परमात्मा भनेका महान् आत्मा हुनुहुन्छ जो अजरअमर हुनुहुन्छ, इहलोकको शाश्वत सत्य । उहाँबाटै यो चराचर जगत् सञ्चालित छ । त्यसैले हिन्दु धर्मावलम्बीले उहाँलाई परब्रह्म परमेश्वर वा परमपिता परमेश्वर मानेका छन् । उहाँ भगवान्् हुनुहुन्छ । उही परमात्माको अंश हामी जिवात्मा हौं । यस धरातलमा जति पनि प्राणी छन् सबैमा उहाँकै अंश विद्यमान छ । उहाँ सर्वशक्तिमान् हुनुहुन्छ तर उहाँको स्वभाव बडो दयालु छ, उहाँ सबैलाई समदृष्टिले हेर्नुहुन्छ । उहाँ सर्वशक्तिमान् भएर पनि कहिल्यै सर्वसत्तावादी व्यवहार गर्नुहुन्न । त्यसका लागि भगवान््ले श्क्तिपृथकीकरण गर्नुभएको छ । त्रिमूर्ति भगवान््हरू ब्रह्मा, विष्णु र महेशले आपसी समझदारीमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका गरी शक्तिको बाँडफाँट गरिरहनुभएको छ ।
जसअनुसार ब्रह्माजीलाई सृष्टिचक्र चलाउने कामको अभिभारा सुम्पियो, त्यसैले हिन्दुहरूले ब्रह्मालाई आदिपिता मान्छन् । त्यस्तै देवाधिदेव महादेवलाई संहार र दण्डको कामको जिम्मा सुम्पियो । जसअनुसार कसैलाई दण्ड वा संहार गर्नुप¥यो भने रौद्ररूप धारण गरेर ताण्डव नृत्य गर्न थाल्नुहुन्छ । स्वयं विष्णु भगवान्् जसलाई पालनकर्ता भगवान् पनि भनिन्छ । प्राणीहरूलाई पालन पोषण र प्रकृतिको स्याहारसम्भारको अभिभारा सम्हाल्नुभएको छ ।
त्यसपछिको कार्यसम्पादनका लागि परमात्माले देवताहरूको एउटा महामन्त्रिमण्डल गठन गर्नुभएको छ, जसमा उहाँले सबै देवताहरूलाई समुचित कार्यविभाजन गरी राख्नुभएको छ । देवताहरूका राजा इन्द्रलाई पृथ्वीमा वर्षा गरेर सम्पूर्ण जीवजगत् चेतन अचेतनलाई पानीको तीर्खा मेटाउँदै सहकाल ल्याउने जिम्मा दिइएको छ । त्यस्तै सूर्य भगवान्लाई दिनरात र घामछाया ल्याउने जिम्मा दिइएको छ । वरुण र कुवेरलाई क्रमशः आगो र हावा तथा धनसम्पत्तिको अधिकारीको अभिभारा सुम्पिएको छ । लक्ष्मीलाई धनकी देवी र सरस्वतीलाई विद्याकी अधिष्ठात्री, पात्र हेरी धन र विद्या दान गर्ने जिम्मा दिइएको छ ।
यसैअनुसार अरू देवताहरूले पनि जिम्मेवारी पाएका छन् । जस्तै कुनै पनि धार्मिक अनुष्ठानमा श्रीगणेशजीको पूजा अरू देवताभन्दा पहिले गरिन्छ । उहाँलाई पूजा पाउने अग्राधिकार दिइएको छ । यी सबै कुराहरू उनैैै परमात्माको इशारामा भइरहेको हुन्छ । यहाँ स्पष्ट गर्न चाहन्छु कि भक्त र भगवान्मा गहिरो सम्बन्ध हुन्छ । जब–जब भक्तको गहिरो पुकार भगवान्को कानमा पुग्छ भगवान् तत्क्षण भक्तको सहायता गर्न टुप्लुक्क आइपुग्नुहुन्छ । द्रौपदीको चीरहरण हँुदा सभामा उपस्थित कसैले पनि केही बोलेनन् र सहायता गरेनन् अनि द्रौपदीले भगवान्लाइ पुकार्नुभयो र भगवान् द्वारिकामा भएर पनि भक्तको पुकार सुनेर तुरुन्त सहायता गर्न आउनुभयो र द्रौपदीको लाजको रक्षा गर्नुभयो । यो त भयो द्वापर युगको कथा । योभन्दा पहिला त्रेता युगमा पनि जब ग्राहले गजराजलाई समातेर छाड्दै छाडेन अनि गजराजले आफ्ना स्वजन र इष्टमित्र सबैलाई अनुनयविनय गर्दा कसैले पनि सहायता गर्न नआएपछि गजराजले भगवान्लाई पुकार गर्नेबित्तिकै भगवान्ले गजराजको उद्धार गरिदिनुभयो । त्यसैले भगवान्लाई भक्तवत्सल भनिन्छ ।
भनाइको तात्पर्य के भने भगवान् सच्चा भक्तमा कृपालु हुनुहुन्छ र भक्त भगवान्मा लीन भई बस्छन् । त्यसैले भगवान्ले भन्नुभएको छ, ‘हम भक्तन के भक्त हमारो ।’ परमात्माले भन्नुभएको छ कि जुन आत्माले मलाई सच्चा दिलले पुकार्छ उसको आग्रह म टार्नै सक्दिनँ । ‘भक्तको आर्तनाद सुन्नेबित्तिकै सहायता गर्न म कत्ति विलम्ब नगरी उद्धार गर्न थालिहाल्छु,’ भगवान् भन्नुहुन्छ । यस्तो हुनुमा कारण के छ भने जीवात्मा परमात्माकै अंश हो । आफ्नो अंशलाई परमात्माले हरपल दृष्टि पु¥याइराख्नुहुन्छ । जबजब यस धर्तीमा मेरा भक्तहरूको, साधुसन्तहरूको अनादर गरी शक्तिशालीहरूले उत्पीडन गर्न थाल्छ अनि दुष्टको विनाश गरी साधुसन्तको रक्षा गर्न र धर्मको पुनस्र्थापन गर्न म यस धर्तीमा आइररहन्छु ।
तर, भक्तलाई उसको सामथ्र्यको परीक्षा पनि लिने गर्नुहुन्छ भगवान्ले । यस्तो कुन अवस्थामा हुने गर्छ जब भक्त अर्थात् आत्मा अनेक जुनीमा जन्मिँदै मर्दै सत्कर्म गरेर परमात्मामा समाहित हुन खोज्छ । भगवान्ले सत्यवादी राजा हरिश्चन्द्रको कठोर परीक्षा लिनुभएको थियो । राजा हरिश्चन्द्रले सत्यको रक्षाका लागि केसम्म त्याग गर्न सक्छन् जाँच्न उनले राजपाट, पत्नी पुत्रसमेत गुमाउनुपर्दा सत्यको पथमा अडिग रहिरहे । त्यसैले अन्त्यमा भगवान्ले उनलाइ सिधै स्वर्ग लानुभयो । यस्ता उदाहरणहरू अरू पनि धेरै छन् ।
भगवान्को अर्को नाम समदर्शी पनि हो । उहाँको कृपादृष्टि सबै प्राणीमा समान रूपले परिरहेको हुन्छ । भगवत् गीतामा भगवान्ले अर्जुनलाई भन्नुभएको छ, ‘मलाई जसले जुन रूपमा पुज्दछ वा व्यवहार गर्दछ, त्यसलाई म त्यही रूपमा स्वीकार गरी भवसागर पार लगाउने गरेको छु ।’ उदाहरणका लागि सबरी भगवान्को परमभक्त थिइन् । उनको भगवान्मा यस्तो अटल विश्वास थियो कि भगवान्ले एक न एकदिन अवश्य दर्शन दिनुहुन्छ । त्यसैले उनले आफूलाई भगवान्मा समर्पित गरेर त्वम् शरणम् भएर जीवन प्रतीक्षामा बिताउँदै गर्दा भगवान् राम एकदिन उनको कुटीमा टुप्लुक्क आइपुग्नुभयो । भगवान्को दर्शन पाएर सबरीले आफ्नो बुद्धि गुमाएर जंगलबाट टिपेर ल्याएको बयर भगवान्लाई नमिठो पर्ला कि भनेर पहिला आफूले चाखेर भगवान्लाई खुवाउँदा पनि भगवान्ले सजिलैसँग खाइदिनुभयो । त्यसै हुनाले भगवान्लाई भक्तवत्सल भनिएको हो । यो मिलनपछि भगवान्ले सबरीलाई भवसागर तारिदिनुभयो । त्यस्तै अजामिल जो अत्यन्त दूराचारी पुरुष थिए तर अन्तिम समयमा नारायण नाम लिनाले उनलाई पनि भवसागर तारिदिनुभयो भक्तवत्सल भगवान्ले ।
परमात्मासँग मित्रता वा शत्रुता जे गरे पनि अन्त्यमा भक्तको इच्छाअनुसार उहाँले आफ्नो आलिंगनमा लिई आफूमा समाहित गर्नुहुन्छ । भनाइको तात्पर्य के भने परमात्माको अंश आत्मा यस संसारमा जन्म लिएर आफ्नो आचरणबाट परमात्मालाई जुन रूपले, जुन किसिमले मान्ने र व्यवहार गर्ने गर्छन् भगवान्ले तिनलाई त्यही रूपमा ग्रहण गरी मोक्ष प्रदान गर्नुहुन्छ । उदाहरणका लागि पुराण र रामायणमा वर्णित पात्रहरू जस्तै उत्तानपाद, हिरण्याक्ष, हिरण्यकश्यपु र रावण आदिले भगवान्सँग ठूलो दुस्मनी गर्दा पनि अन्त्यमा उहाँले तिनीहरूलाई पनि मोक्ष प्रदान गर्नुभयोे । यस्तो हाम्रो धार्मिक ग्रन्थ पुराणमा उल्लिखित छ ।
यहाँ म के स्पष्ट गर्न चाहन्छु कि हाम्रा धार्मिक ग्रन्थ वेदपुराणअनुसार यस मत्र्य–भुवनमा ८४ लाख जुनीका जीवात्माहरू परमात्मामा आत्मसात् हुन छटपटाइराखेका हुन्छन् । उनीहरू ८४ लाख जुनीमा फेरि जन्मन, मर्न नपरोस् भनी अनेकानेक उपायहरू अबलम्वन गरिरहेका हुन्छन् । कहिले सर्वशक्तिमान परमेश्वर मानेर भक्तिभावले पूजा अर्चना गर्दछन्, कोही मित्र, कोही प्रेमी, कोही स्वामी, कोही शत्रु सम्झेर शत्रुता गर्न पनि पछि पर्दैनन् ।
उदाहरणका लागि मिराबाईले सांसारिक पतिको, धन सम्पत्तिको, मेबाडको राणा राजपरिवारको सुखसयल त्यागी भगवान्को भजनमा तल्लीन भएर भगवान्लाई नै सर्वेश्वर स्वामी मानेर भजन गाउँदै लीन हुनुुभयोे, ‘मेरो तो गिरिधर गोपाल दूजा ना कोई ‘ । मीराबाईको भक्ति बेजोडको मानिन्छ । त्यस्तै रावणको शत्रुता पनि बेजोडकै मानिन्छ । उनले त भगवान्लाई नै मार्न भयंकर युद्ध गरेका थिए ।
भगवान्को कृपा र लीला कस्तो, भक्तको लालसा पूरा गर्न युद्ध–मैदानमा पदार्पण गरी रावणको युद्धपिपासा शान्त पार्न युद्धसमेत गर्नुभयो । यसरी घमासान युद्धपछि वध गरेर युद्धपिपासा पूरा गरी स्वर्ग पठाइदिनुभयो । धार्मिक ग्रन्थअनुसार रावण पूर्वजन्ममा भगवान् विष्णुको सुरक्षा अधिकारी थिए र भगवान्को परमभक्त थिए । कालान्तरमा एकदिन उनको मनमा एउटा कौतुहल जाग्यो र भगवान्सँग बिन्ती गरेछन् ः हजुरको भक्त भएर त मैले यतिका सेवा गरें र हजुरको कृपा पनि पाएँ । अब दुश्मन भएर सेवा गर्ने इच्छा भइरहेछ प्रभु । भगवान्ले भक्तको इच्छा पूरा गर्न तथास्तु भनिदिनुभयो । यसरी रावणको अर्को जन्म भयो र उनले भगवान् शिवको सैंकडौं वर्षसम्म कठोर तपस्या गरेर अतुल शक्ति आर्जन गरी कुवेरको लंकास्थित सुनैसुनको दरबार हत्याउन सफल भए ।
माथि वर्णन गरिएका यी दुई उदाहरणबाट सिद्ध हुन्छ कि गीतामा उल्लेखित श्लोक ‘यो यथा मां प्रपद्यन्ते, ताम् तथैव भजाम्यहम्’ अनुसार नै परमात्माले जीवात्मालाई उसको इच्छा र आकांक्षाअनुसार नै भवसागर पार लगाई मोक्ष प्रदान गर्नुहुन्छ । आत्मा र परमात्मा एउटै महाशक्तिका दुई स्वरूप हुन् । दुइटै अजरअमर छन्— आत्मा आफ्नोे प्रारब्धअनुसार ८४ लाख जुनीमध्ये जति जुनीमा जन्ममरण गर्नुपर्ने हो गरी अन्त्यमा परमात्मामा समाहित हुन्छन् । यसरी सृटिको चक्र निरन्तर चलिरहन्छ । माथि पनि उल्लेख गरिएको छ जब–जब पृथ्वीमा पापको पात्र भरिएर बाहिर छचल्किन थाल्दछ र भक्तहरू पीडाले मर्माहत भई छट्पटिन थाल्दछन् तब–तब म प्राण्ीहरूलाई उद्धार गर्न यस पृथ्वीमा कुनै न कुनै रूपमा अवतार लिने गर्दछु । गीतामा भगवान्ले भन्नुभएको छ— परित्राणाय साधुनां विनाशाय च दुष्कृताम् धर्म संस्थापनार्थाय सम्भवामि युगेयुगे । यसरी सदचित्तानन्द स्वरूप भगवान्ले युगयुगमा अवतार धारण गरेर पुण्यात्माहरूलाई दुष्टात्माहरूबाट जोगाउने गर्नुहुन्छ ।