नेभिगेशन
दृष्टिकोण

आगामी स्थानीय निर्वाचनः जनताले कस्ता नेताको खोजी गरिरहेका छन् ?

नेपालमा आगामी स्थानीय निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरू फेरि आफ्ना वाचा, नाराबाजी र विकासका योजनाहरू दोहो¥याउन थालेका छन् । चुनावी भाषणहरूमा सडक, खानेपानी, पूर्वाधार, रोजगारी, नगर तथा वडाको विकासजस्ता विषयहरू प्रमुख रूपमा उठ्ने निश्चित छ तर यी राजनीतिक भाषण र नाराभित्र नेपाल समाजमा गहिरो रूपमा परिवर्तन भइरहेको एउटा महŒवपूर्ण यथार्थ पनि लुकेको छ । 
विशेषगरी नयाँ पुस्ता अर्थात् जेनजी, अब आफ्नो आवाज बलियो रूपमा उठाइरहेको छ र जनताले नयाँ शैलीको स्थानीय तहमा नेतृत्व खोजिरहेका छन् । नेपालमा पछिल्ला वर्षहरूमा स्थानीय तहमा शासन प्रणालीप्रति असन्तुष्टि, भ्रष्टाचार, बेरोजगारी, राजनीतिक अस्थिरता र दीर्घकालीन राष्ट्रिय दृष्टिकोणको अभावप्रति जनगुनासो बढ्दै गएको छ । सामाजिक सञ्जालका बहस, स्वतन्त्र राजनीतिक अभियान, सार्वजनिक प्रदर्शन र नागरिक सक्रियताले देखाउँछ कि स्थानीय जनता अब मौन छैनन् । विशेषगरी युवापुस्ताले पुराना राजनीतिक अभ्यासलाई चुनौती दिइरहेका छन् । उनीहरू पार्टीको झण्डाभन्दा पनि क्षमता, इमानदारी र उत्तरदायित्वका आधारमा नेतृत्वको मूल्यांकन गर्न चाहन्छन् । आजको जेनजी पुस्ता केवल आलोचना गर्ने पुस्ता होइन, परिवर्तन खोज्ने पुस्ता हो । 
अव्यवस्थित सहरीकरण, कमजोर सार्वजनिक सेवा, वातावरणीय क्षति, अवसरको अभाव र निरन्तर युवा पलायनले उनीहरूलाई निराश बनाएको छ । युवा धेरैलाई राजनीति अब जनसेवाभन्दा पनि शक्ति र स्वार्थको खेलजस्तो लाग्न थालेको छ । त्यसैले उनीहरू यस्तो स्थानीय प्रणाली चाहन्छन् जसले वास्तवमै जीवनस्तर सुधार गरोस् । बदलिँदो राजनीतिक परिवेशमा यही चुनावमा जाने नेतृत्वले एउटा कुरा गहिरोसँग बुझ्न जरुरी छ, जनताले अब केवल आश्वासन होइन, दृष्टि, इमानदारी, सहभागिता र परिणाम खोजिरहेका छन् । अझ महŒवपूर्ण कुरा, नेपाली समाजमा अहिले ‘हामीलाई कस्ता नेता चाहिन्छ ?’ भन्ने चेतना तीव्र रूपमा विकास भइरहेको छ ।
आज सबैभन्दा नागरिकहरूको ठूलो अपेक्षा भनेको इमानदार नेतृत्व हो । भ्रष्टाचारका काण्ड, सार्वजनिक स्रोतको दुरुपयोग, कागजमै सीमित विकास योजनाहरू र राजनीतिक स्वार्थले जनता दिक्क भइसकेका छन् । ठूला भाषण र आकर्षक नाराले मात्र अब विश्वास जित्न सक्दैन । जनता त्यस्ता नेताहरू चाहन्छन् जो पारदर्शी, जिम्मेवार र सार्वजनिक स्रोतप्रति उत्तरदायी हुन् । आजको नेपालमा इमानदारी नै एउटा बलियो राजनीतिक माग बनेको छ । त्यसैगरी, जनता अब केवल भाषण गर्ने होइन, समाधान दिने नेता खोजिरहेका छन् । सहरका सडक, ढल, फोहोर व्यवस्थापन, सार्वजनिक सेवा र योजनाविहीन सहरी विस्तारजस्ता समस्या अझै उस्तै छन् । नागरिकले वर्षौंसम्म आधारभूत पूर्वाधार सुधारको प्रतीक्षा गरिरहेका छन् । त्यसैले मतदाताले अब नेता कति भावुक बोल्छन् भन्दा पनि कति काम गर्न सक्छन् भन्ने कुरामा ध्यान दिन थालेका छन् । योजना निर्माण क्षमता, प्रशासनिक दक्षता र कार्यान्वयन क्षमता अब धेरै महŒवपूर्ण बन्दै गएको छ । जेनजी पुस्ताले विशेषगरी आफूभन्दा धेरै टाढा रहने नेताहरू मन पराउँदैन । नेपालको राजनीतिक संस्कृतिमा चुनावपछि नेता र जनताबीच दूरी बढ्ने प्रवृत्ति देखिँदै आएको छ तर आजको पुस्ता त्यस्ता नेताहरू चाहन्छ जसले जनताको कुरा सुन्छन्, खुला रूपमा संवाद गर्छन्, आलोचना स्वीकार गर्छन् र प्रत्यक्ष रूपमा जनतासँग जोडिन्छन् । घमण्ड, शक्ति प्रदर्शन र पहुँचवादमा आधारित नेतृत्व शैलीलाई युवाहरूले अस्वीकार गर्न थालेका छन् । उनीहरू सरल, आधुनिक र जनमुखी नेतृत्वको खोजीमा छन् । अर्को महŒवपूर्ण अपेक्षा भनेको दूरदर्शी नेतृत्व हो र नागरिकहरूले बुझ्न थालेका छन् कि चुनावअघि सडक बनाउनु मात्रै विकास होइन । उनीहरू योजनाबद्ध, दिगो, व्यवस्थित र समृद्ध नगरपालिका चाहन्छन् र नेतृत्व खोजिरहेका छन् जसले चुनावी चक्रभन्दा धेरै परको भविष्य देख्न सकोस् । त्यसैले स्थानीय नेताहरूले केवल देखिने संरचना होइन, जनताको जीवनस्तर सुधार्ने दीर्घकालीन प्रणाली निर्माणको सपना देख्नुपर्छ ।
नेताहरूको स्थानीय तहमा पहिलो ठूलो सपना युवाहरूको जीवनमा आशा फर्काउने हुनुपर्छ तर हरेक वर्ष हजारौं शिक्षित नेपाली युवा अवसरको खोजीमा विदेश जान बाध्य भइरहेका छन् । वैदेशिक रोजगारीले धेरै परिवारको जीवन धानेको भए पनि यसले नेपालप्रतिको भविष्यप्रतिको निराशा पनि देखाउँछ । स्थानीय सरकारले सबै राष्ट्रिय समस्या समाधान गर्न नसके पनि युवालाई बस्न, सिर्जना गर्न र योगदान दिन प्रेरित गर्ने वातावरण निर्माण गर्न सक्छ । उद्यमशीलता प्रवर्धन, सीप विकास, डिजिटल नवप्रवर्तन, खेलकुद पूर्वाधार, सिर्जनात्मक उद्योग र रोजगारी सिर्जना स्थानीय तहको प्राथमिकतामा पर्नुपर्छ । दोस्रो, स्थानीय नेताहरूले सुशासन र पारदर्शिताको सपना देख्नुपर्छ । जेनजी पुस्ता डिजिटल माध्यममार्फत अत्यन्त सचेत छ । उनीहरू भ्रष्टाचार र प्रशासनिक कमजोरीबारे सजिलै जानकारी राख्छन् । परम्परागत भाषणले मात्र अब युवालाई प्रभावित पार्न सकिँदैन । जनता स्पष्ट योजना, पारदर्शी बजेट, अनलाइन सार्वजनिक सेवा र जवाफदेही शासन चाहन्छन् । त्यसैले स्थानीय तहमा डिजिटल शासन प्रणाली र नागरिक सहभागितालाई अझ सुदृढ बनाउनु आवश्यक छ ।
सम्मान र समावेशिता पनि युवापुस्ताको ठूलो चाहना हो र राजनीतिक निर्णयहरूबाट प्रभावित हुने नागरिकहरू आफैं निर्णय प्रक्रियाबाट टाढा भएको महसुस गर्छन् । अब युवालाई केवल चुनावी अभियानका स्वयंसेवक वा सामाजिक सञ्जालका समर्थकका रूपमा मात्र प्रयोग गरेर पुग्दैन । उनीहरूलाई योजना निर्माण, नवप्रवर्तन, वातावरण अभियान र स्थानीय विकास कार्यक्रममा अर्थपूर्ण रूपमा सहभागी गराइनुपर्छ । यस्ता सहभागिताले समाजमा दीर्घकालीन विश्वास र सकारात्मक ऊर्जा निर्माण गर्छ ।
आजको पुस्ताको वातावरणीय मुद्दा पनि प्रमुख चासो बनेको छ । अनियन्त्रित सहरी विस्तार, बाढी, फोहोर व्यवस्थापन, हरियालीको अभाव र सार्वजनिक खुला ठाउँको कमी अहिले अधिकांश नगरपालिकाका साझा समस्या बनिसकेका छन् तर राजनीतिक रूपमा यी विषयहरू अझै पनि सडक र भवनजस्ता संरचनात्मक परियोजनाको छायामा पर्छन् । भविष्यको विकास केवल कंक्रिट विस्तारमा आधारित हुन सक्दैन भन्ने कुरा दूरदर्शी नेतृत्वले बुझ्नुपर्छ । सफा नदी, प्रभावकारी फोहोर व्यवस्थापन, हरित सार्वजनिक क्षेत्र, विपद् तयारी र दिगो सहरी योजना आज जिम्मेवार शासनको आधार बनेका छन् ।
त्यसैगरी, नागरिकहरू सामाजिक रूपमा जिम्मेवार र भावनात्मक रूपमा परिपक्व नेतृत्व खोजिरहेका छन् । दोषारोपण, टकराव र शक्ति केन्द्रित राजनीति नेपाली राजनीतिका पुराना विशेषता बनेका छन् तर आज धेरै नागरिक सहकार्य गर्न सक्ने, सम्मानपूर्वक संवाद गर्ने र दलभन्दा माथि उठेर जनहितमा काम गर्ने नेतृत्व चाहन्छ । परिणामविहीन राजनीतिक नाटकबाट जनता थाकिसकेका छन् । आजका युवाहरूले स्वतन्त्र राजनीतिक सोच बनाउन थालेका छन् । त्यसैले आगामी निर्वाचनमा उनीहरूले पार्टीको इतिहासभन्दा पनि नेताका काम, व्यवहार, पारदर्शिता र समाजसँगको सम्बन्धका आधारमा मूल्यांकन गर्ने सम्भावना बढेको छ । यो नेपालको राजनीतिक संस्कृतिमा देखिएको ठूलो परिवर्तन हो । जेनजी सपना केवल आर्थिक सफलतामा सीमित छैन । उनीहरू सुरक्षित, सहृदय, सिर्जनात्मक र मानवमैत्री नगरपालिका चाहन्छन् । उनीहरू यस्तो समाजमा बाँच्न चाहन्छन् जहाँ विकाससँगै जीवनको गुणस्तर, सामाजिक सम्मान र मानवीय संवेदनशीलता पनि सुरक्षित होस् । यस सन्दर्भमा स्थानीय निर्वाचन केवल प्रशासनिक पदका लागि हुने राजनीतिक प्रतिस्पर्धा मात्र हुनुहुँदैन, यो नेपाली समाजको भविष्यबारे बहस गर्ने अवसर बन्नुपर्छ । नगरपालिका अब केवल प्रशासनिक संरचना होइन, नागरिकहरूले दैनिक रूपमा लोकतन्त्र अनुभव गर्ने आधार बनेको छ ।
आज नेपालका स्थानीय नेताहरूको लक्ष्य केवल चुनाव जित्नु वा अर्को निर्वाचनअघि केही देखिने योजना पूरा गर्नु मात्र हुनुहुँदैन । उनीहरूको राजनीति जनविश्वास पुनःस्थापित गर्ने, अवसर सिर्जना गर्ने, युवालाई जोड्ने, वातावरण जोगाउने र भावी पुस्ताका लागि सक्षम नगरपालिका निर्माण गर्ने दिशामा केन्द्रित हुनुपर्छ । नेपालका नयाँ पुस्ताले भविष्यतर्फ आशाका साथ हेरिरहेको यो समयमा स्थानीय नेतृत्वले जनताका सपना, निराशा र अपेक्षालाई गहिरोसँग बुझ्न सक्नुपर्छ र यदि स्थानीय शासन जनउत्तरदायी, नवप्रवर्तनशील र जनमुखी बन्न सक्यो भने यही आधारले नेपालको लोकतान्त्रिक भविष्यलाई अझ बलियो बनाउन सक्छ । अन्यथा, राजनीति र जनताबीचको दूरी आगामी वर्षहरूमा अझ बढ्ने खतरा रहिरहनेछ ।
(लेखक केसी एमए इन क्राइसिस म्यानेजमेन्ट कलेजका शिक्षक हुन् ।)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्