नेभिगेशन
साहित्य
कथा

कथाहरू

(प्रख्यात फ्रान्सेली साहित्यकार एनी एर्नोक्सले सन् २०२२ मा नोबेल साहित्य पुरस्कार जितेकी थिइन्  । हाल ८५ वर्षीया एर्नोक्सका ‘द इयर्स’ र ‘ह्यापेनिङ’ जस्ता संस्मरण निकै प्रख्यात मानिन्छन्  । ५० वर्षको लेखन करियरमा उनले २० वटा उपन्यास तथा संस्मरण लेखेकी छन्  ।)

त्यो वर्ष इस्टरको बिदापछि अप्रिलको अन्त्यतिर स्कुल खुल्यो । घामले गर्दा कक्षाहरू पहिल्यै धेरै तातिसकेका हुन्थे । साढे एघार बजे हामी ताजा हावा खान तल झर्न हतारिँदै ठूलो स्वरमा ‘रेजिना कोएली लातारे हालेलुया’ गाउँथ्यौं । अब हामी फेरि गर्मी महिनाका लुगा लगाउन र डजबलि वा हपस्कच जस्ता खेल खेल्न सक्थ्यौं । छिट्टै मेरी (मन्थ अफ मेरी) को महिना सुरु हुनेथियो र हामी भर्जिन मेरीको मूर्तिको अगाडि, हरियाली गुफाजस्तो ठाउँमा बसेर प्रार्थना (रोजारी) गथ्र्यौं । माथि गएर पढ्न सुरु गर्नुअघि यो एउटा सानो रमाइलो हुन्थ्यो ।
इस्टरपछिको समय प्रायः परिवारहरूले आफ्ना साना छोरीहरूलाई म्याडमोइसेल गौडीको दिउँसोको किन्डरगार्टेन (शिशु) कक्षामा पठाएर स्कुलसँग परिचय गराउने समय हुन्थ्यो । काम गर्ने आमाहरू वा घरमा धेरै केटाकेटी भएर छोरीहरूलाई आफैं स्कुल पु¥याउन नसक्ने आमाहरूले छिमेकका अलि ठूला उमेरका केटीहरूलाई यो काम गरिदिन आग्रह गर्थे । कहिलेकाहीँ उनीहरू धेरै जनालाई सोध्थे, तर एक जनालाई मात्र जिम्मा दिनु राम्रो हुन्थ्यो । धेरै जना हुँदा केटीहरू हाँस्ने र जिस्किने गर्थे, अनि यस्तो बेला दुर्घटना छिट्टै हुन सक्थ्यो ।
चार सन्तानमध्ये सबैभन्दा जेठी मेरी–पउल पाँच वर्षकी थिइन् । दिउँसो करिब एक बजेतिर जब उनकी आमाले उनलाई भान्साकोठामा मकहाँ ल्याइन्, मौसम राम्रो भए पनि उनले खैरो रङको लामो कोट लगाएकी थिइन् । त्यो कोट देख्दा मलाई मैले नै धेरै वर्षसम्म लगाएको त्यस्तै एउटा कोटको याद आयो । त्यो धेरै वर्षसम्म टिकोस् भनेर निकै ठूलो साइजको किनिएको थियो । मेरी–पउलको सीधा खैरो कपाल थियो । त्यसलाई एकापट्टि क्लिप लगाएर छोटो काटिएको थियो र उनले एउटा सानो झोला च्यापेकी थिइन् । मैले उनको हात समातें र हामी अभिभावकहरूको खुसी भरिएको नजरको बीचबाट स्कुलतिर लाग्यौं । मेरी पनि अब एउटी जिम्मेवार केटी भई भनेर मेरा बुबालाई गर्व लागेको जस्तो देखिन्थ्यो; किनभने मैले भर्खर स्कुल जान सुरु गर्दा, मभन्दा माथिल्लो कक्षाकी एउटी मेकानिककी छोरीले मलाई स्कुल लैजाने गर्थिन् । मेरो टाउको ती केटीले काखीमा च्यापेको झोलाको उचाइसम्म मात्र पुग्थ्यो । दिनको अन्त्यमा, उनी आफ्नै उमेरकी अर्की साथीसँग सानो स्वरमा कुरा गर्दै र हाँस्दै फर्किन्थिन् । मेरो लागि यो सास्ती स्कुलको अन्तिम दिनसम्म, अर्थात् पुरस्कार बाँड्ने दिनसम्म चल्यो । अर्को वर्षसम्ममा, ती मेकानिकले आफ्नो व्यवसाय बेचिसकेका थिए, त्यसैले मेरा आमाबुबाले पालोपालो मलाई स्कुल पु¥याउन थाल्नुभयो ।
म भर्खर पाँचौं कक्षामा पढ्दै थिएँ । मेरी–पउल मदेखि डराउनु पर्ने थिएन । उनी हिँड्दा सीधा अगाडि मात्र हेर्थिन् । तल हेर्दा, मैले उनको कपालको सिउँदो देखें, जहाँ अलिकति फोहोर जमेको थियो । मैले उनलाई धेरै प्रश्नहरू सोधें । तर उनले केवल टाउको हल्लाएर ‘हो’ वा ‘होइन’ मात्र भन्थिन् र कडा अनि त्रसित भएर सीधा अगाडि मात्र हेरिरहन्थिन् । “के तिम्रो बोली हरायो?” स्कुल पुगेपछि, मैले हतार–हतार उनलाई म्याडमोइसेल गौडीको जिम्मा लगाएँ र म डजबलि खेल्न दौडिएँ ।
दिनको अन्त्यमा जब म उनलाई लिन गएँ, उनी आँगनको बेन्चमा अन्य साना केटीहरूसँग पर्खिरहेकी थिइन् । उनको हात घुँडामाथि ठाडो पारेर राखिएको झोलामा थियो । मलाई देख्नेबित्तिकै उनी आफ्नो खाली हात अगाडि बढाउँदै हतारिँदै मतिर आइन् । मैले उनलाई कक्षामा के गरिन् भनेर सोधें, तर उनलाई केही याद भएजस्तो लागेन । सायद चित्र कोर्ने काम । मलाई उनले राम्ररी टेरिन् कि टेरिनन् भनेर उनकी आमा जान्न चाहन्थिन् । मलाई उनीप्रति कुनै गुनासो थिएन ।
उनी खाना खाएपछि, रेडियोमा समाचार आउने समयतिर आफ्नो कोटको टाँक लगाएर र स्कुलको झोला बोकेर आउँथिन् । मेरी आमाले उनलाई स्याउ, केही बिस्कुट वा खाना खाएर बाँकी रहेको कुनै कुरा दिनुहुन्थ्यो । उनी असाध्यै आदरका साथ ‘म्याडम’ भन्दै धन्यवाद दिन्थिन् । “उनको बानीव्यहोरा कति राम्रो छ !” मेरी आमा छक्क पर्दै भन्नुहुन्थ्यो, किनभने मेरी–पउलको परिवार त्यस्ता साना कुरामा धेरै ध्यान दिने खालको थिएन र उनीहरू सधैं आफ्नो औकातभन्दा बढी खर्च गर्थे । त्यो चाहिँ हाम्रो भन्दा ठ्याक्कै उल्टो थियो ।
बाटोमा, हामी रु डे ला रिपब्लिक हुँदै जान्थ्यौं ताकि म अन्तिमको केही सय मिटर मेरो कक्षाको साथीसँग सँगै हिँड्न सकूँ । फर्किंदा भने हामी रु रोजर–सालेन्ग्रोको बाटो आउँथ्यौं । मेरीको महिना सुरु भइसकेको थियो । मदर सुपेरियर (मुख्य नन) ले शान्त र मसिनो स्वरमा “हेल मेरी, फुल अफ ग्रेस” भन्थिन् र विद्यार्थीहरूले एकैस्वरमा “होली मेरी, मदर अफ गड” भनेर जवाफ दिन्थे । कहिलेकाहीँ एकअर्कालाई चिमोट्ने वा काउकुती लगाउने केटीहरूको हाँसो सुनिन्थ्यो । तर किन्डरगार्टेनका साना केटाकेटीलाई यो रमाइलोमा सामेल हुने अनुमति थिएन । साढे एक बजे, म मेरी–पउललाई स्कुलको प्राङ्गणमा छोडिदिन्थे र दिनको अन्त्य नभएसम्म उनको बारेमा सोच्दिनथिएँ ।
रु रोजर–सालेन्ग्रो शान्त, लगभग सुनसान हुन्थ्यो । त्यहाँ गोदामका पर्खालहरू र घरका पछाडिका भागहरू थिए । यसका अगाडिका ढोकाहरू समानान्तर सडकतिर खुल्थे । त्यहाँ एउटा क्याफे मात्र थियो । त्यो जुन भर्खरै एउटा ‘खराब यौन काण्ड’का कारण बन्द गरिएको थियो, अनि एउटा दन्त चिकित्सकको क्लिनिक थियो । मेरी–पउल घर फर्कन पाएकोमा खुसी हुँदै छिटोछिटो र फुरुङ्ग पर्दै हिँड्थिन् । म अलिअलि जिस्क्याउँदा पनि उनी खासै बोल्दिनथिन् । उनीसँग हिँड्दा रमाइलो हुँदैनथ्यो र उनले गर्दा मेरो दिउँसोको कल्पनामा हराउने बानी पनि छुट्दै गएको थियो । यस्तो चाहिँ म स्कुलबाट घर फर्कंदा सधैं गर्थें ।
मलाई थाहा छैन यो सब कसरी वा कुन दिन सुरु भयो तर मलाई त्यो ठाउँ याद छः त्यो क्याफेको अगाडि, जसको झ्यालमा सेतो कुरा पोतिएको थियो जसले गर्दा भित्र केही देखिँदैनथ्यो । मैले शिक्षकले जस्तै अर्कै स्वर बनाएर कथा भन्न सुरु गरें हुँला । तर, शिक्षकले जस्तो मैले उनलाई म कथा भन्दैछु भनेर पहिल्यै भनिनँ । मेरी–पउलले मैले भनेका सबै कुरा पत्याइन् भने मात्र मलाई रमाइलो लाग्थ्यो । त्यो बन्द क्याफेले मलाई एउटी सानी केटी त्यहाँभित्र भोकभोकै मर्दैछिन् भनेर कल्पना गर्न सिकायो, जसलाई डाकुहरूले थुनेर राखेका छन् र उनी निरन्तर रोइरहेकी छन् । मैले पहिलो पटक आफ्ना कल्पनाहरू यसरी ठूलो स्वरमा बोलेको थिएँ र यसले मलाई निकै उत्साहित बनायो । मेरी–पउलले तुरुन्तै मेरी कुरा सुन्न थालिन्, मानौं उनी यही सुन्न पर्खिरहेकी थिइन् । उनले त झन् धेरै प्रश्नहरू पनि सोध्न थालिन्ः यो किन, त्यो किन, यस्तै यस्तै ।
मलाई सबैभन्दा मन परेको कुरा के थियो भने म उनलाई जे कुरा पनि पत्यारिलो बनाउन सक्थें । मैले सडकका कुरा वा बाटोमा हिँड्ने मान्छेहरू देखाएर मनगढन्ते कुरा बनाउन सुरु गरे मात्र पुग्थ्यो । यो तरिका मलाई निकै सजिलो लाग्यो । मलाई धेरै रमाइलो भइरहेको थियो र हाम्रो घर फर्कने बाटो अब रमाइलो हुन थालेको थियो । एक रात, मेरो बुबाले मलाई भन्नुभयो, उहाँले हामीलाई देख्नुभएको थियो । “तिमी त एउटी सानी शिक्षिका जस्तै देखिन्थ्यौ !”
केही समयपछि, एउटै मात्र कथाका पात्रहरू बनाउँदा मलाई दिक्क लाग्न थाल्यो । मैले याद गरें‑ मेरी–पउल फेरि उही जिद्दी बच्चाजस्तै देखिन थालेकी थिइन् जसलाई जतिसक्दो चाँडो आमाकोमा पुग्ने मात्र हतार थियो । उनी हाँस्दा पनि उनको अनुहारमा एक किसिमको हार देखिन्थ्यो । मैले उनलाई कहिल्यै कोट खोल्न लगाउन सकिनँ, उनी केवल कोटको टाँक मात्र खोल्थिन् । उनको भनाइ अनुसार, उनकी आमाले उनलाई घरबाट निस्कँदा यसरी नै लुगा लगाइदिएकी थिइन् । त्यो गर्मीको समय थियो । एक दिन, मैले क्याफेको अलि पर एउटी कालो कपाल र लामालामा नङ भएकी बच्चा चोर्ने महिला ढुकेर बसेकी हुन्छे भनेर नयाँ कथा बनाएँ । त्यसले बच्चाहरूलाई हात समातेर धेरै टाढा लैजान्छे र आमाबुबाले आफ्ना छोरीहरूलाई कहिल्यै भेट्दैनन् । मेरी–पउल चुप लागिन् । त्यसपछि मैले उनले पाइला सुस्त बनाएको महसुस गरें । उनको अनुहार डरले रातोपिरो भयो । उनी चिच्याउन थालिन् । त्यो निकै ठूलो, शक्तिशाली र नरोकिने चित्कार थियो, यस्ती सानी केटीको मुखबाट त्यस्तो आवाज आउँछ भनेर मैले कहिल्यै कल्पना पनि गरेकी थिइनँ । उनले आफ्नो सम्पूर्ण तागत लगाएर मेरो हात तानिन् र मैले उनलाई छोडिदिनु प¥यो । उनी आफ्नो स्कुलको झोलामाथि भुइँमा लडीबुडी गर्न थालिन् । मैले उनलाई उठाउन निकै कोसिस गरें । उनी मबाट उम्किएर फेरि भुइँमा लड्थिन् । त्यही बेला मैले देखें, उनले प्यान्टमै पिसाब फेरेकी थिइन् । मैले उनको खल्तीबाट रुमाल निकालें, उनको अनुहार पुछिदिंएँ, नाक सफा गर्न लगाएँ र उनलाई म्वाइँ खाएँ । हामी उनको घर पुग्दासम्म, त्यहाँ के भएको थियो भन्ने कुनै नामोनिसान थिएन ।
भोलिपल्ट रु सालेन्ग्रोको साटो रु डे ला रिपब्लिक हुँदै घर गएको भए, त्यो कथा त्यहीं सकिने थियो । तर हाम्रो बाटो फेर्ने कुरा सम्भव थिएन । हामी हिजोको दिन अरू दिन जस्तै सामान्य थियो जस्तो गरी चुपचाप आ–आफ्नो झोला बोकेर हिँड्यौं । तैपनि हामी दुवैको मनमा त्यही कुरा खेलिरहेको थियो । कुन बेला म ती कालो कपाल भएकी बच्चा चोर्ने महिलाको कुरा झिक्छु, जो क्याफेको सेतो झ्याल पछाडि हामीलाई ढुकेर बसेकी छे । मैले एउटा मात्र वाक्य बोलेपछि अघिल्लो दिन जस्तै उनी रुन र खुट्टा बजार्न सुरु गरिहाल्थिन् ।
स्कुलका अरू सबै दिनहरूमा पनि यो क्रम यसरी नै चलिरह्यो । स्कुल जाँदा हामी रु डे ला रिपब्लिक हुँदै जान्थ्यौं र म साथीलाई भेट्ने भएकोले हामीले केही गर्न सक्दैनथ्यौं । जे होस्, हाम्रो दैनिकी सेट भइसकेको थियो । हामीले यो सब स्कुल छुटेपछि, फुर्सदमा गर्नको लागि साँचेर राख्नु पथ्र्यो । दिनभरि म यो कुरा कहिल्यै सम्झिन्नथिएँ । म डजबलि खेल्थें र व्याकरण अनि हिसाबका कक्षाहरू ध्यान दिएर सुन्थें । घण्टी बज्नेबित्तिकै, आकाशतिर फैलिएको हरियाली भित्ताको छेउमा राम्रो ठाउँ ओगट्न म हतार–हतार गुफातिर जान्थें । प्रार्थना चलिरहँदा हामीले बादल हेर्दै गर्दा यस्तो लाग्थ्यो मानौं हामी कुनै कोक्रोमा छौं । साढे चार बजे, म मेरी–पउललाई बेन्चबाट तल हामफाल्न मद्दत गर्थें र हामी हात समातेर बाटो लाग्थ्यौं, म कुनै निर्दोष जस्तो र उनी सबै कुरा बिर्सिएकी बिरामी जस्तो । उनको सीधा कपाल र खैरो कोटमा उनी सेन्ट बर्नाडेट जस्तै देखिन्थिन् ।
पक्कै पनि, त्यो बच्चा चोर्ने आइमाई लामो समय एक्लै रहिन । क्रुर भालु क्रोकोनोक र हातमा मासु काट्ने चक्कु बोकेको मान्छे पनि रु सालेन्ग्रोको कुनामा देखा पर्न थाले । उनीहरूको पासोमा नपर्नको लागि, मैले मेरी–पउललाई टाउको झुकाएर, खुट्टाको औंलाको भरमा सुस्तरी हिँड्न र सबैभन्दा महŒवपूर्ण कुरा, नरुन सल्लाह दिन्थें । तर त्यो त उनी रुन र चिच्याउन सुरु गर्ने संकेत पो हुन्थ्यो ! उनी भुइँमा ढल्थिन् र एक कदम पनि अगाडि बढ्न मान्दिनथिन् । म उनको आँखा पुछिदिन्थे, म्वाइँ खान्थें, अनि बल्ल हामी शान्त भएर अगाडि बढ्न सक्थ्यौं । उनी आफ्नी आमालाई गुनासो गर्छिन् भन्ने मलाई रत्तिभर डर थिएन । मलाई लाग्थ्यो, यो उनी र मेरो बीचको एउटा गोप्य कुरा हो । उनले भन्न पनि के सक्थिन् र ? मैले उनलाई कुटेकी वा चिमोटेकी थिइनँ र बाटो काट्दा पनि राम्ररी ध्यान दिन्थें । उनी त अस्तित्वमै नभएका मान्छेहरूको धम्की सम्झेर रोइरहेकी हुन्थिन्; जसलाई आमाबुबाहरूले ‘बिना कारण रोएको’ भन्छन् । मलाई लाग्थ्यो, शब्दको कुरा गर्दा जे पनि भन्न पाइन्छ । कहिलेकाहीँ बाटो हिँड्ने कुनै महिलाले यति धेरै रोइरहेकी सानी केटी मेरी बहिनी होली भनेर शंका गर्थिन् । मेरी–पउल झन् ठूलो स्वरमा चिच्याउँथिन् र ती महिला आफ्नो काँध झड्कार्दै बाटो लाग्थिन् । एउटै मात्र समस्या भनेको उनको पिसाबले भिजेको भित्री लुगा हुन्थ्यो ।
एक दिन, चर्चको सुसमाचार भाषणको समयमा मेरी–पउल आइनन् । प्रार्थना भइरहँदा पनि मेरो मनमा अनेक कुरा खेलिरहेको थियो । घर पुगेपछि मेरी आमाले मलाई मेरी–पउल अक्टोबरसम्म स्कुल जाने छैनन् भन्ने बताउनुभयो । उनी धेरै सानी भइन् र किन्डरगार्टेन कक्षा उनको लागि उपयुक्त भएन भन्ने उनको धारणा थियो । उनलाई नजिकैको सरकारी स्कुलमा पठाइनेछ ।
मे महिना सकिन लागेको थियो । म पहिलो कम्युनियन रिट्रिटको लागि निस्कनै लागेकी थिएँ । एक साँझ, म एक्लै रु रोजर–सालेन्ग्रोको धुलो उड्ने बाटोमा हिँडिरहेकी थिएँ । म चर्चमा ती केटाहरूसँग बिताउने दिनहरूको कल्पना गर्दै थिएँ जसले हामीलाई घुरेर हेर्ने, धकेल्ने र जिस्काउने गर्थे । क्याफेको झ्यालहरू सफा गरिएका थिए । त्यहाँबाट भित्रको खाली ठाउँ प्रस्ट देखिन्थ्यो । म विस्तारै, केही नसोची हिँडिरहेकी थिएँ । मेरी–पउलले अब मेरो हात कहिल्यै समात्ने छैनन् । मैले उनलाई गुमाएकी थिएँ । म निकै निराश भएर रोएँ ।
म अझै पनि बगैंचाको छेउमा रहेको त्यो गुफा, अनि कहिल्यै नसकिने जस्तो लाग्ने त्यो खैरो रु सालेन्ग्रो सडक र दुई जना केटीहरू हिँडिरहेको देख्न सक्छु । एउटी सानी र एउटी ठूली केटी, किनभने, मेरो सम्झनामा, म आफैं पनि मेरा लागि एउटा पात्र हुँ ।
मैले दश वर्षको उमेरको यो घटना यहाँ यसकारण सुनाएँ ताकि म किन लेख्न चाहन्थें भनेर बुझ्न सकूँ, तर अन्ततः यो पनि केवल एउटा कथा नै हो ।

अनुवादः अच्युत कोइराला

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप साहित्य