संसद्मा बालेनको अभिव्यक्तिले बजेटको चर्चालाई पनि फिक्का बनाइदियो । प्रधानमन्त्री बोल्ने क्रममा असावधानीले चिप्लिएका हुन् भने यो उनले गम्भीर त्रुटि गरे । रणनीतिको तहमा बुझेर नै बोलेका हुन् भने राष्ट्रका लागि योभन्दा घातक अभिव्यक्ति अरू हुन सक्दैन । प्रधानमन्त्रीले संसद्को रोष्टममा उभिएर बेलैमा यसलाई सच्याउने वा स्पष्ट पार्ने काम गरे राम्रो होला ।
सत्तारूढ दल रास्वपाले पनि प्रमको अभिव्यक्तिलाई ढाकछोप गर्नेतर्फ नलागेर देशहितलाई ध्यानमा राखेर बेलैमा आफ्नो स्पष्ट धारणा जारी गर्नु उचित हुन्छ । तर, यो पंक्तिकार यहाँ प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति र बजेटबारे चर्चा गर्न गइरहेको छैन । देशलाई पहिलो जननिर्वाचित प्रधानमन्त्री दिने र पहिलो बजेट पेस गर्ने देशको इतिहासको गौरवशाली तर वर्तमानमा पतनको डिलमा पुगेको राजनीतिक दल नेपाली कांग्रेसको दशा र दिशाहीनताका बारेमा निर्मम ढंगले सुझावसहित थोरै टिप्पणी गर्ने प्रयास गर्दैछु ।
पार्टीका पूर्व र वर्तमान नेतृत्व पंक्तिले गम्भीर भएर सोचे र यहाँ प्रस्तुत सुझावलाई अवलम्बन गरे यो लेख केवल एउटा कोरा टिप्पणीमात्र हुने छैन, नेपाली कांग्रेसलाई बचाउने एउटा आधार पनि हुनेछ ।
पतनको बाटोमा कांग्रेस
नेपाली कांगे्रस आफ्नो ८० वर्षको इतिहासमा सबैभन्दा कठिन दौडबाट गुज्रिरहेको छ भन्ने कुरामा कसैलाई द्विविधा नहोला । कांग्रेस इतिहासमा यति कमजोर त लुकेर संगठन गर्नुपर्ने ३० वर्षे प्रतिबन्धित पञ्चायत कालमा पनि थिएन । त्यसबेला संगठन कमजोर थियो होला तर राष्ट्रिय राजनीतिमा प्रतिबन्धित नेपाली कांग्रेसको ओज अभूतपूर्व थियो, नैतिकवान् एवं त्यागी नेताको उच्च छवि थियो । समाजमा म कांग्रेसी हुँ भनेर हिँड्दा गौरवको अनुभूति हुन्थ्यो, सम्मान हुन्थ्यो । तर, आज कांग्रेसको त्यो ऐतिहासिक ओज र उज्यालो छवि समाप्त भएको छ । नेता र कार्यकर्तामा निष्ठा, सदाचार, नैतिकता र त्यागको भावना पनि समाप्त भएको छ । निष्ठावान् कांग्रेसीलाई म कांग्रेसी हुँ भनेर समाजमा शिर ठाडो गरेर हिँड्न सक्ने अवस्था छैन ।
बाह्य दबाब र उग्र–राजनीतिक महŒवाकांक्षाबाट प्रेरित भएर हतारमा असामयिक विशेष महाधिवेशनको चक्रव्यूह रचना गरेर नेपाली कांग्रेसको सभापति बनेका गगन थापाको कारणले मात्र नेपाली कांग्रेस आजको दयनीय र इतिहासकै सबैभन्दा कमजोर स्थितिमा आइपुगेको हो भनेर भन्यौं भने त्यो सर्वथा अनुचित टिप्पणी हुन्छ । दशकौंदेखि पार्टीले अँगालेको सिद्धान्त, नीति र राजनीतिक अडान अनि यसको अक्षम, भ्रष्ट र चरित्रहीन नेतृत्वका कारण नेपाली कांग्रेस आजको विसर्जनको मोडमा आइपुगेको हो भन्ने कुरा घामजत्तिकै छर्लंग छ । जुन पार्टीको ५ पटक प्रधानमन्त्री बनेका र निरन्तर ९ वर्ष सभापति भएका व्यक्ति आज हङकङमा मुख लुकाएर बस्नुपरेको छ भने सिंगो कांग्रेसको दशा आज कस्तो होला हामी सहजै अनुमान गर्न सक्छौं ।
पार्टी पतनको लामो शृंखलामा गगन थापा अन्तिम पात्र मात्र हुन् । ०४६ सालको राजनीतिक परिवर्तनदेखि नै कांग्रेसले पतनको बाटो रोजेको हो । त्यसबेला सर्वोच्च नेता गणेशमान सिंह, सभापति कृष्णप्रसाद भट्टराई र ०४८ को आमनिर्वाचनपछि पहिलोपटक प्रधानमन्त्रीको बागडोर सम्हालेका गिरिजाप्रसाद कोइराला, यी तीन नेता मिलेर देश हाँकेको भए सायद देश आजको जस्तो दुरावस्थामा हुने थिएन । गिरिजाबाबु र देउवाको चरम सत्तामोहले कांग्रेसलाई थप पतनको बाटोमा उन्मुख बनायो भने थापाको पछिल्लो कदमले कांग्रेसलाई पतनको डिलमै पु¥यायो ।
विशेष महाधिवेशनपछि आमरूपमा प्रष्टसँग देखिने गरी अहिले कांग्रेसमा तीन समूह देखिएका छन् । गगन थापाले नेतृत्व गरेको कथित संस्थापन समूह, पूर्णबहादुर खड्का नेतृत्वको देउवा समूह र शेखर समूह । यी समूह पार्टी एकताको सुरतालबिनाको गीत त गाइरहेका छन् तर वास्तवमा पार्टी विभाजनको रिहर्सल गर्दैछन् भन्ने अनुभूति भइरहेको छ । विशेषगरी थापा र खड्का समूहको आन्तरिक गतिविधिलाई नियालेर हेर्दा पार्टी विभाजनको निकट देखिन्छ । यी कसैसँग १५औं महाधिवेशनमा पार्टी नेतृत्व कसरी हत्याउने भन्ने दाउबाहेक चरम संकटमा परेको पार्टीलाई एकताबद्ध बनाउँदै कसरी बचाउने भन्ने कुनै ठोस योजना र दृष्टिकोण छैन ।
गगन थापाको राजनीतिक शैली र रफ्तारलाई नियालेर हेर्दा उनी सबैलाई समेटेर पार्टीमा एकता निर्माण गर्ने पक्षमा बिल्कुलै देखिँदैनन् । पार्टीको भविष्यप्रति उनी गम्भीर हुन्थे भने पार्टीमा बृहत् एकता नबनाई राष्ट्रियसभामा कांग्रेस संसदीय दलको नेता फेर्ने, क्रियाशील सदस्यको सनाखत गर्ने, भ्रातृसंस्थाको गठनलगायतको खुद्रा काममा लाग्ने थिएनन् ।
एकछिनलाई मानौं, कांग्रेसमा चमत्कार नै भयो र अभूतपूर्व एकता भयो भने पनि १२ बुँदेयता पार्टीले लिएको सिद्धान्त, नीति र राजनीतिक अडानको मार्गमा हिँडेर कांग्रेसले राष्ट्रिय राजनीतिमा आफ्नो गुमेको साख फिर्ता गर्न सक्ने छैन । आफ्नो औचित्य पुनःस्थापित गर्न सक्ने छैन ।
सत्ता र शक्तिको नशामा डुबेर विशेष गरेर १२ बुँदे समझदारीयता कांग्रेसले आफ्ना फाउण्डिङ प्रिन्सिपल, बीपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई परित्याग गरेर बामपन्थी भासमा फसेपछि नै कांग्रेसले चरम पतनको बाटो समातेको हो । यो ऐतिहासिक भुललाई स्वीकार गर्दै अब हामीले आफ्नो राजनीतिक रोड करेक्सन गर्नै पर्छ भनेर आत्मबोध भयो र राष्ट्रिय एकता र मेलमिलापको नीतिको अधीनमा कांग्रेसलाई सांगठनिक दृष्टिले मात्र होइन, वैचारिक दृष्टिले समेत पार्टीको पुनर्गठन गर्न तयार हुने हो भने राष्ट्रिय राजनीतिमा कांग्रेस बौरिन सक्छ, यसको औचित्य पुनः स्थापित हुनसक्छ, यो अवस्थामा गगन थापालाई नेता मान्दा पनि फरक पर्दैन । अन्यथा यथा अवस्थामा बीपी वा किसुनजी स्वयं स्वर्गबाट ओर्लेर कांग्रेसको नेतृत्व गरे पनि कांग्रेस उठ्न सम्भव छैन ।
कांग्रेसका शृंखलाबद्ध भुल
नेपाली कांग्रेसले बीपी कोइरालाले दिनुभएको दिव्य वाणी– ‘जुन दिन पार्टीले विचार र सिद्धान्त छोडेर केवल सत्ताको राजनीति गर्ने छ, यस दिनबाट नेपाली कांग्रेसको औचित्य सकिने छ’ भने जस्तै अहिले राष्ट्रिय राजनीतिबाट कांग्रेसको औचित्य सकिएको छ । २०५१ सालदेखि नै विचार र सिद्धान्त छोडेर केवल सत्ताको राजनीति गर्न थालेदेखि नै कांग्रेसले राष्ट्रलाई सही दिशा दिन चुक्दै आएको हो । आफ्नो पार्टीको आन्तरिक झगडा मिलाउन नसकेर ०५१ सालमा संसद् विघटन गर्नु तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ठूलो भुल थियो । यहींबाट नेपाली राजनीतिमा हाइब्रिडको अस्थिरताको शृंखला प्रारम्भ भयो । पार्टीको आन्तरिक झगडाकै कारण देउवाले ०५९ सालमा पार्टीको बहुमत रहेको संसद् विघटन गर्नु, कांग्रेस विभाजन गर्नु अर्को ऐतिहासिक भुल थियो ।
राजा ज्ञानेन्द्रको माघ १९ को कदमका विरुद्ध देशका प्रजातान्त्रिक एवं राष्ट्रवादी शक्तिलाई संगठित गर्दै त्यो कदमविरुद्ध संघर्ष गर्न अग्रसर नभएर कम्युनिष्ट पार्टीको बाहुल्यता रहेको ७ दलीय गठबन्धन निर्माण गर्नु र त्यो गठबन्धनमा बाह्य शक्तिकै योजनामा स्थापित एवं परिचालित भएर नेपालमा हिंसात्मक सशस्त्र द्वन्द्व गरिरहेको कम्युनिष्ट पार्टीलाईसमेत मिसाउनु नेपाली कांग्रेसको अर्को अक्षम्य भुल थियो । यसो भनिरहँदा नेपालका राजाहरू राजा महेन्द्र, वीरेन्द्र र पछिल्ला राजा ज्ञानेन्द्रको कुनै भुल नै थिएन, कांग्रेसको मात्र भुल थियो भनेर भन्न खोजेको होइन । यसको चर्चा पछि गर्दै रहांैला । राजाहरू संवैधानिक मर्यादामा नबसेर राजनीतिमा ज्यादा अग्रसर भएकै कारणले विगतमा प्रजातन्त्रले स्थायित्व पाउन नसकेको यथार्थ छँदैछ । तर, राजाले गरेको गल्तीमा सिंगो राजसंस्थालाई दण्डित गर्नु वा षड्यन्त्रको तहमा नेपाली कांग्रेस गणतन्त्रको मतियार बन्नु कांग्रेसको अर्को अक्षम्य ऐतिहासिक भुल थियो । यी यस्ता राजनीतिक भुलप्रति सिक्ने, आत्म–समीक्षा गर्ने र राजनीतिक रोड करेक्सन गर्नेतर्फ सत्ता र शक्तिको दलदलमा फसेको यसको नेतृत्व कहिल्यै जिम्मेवार भएन, यो नै कांग्रेसको सबैभन्दा ठूलो विडम्बना हो, दिवालियापन हो ।
कांग्रेसी हो, खोई आत्म–समीक्षा !
नेपाली कांगे्रसले हामी देशको प्रमुख प्रजातान्त्रिक शक्ति हौं, २००७ सालको जनक्रान्ति गर्ने शक्ति हामी नै हौं, ०४६ सालमा हाम्रै नेतृत्वमा भएको जनआन्दोलनले बहुदलीय व्यवस्था पुनःस्थापित ग¥यो, राजा ज्ञानेन्द्रको माघ १९ को निरंकुश कदमका विरुद्ध सफल आन्दोलनको नेतृत्व हामीले नै ग¥यौं । माओवादीलाई १० वर्षे हिंसात्मक द्वन्द्वबाट शान्तिको बाटोमा ल्याउने शक्ति हामी नै हौं भनेर दाबी गर्दै ०६४ को पहिलो संविधानसभा निर्वाचनमा जनताका बीचमा भोट माग्दा नेपाली जनताले प्रत्यक्षतर्फको २४० सिटमा नेपाली कांग्रेसलाई केवल ३७ सिटमा किन सीमित गरे ? त्यतिका राजनीतिक उपलब्धिका साथ आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेको दललाई जनताले भारी मत दिएर जिताउनुपर्ने ? किन लज्जास्पद ढंगले पराजित गरे ? त्यसको पार्टी जीवनमा कहिल्यै आत्म–समीक्षा ग¥यौ ? गरेनौ ।
पटक–पटकको कम्युनिस्ट पार्टी नेतृत्वको सरकारले पहिलो संविधानसभाबाट देशलाई संविधान दिन असफल भए । नेपाली कांग्रेस दोस्रो संविधानसभामा सबैभन्दा ठूलो दलका रूपमा उपस्थित भएपछि नेपाली कांग्रेस नेतृत्वको सरकारले देशलाई संविधान दिन सक्यो भनेर त्यसको समेत जसको दाबी गर्दै संविधान जारी भएपछिको पहिलो संसदीय निर्वाचनमा जनताका बीच जाँदा प्रत्यक्षतर्फको १६५ सिटमा कांग्रेस किन २३ सिटमा मात्र समेटिन पुग्यो ? त्यसको समीक्षा कांग्रेसले कहिल्यै गरेन । अहिले त्यो निर्वाचनमा भन्दा केवल ५ सिटमात्र कम भएर १८ सिटमा सीमित भयो । त्यसबेला पार्टी अहिले जस्तो कमजोर र विभाजित पनि थिएन । किन कांग्रेस चुनावमा नराम्रोसँग हा¥यो ? त्यसको यथोचित हिसाबकिताब नेपाली कांग्रेसले कहिल्यै गरेन । कथित कांग्रेस २.० ले निर्वाचनमा यति ठूलो असफलता हात पर्दासमेत न आपूmबाट भएको गल्ती आत्मानुभूति गरेको छ, न राजनीतिक सोच बदलिएको छ ? दम्भ र घमण्डले चुर भएर हिँडेका छन् ।
कांग्रेसको समस्या के हो ? राष्ट्रिय राजनीतिमा कांग्रेस कहाँ चुक्यो ? आज किन कांग्रेस जनताको नजरबाट यसरी निर्मम ढंगले दण्डित भयो ? यसतर्फ कसैको गम्भीरता कहिल्यै देखिएन । कुनै समूहमा बहस, चिन्तन–मनन र आत्म–समीक्षाको चर्चासम्म भएको पाइन्न । अनि यो कांग्रेस कसरी सच्चिन्छ र सम्हालिएर एकताबद्ध भएर अगाडि बढ्छ ? आशा र भरोसा गर्ने ठाउँ देखिन्न ।
आफ्नो औचित्य आफैंले समाप्त ग-यो
नेपाली कांग्रेसले आफ्नो औचित्य आफंैले समाप्त गरेको हो । यो पार्टी संगठनको दृष्टिले मात्र होइन, वैचारिक दृष्टिले समेत टाट पल्टिसकेको छ । सत्ता स्वार्थमा लागेर पार्टीको राष्ट्रवादी एवं प्रजातान्त्रिक दुवै धार भुत्ते भइसकेको छ । यही अवस्थाको कांग्रेस अब देशका लागि आवश्यकताभन्दा बोझ हो । यसले देशको आवश्यकता र कांग्रेसको फाउण्डिङ प्रिन्सिपल र बीपीपथको अधिनमा आपूmलाई पुनः संगठित गर्दैन भने यसको विघटन वा विसर्जन नै देश र देशको प्रजातान्त्रिक आन्दोलनका लागि हितकर हुन्छ । इतिहासमा जे जति गौरवपूर्ण काम ग¥यो, त्यो इतिहासको अध्ययनको विषयमात्र हुनेछ तर वर्तमानमा यथास्थितिको यो पार्टी हुनु नहुनुले देशका लागि कुनै फरक पर्दैन ।
वर्तमान कांग्रेसमा इतिहासको त्यो गौरवशाली सिद्धान्त र स्थान छैन, बीपी कोइरालाको विचार छैन, किसुनजीको जस्तो निष्ठा र समर्पण छैन, गणेशमानको जस्तो साहस र त्याग छैन । गणेशमानजी र किसुनजीले कांग्रेस परित्याग गरेसँगै कांग्रेसमा निष्ठा, सदाचार, त्याग र समर्पणको भाव त्यसै बेलादेखि सकिएको हो । सत्ता र शक्तिको आडमा भ्रष्टाचारमा डुबेको अहिलेको कांग्रेस रस चुसेर फालेको उखुको छोक्राजस्तै भएको छ । कथित विशेष महाधिवेशनपछि गगन थापा सिद्धान्तहीन, आदर्शहीन र रसहीन वामपन्थी कांग्रेसको नेतृत्व सम्हाल्ने प्रयत्न गरिरहेका छन् ।
‘ले ले जनता खुकुरी ले, .... लाई छप्काइदे’ भन्ने नारा लगाउँदै जुन राजनीतिक पृष्ठभूमिबाट वामपन्थी झुकावका साथ गगन थापा राष्ट्रिय राजनीतिमा जबरजस्तसँग उदाए, उनको नेतृत्वमा नेपाली कांग्रेस बीपीपथमा फर्कला भनेर कल्पना गर्न नै सकिन्न । बाँडेगाउँस्थित किसुनजी आश्रम पुगेर मेरो राजनीतिक गुरु भन्दै किसुनजीको सालिकमा माथा ठोक्ने तर किसुनजीको आदर्श र विचारलाई कहिल्यै नपछ्याउने र सम्झौताकै राजनीतिमा रमाउँदै आएका पूर्णबहादुर खड्काबाट पनि कांग्रेसले वैतरणी पार गर्ला भनेर कल्पना गर्न सकिन्न । शेखर कोइराला तुलनात्मक रूपमा कांग्रेसको समस्यालाई बुझेका मानिन्छन् । व्यक्तिगत भेटका क्रममा– ‘यो संविधानले काम गर्दैन, राजसंस्था फाल्नु गल्ती भयो, तपाईंहरूले हिन्दु राज्यको मुद्दालाई बोकिरहनुभएको छ, ठीक गरिरहनुभएको छ ।’ त भन्छन् तर दह्रोसँग खुलेर राजनीतिक रोड करेक्सनको मुद्दालाई हिम्मतका साथ बोकेर अगाडि बढ्न कहिल्यै तत्पर भएनन् ।
नेपाली कांग्रेसले आफ्नो स्थापनाकालदेखि नै संवैधानिक राजसंस्थाको मान्यतालाई एउटा प्रमुख राजनीतिक अडानका रूपमा स्वीकार गर्दै आएको हो । बीपीले राजाहरूले आफूलाई अनेक दुःख–कष्ट दिँदा पनि राजा निकम्मा नै भए पनि नेपालबाट राजसंस्था फाल्ने उद्यम हामीले गर्न हुँदैन, त्यसै भनेका थिएनन् । कांग्रेसको अस्तित्व संवैधानिक राजसंस्थाभित्र नै टिकेको छ । एक प्रकारले कांग्रेसको प्राण राजमुकुटभित्र छ । राजसंस्था फालेदेखि नै कांग्रेस पतनको बाटोमा अगाडि बढेको हो । देशको राष्ट्रियता पनि कमजोर बन्दै गएको हो ।
नेपाली राजनीतिमा प्रजातन्त्रको मूल्यमा कांग्रेस देशको क्रान्तिकारी दल भए पनि समग्र राजनीतिको मामिलामा कांग्रेस देशको एक कन्जरभेटिभ दल नै थियो । कांग्रेसले आफ्नो कन्जरभेटिभ धारलाई छोडेर कम्युनिष्टभन्दा पनि थप क्रान्तिकारी हुन खोज्दा, अरूको नक्कल गर्न खोज्दा नै आज कांग्रेस पतनको डिलमा आइपुगेको हो । यो राजनीतिक यथार्थको तत्वज्ञान यसका नेतालाई भयो र कांग्रेसलाई आफ्ना स्थापनाकालीन सिद्धान्त, बीपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको नीति, महान् संस्थापक नेताहरू सुवर्ण शमशेर, गणेशमानजी, किसुनजी, सूर्यप्रसाद उपाध्याय आदि नेताको पदमार्गको अधीनमा ल्याउन तयार भयो भने नेपाली कांग्रेस फेरि जुरुक्क उठ्न सक्छ । इतिहासको आफ्नो गौरवशाली स्थान फेरि पाउन सक्छ । कांग्रेसको नेतृत्वमा देशका प्रजातान्त्रिक एवं राष्ट्रवादी शक्तिलाई एक ठाउँमा ल्याएर देशलाई बचाउन कांग्रेसले नेतृत्व गर्न सक्छ । अन्यथा देशको नियति नै यस्तै रहेछ, ८० वर्षमा नेपालको राष्ट्रिय राजनीतिबाट नेपाली कांग्रेसको भूमिका सकियो भनेर चित्त बुझाउँदै भारी मन लिएर कांग्रेस पतनलाई भोग्न विवश हुनुपर्छ । जय नेपाल !
(लेखक ढकाल नेपाली कांग्रेसका नेता हुन् ।)