नेभिगेशन
विश्व

हर्मुज खुल्ने सहमति, युद्धविराम विस्तारको प्रयास

दुबई, (एपी) । संयुक्त राज्य अमेरिका र इरानबीच हर्मुज जलघाँटी पुनः खोल्ने तथा इरान युद्धमा लागू रहेको अस्थिर युद्धविरामलाई थप विस्तार गर्ने उद्देश्यसहित प्रारम्भिक अन्तरिम सम्झौता भएको घोषणा गरिएको छ । यदि यो सम्झौता कार्यान्वयनमा आयो भने विश्व बजारमा तेल र प्राकृतिक ग्यासको आपूर्ति पुनः सहज भई ऊर्जा संकटको जोखिम घट्ने तथा विश्व अर्थतन्त्रमा स्थिरता आउने अपेक्षा गरिएको छ ।
    यद्यपि सम्झौताका पूर्ण विवरण तत्काल सार्वजनिक गरिएको छैन । इरानले भने औपचारिक हस्ताक्षर नभएसम्म कुनै पनि प्रावधान कार्यान्वयनमा नल्याइने स्पष्ट पारेको छ । प्रमुख मध्यस्थकर्ताको भूमिका खेलेको पाकिस्तानका अनुसार सम्झौतामा हस्ताक्षर आगामी शुक्रबार स्विट्जरल्यान्डमा हुन सक्नेछ । यो सहमतिले मध्यपूर्वमा हजारौँको ज्यान लिएको युद्ध अन्त्य गर्ने सम्भावित मार्ग खोल्न सक्ने विश्लेषण गरिएको छ ।
    तर प्रारम्भिक सहमतिले सुरुदेखि नै अनेक चुनौतीको सामना गरिरहेको छ । विशेषगरी लेबनानमा इरान समर्थित हिजबुल्लाह र इजरायलबीच जारी तनावले वार्तालाई प्रभावित गर्ने जोखिम देखिएको छ । आइतबार इजरायलले बेरुतको दक्षिणी क्षेत्रमा आक्रमण गरेपछि क्षेत्रीय तनाव पुनः बढेको थियो ।
    सम्झौताअन्तर्गत सबैभन्दा जटिल विषय इरानको अत्यधिक समृद्ध युरेनियम भण्डार र आणविक कार्यक्रमको भविष्य हो । यी विषयमा समाधान खोज्न पक्षहरूलाई ६० दिनको समय दिइएको छ । सन् २०१५ मा भएको आणविक सम्झौतामा यस्ता विषय टुङ्ग्याउन वर्षौं लागेको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पहिलो कार्यकालमा उक्त सम्झौताबाट अमेरिका बाहिरिएको निर्णय गरेपछि तनाव क्रमशः बढ्दै युद्धको अवस्थामा पुगेको थियो ।
    ह्वाइट हाउसमा आफ्नो ८०औं जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा ट्रम्पले सामाजिक सञ्जालमार्फत युद्धविराम प्रयासलाई स्वागत गर्दै हर्मुज जलघाँटी खुलाउन तथा अमेरिकी नौसैनिक नाकाबन्दी हटाउने आदेश दिएको घोषणा गरेका थिए । तर उनले शुक्रबार औपचारिक हस्ताक्षर नभएसम्म जलघाँटी पूर्ण रूपमा सञ्चालनमा नआउने पनि स्पष्ट पारे ।
    इरानका उपविदेशमन्त्री काजेम घारिबाबादीले सरकारी टेलिभिजनमार्फत सम्झौताको पुष्टि गर्दै हस्ताक्षरपछि मात्रै कार्यान्वयन सुरु हुने बताए । उनका अनुसार कतारको मध्यस्थतामा भएको वार्तापछि यो समझदारी सम्भव भएको हो ।
    इजरायलले भने यस विषयमा तत्काल कुनै औपचारिक प्रतिक्रिया दिएको छैन । इजरायलले दक्षिणी लेबनानमा आफ्ना सैन्य कारबाही जारी राख्ने विषयमा विशेष जोड दिँदै आएको छ । फेब्रुअरी २८ मा अमेरिका इजरायलसँग मिलेर युद्धमा संलग्न भएको थियो ।
    सम्झौताप्रतिको आशावादले अन्तर्राष्ट्रिय बजारमा तत्काल प्रभाव देखिएको छ । बेन्चमार्क ब्रेन्ट कच्चा तेलको मूल्य प्रति ब्यारेल चार डलरभन्दा बढीले घटेको छ भने एसियाली शेयर बजारमा उल्लेख्य वृद्धि देखिएको छ ।
    पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले सबै पक्षले लेबनानसहितका सबै मोर्चामा सैन्य गतिविधि स्थायी रूपमा अन्त्य गर्ने घोषणा गरेको जानकारी दिएका थिए । तर इजरायलले यस विषयमा औपचारिक सहमति जनाएको छ वा छैन भन्ने अझै स्पष्ट छैन ।
    पाकिस्तानी अधिकारीहरूका अनुसार आगामी ६० दिनभित्र इरानको आणविक कार्यक्रमलगायत बाँकी विवादित विषयमा व्यापक वार्ता हुनेछ । आवश्यक परे समयसीमा थप लम्ब्याउन सकिने पनि जनाइएको छ । इरानी सरकारी सञ्चारमाध्यमले सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयलाई उद्धृत गर्दै युद्ध तत्काल अन्त्य हुने र अमेरिकी नाकाबन्दी पूर्ण रूपमा हटाइने जनाएको छ ।
    वार्ताको संवेदनशीलताका कारण नाम नखुलाउने सर्तमा बोल्ने अधिकारीहरूका अनुसार १७ घण्टा लामो छलफलपछि कतारी मध्यस्थकर्ताहरू तेहरानबाट फर्किएका थिए । यस साताभित्र दोहामा पक्षहरूसँग छुट्टाछुट्टै प्राविधिक बैठक हुने तयारी छ ।
    शुक्रबार हुने हस्ताक्षर समारोहमा इरानको प्रतिनिधित्व कसले गर्ने भन्ने अझै तय भएको छैन । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ह्वाइट हाउसले सहभागीहरूको सूची अन्तिम रूप दिइरहेको बताएका छन् । उनी स्वयं उपस्थित हुने सम्भावना रहेको र राष्ट्रपति ट्रम्प पनि सहभागी हुन सक्ने संकेत दिएका छन् ।
    यसैबीच अमेरिकाभित्रै सम्झौताप्रति शंका व्यक्त हुन थालेको छ । रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले इरान र अमेरिकी वार्ता टोलीको व्याख्या फरक देखिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । न्युयोर्कका सांसद ग्रेगरी मीक्सले पनि इरानसँग हुने कुनै पनि सम्झौताको अमेरिकी कंग्रेसले निगरानी गर्ने बताएका छन् ।
    युद्धले इरानभित्र राजनीतिक परिवर्तन पनि ल्याएको छ । प्रारम्भिक आक्रमणमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि उनका छोरा आयातोल्लाह मोजताबा खामेनी नयाँ सर्वोच्च नेता बनेका छन् । उनी सार्वजनिक रूपमा नदेखिए पनि सम्झौताका लागि उनको स्वीकृति अनिवार्य मानिएको छ ।
    विश्लेषकहरूका अनुसार सम्झौता सफल भए पनि विश्व ऊर्जा आपूर्ति पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन समय लाग्न सक्छ । ढुवानी र बीमा कम्पनीहरूले दीर्घकालीन स्थायित्वको सुनिश्चितता खोजिरहेका छन् । उता इरानसँग अझै पनि ठूलो मात्रामा ब्यालेस्टिक क्षेप्यास्त्र र उच्च समृद्ध युरेनियम रहेको बताइन्छ, जसले भविष्यमा फेरि तनाव बढ्न सक्ने चिन्ता कायम राखेको छ ।
    अमेरिकाले सम्झौताअन्तर्गत इरानबाट समृद्ध युरेनियम हटाउन माग गरेको छ । रुसले उक्त सामग्री आफ्नो नियन्त्रणमा लिन प्रस्ताव गरेको भए पनि इरानले आफ्नो युरेनियम भण्डार कायम राख्ने अडान सार्वजनिक रूपमा दोहो¥याउँदै आएको छ । यही विषय आगामी वार्ताको सबैभन्दा कठिन मुद्दा बन्ने अनुमान गरिएको छ ।
शान्ति सम्झौतापछि विश्वको प्रतिक्रिया
अमेरिका र इरानबीच शान्ति सम्झौता तथा सबै मोर्चामा सैन्य कारबाही अन्त्य गर्ने सहमति सार्वजनिक भएपछि विश्व समुदायले त्यसलाई मध्यपूर्वमा स्थायित्व ल्याउने सम्भावित अवसरका रूपमा लिएको छ । संयुक्त राष्ट्रसंघदेखि युरोप, खाडी क्षेत्र र एसिया–प्रशान्तका मुलुकहरूले सम्झौताको स्वागत गर्दै यसको सफल कार्यान्वयनमा जोड दिएका छन् ।
    संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सम्झौतालाई द्वन्द्वको शान्तिपूर्ण समाधानतर्फको महत्त्वपूर्ण कदमको संज्ञा दिएका छन् । उनले संवाद र कूटनीतिक प्रयासलाई दीर्घकालीन शान्तिको आधार मान्दै सबै पक्षलाई सहमतिको पूर्ण कार्यान्वयनतर्फ अग्रसर हुन आग्रह गरे ।
    फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले हर्मुज जलघाँटी तत्काल र बिना शर्त पुनः खोलिनुपर्ने बताए । उनले फ्रान्स र बेलायत सम्झौताको कार्यान्वयनमा सहयोग गर्न तयार रहेको जनाउँदै लेबनानमा राज्यको सार्वभौमिकता पुनःस्थापित गर्ने प्रयासलाई पनि समर्थन गर्ने स्पष्ट पारे । साथै, इरानको आणविक र ब्यालिस्टिक कार्यक्रमसँग सम्बन्धित चिन्ताहरूको समाधान पनि आवश्यक रहेको उनको भनाइ छ ।
    बेलायती प्रधानमन्त्री किर स्टार्मरले हर्मुज जलघाँटीमा सुरक्षित र स्वतन्त्र जल यातायात पुनःस्थापित हुनुपर्नेमा जोड दिएका छन् । उनले बेलायत समुद्री खानी हटाउने कार्यमा सहयोग गर्न तयार रहेको बताउँदै इरानले कहिल्यै आणविक हतियार विकास गर्नु नहुने बेलायतको पुरानो अडान पुनः दोहो¥याए ।
    कतारको विदेश मन्त्रालयले क्षेत्रीय सुरक्षा र स्थिरता सुदृढ गर्ने उद्देश्यले गरिएका सबै कूटनीतिक प्रयासप्रति पूर्ण समर्थन व्यक्त गरेको छ । कतारले वार्ता र मध्यस्थताको माध्यमबाट स्थायी समाधान खोज्ने प्रयासलाई निरन्तरता दिनुपर्ने उल्लेख गरेको छ ।
    टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगनले सम्झौतामा औपचारिक हस्ताक्षर नहुँदासम्म सबै पक्षलाई संयम अपनाउन आग्रह गरेका छन् । उनले तनाव बढाउने अभिव्यक्ति, उक्साहटपूर्ण गतिविधि तथा सम्भावित तोडफोडका प्रयासप्रति सतर्क रहनुपर्ने आवश्यकता औंल्याए ।
    जापानकी प्रधानमन्त्री साने ताकाइचीले हर्मुज जलघाँटी हुँदै सुरक्षित र स्वतन्त्र जलयातायात सुनिश्चित हुने अपेक्षा व्यक्त गरेकी छन् । साथै, इरानको आणविक कार्यक्रमलगायत बाँकी विवादित विषयमा पनि चाँडै अन्तिम सहमति हुनुपर्ने उनको धारणा छ ।
    अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र विदेशमन्त्री पेनी वोङले अमेरिका र इरान दुवैलाई निरन्तर संयम र रचनात्मक संवाद कायम राख्न आग्रह गरेका छन् । संयुक्त विज्ञप्तिमार्फत उनीहरूले इरानको आणविक कार्यक्रमसँग जोडिएका अन्तर्राष्ट्रिय सुरक्षा चिन्ताहरूको समाधान अपरिहार्य रहेको बताए ।
    न्युजिल्यान्डका प्रधानमन्त्री क्रिस लक्सनले हर्मुज जलघाँटी पुनः सञ्चालनमा आउनुले विश्व व्यापार मार्गलाई स्थिर बनाउने, इन्धन आपूर्ति सहज पार्ने तथा विश्व अर्थतन्त्रलाई गति दिने विश्वास व्यक्त गरेका छन् । 
    विश्व नेताहरूका प्रतिक्रियाले मध्यपूर्वमा युद्धको अन्त्य मात्र नभई ऊर्जा सुरक्षा, अन्तर्राष्ट्रिय व्यापार र क्षेत्रीय स्थायित्वप्रतिको साझा चासोलाई पनि स्पष्ट रूपमा प्रतिबिम्बित गरेको छ ।
कब्जा कायम राख्ने इजरायलको घोषणा
तेल अभिभ, (एपी) । इजरायलका रक्षामन्त्री इजरायल काट्जले सोमबार स्पष्ट रूपमा इजरायल लेबनान, सिरिया र गाजा पट्टीमा हाल नियन्त्रणमा रहेको भूमिबाट पछि नहट्ने अडान सार्वजनिक गरेका छन् । अमेरिका र इरानबीचको अन्तरिम शान्ति सम्झौता अघि बढिरहेको सन्दर्भमै आएको यो अभिव्यक्तिले क्षेत्रीय तनाव अझै कायम रहेको संकेत दिएको छ ।
    अमेरिका–इरान सम्झौताको औपचारिक हस्ताक्षरका लागि शुक्रबार जेनेभामा वार्ता हुने तयारी भइरहेका बेला इजरायलको यो पहिलो आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको हो । पाकिस्तानले मध्यस्थकर्ताका रूपमा उक्त भेटवार्ताको जानकारी दिएको छ ।
    रक्षामन्त्री काट्जका अनुसार इजरायलले लेबनान, सिरिया र गाजा पट्टीमा हाल नियन्त्रणमा रहेका क्षेत्रहरू ‘अनिश्चितकालसम्म’ आफ्नो नियन्त्रणमा राख्ने योजना बनाएको छ । उनले लेबनानमा हिजबुल्लाहविरुद्ध जारी सैन्य कारबाही रोक्न इरानसँग भएको अन्तरिम समझदारीलाई पनि शंकास्पद रूपमा व्याख्या गरे ।
    उनले इरानले इजरायलमाथि कुनै पनि आक्रमणको प्रयास गरेमा इजरायलले कडा प्रतिकार गर्ने चेतावनी दिँदै ‘ठूलो बल प्रयोग’ गर्ने संकेत गरे ।
    पछिल्ला दुई वर्षभन्दा बढी अवधिमा इजरायलले गाजा, लेबनान र सिरियाका विभिन्न क्षेत्रहरूमा करिब एक वर्गकिलोमिटर भूभाग नियन्त्रणमा लिएको छ । यो आकार न्युयोर्क सहरभन्दा केही सानो रहेको बताइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्