नेभिगेशन
विश्व

भर्चुअल पखेटाले मस्तिष्कलाई उड्न सिकाउँछ

अमेरिकाबाट प्रकाशन हुने मार्भल कमिक्सको एउटा पात्र एक्स–मेन छ । यो पात्रको एउटा कथामा वारेन वर्थिङ्टन तृतीयको ढाडबाट विशाल पखेटा उम्रिन्छन् र ऊ एकै झमटमा आकाशमा उड्न सक्छ । विज्ञानले अहिलेसम्म यस्तो काल्पनिक क्षमतालाई यथार्थमा परिणत गर्न सकेको छैन तर भर्चुअल रियालिटी (भीआर) प्रविधिले मानिसलाई उड्न सिक्दा कस्तो अनुभव हुन्छ भन्ने झल्को दिन भने थालेको छ ।

नयाँ अनुसन्धानअनुसार भर्चुअल पखेटा प्रयोग गर्ने तालिमपछि मानिसहरूको मस्तिष्कले पखेटाका तस्बिरलाई हातका तस्बिरसँग मिल्दोजुल्दो ढंगले ग्रहण गर्न थाल्यो । यसले पखेटा पनि शरीरकै एउटा अंगजस्तो महसुस हुन थालेको देखाएको छ । यो अध्ययन सेल रिपोट्र्स जर्नलमा प्रकाशित भएको हो ।

इंगल्यान्डको एंगिलया रस्किन विश्वविद्यालयकी संज्ञानात्मक स्नायुविज्ञानी जेन एस्पेलका अनुसार यसले मानव मस्तिष्क कति लचिलो र परिवर्तनशील हुन्छ भन्ने कुरा स्पष्ट रूपमा देखाउँछ । उनका अनुसार यदि मस्तिष्कले पखेटाजस्तो मानव शरीरमा नहुने संरचनालाई समेत आफ्नो अंगका रूपमा स्वीकार गर्न सक्छ भने भविष्यमा अन्य प्रकारका कृत्रिम अंग वा शारीरिक विस्तारहरूलाई पनि आत्मसात् गर्न सक्ने सम्भावना बलियो छ ।

अध्ययनकी प्रमुख अनुसन्धानकर्ता तथा बेइजिङस्थित पेकिङ विश्वविद्यालयकी यानचाओ बी सानैदेखि आफैं उड्ने सपना देख्थिन् । सन् २०२३ मा उनले कफी पिउँदै गर्दा विश्वविद्यालयको मोटर कन्ट्रोल प्रयोगशालाका प्रमुख कुनलिन वेईसँग आफ्नो यो चाहनाका बारेमा बताइन् । सोही चाहनाबाट नै एउटा प्रश्न जन्मियो— के मानिसले भर्चुअल संसारमा पखेटा प्रयोग गरेर उड्न सिक्न सक्छ ? र, त्यसले मस्तिष्कमा कस्तो परिवर्तन ल्याउँछ ?

यसको उत्तर खोज्न स्नायुविज्ञानी यीयाङ काईले चराको उडान प्रणालीमा आधारित एक साताको तालिम कार्यक्रम तयार गरे । २५ जना सहभागीले भीआर हेडसेट र गति मापन गर्ने उपकरण लगाए । भर्चुअल ऐनामा हेर्दा उनीहरूले आफूलाई विशाल खैरो–रातो प्वाँख भएका चराजस्ता आकृतिमा देख्थे । उनीहरूले नाडी घुमाउँदा र हात फर्फराउँदा ती पखेटाहरू पनि चल्थे ।

विभिन्न अभ्यासमार्फत सहभागीहरूले क्रमशः आफ्ना भर्चुअल पखेटा चलाउन सिके । उनीहरूले माथिबाट खसिरहेका हरिया बलहरूलाई पखेटाले हटाए, अग्ला भीरमाथि हावामा टिकिरहे र आकाशमा राखिएका घेराहरूभित्रबाट उडेर गुज्रिन पनि सफल भए ।

अध्ययनका सहलेखक तथा बेइजिङ नर्मल विश्वविद्यालयका स्नायुविज्ञानी जियी सियोङका अनुसार केही सहभागीले पहिलो प्रयासमै उड्न सिके भने केहीलाई तीन–चार सत्र लाग्यो । तर सबैमा क्रमिक सुधार स्पष्ट रूपमा देखिएको थियो ।

तालिमपछि सामान्यतया शरीरका अंगका तस्बिरलाई प्रतिक्रिया दिने मस्तिष्कको दृश्य प्रान्तस्था (भिजुअल कोर्टेक्स)का भागहरू पखेटाका चित्रप्रति पनि बढी सक्रिय हुन थाले । अझ रोचक कुरा, पखेटाप्रतिको प्रतिक्रिया माथिल्लो हातका अंगहरूप्रतिको प्रतिक्रियासँग झन् मिल्दोजुल्दो बन्न पुग्यो ।

बीका अनुसार यसले सहभागीहरूले पखेटालाई आफ्नै शरीरको भागका रूपमा अनुभव गर्न थालेको संकेत दिन्छ । यसबाट ब्रेन प्लास्टिसिटी भनिने सिकाइ र अनुभवका आधारमा मस्तिष्क पुनःसंरचित हुने क्षमता पहिले अनुमान गरिएभन्दा अझ व्यापक हुन सक्ने देखिएको छ ।

यो अनुभवले मस्तिष्कलाई मात्र परिवर्तन गरेन, सहभागीहरूको उडानसम्बन्धी बुझाइलाई पनि गहन बनायो । वेईका अनुसार किताब वा भिडियोबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानले दिन नसक्ने प्रत्यक्ष अनुभूति भिआरले सम्भव बनायो । यही सिद्धान्त अन्य प्रविधि र कृत्रिम संवेदन प्रणालीहरूमा पनि लागू हुन सक्छ, जसले मानिसलाई नयाँ–नयाँ प्रकारका ‘यथार्थ’ अनुभव गर्न सक्षम बनाउनेछ ।

वेई भन्छन्, ‘भविष्यमा मानिसहरूले आफ्नो धेरै समय भर्चुअल संसारमा बिताउन सक्छन् । त्यसले मानव मस्तिष्कमा कस्तो प्रभाव पार्छ भन्ने विषयमा हामी निकै उत्सुक छौं ।’ (साइन्स न्यूज)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्