नेभिगेशन
विश्व

बाँदरहरूको संसारमा पनि ‘जसको शक्ति उसकै भक्ति’

क्षेत्रीय तनाव र समूहबीचको प्रतिस्पर्धाले केही नर प्राइमेटहरू असाधारण रूपमा ठूला बन्ने प्रक्रियालाई प्रोत्साहन दिएको हुन सक्ने नयाँ अध्ययनले देखाएको छ । धेरै प्राइमेट प्रजातिहरूमा भालेहरू पोथीभन्दा आकारमा ठूला हुन्छन् । यसलाई सामान्यतया एउटै सामाजिक समूहभित्रका नरहरूबीच पोथी प्राप्त गर्न हुने प्रतिस्पर्धाको परिणाम मानिँदै आएको थियो । तर बायोलोजी लेटर्स नामक वैज्ञानिक पत्रिकामा प्रकाशित नयाँ अनुसन्धानले भालेहरूको ठूलो शरीर समूहभित्रको प्रतिस्पर्धाका कारण नभई प्रतिद्वन्द्वी समूहका भालेहरूसँग हुने सम्भावित द्वन्द्वलाई रोक्नका लागि पनि विकसित भएको हुन सक्ने देखाएको छ ।
अक्सफोर्ड विश्वविद्यालयका विकासवादी मानवशास्त्री सिरिल ग्रुएटरका अनुसार परम्परागत व्याख्या पूर्ण छैन । प्राइमेट समूहमा बाँदर र लेमुर लगायतका जनावर पर्छन् । यीमध्ये धेरै प्रजातिहरूमा भाले र पोथीको औसत आकारमा स्पष्ट अन्तर पाइन्छ । गिब्बनजस्ता केही प्राइमेटमा यो अन्तर लगभग नदेखिए पनि बाबुन र गोरिल्लाजस्ता प्रजातिमा नरको तौल पोथीको भन्दा दोब्बरसम्म हुन सक्छ ।
अहिलेसम्म भएका अधिकांश अध्ययनहरूले समूहभित्रका भालेहरूबीच पोथीका लागि हुने प्रतिस्पर्धामाथि ध्यान केन्द्रित गरेका थिए । ठूलो र शक्तिशाली भालेले साना नरलाई पराजित गर्न वा तर्साउन सक्छ, जसले उसलाई जोडी प्राप्त गर्ने अवसर बढाउँछ । तर ग्रुएटरका अनुसार प्राइमेट समूहहरू प्रायः एक्लिएका हुँदैनन् । छिमेकी समूहहरूबीच नियमित सम्पर्क हुन्छ । तिनीहरूको क्षेत्र एकअर्कासँग जुध्न सक्छ र खाना तथा जोडीजस्ता स्रोतका लागि प्रतिस्पर्धा पनि हुन्छ ।
आफ्नो विद्यावारिधि अनुसन्धानका क्रममा ग्रुएटरले पात खाने बाँदरहरूको अध्ययन गरेका थिए । उनले समूहहरूबीच बढी सम्पर्क हुने प्रजातिहरूमा नरहरू पोथीको तुलनामा विशेष रूपमा ठूला हुने तथ्य फेला पारे । त्यसपछि उनले आफ्ना सहकर्मीहरूसँग मिलेर यो सम्बन्ध अन्य प्राइमेटहरूमा पनि लागू हुन्छ कि हुँदैन भनेर जाँच्ने निर्णय गरे ।
अनुसन्धान टोलीले वैज्ञानिक साहित्यबाट १४६ प्राइमेट प्रजातिको तथ्याङ्क सङ्कलन ग¥यो । त्यसपछि उनीहरूले नर र पोथीको शरीरको तौललाई समूहहरूबीच हुने सम्पर्कका विभिन्न सूचकहरूसँग तुलना गरे । यसमा क्षेत्रीय सीमाहरू कति ओभरल्याप हुन्छन्, समूहहरू कति पटक भेटिन्छन्, ती भेटघाट कति आक्रामक हुन्छन् र प्रत्येक प्रजातिको प्रजनन प्रणाली कस्तो छ भन्ने तथ्य समावेश गरिएको थियो । यद्यपि सबै प्रजातिका लागि सबै प्रकारका तथ्याङ्क उपलब्ध थिएनन् ।
अध्ययनले के देखायो भने जति धेरै क्षेत्रहरू एकअर्कासँग जुध्छन् र जति धेरै समूहहरूबीच भेटघाट हुन्छ, त्यति नै नरहरू पोथीको तुलनामा ठूला हुने सम्भावना बढ्छ । ग्रुएटरका शब्दमा, ‘धेरै समूह र निरन्तर अन्तरक्रियाले भरिएको सामाजिक वातावरणमा बस्ने प्रजातिहरूमा नरहरू ठूलो हुने प्रवृत्ति देखिन्छ ।’
ठूलो शरीरले नरहरूलाई प्रतिद्वन्द्वी समूहबाट आफ्नो क्षेत्र र स्रोतहरूको रक्षा गर्न मद्दत गर्न सक्छ । यो प्रत्यक्ष झगडा वा शारीरिक भिडन्तमार्फत हुन सक्छ । तर ग्रुएटरका अनुसार भिडन्तको सम्भावना मात्र पनि नरहरूको आकार विकासलाई तीव्र बनाउने कारक हुन सक्छ । उनले यस अवस्थालाई एक प्रकारको दीर्घकालीन ‘शीतयुद्ध’ सँग तुलना गरेका छन् । उनका अनुसार ठूलो आकारका नरहरूले झगडा सुरु हुनुअघि नै प्रतिद्वन्द्वीलाई पछि हट्न बाध्य पार्न सक्छन् । अर्थात् केवल उनीहरूको उपस्थितिले नै तनावलाई नियन्त्रण गर्न सक्छ । अनुसन्धानमा प्रजनन प्रणालीलाई समूहभित्रका नरहरूबीच हुने प्रतिस्पर्धाको सूचकका रूपमा प्रयोग गरिएको थियो । तर यसले नर र पोथीको आकार अन्तरमा खासै प्रभाव पारेको देखिएन ।
यद्यपि ग्रुएटरको विश्वास छ कि नरहरूको शरीर आकार धेरै कारणहरूको संयुक्त प्रभावबाट विकसित भएको हो । समूहबीचको प्रतिस्पर्धा पनि त्यसमध्ये एक महत्वपूर्ण कारक हो, जसलाई अहिलेसम्म पर्याप्त महत्व दिइएको थिएन । यो निष्कर्षले यौन आकार भिन्नताको विकासलाई हेर्ने दृष्टिकोण नै फराकिलो बनाउन सक्ने सम्भावना छ । सामाजिक प्रभावहरूलाई पनि समेटेर यस विषयलाई पुनः मूल्याङ्कन गर्नुपर्ने संकेत अध्ययनले दिएको छ । ग्रुएटरका अनुसार यस्तै विकासवादी शक्तिहरू अन्य सामाजिक वा क्षेत्रीय स्वभाव भएका स्तनधारी जनावरहरूमा पनि सक्रिय हुन सक्छन्, जसले समान प्रकारका आकारगत भिन्नता उत्पन्न गर्न सक्छ ।

स्कटल्यान्डस्थित एबरडिन विश्वविद्यालयकी विकासवादी जीवविज्ञानी क्याथरिन शेर्डले प्राइमेटहरूलाई यस्तो अध्ययनका लागि अत्यन्त उपयुक्त समूह मान्छिन् । उनका अनुसार प्राइमेटहरूमा सामाजिक अन्तरक्रियाको विविधता धेरै छ र उपलब्ध तथ्याङ्क पनि प्रशस्त छन्, जसले सामाजिक विशेषताहरूको विकासवादी प्रभाव अध्ययन गर्न सहज बनाउँछ । तर उनी अर्को जिज्ञासा पनि व्यक्त गर्छिन् । यदि अनुसन्धानकर्ताहरूले एक्लै बस्ने प्रजातिहरूलाई समेत अध्ययनमा समावेश गरेका भए नतिजा कस्तो आउँथ्यो भन्ने प्रश्न उनको मनमा उठेको छ ।
ग्रुएटर र उनका सहकर्मीहरूले भने एक्लै बस्ने प्रजातिहरूलाई अध्ययनबाट बाहिर राखेका थिए । कारण, उनीहरूले अनुसन्धान गरेको समूहभित्र र समूहबीचको प्रतिस्पर्धाको ढाँचा स्थायी सामाजिक समूह नभएका प्रजातिहरूमा सहज रूपमा लागू हुँदैन । अब अनुसन्धान टोलीले प्राइमेट तथा अन्य स्तनधारी जनावरहरूमा यौन चयनसँग सम्बन्धित अन्य विशेषताहरू पनि अध्ययन गर्ने योजना बनाएको छ । यसमा ठूला कुकुरे दाँत, शारीरिक प्रदर्शन वा स्वरमार्फत गरिने प्रदर्शनजस्ता गुणहरू समावेश छन् । ग्रुएटरका अनुसार यदि ती विशेषताहरूमा पनि यही प्रकारको ढाँचा देखियो भने त्यो अत्यन्त रोचक हुनेछ । यसले सामाजिक प्रतिस्पर्धा र विकास बीचको सम्बन्धबारे अझ गहिरो बुझाइ प्रदान गर्न सक्छ ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्