नेभिगेशन
विश्व

हिजबुल्लाहको शक्ति कहाँ छ ?

तेहरान, (एजेन्सी)  । फेब्रुअरी २८ मा इजरायली हवाई आक्रमणमा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेई मारिएपछि हिजबुल्लाहले एक शोक वक्तव्य जारी ग¥यो । उक्त वक्तव्यमा लेबनानी सशस्त्र समूहका आध्यात्मिक मार्गदर्शकका रूपमा रहेका नेता तथा धर्मगुरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । तर त्यसमा प्रतिशोध लिने कुनै प्रतिबद्धता उल्लेख थिएन ।
यो अनुपस्थितिले लेबनानका राजनीतिज्ञहरूलाई केही राहत दिएको थियो । सन् २०२३ मा गाजामा हमासलाई समर्थन गर्न हिजबुल्लाह युद्धमा होमिएपछि लेबनान विनाशकारी युद्धमा तानियो । एक वर्षपछि भएको युद्धविरामसम्म आइपुग्दा हिजबुल्लाह निकै कमजोर भइसकेको थियो किनभने उसका प्रमुख कमान्डरहरू मारिएका थिए र दक्षिणी लेबनानका केही क्षेत्र फेरि इजरायली सेनाको नियन्त्रणमा पुगेका थिए ।
दशकौँदेखि इरानले हिजबुल्लाहलाई इजरायलविरुद्धको सबैभन्दा शक्तिशाली शत्रु र आफ्नो पहिलो प्रतिरोधी सुरक्षा घेराका रूपमा विकास गरेको थियो । तर यस वर्षसम्म आइपुग्दा हिजबुल्लाह इरानको सहयोगमा अघि बढ्न सक्ने अवस्थामा देखिँदैनथ्यो । उसका नयाँ नेता नइम कासेमले लेबनानी संसद्का सभामुख नबिह बेरीजस्ता सहयोगीहरूलाई इजरायल र अमेरिका इरानसँग युद्धमा गए पनि हिजबुल्लाहले हस्तक्षेप नगर्ने आश्वासन दिएका थिए ।
तर खामेनेईको मृत्युको दुई दिनपछि हिजबुल्लाहले अचानक आक्रमण ग¥यो । उसले इजरायली सहरहरूमा क्षेप्यास्त्रहरूको वर्षा ग¥यो । यो निर्णयले बेरीलाई स्तब्ध बनायो र भनिन्छ, हिजबुल्लाहका केही सदस्य तथा राजनीतिज्ञहरू पनि यसबाट आश्चर्यचकित भएका थिए ।
युद्धका विरोधीहरूलाई अझ बढी चिन्तित बनाउने कुरा के थियो भने लेबनानलाई फेरि युद्धमा तान्ने निर्णय तेहरानबाट, अझ विशेषगरी इरानी कमान्डरहरूको निर्देशनमा भएको संकेतहरू देखिन थाले । हस्तक्षेपको घोषणा गर्ने पहिलो वक्तव्य हिजबुल्लाहको राजनीतिक नेतृत्वले होइन, ‘इस्लामिक रेसिस्टेन्स’ भनिने उसको सैन्य शाखाले जारी गरेको थियो ।
हिजबुल्लाहसम्बन्धी विशेषज्ञ तथा एटलान्टिक काउन्सिलका गैरआवासीय वरिष्ठ अनुसन्धानकर्ता निकोलस ब्लानफोर्ड भन्छन्, ‘मेरो बुझाइमा यो निर्णय इरानीहरूले गरेका थिए र उनीहरू सिधै इस्लामिक रेसिस्टेन्सको नेतृत्वसम्म पुगेका थिए । राजनीतिक नेतृत्वलाई पनि यसले अचम्ममा पारेको देखिन्छ ।’
शिया सशस्त्र समूह हिजबुल्लाहलाई लामो समयदेखि नजिकबाट नियाल्नेहरूका लागि इरानको यस्तो भूमिका कुनै नयाँ कुरा थिएन । दक्षिणी लेबनान, राजधानी बेरुतका केही भाग र पूर्वी क्षेत्रहरूमा प्रभाव जमाएको हिजबुल्लाह लामो समयदेखि राज्यभित्रको समानान्तर शक्तिका रूपमा रहँदै आएको थियो । यद्यपि वर्षौंको अवधिमा उसले इरानबाट केही हदसम्म स्वतन्त्रता हासिल गरेको थियो । तर सन् २०२४ मा इजरायलसँगको युद्धमा ठूलो क्षति बेहोरेपछि तेहरानले फेरि उसमाथि आफ्नो नियन्त्रण बलियो बनायो ।
हिजबुल्लाहको स्थापना १९८० को दशकमा भएको थियो । त्यसपछि एक दशकपछि हसन नसरल्लाह यसको नेतृत्वमा पुगे । उनी चमत्कारी कमान्डर थिए । उसले सन् २००० मा दक्षिणी लेबनानबाट इजरायली सेनालाई हटाउन सफलता पाएपछि मध्यपूर्वभर लोकप्रियता कमाए । त्यसको छ वर्षपछि भएको युद्धमा पनि हिजबुल्लाहले इजरायललाई निर्णायक विजय हासिल गर्न नदिएर आफ्नो प्रभाव बढाएको थियो ।
नसरल्लाहको प्रतिष्ठा र लेबनान भित्रको राजनीतिक भूमिका बढ्दै जाँदा हिजबुल्लाहले आफ्ना इरानी संरक्षकहरूमाथि निर्भरता कम गर्दै गयो, यद्यपि ऊ इरानको ‘प्रतिरोधको धुरी’ (एक्सिस अफ रेसिस्टेन्स) को प्रमुख अंग भने रहिरह्यो । जब इरानले यमनका शिया हुथी विद्रोहीहरूलाई समर्थन गर्ने वा सिरियामा बशर अल–असदको शासनलाई जोगाउन हस्तक्षेप गर्ने निर्णय ग¥यो, उसले हिजबुल्लाहकै सहयोग लियो । हिजबुल्लाहले सिरियामा लडाकु पठायो र यमनमा सल्लाहकारहरू खटायो ।
एक विश्लेषण संस्था च्याथम हाउसको मध्यपूर्व प्रमुख सनम वाकिल भन्छिन्, ‘सन् २०२३ अघिसम्म प्रतिरोधको धुरी निकै विकेन्द्रीकृत थियो र हिजबुल्लाहले समन्वयकर्ताको भूमिका खेल्थ्यो । स्वयं नसरल्लाह पनि त्यही भूमिका निर्वाह गर्थे ।’
तर हिजबुल्लाह आफ्नो क्षमताभन्दा धेरै फैलियो । सिरिया र यमनसम्म गतिविधि विस्तार गर्दा ऊ इजरायली गुप्तचरहरूको निगरानीमा झन् बढी प¥यो ।
वाकिल भन्छिन्, ‘सायद उसले सिरियामा केही नयाँ सीपहरू सिक्यो, इरान र रुससँग मिलेर क्षमता विस्तार ग¥यो । तर यसले अत्यधिक विस्तार निम्त्यायो र अन्ततः आन्तरिक कमजोरी तथा आफ्नै शक्तिको गलत मूल्याङ्कन गरायो । सम्भवतः यसले घमण्ड र अतिआत्मविश्वास पनि जन्मायो ।’
त्यही अतिआत्मविश्वासको एउटा प्रतीक पेजरहरू पनि थिए । हिजबुल्लाहका सदस्यहरू र इरानी अधिकारीहरूले निर्देशन आदानप्रदान गर्न पेजर प्रयोग गर्थे । ती उपकरण प्रतिष्ठाको प्रतीक मानिन्थे, जसले प्रयोगकर्ता संगठनसँग जोडिएको र सुरक्षित रहेको संकेत दिन्थ्यो ।
तर ती पेजरहरू नै पछि कमजोरी बने । इजरायलले ताइवानमा निर्मित ती उपकरणहरूमा पहुँच प्राप्त गरी तिनमा विस्फोटक जडान गरेको थियो । सेप्टेम्बर १७, २०२४ मा इजरायली गुप्तचर संस्थाले ती विस्फोटक सक्रिय ग¥यो । यही घटनाबाट सुरु भएको अभियान केही सातापछि नसरल्लाहको हत्या हुँदै टुंगियो ।
त्यसपछि हिजबुल्लाहले युद्धविराम स्वीकार ग¥यो । केही महिनापछि सिरियामा असद शासन ढल्यो, जसले हिजबुल्लाहको मुख्य आपूर्ति मार्ग काटिदियो ।
विश्लेषकहरु भन्छन्, नसरल्लाहको मृत्यु र सहयोगको स्रोत सुक्दै गएपछि इरानको रिभोल्युसनरी गाड्र्स प्रत्यक्ष रूपमा समूह पुनर्संरचनामा संलग्न भयो । यसले हिजबुल्लाहको सैन्य संरचनामाथि प्रभावकारी नियन्त्रण कायम ग¥यो र उसलाई साझेदारभन्दा बढी एक प्रतिनिधि शक्ति (प्रोक्सी) मा रूपान्तरण ग¥यो ।
अहिले हिजबुल्लाहले पेजर र फोनभन्दा बढी मौखिक सन्देशवाहकहरूमा भर पर्न थालेको छ । क्षेप्यास्त्र र ड्रोन आक्रमणसम्बन्धी सञ्चारका लागि उसले गोप्य कोड र ग्रिड प्रयोग गर्छ । जसलाई विरोधीहरुले फेला पारे पनि बुझ्न कठिन हुन्छ ।
बेरुतस्थित कार्नेगी मिडल इस्ट सेन्टरका वरिष्ठ सम्पादक तथा अनुसन्धानकर्ता माइकल यङ भन्छन्, ‘यो धेरै हदसम्म आदिम शैलीको युद्धमा परिणत भएको छ ।’
यसको परिणामस्वरूप इजरायलले १९८० दशकको कब्जाको सीमासम्म पुनः आफ्नो सैन्य उपस्थितिलाई विस्तार गर्दा छापामार युद्ध निरन्तर चलिरहेको छ । एक कूटनीतिज्ञका अनुसार सन् २०२४ को पराजयपछि हिजबुल्लाहलाई समाप्तप्रायः ठान्नु गल्ती थियो । ‘पहिले सबैले उसको क्षमतालाई बढाइचढाइ गरेर हेरे,’ उनले भने, ‘पछि फेरि सबैले उसको क्षमतालाई कम आँके ।’
तर धेरै लेबनानीहरूका लागि यो सबैको मूल्य अत्यन्तै महँगो साबित भएको छ । इरानको प्रभावमा झन् बढी सञ्चालित हुँदै गएको युद्धका कारण देशले ठूलो क्षति व्यहोरेको छ । गत साता लेबनानसँग युद्धविराम गर्ने प्रस्ताव अस्वीकार गर्न हिजबुल्लाहभन्दा अघि इरान नै देखिएको थियो । दक्षिणी लेबनानका धेरै गाउँहरू पूर्ण रूपमा ध्वस्त भएका छन् र त्यहाँका केही बासिन्दाहरू अहिले बेरुतको रंगशालामुनि टहरामा बस्न बाध्य छन् ।
माइकल यङ भन्छन्, ‘अन्ततः यी लडाइँहरू इजरायलभन्दा हिजबुल्लाहकै लागि बढी हानिकारक छन् । यदि यो कहिल्यै समाप्त भयो भने पनि, शिया समुदायले यसलाई केही नभएको जस्तो गरेर बिर्सन सक्ने छैन ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्