आयात गरेर ल्याएको ठूलो हिस्सा थालबाटै फोहोरमा पुगिरहेको छ । होटल तथा रेस्टुरेन्ट व्यवसायीहरूका अनुसार भोजमा खानाको ३० देखि ४० प्रतिशतसम्म भाग खेर जाने गरेको तथ्यले हाम्रो उपभोग संस्कृतिमाथि गम्भीर प्रश्न उठाएको छ ।
विश्व खाद्य सुरक्षा दिवसका अवसरमा चितवनमा आयोजित संवाद कार्यक्रममा अनुपम फुड्ल्याण्ड र दियालो फुड्ल्याण्डका पाँच शाखाको नेतृत्व गर्दै आएका जनप्रकाश चापागाईंले भोजभतेरमा हुने खाद्यान्नको खेर जाने अवस्थाबारे चिन्ता व्यक्त गरे । ‘होटल, रेष्टुरेन्ट र पार्टी प्यालेसले गर्ने भोज÷भतेरका कार्यक्रममा अधिक खाना फालिन्छ । घरमा पनि बढी खाना पकाउँदा फालिने गरेको पाइन्छ । ग्रामीण क्षेत्रमा फालिएका खाना पशु चौपायाले खाने भए पनि सहरी क्षेत्रमा त्यसरी फालिएका खाना फोहरका रूपमा परिणत हुन्छ,’ उनले भने, ‘खाना फाल्नबाट रोक्न धेरै प्रयास गरियो । सफल भइएन ।’

उनका अनुसार विभिन्न परिकार एकैपटक राखिने बफे शैलीका कार्यक्रममा धेरैजसो मानिसले आवश्यकताभन्दा बढी खाना थालमा हाल्ने र खान नसकेपछि फाल्ने गरेका छन् । बिहानको खानामा तुलनात्मक रूपमा कम खाना खेर जाने भए पनि दिउँसो र साँझका भोजमा अवस्था गम्भीर हुने गरेको उनले बताए । मदिरासहितका कार्यक्रममा त झन् खाद्यान्न अझ बढी फालिने गरेको उनको अनुभव छ ।
खाना फालिँदा त्यसको आर्थिक भार आयोजकले नै बेहोर्नुपरेको चापागाईंको भनाइ छ । ‘यसरी खाना फालिँदा खुवाउनेका लागि भोजभतेर महँगो हुन्छ । मुलुक बाहिरबाट खाद्यान्न आउने भएकाले यसले समग्र अर्थतन्त्रमा पनि प्रभाव पार्छ,’ उनले भने । 
सिद्धार्थ हस्पिटालिटी समूहले देशका विभिन्न जिल्लामा ३० वटा होटल, रेस्टुरेन्ट र क्याफे सञ्चालन गरिरहेको छ । यति ठूलो चेनका प्रमुख कार्यकारी निर्देशक कृष्ण न्यौपाने खाना मिल्काउने प्रवृत्ति अझ गम्भीर रहेको बताए । उनका अनुसार केही कार्यक्रममा ४० प्रतिशतसम्म खाना फालिने गरेको छ । ‘सुरु–सुरुमा हामीले खाना प्याकिङ गरेर घर पनि पठायौं तर सकेनौं,’ उनले भने ।
खाना खेर जान नदिन सचेतनामूलक ब्यानर राख्ने, ग्राहकलाई आग्रह गर्ने लगायतका प्रयास गरिए पनि अपेक्षित सफलता नमिलेको उनको अनुभव छ । ‘खाना फाल्नेलाई नफाल्न आग्रह गर्दा उल्टै गाली गर्ने पनि गरेका छन्,’ उनले सुनाए ।
न्यौपानेले कैलालीस्थित आफ्नो होटलमा भएको एउटा घटना सम्झिए । एक जापानी नागरिकले कार्यक्रममा फालिएको खाना देखेर उनलाई सोधेछन्, ‘दैनिक चार पटक खाने खानाको अड्कल गर्न नसक्नेले के काम गर्न सक्छ ?’

उनका अनुसार केही व्यक्तिले आफूले खान सक्ने परिकार मात्र छानेर खाने गरे पनि धेरैजसो मानिसले सबै परिकार स्वाद लिन खोज्दा अन्ततः ठूलो परिमाणमा खाना खेर जाने गरेको छ ।
‘खाना फाल्नबाट रोक्न सकियो भने भोजभतेरको खर्च कम हुन्छ,’ न्यौपानेले भने, ‘फालिने खानाको समेत हिसाब गर्नुपरेकाले आयोजकको खर्च बढ्ने गरेको छ ।’
कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्ट्रार प्राडा सूर्यकान्त घिमिरे खाद्यान्नको खेर जाने समस्या विश्वव्यापी चुनौती भएको बताउँछन् । उनका अनुसार विश्वभर फालिने खाना जोगाउन सकियो भने थप ३० प्रतिशत जनसंख्यालाई भोजन उपलब्ध गराउन सकिन्छ ।
विद्यावारिधि अध्ययनका क्रममा जापानमा बिताएका ६ वर्षको अनुभव सुनाउँदै उनले त्यहाँका मानिसहरू बाँकी खाना घर लैजाने संस्कारमा अभ्यस्त रहेको बताए ।
‘नेपालमा खाना फाल्ने चलन धेरै छ । यसलाई रोक्न सबैको पहल र ऐक्यबद्धता जरुरी छ । खानालाई कसरी स्वस्थकर बनाउन सकिन्छ भन्नेबारेमा सोच्नुपर्ने देखिन्छ,’ उनले भने ।
महात्मा गान्धीले कहिलेकाहीँ असहज महसुस हुनासाथ एक छाक भोजन त्याग्न आग्रह गरेको प्रसंग उल्लेख गर्दै घिमिरेले खानामा विविधीकरणको आवश्यकता पनि औंल्याए । टर्कीमा पहिले बिहान–बेलुका दालभात र तरकारीजस्तै परम्परागत भोजन खाने चलन रहे पनि अहिले एक छाक फरक परिकार खाने अभ्यास बढेको उदाहरण दिँदै उनले नेपाली समाजले पनि यस विषयमा ध्यान दिनुपर्ने बताए ।
उनका अनुसार बिहान–बेलुका दालभात खाने परम्पराले धानप्रतिको निर्भरता बढाएको छ । ‘जे धेरै उत्पादन हुन्छ त्यसमा ध्यान दिनुपर्छ,’ उनले भने, ‘खाना नफाल्ने, खानामा विविधीकरण ल्याउने र बाँझो जमिनमा खेती गर्न सके खाद्यान्न आयात घटाउन सकिन्छ ।’
नेपालले हरेक वर्ष ४५ देखि ५० अर्ब रुपैयाँ बराबरको खाद्यान्न आयात गरिरहेको अवस्थामा खाद्यान्नको खेर जाने प्रवृत्ति केवल व्यक्तिगत बानीको विषय मात्र होइन, राष्ट्रिय अर्थतन्त्रसँग समेत जोडिएको प्रश्न बनेको छ । तर समाधान जटिल छैन । थालमा जति चाहिन्छ त्यति मात्र लिने र बाँकी भए प्याकिङ गरेर घर लैजाने सामान्य संस्कार विकास गर्न सकियो भने फोहोरमा जाने धेरै खाना बचाउन सकिन्छ । (रासस)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्