एक कुशल चित्रकार, गीत–संगीतका शौकीन साधक र भावप्रवण कविका रूपमा युवा स्रष्टा जीवित खड्का मगरले सिर्जनशील अध्यावसायका क्षेत्रमा आफ्नो एक विशिष्ट पहिचान बनाएका छन् । उच्चकोटीको प्रतिभाशाली चित्रकारका रूपमा बहुप्रशंसित कलाकार खड्काले कला–साधनाको समयक्रममा चित्रकारिताका मुख्य सबै माध्यम अपनाएर कला–सिर्जना गरेको भए पनि विख्यात (सेलिबे्रटी) सर्जक–व्यक्तित्वहरूको मुहारचित्र (पोट्र्रेट) कोर्नमा विशेषज्ञता हासिल गरेका छन् । उनले कोरेका अत्यन्तै जीवन्त लाग्ने मुहारचित्र देखेर मन्त्रमुग्ध भएकाहरूको मात्र होइन, उनीमार्फत आफ्नो पोट्र्रेट बनाउन खोज्ने नेपाली सेलिबे्रटीहरूको संख्या पनि उत्तिकै ठूलो छ । यस कोणबाट हेर्दा खड्का स्वयं पनि धेरै जनाद्वारा पछ्याइरहेका सेलिब्रेटी कलाकार बनिसकेका छन् भन्दा अत्युक्ति हुँदैन ।
बहुप्रतिभाशाली स्रष्टा जीवित खड्का मगर आजकल कलाकारिताको क्षेत्रमै आधारित पेशामा संलग्न भएर अरबको खाडी क्षेत्रको सल्तनत संयुक्त अरब अमिरातको सबैभन्दा ठूलो व्यापारिक केन्द्र महानगर दुबईमा कार्यरत छन् । चित्रकारितामा आधारित पेशामा कार्यरत भएर रोजिरोटीको प्रबन्धन सहजताका साथ गरिरहेको भए पनि खड्काको पहिलो प्रेम कविता–लेखन र दोस्रो प्रेम नेपाली भाषा र साहित्यको प्रवर्धन रहेको कुरा उनका प्रकाशनहरू र साहित्यिक क्रियाकलापका आलोकमा हेरेर सजिलै बुझ्न सकिन्छ । उनले आफ्नो रुचिको दोस्रो विषय नेपाली भाषा र साहित्यको प्रवर्धनमा योगदान गर्ने पुनीत उद्देश्य पूरा गर्न प्रवासबाटै सगरमाथा साहित्य प्रतिष्ठानको नेतृत्व सम्हालिसकेका छन् । साथै, काठमाडौंबाट सञ्चालित साहित्यपोस्ट अनलाइन म्यागजिनको लोकप्रिय कार्यक्रम साहित्यवार्ताका संयोजकका रूपमा पनि खड्काले धेरै नेपाली सर्जकहरूलाई मञ्च उपलब्ध गराएका छन् । कोभिड– १९ को बन्दाबन्दीका बेलामा संसारभरिका सयौं नेपाली सर्जकहरूलाई प्रत्यक्ष कुराकानी (लाइभ टक शो)मा प्रस्तुत गर्ने श्रेय पनि खड्काकै खातामा जान्छ ।
पछिल्लो पटक भने यी अत्यन्त सम्वेदनशील कवि–कलाकार खड्का मगर ‘धागो’ शीर्षकमा प्रस्तुत गरिएको ४० वटा सुन्दर कविताहरूको संग्रह लिएर कविताका पारखी पाठकहरूसँग मुखातिब भएका छन् । मेची नदीको पल्लोपट्टि रहेको नेपाली भाषी समाजको एक अत्यन्तै प्रतिष्ठित बौद्धिक चेहरा कवि राजा पुनियानीले दार्जिलिङ जिल्लाको मैदानी इलाकामा रहेको सहर सिलिगुडीमा सञ्चालन गरेको प्रकाशन गृह ‘बुक्यान्ट’ बाट प्रकाशित यो कविता संग्रह यसमा समेटिएका कविताहरूको उच्चस्तरका कारणले त प्रशंसायोग्य छँदै छ, साथै, यसको उत्पादन गुणवत्ताका दृष्टिले पनि निकै आकर्षक र संग्रहणीय बनेको छ । पुस्तकको आन्तरिक साज–सज्जा, शद्धाशुद्धी, आवरण डिजाइनदेखि मुद्रणको स्तरसम्म सबै नै अब्बल दर्जाका छन् । यति स्तरीय पुस्तक प्रकाशनमा ल्याएर मूलभूमि नेपालको एक कविको सम्मान गरेकोमा नेपाली भाषामा लेख्ने प्रवासी कवि राजा पुनियानी धन्यवादका हकदार छन् ।
‘धागो’ जीवित खड्का मगरको तेस्रो कविता संग्रह हो । यसभन्दा पहिले उनका दुइवटा कविता संग्रह, ‘अनुभूतिका चर्चाहरू’ (वि.सं. २०६०) र ‘ईश्वरको खेती’ (वि.सं. २०७१) प्रकाशनमा आइसकेका छन् । ती दुई संग्रह पढ्ने अवसर नपाएकाले धागोमा संकलित कविताहरू र पहिलेका दुई संग्रहमा भएका कविताहरूका बिचको रचनात्मक क्रमबद्धता बुझ्न वा कवि खड्काको काव्य–शिल्पको विकासक्रमको झल्कीसहित विशद चर्चा गर्न अहिलेलाई सम्भव नभएको कुरा उल्लेख गर्न चाहन्छु । त्यसैले धागोमाथिको यो आलेखलाई यसमा सङ्कलित कविताहरूले एक पाठकका रूपमा ममाथि पारेको प्रभावमा केन्द्रित भई तयार गर्न खोजिएको एउटा सानो पाठकीय समीक्षाका रूपमा बुझ्न अनुरोध छ ।
कवि जीवित खड्का मगर कुची र क्यानभासमा मात्र होइन हार्मोनियममा पनि उत्तिकै सहज निपुणताका साथ खेल्न सिपालु कलाकार हुन् । त्यसैले होला उनका कविताहरूमा प्रकाश, रंग, ध्वनि र विम्बहरूको मोहक संयोजन देख्न र अनुभूत गर्न सकिन्छ । उनका अधिकांश कविताहरू मौनताको नजिक पुग्ने गरी शान्त देखिन्छन् तर त्यो शान्तिमा कविले भन्नु÷सुनाउनुपर्ने विषय गहिरो प्रभाव पार्ने गरी मुखरित भएको पनि पाउन सकिन्छ । केही उदाहरण ः
उसको बाटो पछ्याउँदै
हिमाल उक्ली गएकाहरूले
उसका पाइतालाका डोबहरू मेट्दै गए
शिखरमा उसले लहराएको झण्डा
च्यातेर फर्किए
त्यो हिमालझैं अग्लो हिमाललाई
आरोहीहरूले बिर्सिंदै गए
(मोहन कोइराला)
अहिलेसम्म आगोले नछोएको
कसैगरी हिउँमा आगो
लाग्यो भने –
सक्छौ निभाउन
हिउँको आगो ?
(हिउँको आगो)
प्रत्येकपल्ट
मेरो यही कोसिस रहन्छ
कि अल्झिएको धागोलाई
नचुँडाई फुकाउन सकुँ !
म चाहन्नँ
धागोलाई गाँठो पारेर धागोमै जोडुँ !
(धागो)
त्यो घाम
मेरा उज्यालाहरू लिएर हिँड्छ
फर्किंदा सुस्केराहरू छाडेर जान्छ
त्यो जून
दूर आकाशबाट
मभित्र अन्धकार चिहाइरहन्छ
(एउटा पत्थरको पहाड)
कवि जीवित खड्काले आफ्ना कविताहरूमा प्रकृतिको धेरै राम्रोसँग उपयोग गरेका छन् । हिमाल, पहाड, नदी, जून, तारा, बादल, वन–उपवन, झरना, भीर–पहरा, खेत–बारी, भन्ज्याङ–चौतारी जस्ता प्रकृतिजन्य तत्त्वहरू खड्काका कविताका पंक्तिहरूमा बारम्बार चिहाउन आउँछन् । तर तिनले फगत प्रकृति वर्णनका लागि आवश्यक तत्वका रूपमा मात्र नरहेर कविले प्रस्तुत गर्न खोजेको कथ्यलाई अघि बढाउने उपकरणका रूपमा पनि काम गर्दछन् । केही उदाहरणः
एक दिन
साला ! रक्सी पिएर
बगरमाथि मातेर हिँडेछ नदी
त्यसै दिनदेखि
यो सुनसान बगरमा
ताराहरू
बादलको पर्दा उघारी उघारी जासुसी गर्छन्
(एउटा पत्थरको पहाड)
दैलोमा सधैँ आइरहन्छ भेट्न
सहरलाई छोएर आएको दलालजस्तो हावा
यता आधुनिक सपना ओढेर
फुर्सदमा सुतिरहेछ मैलो पहाड
र पानी खोज्दाखोज्दै बगर भएका छन्
मूल नफुटेर ओठ सुकेका खेतहरू
(गाउँमा हराएको गाउँ)
आकाशमुनि
बादल वर्षा पर्खिरहेका
खेत–बारी, रुख–जंगल, पहाड–मैदान
र नफुलेका फूलका बगैँचाहरूबाट
हर दिन निस्किन्छ
मौरीहरूको जुलुस
(मौरीहरूको जुलुस)
‘धागो’मा संग्रहित अधिकांश कविताहरूको विम्ब–विधान आकर्षक छ । जीवन र जगत्लाई हेर्ने, अनुभूत गर्ने र अभिव्यक्त गर्ने कविको दृष्टिकोण र शैलीमा एक प्रकारको सन्तुलित निजीपन पनि छ । यी कविताहरूलाई बान्की मिलाएर संयोजित लालित्यपूर्ण काव्याभिव्यक्तिको तहमा राखेर अध्ययन गर्न मिल्छ । उनका कविताहरू कतिबेला वासु शशीका कविताको नजिक छन् जस्तो लाग्छ त कतिबेला हेम हमाल र रमेश क्षितिजका जस्ता हुन् कि जस्तो पनि लाग्न सक्छ ।
संग्रहमा भएका केही कवितामा भने सपाट प्रतिक्रियात्मक बयानबाजी प्रमुख तŒवका रूपमा उभारमा आएको देखिन्छ । ‘जेल बाहिरको जेल’, ‘गुण्डाजस्तो पहाड’, ‘फोहोरको टोकरीमा लोकतन्त्र’ आदि कविताहरूलाई यसै कोटीमा राख्न सकिन्छ, जुन समसामयिक विकृत राजनीतिबाट निसृत असंगीत र आजको नेपाली समाजले भोगिरहेका समस्याहरूको प्रतिक्रियामा लेखिएकाजस्ता छन् । जाहेर छ, ती अति वाचाल कविता काव्य–शिल्प र अभिव्यक्तिगत गाम्भीर्यका दृष्टिले केही कमजोर बनेका छन् । प्रतिक्रियात्मक अतिमुखरताले कविताको शालीन सौन्दर्यमा समस्या पैदा गर्दछ ।
समग्रमा हेर्दा, कवि–कलाकार जीवित खड्का मगरको कविता–यात्राको राजमार्गमा ‘धागो’ एउटा कोसेढुंगाका रूपमा आएको छ भन्न हिच्किचाउनुपर्दैन । ‘धागो’मा संकलित कविताहरूका विषयमा दार्जिलिङका कविद्वय मनप्रसाद सुब्बा र केवलचन्द्र लामा, कालेबुङका राजेन्द्र भण्डारी एवं नेपालका विख्यात कवि–लेखकहरू श्रवण मुकारुङ, श्यामल, रमेश क्षितिज, प्रकाश सायमी, उमेश अकिञ्चन र राजकुमार बानियाँले बुद्धिमत्तापूर्ण अभिमत जाहेर गरेका छन् । ती लिखत–टिप्पणीहरूले कवि जीवित खड्का मगरका कविताहरूलाई बुझ्न र आनन्द लिन पाठकलाई मनग्य सघाउँछन् भन्नु उपयुक्त हुने छ ।