नेभिगेशन
विश्व

जेनजीको नयाँ रोगः प्रेमको तिर्सना, जोखिमको डर

लन्डन, (सीएनएन) । फ्लोरिडाकी २५ वर्षीया जेडेनलाई आफ्नै एक साथीप्रति प्रेमभाव जाग्न थाल्दै गर्दा उनले सम्बन्ध अघि बढाउने उत्साह होइन, तुरुन्तै सबैभन्दा खराब सम्भावनाको कल्पना गरिन् । उनलाई लाग्यो– ‘यो सम्बन्ध सफल भएन भने ? सम्बन्ध टुट्दा कस्तो पीडा हुन्छ भन्ने मलाई थाहा छ । म फेरि त्यो सबै सहन चाहन्नथेँ ।’
तर ती साथीले निरन्तर प्रयास गरिरहेपछि भने जेडेनले यो सम्बन्धमा उनी वास्तवमा सुरक्षित र सहज रहेको महसूस गरिन् । उनलाई रोकिरहेको कुरा सम्बन्धको वास्तविकता होइन, सम्भावित असफलता र चोट पाउने डर मात्र थियो ।
यो अनुभव जेडेनको मात्र होइन, अचेलको डिजिटल पुस्ता अर्थात् जेन–जीको साझा मनोवैज्ञानिक तस्बिर हो । प्रेम र आत्मीयताको तीव्र चाहना हुँदाहुँदै पनि अस्वीकृत हुने र लज्जित हुने डरले यो पुस्तालाई गहिरो सम्बन्धको आँगनमा पाइला टेक्न रोकिरहेको छ । विज्ञहरूका अनुसार जोखिमबाट अस्वाभाविक रूपमा डराउने यही प्रवृत्तिका कारण युवाहरूको प्रेम सम्बन्ध कमजोर बनिरहेको छ ।
अस्वीकारको सार्वजनिक त्रास
क्यालिफोर्निया विश्वविद्यालयका मनोविज्ञानका प्राध्यापक पल इस्टविक भन्छन्, ‘लाखौँ वर्षदेखि मानिसहरूले यही डर सामना गर्दै आएका छन्– यदि मलाई अस्वीकार गरियो भने के होला ? यदि मैले आफ्ना गहिरा व्यक्तिगत भावना व्यक्त गरेँ र त्यसको उपहास गरियो भने ?’
विगतका पुस्तामा प्रेम प्रस्ताव अस्वीकार हुँदा त्यो दुई व्यक्ति वा बढीमा साथीभाइको सानो समूहमा सीमित हुन्थ्यो । तर आजको डिजिटल युगमा व्यक्तिगत अस्वीकार सार्वजनिक प्रदर्शनको विषय बन्ने खतरा रहन्छ । सामाजिक सञ्जालमा हुर्किएको यो पुस्तालाई आफ्नो कुनै पनि गतिविधि, भिडियो वा व्यक्तिगत विवाद टिकटक र अन्य प्लेटफर्ममा भाइरल भई उपहासको विषय बन्न सक्छ भन्ने राम्रोसँग थाहा छ । यही कारण २९ वर्षमुनिका धेरै युवाहरू अप्ठ्यारो वा लाजमर्दो हुन सक्ने कुनै पनि काम गर्न हिचकिचाउँछन् । उनीहरूका लागि प्रेमको पहल गर्नु निकै ठूलो जोखिम देखिन्छ ।
न्यु जर्सीस्थित मोन्टक्लेयर स्टेट विश्वविद्यालयका प्राध्यापक गाब्रियल रुबिनले गरेको अनुसन्धान अनुसार जेन–जेड पुस्ताले अघिल्ला पुस्ताभन्दा जीवनमा धेरै खतरा देख्ने गर्छन् । अत्यधिक मूल्याङ्कन, तुलना र जानकारीको बाढीबीच बाँचेका युवाहरूमा जोखिमप्रति तीव्र नकारात्मक धारणा विकसित भएको छ ।
मनोविज्ञानमा एउटा शब्दावली छ– ‘रिस्क एभर्सन’ अर्थात् जोखिमबाट टाढा रहने प्रवृत्ति । यसमा मानिसले सम्भावित ठूलो लाभ दिने जोखिमयुक्त विकल्पभन्दा कम लाभ भए पनि सुनिश्चित र सुरक्षित परिणामलाई प्राथमिकता दिन्छ । प्रेम सम्बन्धको सन्दर्भमा पनि जेनजी पुस्ता प्रेमतर्फ लैजान सक्ने जोखिमहरूबाटै टाढा भागिरहेको रुबिन बताउँछन् । युवाहरू सोच्ने गर्छन्, ‘यदि कसैलाई प्रस्ताव राख्दा अस्वीकार भइयो वा सामाजिक सञ्जालमा मजाक बनाइयो भने के गर्ने ? त्यसैले प्रयास नै नगर्नु बेस ।’
अरूलाई असहज बनाउने चिन्ता
यो डर आफू लज्जित हुने विषयसँग मात्र जोडिएको छैन, बरु अरूको मर्यादा र सहजताप्रति अत्यधिक संवेदनशील हुँदा पनि समस्या निम्तिएको देखिन्छ । दक्षिण क्यारोलिनाका २१ वर्षीय पत्रकार डेमियन बट्र्रान्डका अनुसार उनी कसैलाई असहज महसूस गराउने डरले पनि प्रेम प्रस्ताव राख्न हिचकिचाउँछन् । उनी भन्छन्, ‘डेटिङ संसारमा मैले सबैभन्दा गर्न नचाहेको कुरा भनेको कसैलाई डेटमा जान आग्रह गरेर उसको दिन बिगार्नु हो ।’
सामाजिक मनोवैज्ञानिक जोनाथन हाइटले भनेझैँ आजको पुस्ता ‘चिन्तित पुस्ता’ हो, जसलाई कतै आफूबाट गलत भइहाल्छ कि भन्ने निरन्तर डर रहन्छ । आफूलाई अरूले कसरी हेरिरहेका छन् भन्ने कुराको अत्यधिक चेतना (सेल्फ कन्ससनेस) हुनु नै आजका युवाहरूलाई आफ्नै रूपमा प्रस्तुत हुन, गल्ती गर्न वा वास्तविक प्रेमिल कुराकानी गर्न बाधक बनेको छ ।
‘सिचुएसनशिप’को फेसन
प्रत्यक्ष भेट्दा हुने अस्वीकारको डरबाट बच्न अचेलका युवाहरूले डेटिङ एप्सलाई हतियार बनाएका छन् । दुवै पक्षले रुचि देखाएपछि मात्र ‘म्याच’ हुने भएकाले यसमा प्रत्यक्ष रूपमा अपमानित हुनुपर्ने डर कम हुन्छ । तर यो डिजिटल सुरक्षाले वास्तविक सम्बन्धलाई झन् कमजोर बनाइदिएको छ ।
जेडेनको अनुभवमा एपमा अत्यन्त आत्मविश्वासी देखिने पुरुषहरू प्रत्यक्ष भेट्दा त्यति प्रभावशाली देखिँदैनन् । प्राध्यापक इस्टविकका अनुसार सम्बन्ध निर्माणका लागि प्रत्यक्ष संवाद र बारम्बारको भेटघाट अत्यन्त आवश्यक हुन्छ, जसले गर्दा मानिस बाह्य रूपमा मात्र नभई स्वभाव र बानीका आधारमा आकर्षित हुन थाल्छ । तर अचेल सुरुका दुई मिनेटमै प्रभाव पार्न नसके तुरुन्तै सम्बन्ध अन्त्य गर्ने संस्कृति हाबी भएको छ, जसले वास्तविक सम्बन्ध फस्टाउन दिँदैन ।
यही डरकै कारण आजका युवाहरू ‘सम्बन्ध’ भन्ने शब्द प्रयोग गर्न पनि डराउँछन् । न्युयोर्कस्थित रोचेस्टर विश्वविद्यालयका प्राध्यापक ह्यारी राइस भन्छन्, ‘धेरै युवाहरू सम्बन्ध जस्तै व्यवहार त गर्छन्, तर त्यसलाई औपचारिक नाम दिन चाहँदैनन् ।’ यही मनोविज्ञानबाट ‘सिचुएसनशिप’ जस्ता नयाँ शब्दहरू लोकप्रिय भएका छन्, जहाँ सम्बन्धका अधिकांश विशेषता त हुन्छन् तर औपचारिक प्रतिबद्धता र जिम्मेवारी हुँदैन । यसले युवाहरूको तत्कालको चिन्ता त कम गर्छ तर उनीहरूलाई भित्रभित्रै झन् एक्लो बनाउँदै लैजान्छ ।
चाहना जीवितै तर बाटो कठिन
यति हुँदाहुँदै पनि जेनजी पुस्तामा सम्बन्ध र आत्मीयताको चाहना मरेको छैन । यौनिक निकटता, अपनत्व र अरूसँग घुलमिल हुने अनुभूति मानव जातिको स्वाभाविक आवश्यकता हो र यो चाहना सधैँ बलियो रहन्छ । समस्या चाहनामा होइन, सम्बन्ध निर्माण गर्ने कला र आँटमा हो ।
हार्भर्ड ग्राजुएट स्कुल अफ एजुकेसनका वरिष्ठ अध्यापक रिचर्ड वाइसबोर्डका अनुसार हाम्रो शिक्षा प्रणाली र समाजले युवाहरूलाई प्रेम र सम्बन्धका लागि पर्याप्त तयारी गराउँदैनन् । विद्यालयहरूमा दिइने यौन शिक्षाले गर्भधारण वा यौनरोग रोकथामजस्ता प्राविधिक विषयमा मात्र ध्यान दिन्छ तर एउटा स्वस्थ र गहिरो सम्बन्ध कसरी निर्माण गर्ने भन्ने सिकाउँदैन । अर्कोतर्फ, समुदायहरू कमजोर बन्दै जाँदा युवाहरूलाई भर्चुअल संसार बाहिर हाडमासुका मानिसहरूसँग प्राकृतिक रूपमा भेट्ने अवसर पनि कम हुँदै गएको छ ।
बाटो जतिसुकै कठिन र डरलाग्दो भए पनि प्रेम र घनिष्ठ सम्बन्धमा जोखिम लिनु अपरिहार्य हुन्छ । आफूलाई सुरक्षित राख्ने नाममा बाह्य संसारबाट टाढा राख्दा सम्बन्ध निर्माणको सम्भावना त सकिन्छ नै, यसले एक्लोपनको महामारीलाई झन् बढाउँछ ।
वाइसबोर्ड भन्छन्, ‘प्रेम सम्बन्धबाट हामी आफूबारे धेरै कुरा सिक्छौँ । गहिरो र निकट सम्बन्ध बनाउन सक्नु मानव जीवनको सबैभन्दा सुन्दर पक्षमध्ये एक हो ।’ युवा पुस्ताले अब आफ्नो डिजिटल पर्खालबाट बाहिर निस्केर भावनात्मक रूपमा संवेदनशील बन्न र अर्थपूर्ण सम्बन्धका लागि सानो भए पनि जोखिम मोल्न सिक्नुपर्छ । उनीहरूलाई सिकाउने र सहज वातावरण बनाइदिने जिम्मेवारी समाज र समुदायको पनि हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्