नेभिगेशन
विश्व

आणविक हतियारको जानकारी कमजोर बनाइँदै, खतरा बढ्यो

स्टकहोम, (बीबीसी)  । स्वीडेनको एक अन्तर्राष्ट्रिय स्वतन्त्र थिंकट्याङ्क ‘सिपरी’ अर्थात् स्टकहोम इन्टरनेसनल पीस रिसर्च इन्स्टिच्युटको ताजा प्रतिवेदन अनुसार, भारतले पहिलो पटक यस वर्षको सुरुवातमा १२ वटा आणविक हतियार युद्धभूमिको मोर्चामा तैनाथ गरेको छ । तर, १२ वटा आणविक हतियार तैनाथ गरिएको विषयमा रक्षा मन्त्रालयको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन ।
जुन ८ मा सार्वजनिक सिपरीको प्रतिवेदन अनुसार, भारतसँग १७८ वटा आणविक हतियार भण्डार (स्टोर) मा राखिएका छन् । आवश्यकता पर्दा ती प्रयोग हुन सक्छन् । अर्कातर्फ, १२ वटा आणविक हतियार भने तैनाथ गरिएका छन् । यसको अर्थ भारतसँग कुल १९० वटा आणविक हतियार छन् । गत वर्ष यो संख्या १८० थियो र ती सबै भण्डारमै थिए ।
पत्रकार तथा रक्षा विश्लेषक राहुल बेदी शान्तिकालमा भएको यो तैनाथीलाई आश्चर्यजनक मान्छन् । उनको अनुमान छ, ‘यी आणविक हतियारलाई दुईवटा आणविक पनडुब्बीमा तैनाथ गरिएको छ, जसले पूर्ण तयारीका साथ गस्ती गरिरहेका छन् ।’
गत वर्षको मे महिनामा भारत र पाकिस्तानबीच सैन्य तनाव देखिएको थियो । प्रतिवेदनमा यो पनि उल्लेख छ कि सन् २०२५ र २०२६ दुवै वर्षमा पाकिस्तानले कुनै पनि आणविक हतियार तैनाथ गरेको छैन । पाकिस्तानले हालका लागि आफ्ना आणविक हतियार बढाएको छैन, ऊसँग अहिले १७० वटा आणविक हतियार छन् ।
यो प्रतिवेदनले युद्ध क्षेत्रभन्दा बाहिर पनि देशहरूले अब भविष्यका द्वन्द्वहरूको तयारीका लागि आधुनिक साइबर जासुसीका तरिकाहरू प्रयोग गरिरहेको देखाउँछ । अर्थात्, शान्तिकालमा भविष्यको द्वन्द्वको तयारी तीव्र पारिएको छ । यस मामिलामा रक्षा मामिला विज्ञ राहुल बेदी भन्छन्, भारत सुरुमा आफैँले आक्रमण गर्ने सिद्धान्तमा चल्दैन । उनी यस सिद्धान्तको अर्थ बुझाउँदै भन्छन्, ‘यसको अर्थ वारहेड (आणविक हतियार) र मिसाइल (आणविक हतियार प्रहार गर्ने हिस्सा) दुवैलाई छुट्टाछुट्टै राखिन्छ । तिनीहरूको स्थान पनि फरक हुन्छ । अनि जब कुनै आपत्कालीन अवस्था आउँछ, तिनीहरूलाई एकै ठाउँमा जोडिन्छ । त्यसैले आणविक हतियार तैनाथ गर्नु निकै गम्भीर कुरा हो ।’
पत्रकार तथा रक्षा विश्लेषक बेदी दाबी गर्छन्, ‘भारतले आफ्ना दुईवटा आणविक पनडुब्बी (सबमरिन) मा यी १२ वटा वारहेड (आणविक हतियार) तैनाथ गरेको छ । यी पनडुब्बीहरू महिनौँसम्म गस्तीमा रहन्छन् र लामो समयसम्म गस्ती गर्ने क्षमता राख्छन् ।’
आणविक पनडुब्बी एउटा अत्याधुनिक युद्धपोत हो, जुन पानीमुनि चल्छ र यसलाई ऊर्जा दिनका लागि सानो आणविक रिएक्टरको प्रयोग गरिन्छ । यसलाई साधारण पनडुब्बी जस्तै इन्धन भर्न वा अक्सिजनका लागि पटक–पटक पानीको सतहमा आउनु पर्दैन । राहुल बेदी भन्छन्, ‘भारतको आणविक प्रतिरोध (न्यूक्लियर डिटरेन्स) लाई बुझेर मात्र हामी भारतको यो कदमको महत्त्व बुझ्न सक्छौँ ।’

भारतले आफूमाथि हुन सक्ने सम्भावित आणविक हमलाको सामना गर्न तीनवटा तरिका प्रयोग गर्छ । उनका अनुसार, पहिलो– हवाई माध्यम (एयर डेलिभरी), दोस्रो– जमिनमा आधारित (ल्यान्ड बेस्ट) र तेस्रो– पनडुब्बीमा आधारित (सबमरिन बेस्ट) । तेस्रो तरिका सबैभन्दा सुरक्षित तर घातक आणविक प्रतिरोध हो, किनभने समुद्रमा आणविक पनडुब्बीहरूको खोजी गर्नु निकै गाह्रो हुन्छ ।
बेदी भन्छन्, ‘अमेरिका, रुस, चीन जस्ता ठुला आणविक शक्तिशाली देशहरूले पनि यसैगरी पनडुब्बीहरूमा आफ्ना वारहेड तैनाथ राखेर गस्ती गराउँछन् । ठ्याक्कै यही तरिका अहिले भारतले अपनाएको छ । यो एउटा ठुलो परिवर्तन हो ।’
उनका अनुसार ‘पी फाइभ’ भनिने यी देशहरूमा पनडुब्बीहरू पूर्ण रूपमा हतियारसहित लोड भएर गस्ती गर्छन्, तिनीहरू खाली हात गस्ती गर्दैनन् । भारतले पनि उनीहरू जस्तै गस्तीको यो शैली अपनाइरहेको देखिन्छ । उनी यो एउटा मानक प्रक्रिया (स्ट्यान्डर्ड प्रोसिजर) भएको बताउँछन्, यी पनडुब्बीहरू लोड गरिएका हुन्छन्, त्यसैले भारतले तैनाथ गरेका १२ वटा वारहेड पनि पूर्ण रूपमा लोड गरिएका होलान् भनेर अनुमान गर्न सकिन्छ ।
भारतले शान्तिकालमा गरेको यो तैनाथी र ‘अपरेशन सिन्दूर’ जारी रहेको भारतीय भनाइबीच केही सम्बन्ध छ भन्ने प्रश्नमा उनी भन्छन्, ‘यो सब अपरेशन सिन्दूरको हिस्सा हो वा अपरेशन सिन्दूर २.० को भन्न त गाह्रो छ, तर अब भारतले ठुला आणविक शक्तिहरू जस्तै समुद्री गस्ती गरिरहेको छ ।’
विस्फोटक इन्धन बनाउन भारत र इजरायल एउटै बाटोमा
सिपरीको प्रतिवेदन अनुसार भारतले आफ्ना आणविक हतियारको संख्या त तीव्र रूपमा बढाएको छ नै, साथै भारतले आफ्ना आणविक हतियारका लागि चाहिने इन्धन (फिसाइल मेटेरियल) पनि तीव्र गतिमा बनाइरहेको छ । महत्त्वपूर्ण कुरा के छ भने, यसलाई बनाउनका लागि भारतले युरेनियम संवद्र्धन (इनरिचमेन्ट) को सट्टा प्लुटोनियमको बढी प्रयोग गरिरहेको छ ।
प्रतिवेदन अनुसार, इजरायलले पनि यस्तै गरिरहेको छ । जबकि पाकिस्तान, रुस, चीन, फ्रान्स, बेलायत र अमेरिकाले आफ्ना आणविक हतियारका लागि दुवै प्रकारका विस्फोटक इन्धनको प्रयोग गरेका छन् । प्लुटोनियमबाट आणविक हतियारका लागि इन्धन बनाउनु एउटा गैर–परम्परागत तरिका हो । यसको प्रयोग कच्चा पदार्थको उपलब्धता आदिमा निर्भर गर्दछ । भारतसँग युरेनियम संवद्र्धन र प्लुटोनियम दुवैबाट इन्धन बनाउने क्षमता छ ।
साथै इजरायलको सन्दर्भमा बेदी भन्छन्, ‘इजरायल पनि आणविक क्षमता सम्पन्न देश मानिन्छ, तर उसले सार्वजनिक रूपमा यसको घोषणा भने गरेको छैन ।’
चीनसम्म पहुँच पुग्ने हतियारमा जोड, रक्षा खरिद बढ्यो
प्रतिवेदनमा भारतको हतियार आधुनिकीकरण कार्यक्रम अब लामो दूरीका यस्ता हतियारहरू विकास गर्नमा केन्द्रित छ, जुन चीनको सम्पूर्ण भूभागमा रहेका लक्ष्यहरूसम्म पुग्न सक्षम छन् भनिएको छ । विशेषज्ञ बेदीका अनुसार, भारतको लामो समयदेखि चलिरहेको यो कार्यक्रमको एउटा हिस्सा हो । दुई देशबीच यसअघि भएको झडपपछि भारतले यसतर्फ ध्यान दिन थालेको थियो ।
सिपरीको प्रतिवेदन अनुसार भारतले आफ्ना हतियार ओसारपसार गर्ने प्रणाली (डेलिभरी सिस्टम) लाई तीव्र गतिमा अपग्रेड गरिरहेको छ । विश्व एउटा नयाँ आणविक प्रतिस्पर्धाको चरणमा प्रवेश गर्दैछ । अर्कातर्फ चीन, पाकिस्तान, अमेरिका र रुसमा पनि हतियारको स्तरोन्नति चलिरहेको छ ।
प्रतिवेदनमा उल्लेख भए अनुसार, गत वर्ष भारतले सेनामा ९२.१ अर्ब डलर खर्च ग¥यो, जसका कारण ऊ सबैभन्दा बढी रक्षा खर्च गर्ने मामिलामा पाँचौँ देश बनेको छ । यो सन् २०२४ को तुलनामा ८.९ प्रतिशत बढी थियो । साथै प्रतिवेदनमा भारतले ठुलो परिमाणमा रक्षा हतियारहरू खरिद गरेको भनिएको छ । सन् २०२१ देखि २०२५ को अवधिमा भारतले विश्वका ८.२ प्रतिशत रक्षा हतियार खरिद ग¥यो । यसका साथै ऊ विश्वकै दोस्रो ठुलो रक्षा आयातकर्ता देश बनेको छ ।
छिमेकी देश पाकिस्तानले पनि हतियार खरिद बढाएको जानकारी बाहिर आएको छ । युक्रेन बाहेक साउदी अरब र कतारले पनि प्रशस्त हतियार खरिद गरेका छन् । यी सबै देशहरूले संयुक्त रूपमा विश्वको ३५ प्रतिशत रक्षा खरिद ओगटेका छन् ।
भारतको रक्षा आयातप्रति चिन्ता व्यक्त गर्दै राहुल बेदी भन्छन्, बाहिरबाट रक्षा खरिद गर्नुको सट्टा स्वदेशी स्तरमै बढी उत्पादन गर्नेबारे सोच्नुपर्छ । साथै, हालैका दिनमा भारतले यसतर्फ केही कदम चालेको कुरा पनि उनी थप्छन् ।
अहिले विश्वमा ४ हजार वारहेड तैनाथ
प्रतिवेदनले भारत मात्र नभई आणविक क्षमता भएका विश्वका अन्य केही देशहरूले पनि आफ्ना आणविक हतियार तैनाथ गरेर राखेको देखाउँछ । यस वर्ष (२०२६) को सुरुवातमै भारतसहित नौवटा देशसँग संयुक्त रूपमा करिब १२,१८७ आणविक हतियार रहेको जानकारी छ । यी देशहरूमा अमेरिका, रुस, बेलायत, फ्रान्स, चीन, भारत, पाकिस्तान, उत्तर कोरिया र इजरायल पर्दछन् ।
यस्ता १२ हजारभन्दा केही बढी आणविक हतियारमध्ये करिब ४,०१२ वटा आणविक हतियार सैन्य बलहरूसँग तैनाथ गरिएका छन् । सैन्य बलहरूसँग तैनाथ वारहेडमध्ये आधाभन्दा बढी अर्थात् करिब २,१०० देखि २,२०० वारहेडहरू ब्यालिस्टिक मिसाइलहरूमा ‘हाई अलर्ट’ मा राखिएका छन् । जबकि ९,७४५ हतियार सैन्य भण्डारमा राखिएका छन् । यिनीहरूलाई आवश्यकता परेको खण्डमा प्रयोग गर्न सकिन्छ ।
पहिलेको तुलनामा आणविक हतियार घटे
प्रतिवेदन अनुसार विश्वमा कुल आणविक हतियारको संख्या अहिले घटिरहेको देखिन्छ । तर, यस्तो हुनुको कारण अमेरिका र रुसले आफ्ना पुराना हतियारहरू नष्ट गरिरहेकाले मात्र हो ।
चिन्ताको विषय के छ भने, प्रत्येक वर्ष नष्ट गरिने हतियारको संख्या घट्दै गइरहेको छ । सिपरीले चाँडै नै नयाँ हतियार बन्ने गति पुराना हतियार नष्ट हुने गतिभन्दा अगाडि बढ्ने सम्भावना व्यक्त गरेको छ । सिपरीका अनुसार पारदर्शिताको कमीका कारण कुन देशसँग कति हतियार छन् भन्ने कुरा थाहा पाउन झन्–झन् गाह्रो हुँदै गइरहेको छ ।
पछिल्ला केही वर्षहरूमा देशहरूले आफ्ना आणविक हतियारका विषयमा अझ बढी गोपनीयता अपनाउन थालेका छन् । यसको एउटा कारण हतियार नियन्त्रण सम्झौताहरू कमजोर हुनु हो । यी हतियारका सम्झौताहरूको जानकारी एकअर्कासँग बाँड्ने नियमलाई सन् २०१० देखि नै कमजोर बनाइँदै आएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्